site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्माताको रोजाइमा किन परेनन् डिजिटल प्लेटफर्म ?
SkywellSkywell

काठमाडौं । चलचित्र विकास बोर्डको तथ्यांकानुसार ६४ वटा चलचित्र निर्माण सम्पन्न भएर बसेका छन् । यी चलचित्रमा औसतमा डेढ करोड लगानी हुँदा निर्माण सम्पन्न भएका चलचित्रमा मात्रै करिब एक अर्ब रुपैयाँ लगानी भइसकेको छ ।

यी चलचित्र अब कहिले हलमा रिलिज हुन्छन् ? निश्चित छैन । चलचित्र वितरकसमेत रहेका अशोक शर्मा अब यी चलचित्र रिलिज हुँदासम्म पुरानो भइसक्ने हुनाले निर्माण सम्पन्न भएर बसेका चलचित्रलाई व्यापारिक सफलता हातपार्न कठिन हुने बताउँछन् ।

चलचित्रको विषयवस्तु, प्रस्तुति र दर्शकको चाहना समेत फेरिसक्ने हुँदा केही वर्ष अगाडि नै बनेर बसेका चलचित्रलाई दशर्कको साथ पाउन कठिन हुने उनको बुझाइ छ ।

KFC Island Ad
NIC Asia

शर्माको भनाइलाई नकार्न नसकिने निर्देशक दिनेश राउत बताउँछन् । विषयवस्तुका आधारमा धेरै चलचित्र निर्माण सम्पन्न भएको केही समयमै पुरानो हुने उनको भनाइ छ । “सबै चलचित्र त केही समयमा नै पुराना हुन्छन् भन्ने छैन । तर, धेरै चलचित्र तत्कालीन समयलाई केन्द्रित गरेर बनाइने हुनाले लामो समय थन्क्याएर बस्दा पुरानो हुन्छ,” निर्देशक राउत भन्छन्, “दर्शकको रुचि फरक भइसकेको हुन्छ भने आबद्ध कलाकारको क्रेजमा पनि फेरबदल भइसकेको हुन्छ ।”

त्यसैले डिजिटल प्लेटफर्म अत्यावश्यक भए पनि यसबाट आउने रिटन्र्सका कारण नेपाली मेकर आकर्षित हुन नसकेको उनी बताउँछन् । मिनिमम ग्यारेन्टी (एमजी) दिन सक्ने अवस्था नभएसम्म कुनै पनि डिजिटल प्लेटफर्ममा चलचित्र निर्माताहरू आकर्षित नहुने उनले बताए ।

Royal Enfield Island Ad

“नेपालका डिजिटल प्लेटफर्म दर्शकले हेरेको भ्युजका आधारमा निर्मातालाई पैसा दिन्छन् । नेपालमा डिजिटल प्लेटफर्मको राम्रो सब्सक्रिब्सन नै छैन भने निर्माताले कसरी चलचित्र दिन्छ ?,” उनी प्रश्न गर्छन्, “करोडौँमा बनेको चलचित्र हजारमा दिन सकिँदैन, अहिले भएको पनि त्यही हो । जबसम्म मिनिमम ग्यारेन्टी हुँदैन, तबसम्म डिजिटल प्लेटफर्ममा चलचित्र जाँदैनन् ।”

डिजिटल प्लेटफर्ममा राखिसकेपछि हल रिलिज गर्दा त्यसमा दर्शकको आकर्षण नहुने भएकाले पनि निर्माताहरूले हल नै कुर्ने गरेको उनी बताउँछन् ।

आवश्कता एउटा, प्राथमिकता अर्कै !
चलचित्र विकास बोर्डले सहनिर्माण गर्ने भन्दै स्टोरी बैंकको अवधारणा ल्याएको छ । यसअन्तर्गत मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक कथावस्तु, सामाजिक, सांकृतिक, सन्देशमूलक चलचित्र निर्माणमा प्रोत्साहनको लागि उत्कृष्ट कथा, पटकथा छनोट गरेर सहनिर्माण गरिनेछ । बोर्डको यो प्रस्तावलाई सरकारले चालु आर्थिक वर्षको बजेटमै पारिसकेको छ । सरकारले बजेट उपलब्ध गराएपछि ६० दिनको समय दिएर बोर्डले कथा आह्वानसमेत गरिसकेको छ ।

अहिलेको आवश्यकता हल बन्द हुँदा थन्किएका चलचित्रको लगानी कसरी सुरक्षित गर्ने भन्ने हुनुपर्नेमा निर्देशक राउत जोड दिन्छन् । यसका लागि सरकारले सहजीकरण गर्नुपर्ने उनको धारणा छ ।

“हाम्रो आफ्नै डिजिटल प्लेटफर्म चलचित्र किन्न सक्ने हैसियतका छैनन् । नेपालबाहिरका डिजिटल प्लेटफर्ममा हाम्रा चलचित्र लिँइदैन । यसको मुख्य कारण हाम्रा कमजोर कन्टेन्ट पनि होला । तर, त्योसँगै अर्को कारण हो हाम्रो पेमेन्ट गेटवे सहज नहुनु,” उनी भन्छन्, “हामी नेपालबाहिर रहेका साथीभाइ तथा आफन्तमार्फत पैसा तिरेर नेटफ्ल्क्सिलगायत प्लेटफर्म प्रयोग गरिरहेका छौँ । हाम्रो भू–भागबाट पेमेन्ट गरेको नदेखिएपछि उनीहरूले नेपालमा दर्शक छैनन् भनेर हाम्रो चलचित्र लिँदैनन् ।” यसमा सरकारको ध्यान जानुपर्ने दिनेश बताउँछन् ।

लगानी गर्न सक्ने डिजिटल प्लेटफर्म किन आएनन् नेपालमा ?  
सानो लगानीमा आएका प्लेटफर्मले दर्शकको ध्यान खिच्न सक्दैनन् । कारण, उनीहरूले कन्टेन्ट दिन सक्दैनन् । युट्युबमा आइसकेका चलचित्र राखेर दर्शकले हेर्दैनन् । नयाँ फ्रेस चलचित्र राख्न डिजिटल प्लेटफर्मले किन्न सक्दैनन् ।

निरन्तर नयाँ कन्टेन्ट दिन नसके डिजिटल प्लेटफर्मको सब्सक्राइभ नबढ्ने हुँदा यसका लागि ठूलो लगानी गर्नुपर्ने हुन्छ । र, यो ठूलो व्यापारिक घरानाको प्रवेशपछि मात्रै सम्भव रहेको दिनेश बताउँछन् ।

तर, तत्काल व्यापारिक घराना यसमा आकर्षित हुने सम्भावना छैन । कारण, युट्युबमा बिनापैसा चलचित्र हेर्न बानी परेका नेपाली दर्शकलाई डिजिटल प्लेटफर्ममा रत्तिन समय लाग्नेछ । “डिजिटल प्लेटफर्ममा लगानी गर्नेले तत्काल आजको भोलि नै फाइदा हुन्छ भनेर भन्दा पनि दीर्घकालीन रूपमा यसको भविष्य छ र फाइदा छ भनेर बुझ्नुपर्छ,” दिनेश भन्छन्, “तर, यहाँ यो सोचेर तत्काल ठूला बिजनेस घरानाहरू पनि आउने सम्भावना छैन । सीजी इन्टरटेन्मेन्ट केही समयअगाडि यो क्षेत्रमा आएर फर्किएकाले पनि यो भन्न सकिन्छ ।”

नयाँ–नयाँ गुणस्तरीय सामग्री निर्माण गरेर रिलिज गर्न सक्ने क्षमता भएका कम्पनीको प्रवेशबिना डिजिटल प्लेटफर्म दिगो र दर्शकको आकर्षणको केन्द्र हुन नसक्ने दिनेशको दाबी छ ।

निर्माताहरूले मिनिमम ग्यारेन्टी माग गर्ने गरेको तर आफूहरू अहिले दिन सक्ने अवस्था नरहेको डिजिटल एप सिनेमाघर गोल्डका सञ्चालकसमेत रहेका खगेन्द्र लामिछाने बताउँछन् । उनी यो मागलाई जायज पनि भन्छन् ।

उनको आफ्नै चलचित्र ‘पानीफोटो’ पनि निर्माण सम्पन्न भइसकेको छ । तर, खगेन्द्र स्वयं पनि लगाउन तयार छैनन् । कारण, मिनिमम ग्यारेन्टी छुट्ट्याउन सक्ने अवस्थामा उनको कम्पनी छैन । यद्यपि, यो योजनामा भने उनी छन् ।

“हामी पनि मिनिमम ग्यारेन्टी दिन सके हुन्थ्यो भन्ने पक्षमा नै छौँ । यसका लागि लगानीकर्ता खोज्दै छौँ,” खगेन्द्र भन्छन्, “सम्भव भएसम्म फ्रेस फिल्म लगाउन सके दर्शकको आकर्षण अझ बढ्ने थियो ।” दर्शकको आकर्षण सन्तोषजनक रहे पनि मेकरको भने निकै कम रहेको उनी स्वीकार गर्छन् ।

बजारमा राम्रै पहिचान भएका मेकरहरूको पनि डिजिटल प्लेटफर्मको विषयमा गलत बुझाइ रहेको उनी बताउँछन् । युट्युबसँग डिजिटल प्लेटफर्मलाई तुलना गरिरहेको भन्दै यसले दिने रिटन्र्स र युट्युबको रिटन्र्समा ठूलो अन्तर रहेको कुरा मेकरले नबुझ्दा पनि समस्या भएको उनले बताए ।

“तर, मलाई विश्वास छ विस्तारै भोलिको भविष्य यही हो । त्यसैले अन्ततः मेकर पनि आउने यहीँ नै हो,” खगेन्द्र भन्छन् ।

ठूला बिजनेस घरनाहरू यसमा नआउनुको कारण दूरदर्शिताको अभाव भएको उनको दाबी छ । नेपालीहरू कमै मात्रै स्किलफुल रहेको भन्दै वर्तमान मात्रै हेर्ने र भविष्य नसोच्ने गरेका कारण डिजिटल प्लेटफर्ममा लगानी हुन नसकेको उनको बुझाइ छ । 

लगानीबिनाका डिजिटल प्लेटफर्म !
निर्माता तथा चलचित्र विकास बोर्डका सदस्य अर्जुनकुमार नेपाली डिजिटल प्लेटफर्महरू च्याँखे थापेर बसिरहेको टिप्पणी गर्छन् । अरूको लगानीमा नाफा कमाउने उद्देश्यले बस्नु नै गलत भएको उनी बताउँछन् ।

“हामी डेढ/दुई करोड लगानी गरेर चलचित्र बनाउने अनि लगेर उनीहरूलाई बेचेर खाऊ भनेर किन दिने ?,” अर्जुनकुमार प्रश्न गर्छन्, “अर्काको लगानीमा आफू बिजनेस गर्न खोज्ने प्रवृत्ति ठग प्रवृत्ति हो । यसले नेपाली चलचित्र उद्योगलाई कुनै पनि कोणबाट टेवा पुर्याउँदैन ।”

चलचित्रको लगानीको २५ प्रतिशत मात्रै एमजी गर्ने हो भने पनि निर्माताहरू डिजिटल प्लेटफर्ममा आफ्नो चलचित्र लगाउन तयार हुने उनको दाबी छ । “डेढ करोडको चलचित्रमा २५ प्रतिशत मात्रै एमजी दिने हो भने पनि निर्माताहरू चलचित्र दिन तयार हुन्छन् । तर, यहाँ त त्यति गर्न पनि कोही तयार छैन । त्यसैले कोही पनि निर्माता आफ्नो लगानी र पसिना अर्कालाई सित्तैमा दिन तयार हुँदैन,” उनी भन्छन्, “मेरै चलचित्र रिलिजका लागि तयार छ । तर, मलाई फाइदा हुँदैन भने अरूलाई पोस्न किन चलचित्र दिन्छु ?”

ठूला घरानाको लगानी आएन
नेपालमा विस्तारै डिजिटल प्लेटफर्मकै भविष्य रहेको तर अहिले भइरहेको लगानीमा यसले सफलता पाउन नसक्ने निर्देशक विनोद पौडेलको दाबी छ । आर्थिक र प्राविधिक रूपमा असुरक्षित रहेको अवस्थामा निर्माताहरूले चलचित्र दिन नसकिरहेको उनको तर्क छ ।

“मेरै चलचित्र बुलबुल पनि विभिन्न प्लेटफर्मबाट नमागिएको होइन । अहिले पनि साथीहरूले मागिरहनुभएको छ । तर, चलचित्र डिजिटल प्लेटफर्ममा दिनेबित्तिकै पाइरेसी हुन्छ । पाइरेसी भएपछि बाँकी ठाउँमा पठाउन सकिँदैन भने कसरी दिन सकिन्छ ?,” उनी भन्छन्, “एकातिर एमजी छैन । अर्कोतिर, पाइरेसी भएर दर्शकको हातहातमा चलचित्र पुग्छ भने कसरी चलचित्र दिन सकिन्छ र ?”

