
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को प्ले अफका खेल आज सुरु हुँदैछन् । मंगलबार हुने पहिलो खेलमा काठमाडौं रेजर्स र धनगढी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो प्लेअफको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । फाइनल पुग्ने लक्ष्यसहित दुवै टिम आजको खेलमा मैदान उत्रनेछन् ।
शीर्ष स्थानमा रहँदै प्ले अफमा पुगेको टोली काठमाडौं आजको खेलमा सहज जित निकाल्ने योजनामा हुनेछ । सिंगल राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुईमा रहेका टिम पहिलो प्लेअफमा भिड्न लागेका हुन् ।
काठमाडौं शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको हो भने धनगढी दोस्रो स्थानमा रहेर प्ले अफमा पुगेको हो । आजको खेलमा जित निकाल्ने टोली सिधै फाइनल पुग्नेछ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो प्लेअफ विजेतासँग खेल्ने मौका पाउने छ ।
आजको खेमला जित निकाल्दै काठमाडौं आफ्नो दोस्रो खेलमा धनगढीसँग व्यहोरेको हारको बदला लिने योजनामा छ । धनगढीले काठमाडौंलाई ३–० ले हराएको थियो ।
मंगलबार भएको पोष्ट म्याच कन्फ्रेन्समा काठमाडौंका प्रशिक्षक बाल गोपाल महर्जनले आफूहरू जितका लागि मैदान उत्रने बताए । उनले धनगढीसँग भएको खेलमा भएका कमजोरीलाई सुधार गर्दै आजको खेलमा प्रस्तुत हुने बताए । “धनगढीविरुद्वको पहिलो खेलमा भोगेको हारलाई हामी नियाल्ने छौं । उक्त खेलमा भएका कमजोरीलाई दोहोरिन दिने छैनौं । खेलाडीहरु शारीरिक तथा मनोबैज्ञानीक रुपमा तयार छन्,” महर्जनले भने ।
यता, धनगढी आजको खेमला सहज जित निकाल्दै फाइलनमा पुग्ने योजनामा छ । पहिलो होलमा काठमाडौंविरुद्ध निकालेको जितको लयलाई कायम राख्ने योजनामा हुनेछ ।
विदेशी प्रशिक्षक फुजा तोपेले काठमाडौंले पछिल्ला खेलहरूमा देखाएको लयलाई मध्यनजर गर्दै खेल पस्कने बताए । काठमाडौंविरुद्ध फरक रणनीति निकाल्ने बताए । “काठमाडौं पछिल्लो समय राम्रो लयमा छ । काठमाडौंको अहिलेको खेललाई नियाल्दै सोही अनुसारको रणनीति अपनाउने योजनामा हामी छौं,” फुजाले भने ।