काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ७८ प्रतिशत सकिएको छ । अहिले टर्मिनल भवनको डेकोरेसन, फिनिसिङको काम भइरहेको छ । हालसम्मको प्रगति र योजनाअनुसार तोकिएकै समयमा आयोजना सम्पन्न हुने आयोजना प्रमुख इन्जिनियर विनेश मुनंकर्मीले बताए । विमानस्थल निर्माणको काम आगामी डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । “अहिलेसम्मको प्रगति हेर्दा डिसेम्बरसम्म निर्माण कार्य सकिन्छ,” उनले भने ।
यसअघि जुन महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
कोभिड १९ का कारण करिब ३ महिना निर्माण कार्य पूर्ण रूपमा काम रोकिएको थियो । चिनियाँ कामदार आफ्नो नयाँ वर्ष मनाउन चीन गएका र सो समयमा चीनमा देखिएको कोरोनाका कारण उतै रोकिएका थिए । पछि उनीहरूलाई नेपाल ल्याएपछि नेपालमा पनि कोरोना संक्रमणका कारण काम रोकिएको थियो । कोरोनाका कारण सीमा नाका बन्द हुँदा निर्माण सामग्री पनि रोकिँदा काम प्रभावित भएको उनले बताए । तर पनि हालसम्मको प्रगति हेर्दा डिसेम्बरसम्म सम्पन्न हुने देखिएको उनकाे भनाइ छ ।
विमानस्थलमा टावरसहित ७ वटा भवन निर्माण सम्पन्न भइसकेको छ । यद्यपि कोरोनाको पहिलो र दोस्रो लहरका कारण विदेशबाट प्रविधि एवम् प्राविधिक ल्याउन नसक्दा आयोजनालाई असर परेको उनले बताए ।
मुनंकर्मीकाअनुसार सबै भवन निर्माणका काम सकिएको छ भने त्यसमा डेकोरेसन एवम् फिनिसिङको काम हुँदै छ । विमानस्थलको धावनमार्गमा लाइट राख्ने काम सकिएको छ भने आवश्यक सडक निर्माणको काम पनि सकिएको छ ।
“आयोजनाको ७८ प्रतिशत काम सकिएको छ । केही महत्वपूर्ण सामान आउन बाँकी छ । त्योसँगै ती सामान जोड्ने प्राविधिक पनि झिकाउनुपर्ने छ,” उनले भने । उनकाअनुसार प्रविधि जडानको काम रोकिएको छ । इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम, मेकानिकल इन्स्ट्रुमेन्टलगायतका प्रविधि जडानको काम बाँकी रहेको उनले जानकारी दिए ।
आयोजनाले कोरोना महामारीको दोस्रो लहरका कारण युरोप, अमेरिका, चीनबाट ल्याउनुपर्ने महत्वपूर्ण प्रविधि एवम् प्राविधिक ल्याउन सकिरहेको छैन । यी प्रविधि र प्राविधिक ल्याउन कोभिड-१९ को पहिलो चरणकै समयमा ल्याउन खोजिएको भएपनि सफल भएको थिएन । “पहिलो लहरले पनि असर पारेको थियो । अहिले फेरि पनि असर पारेको छ । निषेधाज्ञा हुँदा कम कर्मचारीबाट मात्रै काम भइरहेको छ,” उनले भने ।
कोरोनाको पहिलो लहरका बेला चीनबाट कामदार ल्याउन कठिनाइ भोगेको आयोजनामा अहिले १ सय ८८ जना चिनियाँ कामदारले काम गरिरहेका छन् । यस्तै १५० जना नेपाली कामदार छन् । “कोभिडको दोस्रो लहर सुरु हुनुभन्दा अगाडि ७ सय जनाले काम गरेका थिए । अहिले चिनियाँ १८८ जना र नेपाली १५० जना मात्र छन् । आधा भन्दा बढी श्रमशक्ति घटेको अवस्था छ । त्यसले गर्दा पनि असर गरेको छ,” उनले भने ।
नेपालमा फैलिएको काेराेनाकाे दोस्रो लहरका कारण विदेशबाट प्राविधिकहरू आउन डराइरहेको उनले बताए । विदेशबाट ल्याउनुपर्ने प्रविधिसहित प्राविधिक पनि आएको तीन महिनाभित्र सबै प्रविधि जडान गर्ने काम सकिने उनले बताए । तर, कोभिडको असर कहिलेसम्म पर्छ भन्ने अन्यौल यथावत् छ ।
उनका अनुसार प्रविधि जडानसहित विमानस्थल सञ्चालन योग्य बनाइसकेपछि पनि विमानस्थल सञ्चालनका लागि थप ३ महिनाजति लाग्छ । “एयरलाइन्सको कार्यालय सेटअप, टेकेटिङ, अध्यागमन, भन्सार कार्यालयलगायत सेटअपका लागि थप २-३ महिना लाग्छ,” उनले भने ।
विमानस्थलमा ११ वटा जहाज पार्किङ गर्न सकिन्छ । यसमध्ये तीनवटा अन्तर्राष्ट्रिय, ४ वटा एटीआर प्रकारका जहाज र ४ वटा ट्विनअटर जहाज पार्किङ गर्न सकिने आयोजना प्रमुख मुनंकर्मीले बताए । “अन्तर्राष्ट्रियतर्फ पनि ‘सी’ प्रकारका विमान १ र ‘डी’ प्रकारका २ वटा विमान पार्किङ गर्न सकिन्छ,” उनले भने । आन्तरिकतर्फ दैनिक ४८ उडान र अवतरण एवम् अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान र अवतरण हुने छ । 'पिक आवर'मा ८ वटासम्म अन्तर्राष्ट्रिय उडान र अवतरण हुने उनले बताए ।
करिब ३९ सय रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको लागत करिब २२ अर्ब रुपैयाँ रहेकाे छ । यो विमानस्थलबाट वार्षिक करिब ८ लाख यात्रुलाई सेवा लिने अपेक्षा गरिएकाे छ ।