काठमाडौं । चार वर्षपछि आफ्नो आत्मामा भेटिए अभिनेता विपिन कार्की । हो आत्मा ! अर्थात उनको अभिनय जीवनको सुरुवात ‘रंगमञ्च’ । उनी रंगमञ्चलाई आफ्नो ‘आत्मा’ भन्छन् । चार वर्ष अगाडि अन्तिम नाटक गर्दा उनी शिल्पी थिएटरमा थिए भने चार वर्षपछिको पहिलो नाटक गर्दा पनि उनी शिल्पीमा नै छन् ।
तर फरक नाटक, फरक पात्र अनि फरक रंगकर्मीहरुका साथ । ‘अनुपस्थित तीन’ नाटक मार्फत लामो समयपछि रंगमञ्चका दर्शकको सामिप्यतामा आउन पाँउदा विपिन उत्साहित अनि केही डराएका पनि छन् । रंगमञ्च मात्रै होइन उनी चलचित्रको पर्दामा पनि करिब दुई वर्षभन्दा धेरै भयो नदेखिएको ‘सेल्फी किंग’पछि विपिन कुनै नयाँ चलचित्रमा देखिएका छैनन् ।
चलचित्र र रंगमञ्च दुबैमा लामो अनुभव भए पनि विपिनलाई हरेक पटक क्यामेरा अनि स्टेज अगाडि प्रस्तुती दिँदा नयाँ अनि एक खालको डर भने रहन्छ । “हरेक दिन रिहर्सलमा बसिरहँदा पनि आफू तयार छु जस्तै लाग्दैन प्रिमियर नभएसम्म । शो हुनुभन्दा अगाडिको डर, मिडिया अनि दर्शकको अगाडि आउनु अघिको डर, सातो जान्छ नी ! के होला अडियन्सले कस्तो प्रतिक्रिया दिने होला भन्नेले पनि सताउँछ,” उनी सुनाउँछन् ।
एक कलाकारका लागि अभिनयबाट टाढिनु निकै छटपटी हुन्छ । अझै कर्म, धर्म र पेशा सबै यही क्षेत्रलाई मानेका अभिनेता विपिनलाई कोरोना महामारीले आफ्नो कर्मबाट टाढिएर बस्दा निकै छटपटी भैरहेको थियो ।
चलचित्रको पर्दामा आउने, छायांकनमा जाने भनेको केही समयका लागि असम्भव प्रायः नै छ । यही मौका छोपेर विपिनले अभिनयको प्यास मेट्ने राम्रो मौकालाई आफ्नो हातबाट उम्किन दिएनन् । “काम गरिरहेको व्यस्त भैरहेको मान्छेलाई काम गर्न पाइएन भने एक खालको उकुसमुकुस हुँदोरहेछ । डराइँदो रहेछ, आत्तिदो रहेछ,” उनी आफ्नो डर यसरी सुनाउँछन्, “मैले बिर्सिएँकी वा अब मलाई यो ठाउँ विरानो लाग्छ कि वा अभिनय गर्नै अप्ठ्यारो हुन्छ कि जस्तो लाग्नेरहेछ । जे भए पनि काम गर्न पाए हुन्थ्यो भनिरहेको बेला हाम्रो युवराज दाईसँग यो अनुकूल मिलेको हो । दाईसँग गुरुकुलदेखि नै चिनजान र पहिले देखिनै सहकार्य गरौंन भन्ने कुरा भैरहन्थ्यो ।”
