
काठमाडौं । ०८० सालको नूर–गंगा प्रतिभा पुरस्कार पाँच प्रतिभालाई दिइने भएको छ । गुठीको हालै बसेको साधारणसभाले बालसाहित्य र लोकगीत गायनका क्षेत्रमा योगदान गर्ने पाँच प्रतिभालाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।
गुठी प्रबन्ध समितिका अध्यक्ष प्रा.डा. गोविन्द नेपालको अध्यक्षतामा बसेको सभाले नेपाली बालसाहित्यका क्षेत्रमा योगदान पुर्याउने रामबाबु सुवेदी (कास्की) र रामकुमार पाँडे (काठमाडौं)लाई ‘नूर–गंगा राष्ट्रिय बालसाहित्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारका साथ जनही ५० हजार रुपैयाँ प्रदान गरिने पनि गुठीले जनाएको छ ।
त्यस्तै, ‘नूर–गंगा क्षेत्रीय स्थापित लोकगायन पुरस्कार’ नगद राशि ३० हजार रुपैयाँसहित रूपन्देहीका डिल्लीनारायण पाण्डेलाई, ‘नूर–गंगा राष्ट्रिय नवप्रतिभा लोकगायन पुरस्कार’ नगद राशि २५ हजारसहित म्याग्दीका प्रकाश दुतराजलाई र ‘नूर–गंगा क्षेत्रीय नवप्रतिभा साहित्य पुरस्कार’ नगद राशि २० हजारसहित रूपन्देहीका सागर पौडेललाई प्रदान गर्ने निर्णय गरेको गुठीले जनाएको छ ।
घोषित पुरस्कारहरू आउँदो चैतमा प्रदान गरिने गुठीले जानकारी गराएको छ ।