
काठमाडौं । वासु शशी स्मृति परिषद्ले नाटककार मनबहादुर मुखियालाई ‘वासु शशी साहित्य सम्मान–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै, कवि विमल वैद्यलाई ‘वासु शशी साहित्य पुरस्कार–२०८१’ र कवि सन्ध्या पहाडीलाई ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ । दुई पुरस्कारका साथ जनही नगद राशि २५ हजार प्रदान गरिने परिषद्ले जनाएको छ ।
परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।
६ दशकदेखि नेपाली नाटक र गीत लेखनमा सक्रिय मुखियाका आधा दर्जन साहित्यिक कृति प्रकाशित छन् । मुखियाका नाटकहरू ‘अनि देउराली रुन्छ’ र ‘क्रसमा टाँगिएको जिन्दगी’ चर्चित छ ।
चार दशकदेखि कवितामा सक्रिय वैद्यका चार कविता कृति प्रकाशित छन् । तीन दशकदेखि साहित्यमा सक्रिय पहाडीका पनि विभिन्न कृति प्रकाशित छन् ।
घोषित सम्मान तथा पुरस्कार कवि एवं नाटककार वासु शशीको ८९औँ जन्मजयन्तीका अवसरमा आउँदो चैत १३ गते प्रदान गरिने परिषद्का सदस्य–सचिव प्रद्युम्न जोशीले जानकारी गराएका छन् ।