काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबैको आत्मविश्वास बढाउने खालको मौद्रिक नीति ल्याउने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मौद्रिक नीतिमा समावेश हुनुपर्ने विषयमा दिएको सुझाव लिँदै उनले मौद्रिक नीतिले आत्मविश्वास बढाउने काम गर्ने बताए ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले उद्योगी व्यवसायीसहित आम सर्वसाधारणको आत्मविश्वास मर्न नदिएको भन्दै उनले आगामी मौद्रिक नीतिले पनि उद्योगी व्यवसायीसहित आम सर्वसाधारणको आत्मविश्वास बढाउने बताए । “चालु वर्षको मौद्रिक नीतिका कारण हामीले उद्योगी व्यवसायीको आत्मविश्वास मर्न दिएनौँ । हामीले सबै सरोकारवालाहरूसँग छलफल पनि गरिसकेका छौँ । उद्योगी व्यवसायीको आत्मविश्वास बढाउन नै कोसिस गर्नेछौँ,” उनले भने । गभर्नर अधिकारीले सेजनले यथार्थपरक सुझाव दिएको भन्दै धन्यवाद व्यक्त गरे ।
बिहीबार सेजनका अध्यक्ष भीमप्रसाद गौतमले गभर्नर महाप्रसाद अधिकारीलाई ३५ बुँदे सुझावका दिएका हुन् । चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको चरणमै कोडिभ–१९ को दोस्रो लहरले अर्थतन्त्रलाई जटिल मोडको पुर्याएको भन्दै अर्थतन्त्र पुनरत्थानलाई नै ध्यानमा राखेर नीति ल्याउन उनले आग्रह गरे ।
“चालु आर्थिक बर्षको मौद्रिक नीतिले कोरोना भाइरसबाट थलिएको अर्थतन्त्रलाई पुर्नजीवित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । राष्ट्र बैकले लिएको नीतिका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ तर मौद्रिक नीति कार्यान्वयनको चरणमै दोस्रो लहरको कोरोना भाईरसको असर बढेपछि फेरि नेपालको अर्थतन्त्र जटिल मोडमा पुगेको छ,” सेजनले भनेको छ, “यसबाट प्रभावित अर्थतन्त्रको पुनरत्थान गर्न मौद्रिक नीति सामु चुनौती थपिएको छ । एकातिर वित्तीय क्षेत्रलाई स्थायित्व दिनुपर्ने र अर्कोतर्फ राहत समेत दिनुपर्ने परस्परमा विरोधी (म्युचुअल्ली एक्सक्लुसिभ) विषयहरूलाई सन्तुलन गर्नुपर्ने चुनौती रहेको छ ।”
कार्यक्रममा डेपुटी गभर्नरद्धय बम बहादुर मिश्र र निलम ढुंगाना, कार्यकारी निर्देशक एवं प्रवक्ता देवकुमार ढकाल पनि सहभागी थिए ।