काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंकका सहायक कम्पनीलाई शर्तसहित ब्रोकर लाइसेन्स दिने तयारी गरेको छ । बोर्डले ब्रोकर लाइसेन्सको नियमावली संशोधनका लागि बनाएको समितिले बैंकका सहायक कम्पनीलाई ब्रोरक लाइसेन्स दिनेगरी मस्यौदा तयार गरेको हो ।
स्रोतका अनुसार ब्रोकरको कार्य अनुसार न्यूनतम १० करोडदेखि १ अर्बसम्म पुँजी प्रस्ताव गरिएको छ । बोर्डले बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल र व्यापारी दुवैको काम गर्नेगरी न्यूनतम १० करोडदेखि अधिकतम १ अर्ब पुँजी तोक्न लागेको हो ।
बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ लाई संशोधन गर्न बनाएको समितिले धितोपत्र दलाल र व्यापारीका लागि न्यूनतम चुक्ता पुँजी ५ गुणाले बढाउनेगरी मस्यौदा तयार गरेको छ । नियमावलीमा हाल धितोपत्र दलालका लागि २ करोड र व्यापारीको लागि २० करोड चुक्ता पुँजी चाहिने व्यवस्था रहेको छ ।
मस्यौदा तयार भएपनि समितिले त्यसलाई पेश भने गरेको छैन । यदि उक्त मस्यौदा धितोपत्र बोर्डको सञ्चालक समितिले अनुमोदन गरेर अर्थमन्त्रालयले संशोधन स्वीकृत गरेमा अब ब्रोकर लाइसेन्सका लागि न्यूनतम चुक्ता पुँजी १० अर्ब पुग्नेछ ।
बोर्डले धितोपत्र दलाल र व्यापारी दुवै काम गर्नेगरी लाइसेन्स दिने तयारी गरेकाले बैंकका सहायक कम्पनीले लाइसेन्स लिन चाहेमा १ अर्बको सहायक कम्पनी स्थापना गर्नुपर्ने हुन्छ ।
नियमावली संशोधन गर्दै बोर्डले प्रदेशमासमेत ब्रोकर विस्तार गर्न लागेको हो । उपत्यकाबाहिर ७ वटै प्रदेशमा ब्रोकरको केन्द्रीय कार्यालय रहनेगरी नियमावली संशोधनको मास्यौदा तयार भएको स्रोतको दाबी छ ।
“ब्रोकरको सहायक कम्पनीलाई लाइसेन्स दिनेगरी बोर्डले इनिसिएसन लिएको छ । संस्था बलिया हुनेगरी पुँजी, प्रविधि र गभर्नेन्स हुनेगरी लाइसेन्स दिनुपर्छ भनेर बोर्डले काम गरिरहेको छ,” स्रोतले बाह्रखरीसँग भन्यो ।
नियमावलीले पब्लिक लिमिटेड कम्पनीको रूपमा ब्रोकर लाइसेन्स दिन लागेको हो । नियमावली संशोधनको लागि बोर्डले सञ्चालहरू रामेश्वर दंगाल, सिनर्मला अधिकारी भट्टराई र अशोक पौडेल रहेको समिति गठन गरेको छ । उक्त समितिले नियमावली संशोधन मस्यौदा तयार गरेको हो । समितिले ब्रोकर ततथा कार्यक्षेत्र तोकेर सोही अनुसार १० करोडदेखि १ अर्ब पुँजी प्रस्ताव गरेको हो ।
बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गाना बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिएपछि केही परिवर्तन हुनुपर्ने भन्दै सोही अनुसार बोर्ड अगाडि बढेको बताउँछन् । नियमावली संशोधन समितिले संशोधनको काम गरिरहेकाले कस्तो संरचनामा जाने समितिले नै सिफारिस गर्ने उनले बताए । तर बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिइसकेपछि लगानीकर्ताले पनि त्यही अनुसारको सुविधा पाउनुपर्ने र त्यही अनुसारको प्रविधि र टीएमएस ल्याउनुपर्ने उनको तर्क छ ।
कति पुँजी र कुन मोडलमा लाइसेन्स दिने समितिले नै प्रस्ताव गर्ने उनले बताए । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेनस दिन बोर्डले इनिसिएसन दिएको र धितोपत्रको दोस्रो बजार विस्तारका लागि बोर्ड अगाडि बढेको उनको भनाइ छ ।