सिंहदरबारछेउकै एउटा चिया पसलमा रमेश र गणेश चिया पिउँदै थिए । उनीहरूसँगै स्कुल पढेका साथी हुन् ।
चियाको चुस्की लिँदै रमेश बोल्यो, “अब चुनाव पनि घोषणा भइसक्यो । अझ खुसीको कुरा त पार्टीले तिमीलाई टिकट दिएको छ । तिम्रो पार्टीले बहुमत ल्याएर सरकार गठन गर्ने अवसर पायो भने तिमी मन्त्री बन्ने निश्चित छ । साँच्चिकै तिमी मन्त्री बन्यौ भने के–के काम गर्ने योजना छ ?”
“तिमी हेर्दै जाऊ न बन्धु । यदि, म मन्त्री भएछु भने जनतालाई सरप्राइज प्याकेज दिन्छु,” चियाको अन्तिम घुट्को घुटुक्क निल्दै गणेशले जवाफ दियो ।
नभन्दै चुनावमा गणेशकै पार्टीले बहुमत हासिल गर्यो । प्रभावशाली युवा नेता भएकोले उसले पनि रोजेकै मन्त्रालय पायो ।
एक दिन रमेशको घरकै ठेगानामा एउटा बडेमानको उपहार बाकस आइपुग्यो । सरकारी ठेगानाबाट पठाइएको उक्त बाकस बाहिरबाट चिल्लो र रंगीचंगी पेपरले र्याप गरिएको थियो ।
सुरुमा त गणेश आश्चर्यमा पर्यो । प्रेषकको नाम पढेपछि दंग पर्दै खुसी भएर उसले हतारहतार बाकस खोलेर हेर्यो ।
र, त्यसभित्र थिए–
आश्वासन, घुसखोरी, भ्रष्टाचार, कमिसनतन्त्र, महँगी अनि...!
(तामाङ सेङ्राप अर्थात् तामाङ आख्यान नामक कृतिमा समावेश यस लघुकथालाई कथाकार तामाङ आफैँले अनुवाद गरेका हुन् । )