दिवश खनिया
सिद्धान्त के हो त्यो पनि थाहा छैन
नैतिकताको डर झन् लागेकै छैन ।
सबैले कमाए, सबैले बनाए
मेरो पालो आएकै छैन ।
अब त म पनि राजनीति गर्छु
किनभने,
काठमाडांैमा एउटा घर नभई त
मलाई पनि भएकै छैन ।
काम पाइन्न यहाँ
माम पाइन्न यहाँ
इमान, लगन र योग्यता
चाहिँदै चाहिँदैन यहाँ ।
के हेरेर बसौँ ?
के गरेर बसौँ ? भन त
त्यसैले अब त म पनि राजनीतिमा नआई भा’छैन ।
भन्नेको मुख थाक्छ
सुन्नेको कान पाक्छ
यहाँ यस्तै छ
यस्तै हुन्छ
यस्तै भइरहेको छ
मौलिक र मालिकको खोजी ।
ह्या ! छाड्दिनुस्, सिद्धान्त र आदर्शका कुरा,
तिथि मिति र इतिहासका कुरा
इमानदार सधैँ उपेक्षित हुन्छ यहाँ
षड्यन्त्रै षड्यन्त्रको जञ्जाल छ यहाँ
हल्लै–हल्लाको धराप छ यहाँ ।
फलानो कान्डको अभियोगमा
कठघरामा उभिएको फलानो
अहिले फलानो आयोगको साहेब भएछ
अनि राजनीत्भिन्दा सुरक्षित र भरपर्दो के रहेछ ?
छिमेकी काकाले नेताज्यूको पार्टीमा आउन नमानेको त
उनको छोरालाई डाँकाको मुद्दा पो लागिसकेछ ।
थैली चढाएर, भएभरका नातागोता जुटाएर
ठाउँ–ठाउँमा इमानदारिताको भिख माग्दै छन्
बिचरा दिनभरि सुत्छन् कुर्सीमै
सपना भए रे अधुरो बर्बराउँछन् निद्रामै ।
जहाँ कालो कोट र हरिया नोटसँग न्याय बिक्रीमा छ
सत्तासेवा र स्वरक्षा गर्ने सुरक्षा बिक्रीमा छ
विज्ञापन एवं प्रायोजनहरूमा पत्रकार बिक्रीमा छ
त्यहाँ इमानदारिताको के मूल्य हुन्छ ?
जागिरको के अवसर हुन्छ ?
जहाँ उद्योग, व्यापार बन्द गरिएको अवस्था छ ।
आलु, मुला र गोलभेँडालाई ग्लोबल टेन्डर गरिन्छ जहाँ
आम मानिसले काम पाउन्न यहाँ
माम पाउन्न यहाँ
इमान, लगन र योग्यता
झनै चाहिँदै चाहिन्न यहाँ ।
अनि अब पनि
के हेरेर बसौँ म ?
के गरेर बसौँ ? भन त
त्यसैले अब त राजनीतिमा नआई भा’छैन ।