विराटनगर । विराटनगर महानगरपालिका–१२ को मलनवा टोलमा विपन्न ऋषिदेव समुदायका लागि एकीकृत बस्ती निर्माण सुरु भएको छ । काप्रदेश सभा सदस्य केदार कार्कीको अगुवाइमा विराटनगर महानगरपालिका, ह्याबिटेट नेपाल, सहारा नेपाल र जीवन विकास समाजसहितको साझेदारी तथा संलग्नतामा महानगर आवास योजनाअनुरूप बस्ती निर्माणको काम थालनी गरिएको हो ।
कार्कीकाअनुसार यसमा कुल १४५ घर निर्माण हुनेछन् । बस्तीको नाम ‘सम्पन्न’ राखिएको छ । बस्ती निर्माण स्थलमा सरोकारवालाले बुधबार पत्रकार सम्मेलन आयोजना गरी बिजुली बत्ती, शिक्षा, स्वास्थ्य, बाटो, खानेपानी, हरियालीलगायत पूर्वाधार निर्माण गरिने बताए ।
यसमा दाताहरूबाट सहयोग जुट्ने क्रमसमेत सुरु भइसकेको ‘सम्पन्न’ बस्ती विकास समितिका संयोजक अरूण न्यौपानेले जानकारी दिएका छन् । उनले भने, “व्यक्ति र दाताहरूबाट समेत सहयोग जुटाउन हामीले आह्वान गरेका छौँ । सहयोग जुट्ने क्रम पनि सुरु भएको छ ।”
सहयोग जुटाउन सम्पन्न बस्ती विकास समितिको नाममा कृषि विकास बैंक कञ्चनबारी शाखामा खाता खोलिएको न्यौपानेले बताए ।
कुल तीन बिघा १६ कठ्ठा ५ धुर जग्गा खरिद गरी विपन्न ऋषिदेव परिवारलाई घर निर्माण गर्ने लक्ष्यकासाथ काम थालिएको विराटनगर महानगरपालिकाका सामाजिक विकास अधिकृत पुनम दाहालले जानकारी दिए ।
“बस्ती निर्माणमा विराटनगर महानगरलेसमेत बजेट छुट्याएर सहभागिता जनाएको छ,” उनले भने ।
कार्यक्रममा बस्ती अगुवा कौशिला ऋषिदेवले आफूहरूलाई घर उपलब्ध गराउन गरिएको प्रयासले पिछडीएको समुदायमा खुसियाली छाएको सुनाइन् ।