त्यसैले दुई/चार करोड लगानीमा होइन, अर्बको छेउमा लगानी नगरेसम्म डिजिटल प्लेटफर्मले आफूलाई भरपर्दो रहेको प्रमाणित गर्न नसक्ने र स्थापित पनि हुन नसक्ने विनोदको भनाइ छ । र, यसका लागि ठूलो व्यापारिक घरानाको प्रवेश हुनुपर्ने आवश्यकता औँल्याउँछन् । पचासौँ नयाँ चलचित्र किन्न सक्ने र आफैँ बर्सेनि दर्जनभन्दा धेरै नयाँ चलचित्र बनाउन सक्ने प्लेटफर्म नआएसम्म टिक्न कठिन हुने उनी बताउँछन् । तर, अहिले भइरहेका डिजिटल प्लेटफर्मको विकास र विस्तारमा सहयोग गर्नुपर्ने उनको धारणा छ ।

“अहिले जति पनि डिजिटल प्लेटफर्म छन्, तिनलाई पनि हामीले कसरी हुन्छ इन्करेज नै गर्नुपर्छ । यो सुरुआत हो, यसरी नै विस्तार विकास हुँदै जाने हो,” विनोद भन्छन्, “तर, दर्शकलाई इङ्गेज गराउन भने फ्रेस कन्टेन्ट नै चाहिन्छ । धेरैभन्दा धेरै कन्टेन्ट नै चाहिन्छ, योबिना सफलता हात पर्दैन भन्नेचाहिँ सुरु गरेका साथीहरूले ध्यान दिनैपर्छ ।” 

दोहोरो जोखिम मोल्न सकिँदैन
निर्माता सन्तोष सेन डिजिटल प्लेटफर्ममा चलचित्र दिएर आफूहरू दोहोरो जोखिम मोल्न तयार नरहेको बताउँछन् ।  आक्रामक पब्लिसिटी भएको खण्डमा हलमा इनिसियल बिजनेसको अपेक्षा हुने तर डिजिटल प्लेटफर्ममा मिनिमम ग्यारेन्टीका लागि तयार नहुने यसका सञ्चालक नै नेपालमा यसको असफलताको मुख्य कारण रहेको उनको जिकिर छ ।

“नेपालमा जसले डिजिटल प्लेटफर्म खोलिरहनुभएको छ, उहाँहरूले पनि राम्रो मेकरका सम्भावना बोकेका कम्तीमा १२/१५ वटा चलचित्र किन्नुपर्यो । उहाँहरूले आफैँ पनि चलचित्र बनाउनुपर्छ । यसो गरेको खण्डमा नेपालमा पनि डिजिटल प्लेटफर्मबाट कमाउन सकिन्छ,” सन्तोष भन्छन्, “तर, उहाँहरू आफू लगानी गर्न तयार नै हुनु हुन्न । पेपर भ्युका आधारमा चलचित्र दिँदा हामी कुनै पनि हातलमा सुरक्षित हुन सकिँदैन ।”

कम्तीमा लगानीको ६० देखि ७० प्रतिशत एमजी दिएर सेयरमा बस्न कसैले आग्रह गरे आफू तयार रहेको उनी बताउँछन् । हलिउड, बलिउडका डिजिटल प्लेटफर्मले लगानीको दोब्बर पैसा दिएर कन्टेन्ट किनिरहेको भन्दै सन्तोष नेपालमा पनि त्यसरी नै कन्टेन्टमा लगानी गर्नुपर्नेमा जोड दिन्छन् ।

त्यसो गर्न सके र राम्रो मार्केटिङ गरे नेपालमा डिजिटल प्लेटफर्म तत्काल फस्टाउने अन्यथा मेकरहरू हल नै कुरेर बस्ने उनी बताउँछन् । कुनै पनि बिजनेस लगानीबिना सफल नहुने भन्दै यसमा डिजिटल प्लेटफर्मका सञ्चालकको ध्यानाकर्षण हुनुपर्नेमा सन्तोषको जोड छ ।  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  ०७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro