स्वीकारोक्ति
केही त विस्मृतिको धमिलो पोतिएर होला,
स्मृतिका भित्ताहरूमा
स्पष्ट छैन भविष्यको छवि
सधैँ हेर्ने गरेका हत्केलाका ऐनामा
सखारै झुल्केको हो घाम हिजोअस्तिजस्तै
क्षितिज उसैगरी लिपेका हुन् बिहानी लालिमाहरूले
जोर गौँथली सदाझैँ उडेका हुन् दलिनबाट
मेरै जिम्मामा छाडेर आफ्नो घर र बचेराहरू
जब उसैगरी उभियो आँगनछेउमा–
दुई दशकअघिको साइँला दर्जीको पुरानै उदास अनुहार
लेख्दालेख्दैको मेरो कविता
केही नबोली हिँड्यो सरासर ।
बेलाबेलामा अझै आइरहन्छिन् चमेली दिदी
हाँसेरै बोल्न खोज्दा पनि धोका दिन्छन्
कहिले मनका व्यथाले, कहिले नभएको जेथाले
खसमको मृत्यु पीडासित साटेको एउटै छोरो
हताहत भएदेखि मुठभेडमा
तिनका सपनाले बिर्सेका हुन् आँखाको बाटो
देख्छु जब तिनका अनुहारमा टाँसिएको छाक टार्ने उही पुरानो गर्जो
आउनै लागेको कविता फर्कन्छ फनक्क
र, उनैका रसिला आँखामा प्रविष्ट हुन्छ हेर्दाहेर्दै ।
हरेक दिन घरछेउको बाटो भएर जान्छ
विदेशिने तन्नेरी भोकहरूको लर्कन
तपसिलमा बिर्सेर बाकसमा फर्कनु परेको दुखान्त
तिनका आँखाका अनिश्चित सपनामा
म नियाल्न खोज्छु यो देशको ढलपल मानचित्र
कविता उछिनेर मेरा दृष्टिको गति
तिनीहरूका झोलाभित्र प्रवेश गर्छ सुटुक्क
मलाई थाहा छ– ती झोलाभित्र
केटाकेटीको स्कुल पुग्ने गोरेटो छ
श्रीमतीका रहरहरूको पहेँलो सपना छ
छन् आमाले खाजामा हालिदिएका केही रोटी
र, सबैभन्दा डरलाग्दो छ– बिरामी बाबुको लहरे खोकी
जसमा भर्नु छ आशाको लय– अब त्यसै कविताले ।
सुदूरस्मृतिमा जसलाई देश भनेर सजाए तिनले उमेरभरि
भोक खाएर आशा हाँसे
तिर्खा पिएर तृप्ति रमाए
पोल्टामा हालेर घरकै मकै भटमास
होमिए आफ्नै शासन ल्याउने ज्यानमारा लडाइँमा
लोग्ने मर्दा बग्न दिएनन् आँसु
आँखैअघि स्वास्नी ढल्दा आगो राखे बरु आँखामा
निभाएनन् साँझबत्ती छोराछोरी बेपत्ता हुँदा
आज जब बिरानो भएको छ त्यही शासन तिनका आँखामा
भन्नुस् महोदय ! म कसरी लेखूँ कविता ?
तपाईंले खर्पनमा सजाएपछि आफ्नो इमान
अनुवाद गरेपछि तपाईंले जनसेवालाई दुहुनो गाईमा
सजाएपछि तपाईंले लालची आँखामा धृतराष्ट्र सपना
रमाएपछि तपाईं आफन्ती मोहको मायाजालमा
लगाइदिएपछि योग्यतालाई पारदर्शी धोती तपार्इंले आफ्नै हातले
मैले पनि यिनै हातले च्यातेर मिल्काएको हुँ–
जीवनभर आशा र आस्था लेखेका कविताका डायरीहरू
लिई गएको हुँ आफैँले छोराछोरीलाई राहदानी बनाउन ।
धेरैपछि तपाईंले आज एक्कासि सम्बोधन गर्दा ‘कविजी !’
मलाई त कुनै अर्कै ग्रहको मान्छेले
संसारकै सबैभन्दा निकृष्ट गाली गरेजस्तो पो लाग्यो ।
स्वीकारोक्तिमा यति मात्रै भन्छु– तपाईंको जानकारीका लागि
म हत्यारा हुँ !
आफैँभित्रको कविलाई मारेको अभियोगमा आजकल म
जीवनकै कठोर श्रमशिविरमा छु
र, भोगिरहेछु– बारुद खेती गर्ने सजाय ।
०००
ऊ देशद्रोही हैन
हुस्सु ओढेको एउटा चिसो बिहान
जसरी जिस्किन्छ–
हात हालेर टिन एजरहरूसँग
स्कुल–कलेजहरूमा
यो देशको सरकार
लाग्छ–
ठिक त्यसैगरी जिस्किरहेछ
ठाउँकुठाउँ हात लगाएर
निमुखा जनतासँग यो देशमा ।
उकुच पल्टेका घाउ बोकेर
रोइरहेछन् मानिसहरू
सहिरहेछन् पुसमाघको शीत आक्रमण
ग्रीष्मको रापताप
र, कोरोना कहर एकसाथ ।
अभावको दुर्दिनका आँगनभरि
भोक मर्काइरहेछ कम्मर
कालो कोरोना कहाली गाइरहेछ
सलहको सातो उडाउने सरसराहट
गुन्जिरहेछ बस्ती र पाखाहरूमा ।
छिचोलेर सहनशक्तिका सीमाहरू
आतंक तर्साइरहेछ कमजोर मुटुहरूलाई ।
भोक भित्रिरहेछ–
भन्सार छलेर भित्रिएका
अवैध सामानजस्तै ।
आशाहरू रित्तिरहेछन्
देशको असारे विकासमा परेको बजेटजस्तै
र, विश्वास आज
झम्केझरीमा गरिएको कालोपत्रे पिच भएको छ ।
बस्तीहरू तिर्खामा रुँदा
देशलाई पानीजहाज कुदाउने रहर जागेको छ ।
लेकबेसी गर्ने दुर्गमतिर अँध्यारो हाँस्दा
देशलाई रेल सपनाले गाँजेको छ ।
न्यायको व्यापारमा
एउटा धनाढ्य व्यस्त रहँदा
अनेक गरिब अन्यायमा रोइरहन्छन् ।
नोटका बिटाहरूले
कानुनका दफा–उपदफाहरू संशोधन गरिरहँदा
अन्धकारतिर फर्केर तरक्क आँसु झार्छ देश ।
एउटा गरिब मृत शरीर
हप्तौँ आईसीयूमा थुनिएर
अस्पतालहरूको व्यापार चलाइरहन्छ ।
संविधानको घाँटी अँठ्याएर
टेबुलमुनिबाट सल्बलाउँछन् काला हातहरू
अख्तियार कतै बनारसी पान चबाएर उग्राइरहन्छ ।
हरेक बिहान संगतिको फुटबल खेल्छन्
यहाँ विसंगत खुट्टाहरू
र, हरेक रात बेथितिका गोलहरूको वर्षा हुन्छ ।
बेमेलहरूको डंगुुरमाथि उभिएर
जब नियाल्छ मान्छे आफूअघिको पर्यावरण
आक्रोश र विरक्तिहरूको एउटा जुलुसले
हरेक दिन मुर्दावाद गाइरहेझैँ लाग्छ ।
हाक्काहाकी भन्छ ऊ–
यसैलाई तपाईं सुखी, समृद्ध देश भनेर गर्व गर्नुहुन्छ भने
म सत्य भन्छु–
मलाई यस्तो देशको नागरिक हुनुमा
कुनै गौरवबोध छैन ।
बाध्यताले खाडी धकेल्यो होला
भोकले बनायो होला– छिमेकीको दरबान
मसिना सपनाका पखेटा पहिल्याउँदै
देशबाहिर पुगेको हुनसक्छ ऊ
तर पनि, ऊ देशद्रोही हैन
ऊ पटक्कै देशद्रोही हैन ।
०००
(हेटौँडा)