काठमाडौं । नेकपा एमालेको ओली समूहले खनाल–नेपाल समूहलाई राजीनामा रोक्न आग्रह गरेको छ । आज नेता माधवकुमार नेपालसँगको भेटमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट वार्तामा गएका नेताहरू विष्णु पौडेल र सुवास नेम्वाङ भेटका लागि सिंहदरबार गएका थिए । भेटमा कुनै निष्कर्ष भने निस्किन सकेन । ओली समूहका नेताहरूले नेपालसँगको भेटबारे ब्रिफिङ गरिसकेका छन् ।
आजको भेटमा नेता नेपाललाई पार्टी र आन्दोलनलाई क्षति पुग्ने गतिविधि रोक्न आग्रह गरेको भेटमा सहभागी एक नेताले बताए । राजीनामा दिने कुराहरूजस्ता काम नर्गन सुझाव दिएको उनको भनाइ छ ।
“आन्दोलनलाई एउटा टुंगोमा पुर्याउनुपर्याे भत्किन दिन भएन । क्षति पुग्न दिनुभएन भनेर हामीले कुरा राख्यौँ । त्यसका लागि प्रयासहरू गरिरहेका छौँ । राजीनामाको कुरा आइरहेको छ यो कुरा के हो ? आन्दोलनलाई क्षति पुर्याउने कुरा रोक्नुस् भन्यौँ,” ती नेताले भने ।
आफूहरूले त्यस्तोभन्दा नेपालले राजीनामाबारे कुरा गर्न नचाहेको बताए ।
उनीहरूबीचको छलफलपछि नेता नेपाल समुहका सांसदहरूले सिंहदरबारमा छलफल गरेका थिए ।