काठमाडौं । इतिहास लामै बोके पनि र अनुभव थुप्रै गरे पनि नेपाली चलचित्रले अपेक्षित फड्को मार्न नसकेको तथ्य कसैबाट छिपेको छैन । लोकेसनका हिसाबले नेपाल आफैँमा फिल्म स्टुडियो हो । ताजा र नौला विषयवस्तुको उर्भर खानी हो । तर पनि चलचित्रको अवस्था भने उस्तै दयनीय किन ?
छायांकन गर्ने ठाउँ आफ्नै देशमा छ, विषयवस्तु आफ्नै अगाडि छन् । तर पनि बलियो चलचित्रचाहिँ किन बनिरहेको छैन ? यो प्रश्नको जवाफमा फिल्ममेकर सहजै भन्छन्– हामीले थुप्रै गल्ती गरिसकेका छौँ, जसका कारण हामीले प्रगति गर्न सकेनौँ ।
सुरुमै भारतीय चलचित्रलाई नेपाली रुपान्तरण गरेर पहिलो नेपाली चलचित्र बन्नु, भारतबाट निर्देशक, प्राविधिक तथा कलाकार झिकाएर चलचित्र बनाउनु, भारतीय चलचित्रको हुबहु नक्कल गरेर चलचित्र बनाउनु, कोलम्बो प्लानअन्तर्गत फिल्म पढ्न भारतीय कलेजसँग सम्झौता गर्नु, विश्वका चलेका चलचित्र हेरेर त्यसकै वरिपरि रहेर नेपाली चलचित्रको स्क्रिप्ट लेख्नु, विकास बोर्डले समयानुकूल चलचित्र ऐन निर्माण गर्न नसक्नु, चलचित्रलाई सरकारले फगत मनोरञ्जनको साधन मात्रै ठान्नु नै नेपाली चलचित्र उद्योगका मुख्य कमजोरी रहेको चलचित्रकर्मी बताउँछन् ।
“सरकारले भारतबाट निर्देशक ल्याएर नेपाली चलचित्र बनाउनु नै हाम्रो कमजोरी थियो । त्यसैले नेपालमा बम्बईया सिनेमाको जग बसाइदियो । पछि कोलम्बो प्लानअन्तर्गत चलचित्र पढ्न भारतमा पठाउने निर्णय र त्यसको परिणामले पनि बलिउड सूत्रलाई नै निरन्तरता दियो,” निर्देशक मनोज पण्डित भन्छन्, “हामीले नेपाली चलचित्र हो भनेर मौलिक पन दिने चलचित्र नै बनाउन सकेनौँ ।”
मनोजको यो विचारमा निर्देशक विनोद पौडेल पनि सहमत छन् । हलिउड र बलिउडका सफल चलचित्र हेरेर स्क्रिप्ट लेख्नु नै नेपाली चलचित्र उद्योगको कमजोरी भएको उनको भनाइ छ । “हामी बलिउड र हलिउडका सफल चलचित्र हेरेर त्यसकै सेरोफेरोमा रहेर स्क्रिप्ट लेख्न थाल्छौँ । जुन चलचित्रसँग हामी प्रतिस्पार्धा नै गर्न सक्दैनौँ भने त्यस्तै चलचित्र बनाउने प्रयास गर्नु नै हाम्रो गल्ती हो,” विनोद भन्छन्, “वर्ल्ड सिनेमा हेरेर त त्यहाँबाट ज्ञान लिने हो । त्यसकै कपी गर्ने होइन । हामीले त आफ्नै विषय, समाज र परिवेश हेरेर त्यसको अध्ययन गरेर आफ्नै तरिकाले आफ्नै कथा लेख्ने हो । अनि मात्रै हाम्रा चलचित्र विश्वले हेर्छ ।”
नेपालका धेरै हास्य टेलिशृंखला गाउँले परिवेशमा मन पराइनुको कारण त्यसमा गाउँका विषय, समस्या र चरित्र देखाइनु मुख्य कारण भएको भन्दै उनी नेपाली कथा नेपाली शैलीमा प्रस्तुत गर्न सके आशातीत परिवर्तन र विकास हुने जिकिर गर्छन् ।
समयानुकूल परिवर्तित सोच र व्यवहार हुन नसक्नु नै नेपाली चलचित्र क्षेत्रको कमजोरी बताउने निर्देशक दीपक रौनियार पञ्चायतमा बनेको ऐनमा टेकेर चलचित्र क्षेत्रको विकास र उन्नयन खोज्नु नै गलत भएको बताउँछन् ।
समयको परिर्वतनसँगै ऐन, नियम र कानुनहरु पनि परिवर्तन गर्दै जानुपर्ने भन्दै उनी चलचित्र ऐन तत्काल संशोधन हुनुपर्नेमा जोड दिन्छन् । “चलचित्र विकास बोर्डमा बस्ने साथीहरुले पक्कै पनि ऐन संशोधनको प्रयास गर्नुभएको छ । तर, मन्त्रालयले त्यसलाई किन पास गरेर चलचित्र क्षेत्रको विकासका लागि सहजता प्रदान गरेन ?,” दीपक भन्छन्, “निश्चय नै समय धेरै बितिसक्यो । तर पनि अझै ढिलो भइसकेको छैन । चलचित्र क्षेत्रको विकास र समृद्धिका लागि व्यक्तिले मात्रै होइन, राज्यले पनि सोच्नुपर्यो । अझै यही गल्ती गर्नु भएन, कम्तीमा अब योजनासहित अगाडि बढ्नुपर्यो ।”
सरकारले चलचित्र क्षेत्रको विकास तथा विस्तारका लागि चलचित्र विकास बोर्ड खडा गरेको छ । तर, यसको आम्दानीको स्रोत नै कमजोर रहेको चलचित्रकर्मीको गुनासो छ ।
विदेशी चलचित्र प्रदर्शन गरेबापत उठाइने करको केही प्रतिशत रकम नै चलचित्र विकास बोर्डको आम्दानीको स्रोत हो । चलचित्र निर्देशक केपी पाठक बोर्डलाई सरकारले वार्षिक रुपमा बजेट विनियोजन गर्नुपर्ने बताउँछन् । बजेट अभावमा बोर्डले अपेक्षित काम गर्न नसकेको उनको ठम्याइ छ ।
नेपाली चलचित्रमा संयुत्त mरुपमा काम गर्ने संस्कारको अभाव रहेको निर्देशक मनोज पण्डित बताउँछन् । अपेक्षा गरिएका निर्देशकहरुले संयुक्त रुपमा काम गर्न सके त्यसको परिणाम राम्रो देखिन सक्ने उनको भनाइ छ ।
“न्यूनतम उपलब्धि हासिल नभएसम्म एकत्रित रुपमा काम गर्न सकिन्छ । तर,संयुक्त रुपमा काम गर्ने हाम्रो संस्कार नै छैन,” उनी भन्छन्, “एकार्काको खुट्टा तान्ने र कुरा काटेर हिँड्ने संस्कार छ, यसको अन्त्य नभएसम्म हामीले प्रगति गर्न सक्दैनौँ ।”