क्यामेरा अनि एक्सन कटमा काम गर्ने बानी भैसकेका उनलाई यी दुई एकअर्कासँग तुलना नै गर्न नसक्ने र नमिल्ने बताउँछन् । आफूलाई अभिनयको दुनियामा ल्याउने रंगमञ्च र यसलाई कर्म र पेशाको रुपमा अघि बढाउन प्लेटफर्म दिएको चलचित्रमध्ये कुनमा बढी रमाउनु हुन्छ भन्ने हाम्रो प्रश्नमा विपिन सजिलै जवाफ फर्काउँछन्, “म रमाउनका लागि अभिनय पर्याप्त छ । अभिनय गर्न पाएपछि म रमाउछुँ । मैले सुरुवात गरेको यो (रंगमञ्च) सँग पनि मेरो गहिरो अनि लामो सामिप्यता छ । यसको स्वाद पनि मैले चाखेको छु, त्यसैले म यसलाई बिर्सिन्न । फिल्मको कुरा गर्नुपर्दा, यसलाई त मैले मुल पेशा नै बनाएर अघि बढिरहेको छु । हातमुख जोर्ने काम फिल्मबाट नै गरिरहेको छु । म यो पेशाप्रति इमान्दार पक्कै हुनुपर्छ ।”
० ० ०
विपिनलाई ठ्याक्कै याद त छैन, तर उनले पहिलो पटक करिब १७ वर्ष पहिले ‘तारा बाजी लै लै’ नाटकमा अभिनय गरेका थिए ।
“त्यो क्षणबाट आजसम्म आइपुग्दा काम गर्ने अनुभवमा परिवर्तन आएको छ । पहिलेको काम गर्नु र अहिलेमा धेरै फरक छ । यो करिब १७ वर्षको यात्रामा मैले धेरै काम गरेँ र त्यो अनुभवले मलाई काम गर्न धेरै सजिलो भएको छ,” उनले भने ।
सुरुमा त्यही काम गर्न उनलाई गाह्रो लाग्थ्यो भने अहिले सजिलै गर्न सक्ने भएका छन् । अनुभवले अभिनय, प्राविधिक, स्टेजदेखि हरेक कुरामा परिपक्व बनाएको विपिनले महसूस गरेका छन् ।
० ० ०
चलचित्रको पर्दामा व्यस्त रहनु नै रंगमञ्चमा ग्याप हुनुको मुख्य कारण भएको उनी बताउँछन् । प्रयास गर्दागदै पनि रंगमञ्चसँग जोडिन नपाएको उनको गुनासो छ ।
चलचित्रको पर्दामा जति नै ठूलो स्टार भए पनि विपिनलाई दर्शकले नाटकमा पनि देखिरहने उनले बाचा गरेका छन् । “यति नै समयमा भनेर ठ्याक्कै भन्न त सक्दिन तर मलाई समय समयमा दर्शकले नाटकमा पनि देखिरहनु हुनेछ । अभिनय गरिरहे भने दर्शकले मलाई रंगमञ्चमा पनि देखिरहनु हुनेछ,” उनी भन्छन् ।
विपिनले भोलिका दिनमा अभिनयवाहेक मनोरञ्जनकै अरु विधामा पनि देखिन सक्ने संकेत पनि गरेका छन् । उनका अनुसार दर्शकले मनोरञ्जन क्षेत्रमै अभिनयवाहेक अरु विधामा पनि देख्दा अच्चम नमान्दा हुन्छ ।
“चलचित्रमा व्यस्त भएर नै हो । प्राथमिकता त मैले दिइरहेकै थिएँ । विचमा मैले कोशिस पनि गरेको थिएँ । कोशिस देखिरहेको पनि थियो । जस्तै मैले विमल सुवेदीको ‘पल्पसा क्याफे’ मा दृश्यको पात्र निभाउन २, ३ महिना रिहर्सल पनि गरेको थिएँ । तर समय र परिस्थितीले गर्दा मेरो अनुकुलता मिलेन । त्यसपछि पछिल्लो पटकको सुनील सरको ‘अर्को अर्थ नलागेमा’ पनि २,३ दिन रिहर्सल गरेँ तर मेरो पारिवारिक समस्याका कारण मैले विचमै छोड्नु पर्यो,” उनले भने, “नाटकबाट केही वर्षको ग्याप हुने वितिकै मलाई नाटकको न्यास्रो लाग्छ । ल अब फेरि नाटक गर्नुपर्ने भयो भन्ने सोच आउँछ ।”
हरेक चलचित्रमा फरक–फरक चरित्र बाँच्ने विपिन यसरी हरेक चलचित्रमा भिन्न–भिन्न चरित्रमा देख्दा दर्शक झुक्किएलान् कि वा उनलाई नचिन्लान् कि भन्ने डर छैनन् भन्ने प्रश्नमा उनी भन्छन्, “मैले चलचित्रको पर्दामा कुनै पात्र निभाए र त्यो पात्रलाई दर्शकले मज्जाले चिने र मनपराए । तर, त्यो पात्र निभाउने म हुँ भन्ने कुरा उनीहरुले पछि मात्रै थाहा पाए पनि मलाई फरक पर्दैन । किनकी मेरो पात्र दर्शकले रुचाइरहेका छन् । एक न एक दिन त पक्कै थाहा हुन्छ । अझ यसलाई त म सफल भएँ जस्तो लाग्छ । आफ्नो कामप्रति इमान्दार भएँ जस्तो लाग्छ ।”
‘अनुपस्थित तीन’ एउटा अस्तित्वको खोजी (अस्तित्ववाद) हो, आफूले आफैंलाई भनिरहेको छ, आफूले आफैंलाई बचाइराखेको हुन्छ, आफूलाई नै माथि राखेर कुरा गरिरहेको हुन्छ । मान्छे मृत्युपश्चात पनि आफ्नो अस्तित्व जोगाउने दौडमै लम्किरहेको हुन्छ ।
“मैले यसमा पुरुषको पात्र निभाएको छु । नाटकको नाम जस्तै यहाँ तीनवटा पात्र छन्, एउटा म पुरुष, अर्को महिला र अर्को समलिङ्गी । उनीहरु आ–आफ्नो अस्तित्वको खोजीमा हुन्छन् । पृथ्वीमा भएका सबै लिङ्गलाई प्रस्तुत गरेको हुनाले हरेक दर्शकलाई यो मेरो नाटक हो, मेरो कथा हो जस्तो लाग्नेछ,” उनी भन्छन् ।
नाटकबाटै उदाएका कलाकारपछि चलचित्रमा सफल भइसकेपछि रंगमञ्चमा फर्किन नखोज्नुमा पारिश्रमिक पनि हो कि भन्ने जिज्ञासामा विपिन यसमा केही हदसम्म सहमत सुनिए । उनका अनुसार चलचित्र र नाटक दुबैको लागि करिव उति नै समय लाग्छ । तर पारिश्रमिक भने नाटकमा भन्दा चलचित्रमा बढी हुने भएकाले कलाकारहरु चाहाँदा चाहाँदै पनि रंगमञ्चमा फर्किन नसक्ने र लामो ग्याप हुने उनी मान्छन् ।
तर, यसो भनिरहँदा हरेक कलाकारमा यो लागु नहुने पनि उनको तर्क छ । आफ्नै उदाहरण दिएर विपिन भन्छन्, “तर हरेकको आफ्नो फरकफरक सोच र विचार हुन्छ । कसैले कम्प्रमाइज गर्न सक्छ भने कसैले सक्दैन । यो व्यक्ति अनुसार फरक हुन्छ । तर, आज मैले नाटकलाई पनि सँगसँगै अघि बढाइरहँदा त्यो आरोप त तोडियो नी होइन ? सबैमा यो लागु हुन्न रहेछ भन्ने पनि प्रमाणित त भयो ।”
रंगमञ्चको यति लामो अनुभवमा उनले थुप्रै नाटकहरु खेलेका छन् । तर, यी मध्ये उनलाई ‘तिर्खा’ र ‘छड्के’ को याद भने अहिलेसम्म पनि ताजा नै छ ।