site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्ट्रेलियामा स्वतन्त्रता सेनानी राजोपाध्यायको जीवनी लोकार्पण

एडिलेड । साउथ अस्ट्रेलियाको राजधानी एडिलेडमा एक विशेष समारोहका बीच प्रजातान्त्रिक योद्धा मुकुन्द शर्मा राजोपाध्यायको जीवनी समेटिएको पुस्तक लोकार्पण गरिएको छ । पत्रकार तथा लेखक हरि अधिकारीको लेखन तथा सम्पादनमा तयार भएको पुस्तक अस्ट्रेलियाका निम्ति नेपाली राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा लोकार्पण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि राजदूत यादवले राजोपाध्यायलाई नेपालको प्रजातान्त्रिक आन्दोलनका निडर योद्धा बताउँदै देश र प्रजातन्त्रका लागि उनले सम्पूर्ण जीवन समर्पण गरेको उल्लेख गरिन्। उनले भनिन्, “मुकुन्द शर्मा राजोपाध्यायले आफ्नो जीवन नेपालको लोकतन्त्र र स्वतन्त्रताको लागि समर्पित गर्नुभयो। उहाँको संघर्षले आज हामी स्वतन्त्र वातावरणमा स्वच्छन्द विचार राख्न पाएका छौँ ।”

कार्यक्रममा एनआरएनए ओसिनियाका पूर्वडेपुटी रिजनल कोर्डिनेटर नवीन कँडेलले पुस्तकको समीक्षा गर्दै मुकुन्द शर्मा राजोपाध्यायको जीवनका आरोह–अवरोहबारे जानकारी गराएका थिए । कँडेलले पुस्तकको समीक्षा गर्दै राजोपाध्यायको जन्मदेखि मृत्युसम्मका महत्त्वपूर्ण घटनालाई समेट्दै उनको संघर्षपूर्ण जीवनलाई उजागर गरेका थिए।

एनआरएनए ओसिनिया डेपुटी रिजनल कोर्डिनेटर गोकुल घिमिरेले स्वर्गीय मुकुन्द शर्मा राजोपाध्यायको पुस्ताका कारण नै आज नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापना हुन सकेको बताए। उनले भने, “नेपालमा प्रजातन्त्र र गणतन्त्रको इतिहासमा मुकुन्द शर्मा राजोपाध्यायको बलिदानलाई कहिल्यै भुल्न सकिन्न। उहाँले देखाएको मार्गले आज हामी स्वतन्त्रता अनुभव गर्न सकेका छौँ ।”

विसं २०१७ मा राजा महेन्द्रले सैनिक बलको सहायताले देशमा पञ्चायती शासन लागु गरेपछि नेपाली कांग्रेसले त्यसविरुद्ध सशस्त्र क्रान्तिको आह्वान गरेको थियो । त्यस क्रान्तिमा कलिलो उमेरमै मुकुन्द शर्मा राजोपाध्याय सक्रिय भए । उनी श्यामलाल श्रेष्ठ, ओमकार श्रेष्ठ र रुपचन्द्र नहाटासहितको समूहमा सामेल भई भारतबाट विस्फोटक पदार्थ काठमाडौं भित्र्याउने योजनामा संलग्न भए । 

२०१९ सालमा सिंहदरबार, नारायणहिटी, दूरसञ्चार, रेडियो नेपाललगायतका महत्त्वपूर्ण स्थानमा एकैपटक विस्फोट गराएर राजा महेन्द्रको शाही सत्तालाई हल्लाउने योजना बनाइयो । तर, योजना कार्यान्वयन हुनुअघि नै मुकुन्द शर्मा राजोपाध्याय र उनका साथीहरू पक्राउ परे ।

पक्राउ परेपछि उनलाई २०१९ देखि २०२९ सालसम्म १० वर्ष कठोर कारावासको सजाय सुनाइयो । जेल जीवन बिताइसकेपछि पनि उनको संघर्ष समाप्त भएन । उनलाई थप १२ वर्ष भारतमा निर्वासित जीवन बिताउन बाध्य पारियो । २०२९ देखि २०३९ सम्म भारतका विभिन्न स्थानमा संघर्षपूर्ण जीवन बिताएपछि २०३९ सालमा नेपाल फर्किएर पुनः पार्टी गतिविधिमा सक्रिय भए ।

विसं २०४६ मा राजा वीरेन्द्रले बहुदलीय व्यवस्था पुनःस्थापना गरेपछि उनको कठिन जीवनमा केही राहत मिल्यो । तर, जेलमा  बिताएका वर्षहरू, लगातारको संघर्ष र दुःखकष्टका कारण उनको स्वास्थ्य कमजोर हुँदै गयो । विभिन्न रोगहरूको चपेटामा परेका उनले २०५१ सालमा ५२ वर्षको अल्पायुमा संसारबाट बिदा लिए ।

स्वर्गीय राजोपाध्यायको ३०औं पुण्यतिथिको अवसरमा आयोजित सो कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत यादव, एनआरएनए ओसिनिया डेपुटी रिजनल कोर्डिनेटर गोकुल घिमिरे, साउथ अस्ट्रेलियन मल्टीकल्चरकमिसन सदस्य मन्जु खड्का, एनआरएनएका अध्यक्ष अनिल पाखरेल, साउथ अस्ट्रेलिया स्टेट संयोजक सञ्जय पुरी, तास्मानिया राज्य संयोजक जगदीश खड्का, नर्दर्न टेरिटोरी संयोजक सञ्जीव गोर्खालीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा पुस्तक लोकार्पण गरिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  २१:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro