site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनमोर्चा सांसद भन्छन् : अझै २० वर्ष कांग्रेसको हालत खराब गर्नुपर्छ भनेर ह्विप उलङ्घन गरेको हुँ
जनमाेर्चाका सांसद कृष्ण थापा ।
  • थापाले मनको कुरा सुन्दा विपक्षीको कुँडिएको मन
  • अस्थिरतातर्फ गयो, मध्यावधिमा जान सक्छ

पोखरा । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवार्दी (पार्टी) जसपा नेपालको विपक्षी गठबन्धन नयाँ सरकार बनाउन लागिपरेको छ । तर, नयाँ सरकार बनाउन राष्ट्रिय जनमोर्चा पार्टी निर्णायक छ । 

तपाईंको पार्टी हाइकमान्डले नै विपक्षीदलको सरकार बनाउनका लागि हस्ताक्षर गरेर संख्या पुर्‍याइदिन निर्देशन दिएको छ । तपाइको मनसाय के छ ? भनेर सोमबार प्रश्न गर्दा जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले भनेका थिए, “यस्तो गाह्रो प्रश्न नसोध्नुहोस ।”

उनले यो पनि भनेका थिए, “मनले नमानेपनि पार्टीको निर्देशन त मान्नै पर्‍यो ।”
तर, मंगलबार पार्टीको नीति अनुरूप उनको हस्ताक्षर लिन आएका आफ्नै पार्टीका महासचिव मनोज भट्ट, गण्डकी प्रदेश अध्यक्ष शंकर बराललाई उनले जवाफ दिए, “मेरो मनले मानेन ।”

Dabur Nepal

उनले आफ्नो मनको कुरा सुन्दा गण्डकीमा नयाँ सरकार बनाउने आशामा रहेका विपक्षी तीन दल कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरूको भने मन कुँडियो ।

सांसद थापाले मनको सुन्दा उनले आफ्नै पार्टीको ह्विप उल्लंघन गरे । आफ्नै राजनीतिक जीवन करिब–करिब अन्त्य भएको महसुस गरेका उनले फलामे अनुशासन, कम्युनिस्टमा इमानदार पार्टी भन्ने उपमा पाएको जनमोर्चाको छविको ख्याल गर्ने कुरा पनि भएन ।

गण्डकी काण्डले जनमोर्चाको छवि दुई हप्ताअघि नै सतहमा आएको थियो । मंगलबार सांसद थापाको मनको कुराले पार्टीको फलामे अनुशासनमा खिया लागेको पुष्टि गरिदिए ।

गत वैशाख १५ गते विपक्षी तीन दलले अविश्वासको प्रस्तावमाथि मतदान हुने दिन जनमोर्चाका सांसद खिमविक्रम शाही अचानक हराएका थिए । त्यतिबेला जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले प्रमुख जिल्ला अधिकारीलाई थर्काउँदै भनेका थिए, “एमालेको राज्य हो यो ?,” जनमोर्चाको केन्द्रले नै त्यतिबेलाको प्रकरणमा राज्यको षड्यन्त्रको गन्ध आएको बताएका थिए ।

उक्त प्रकरणपछि गर्वका साथ जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले भनेका थिए, “राष्ट्रिय जनमोर्चा २०५१ सालदेखि संसद्मा छ । यो फोहोरी खेल देख्दै आएको पनि हो । तर, यस्तो फोहोरी खेलबाट हाम्रो पार्टी सुरक्षित नै देखिन्छ ।”

तर, उनकै गृहजिल्ला बागलुङका सांसद थापाले पार्टीको निर्णय छाडेर मनको कुरा सुनेपछि केसीको पनि मन कुँडिएको छ, बोली पनि फेरिएको छ । उनी निराश हुँदै भन्न पुगेका छन, “हाम्रा सांसद विक्री भए ।”

सांसद थापाले विपक्षीलाई सरकार बनाउन हस्ताक्षर नगर्ने अडान लिएपछिको फोन संवादमा केसीले भनेका थिए, “पार्टीले सांसद बनाउँछ, पार्टीले नेता बनाउँछ पार्टीले सबै बनाउँछ । अब त्यसपछि विक्री हुने, इमान बेच्ने, नीति बेच्ने, चरित्र बेच्नेलाई कारबाही हुन्छ । पार्टीको विधानअनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।”

राष्ट्रिय जनमोर्चाको राजनीतिक प्रतिवेदनमा पनि फलामे अनुशासन पालना गर्ने पार्टी, कारबाही गर्न नडराउन पार्टीको रूपमा चित्रित गरिएको छ । तर, त्यही फलामे अनुशासन पालना गर्ने पार्टीका सांसद थापाले ह्विप उल्लंघन गरे । 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ अनुसार ह्विपको व्यवस्था गरेको छ भने दफा १८ ले अनुशाशसनको कारबाहीको गर्नसक्ने व्यवस्था गरेको छ । उनले ह्विप उल्लंघन गर्दा उनको पद नै जान सक्छ । जनमोर्चाले गर्नसक्ने सम्भावित कारबाहीमध्ये यो पनि एक हो ।

यो दफाको उपदफा १ अनुसार सचेतक पियारी थापाले सोमबार दलका नेता कृष्ण थापा र सांसद खिमविक्रम शाहीको नाममा विपक्षी गठबन्धनलाई सरकार बनाउन सहयोग गर्ने प्रयोजनार्थ हस्ताक्षर गर्न निर्देशन दिएकी थिइन् । भलै, यो ह्विप चाहिँ दलका नेतासँग परामर्श नै जारी नगरी केन्द्रीय निर्णयको आधारमा जारी भएको थियो ।

तर, सांसद थापाले ह्विप मानेनन । यसको अर्थ उनले आफ्नो राजनीतिक जीवन नै दाउमा लगाए । मंगलबार बिहान ११ बजे जनमोर्चाका महासचिव मनोज भट्ट र प्रदेश अध्यक्ष शंकर बरालले फोन संवादमा भनेका थिए, “हामी हाम्रा माननीयको हस्ताक्षर संकलन गर्न जाँदैछौँ, म गाडीमा छु, आधा घण्टापछि सम्पर्क गर्नुहोला ।”

डेढ घण्टापछि सम्पर्क गर्दा बरालले भने, “सांसद कृष्ण थापाले हस्ताक्षर नगर्ने हुनुभयो, हामीले विपक्षी दललाई पनि यसको जानकारी गराएका छौँ ।”

ह्विपबारे जिज्ञासा राख्दा उनले भने, “ह्विप उल्लंघन भएको छ, अब पार्टीले उहाँलाई कारबाही प्रक्रिया अगाडि बढाउँछ ।” केन्द्रिय अध्यक्ष केसीले पनि यसको जनाउ दिएका छन् ।

सोमबारसम्म पार्टीको निर्णय मान्छु भनेका सांसद थापालाई आखिर मनको कुरा सुन्न के ले बाध्य बनायो त ? एउटा राजनीतिक प्राणी एउटा सिद्धान्तको आधारमा कुनै पार्टीमा जोडिन्छ, पार्टीको विचारधारा जनतामा प्रवाह गर्छ अनि चुनावी प्रणालीमा भाग लिन्छ र जनताको मत जितेर जनप्रतिनिधी बन्छ । तर, जनप्रतिनिधि बनिसकेपछि उसलाई पार्टीको निर्णय विपरीत जान केले उत्प्रेरित गर्‍यो ? जुन पार्टी र सिद्धान्तका आधारमा राजनीतिक करियरको ग्राफ उकालो लाग्दा किन त्यही पार्टीको निर्णय उल्लंघन गर्न सक्ने स्थिति आयो ?

एक निर्वाचित जनप्रतिनिधीले आफ्नो राजनीतिक करियरको सफलतालाई त्याग्न के ले विवश बनायो त ?

यही विषयमा ‘मनको कुरा’ सुनेका सांसद थापासँगको संक्षिप्त कुराकानी :

हस्ताक्षर नगर्ने भन्नुभएको रहेछ । प्रदेश प्रमुखले बुधबार अपराह्नसम्ममा नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको छ । भोलिसम्ममा यहाँको मनस्थिति परिवर्तन हुने त होइन ?
अँ मैले हस्ताक्षर गर्दिन भनेको छु । अब मनस्थिति परिवर्तन हुने कुरै छैन । जीवनमा दुईओटा बोली कहिल्यै बोल्दिन ।

हिजोसम्म पार्टीको निर्णय मान्छु भन्नुभएको थियो, आज चाहिँ अचानक परिवर्तन, यसको कारण ?
मान्छु त भनेको थिएँ । तर, मनचाहिँ भित्र–भित्र कुँडिएको थियो । मुल मुद्दा त राजनीतिक नै हो । विशेष गरेर लामो समयसम्म कांग्रेसको शासन हेरियो । उसले राम्रा काम गरेन । राष्ट्रघाती सन्धि गर्ने, नदीनाला बेच्ने, भ्रष्टाचार गर्ने, नातावादको संरक्षण गर्ने गर्‍यो । बागलुङमा कांग्रेसले गरेका ज्यादती बिर्सेका छैनौँ । अहिले पनि हाम्रा कार्यकर्ता तारिखमा छन । फरार छन् ।

यसले गर्दा बिर्सन नसकिने कुराहरू छन् । मुख्य कुरा यही हो । देशभरमा कम्युनिस्टको जनमत ७५ प्रतिशत छ । देशमा त कांग्रेस बढारियो नि त । संघ, प्रदेश र स्थानीय तहमा पनि । अब कम्तीमा पनि २० वर्ष कांग्रेसलाई यस्तै हालतमा राखेर हेर्ने हालत बनाइदिनुपर्छ भन्ने हो ।

कांग्रेसले काम गरेन भन्नुभयो, कम्युनिस्टले गरेको कामप्रति चाहिँ तपाईं सन्तुष्ट हुनुहुन्छ ?
होइन । यिनीहरू पनि राम्रा छैनन्, गरेका छैनन् । यो वर्ष, विशेष गरेर ओलीको कालमा भएको प्रतिगमन नै हो । प्रतिगमन नगर्ने त नेपालका कुनै दल नै भएन । यो एउटा काम नराम्रै हो । यसले गर्दा अरू पनि नराम्रा काम भएका छन् । हामीले चाहेको चाहिँ के हो भने, कम्तीमा पनि आफूलाई कम्युनिस्ट भन्नेहरूको सरकार बनेर गए हुन्थ्यो भन्ने हो । हामीले जनताको मागलाई सम्बोधन गर्न सकिन्थ्यो भन्ने पनि हो ।

यति लामो समयसम्म राजनीति गर्नुभएको छ । अहिले तपाईंकै पार्टी तपाईंको विरुद्धमा छ र कारबाही गर्छु भनिरहेको छ । राजनीतिक करियर नै दाउमा राखेर भविष्य चाहिँ के सोच्नुभएको छ ? जनमोर्चामै रहने वा अन्य पार्टी प्रवेश गर्ने ?
त्यस्तो होइन, आफ्नो विचार हो । विचारको कुरालाई अलिकति फड्को मारियो । मैले अहिलेसम्म जीवनमा दुईओटा विचार जबर्जस्ती लागु गरेको छु । म कम्युनिस्टमा लाग्ने बेलामा पञ्चहरूले कम्युनिस्टमा नलाग्न भन्थे । धेरै जबर्जस्ती गर्थे, मैले मानिन, कम्युनिस्टमा नै लागेँ । अहिले यो कांग्रेसलाई समर्थन नगर भनेर मैले भनेँ, तर पार्टीको निर्णय नमान्न पनि भएन । त्यसलाई पनि मैले अलिकति मानेको छैन । 

यिनै कुराले पार्टीभित्र छलफल त पक्कै चल्छ होला । यो मलाईंमात्र होइन अरूलाई पनि भएको छ । उल्लंघनहरू हाम्रै पार्टीमा पनि भएका छन् । मलाई थाहा छ । म कुनै पार्टीमा जाने होइन, यही पार्टीमा बस्छु । मेरो जिम्मेवारी घटाइयो भने केही आपत्ति छैन ।

ह्विप उल्लंघन गरेपछि त पद पनि नरहने स्थिति आउन सक्छ नि ?
त्यो त केही भएन मलाई । आस्था र विचार सबैभन्दा ठुलो कुरा हो । जनताको विचारलाई प्रतिनिधित्व गर्नु सबैभन्दा ठुलो कुरा हो ।

जनमोर्चाले अब कारबाही गर्‍यो र टिकट दिएन भने, अर्को दलबाट चुनाव लड्ने विचार छ कि नाई ?
यो प्रश्न त मलाई नसोधेको राम्रो । अर्को पार्टीमा जाने भन्ने कुरा त सोध्दै नसोध्दा राम्रो ।

अबको प्रक्रिया कसरी अगाडि बढ्ला ? केही आकलन गर्नुभएको छ ?
प्रदेशमा अस्थिरता त सिर्जना भयो, भयो । हाम्रै प्रदेशका दलको विश्वास केही छैन । आज छुटेका माओवादी भोलि एमालेसँग मिल्न पनि सक्छन् । आज नमिलेका भोलि मिल्न सक्छन्, भोलि नमिले पर्सि मिल्लान् । तर, प्रदेशमा अस्थिरता चाहिँ भयो । मेरो विचारमा विघटनतर्फ जान सक्छ । मध्यावधिमा जाने खतरा छ । सकेसम्म जान हुँदैन तर त्यसको खतरा छ ।

जान हुँदैन भन्नुहुन्छ । अनि तपाईंले नै पार्टीको निर्णय मान्नुहुँदैन त ? तपाईंले हस्ताक्षर गरिदिएको भए यो स्थिति आउँदैनथ्यो नि त । तपाईंको कारणले नै विघटन हुन सक्ने देखियो नि !
त्यही भएर नै मैले भनेको छु । मेरो कारणले मात्रै विघटन हुने होइन, अरू पनि कारण हुन सक्छन् । हाम्रै दलमा पनि राम्रो खेल देख्नुभयो । त्यो चरित्रले पनि काम गर्न सक्छ ।

स्थानीय कार्यकर्ता, जिल्ला नेताले के भनेका छन् त ?
उहाँहरूसँग समस्या छैन । विमती छैन । केही स्वार्थपूर्ति गर्न खोजेको हो कि भन्ने हुनसक्छ मान्छेहरूलाई । त्यसो गर्न किन राजनीतिक झण्डा समाउने, समाउनै पर्दैन नि ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  २३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro