काठमाडौं । नेपाली चलचित्रको विदेशी बजार खोज्न तत्काल सहज नरहेको चलचित्रकर्मीहरुले बताएका छन् । कसैले चाहेकै र रहर गरेकै भरमा विदेशी बजारमा नेपाली चलचित्र सहजै नपुग्ने चलचित्रकर्मी बताउँछन् । अहिले नै यो महत्वाकांक्षा पाले अन्ततः निराशा हातपर्ने उनीहरुको भनाइ छ ।
निर्देशक प्रदीप भट्टराई कोट–पाइन्ट लगाएर प्लेनको टिकट काटेर विदेशमा चलचित्र लिएर जाँदैमा नेपाली चलचित्र विदेशी बजारमा नपुग्ने व्यंग्य गर्छन् । नेपाली चलचित्र उद्योगले युनिभर्सल कन्टेन्ट बनाउन नसकेको उनको ठम्याइ छ ।
“नेपालको चलचित्र अहिलेसम्म आएको थिएन, हेर्दिऔँ भनेर कसैले हेर्दैन । खुला बजारमा जाने हो भने दर्शकलाई स्वयं चलचित्रले आकर्षित गर्न सक्नुपर्छ,” निर्देशक भट्टराई भन्छन्, “उनीहरुलाई यो चलचित्र छुटाउनु हुँदैन भन्ने भावना हाम्रा चलचित्रले सिर्जना गर्न सक्नुपर्छ । नेपालमा पनि राम्रो चलचित्र बन्छ भन्ने हल्ला हुनुपर्छ ।”
कुनै पनि देशबाट राम्रो प्रतिक्रिया आएपछि अरु देशमा चलचित्र खोजिन थाल्ने र यसका लागि कन्टेन्ट नै युनिभर्सल हुनुपर्ने उनको धारणा छ । “सुन्दा नराम्रो लाग्नसक्छ । तर, हामीले युनिर्भसल कन्टेन्ट दिनै सकेका छैनौँ । फेष्टिभलमा केही चलचित्र गइरहेका छन् । तर, फेष्टिभलमा जाने चलचित्र र आम दर्शकलाई अपिल गर्ने चलचित्र फरक हुन्,” भट्टराई भन्छन्, “खुला बजारका लागि बनाउने चलचित्रको कन्टेन्टले युनिभर्सल दर्शकलाई अपिल गर्न सक्नुपर्छ ।”
नेपालमा टिनेजरलाई, रमाइलो चलचित्र हेर्ने दर्शकका लागि मात्रै, रोनाधोना मन पराउनेलाई भनेर चलचित्र बनिरहेका भन्दै उनी अझै नेपाली मेकर चलचित्र बनाउन अभ्यस्त भइनसकेको बताउँछन् । “हामी अझै चलचित्र बनाउन अभ्यस्त भइसकेका छैनौँ । हँसाउने, रुवाउने, सोसल ड्रामा पनि राखिदियौँ भनेर सीमित समूहलाई मात्रै सोचेर चलचित्र बनाइरहेका छौँ,” उनी भन्छन्, “यो अवस्थाबाट गुज्रिरहेका हामीले युनिर्भसल विषय पक्रिन सक्छौँ ? जबसम्म कन्टेन्ट युनिभर्सल हुँदैन, त्यो चलचित्र विश्व बजारमा जाँदैन । अहिले यतातर्फ सोच्दै नसोचे हुन्छ ।”
विश्व बजारमा जान सुरुमा वर्ल्ड सिनेमा बुझ्नुपर्ने, युनिभर्सल दर्शकको झुकाव कस्ता चलचित्रमा छ अध्ययन गर्नुपर्ने, कस्तो विषयले विश्वको ध्यान खिच्न सक्छ भन्नेमा रिसर्च गर्नुपर्नेमा उनको जोड छ । यसमा राज्यको पनि सहयोग हुनुपर्ने उनको धारणा छ ।
नेपाली चलचित्र हँसाउने र रुवाउनेजस्ता सामान्य विषयमा अल्झिरहेको भन्दै निर्देशक भट्टराई चलचित्र सिंगो जीवन र समय हो भन्ने बोध हुुनुपर्ने तथा त्यही चेतानुसार काम गर्नुपर्ने बताउँछन् ।
वर्ल्ड सिनेमाको मानवीय संवेदना प्रस्तुत गर्ने शैलीको तुलनामा नेपाली चलचित्र कोसौँ टाढा रहेको उनको अनुभव छ । भलै, विश्व बजारमा जाने सपना भने देख्नुपर्ने बताउँछन् । हामी गर्नै सक्दैनौँ भनेर खुम्चिएर बस्न भने नहुनेमा उनको जोड छ ।
केही मेकरहरु वर्ल्ड सिनेमाका लागि ठूलो डोनर कुरेर बसिरहेको बताउँदै उनी भन्छन्, “नाफा–घाटा, बजार र त्यसको अध्ययन, बजारको विस्तारका लागि आवश्यक रणनीति बनाउन सक्ने तथा त्यसलाई लागु गर्न सक्ने व्यापारिक घरानाको प्रवेश कुरिरहेको अवस्था छ । नाफा र घाटा तौलिन सक्ने व्यापारिक घरानाको प्रवेश भएको खण्डमा युनिभर्सल कन्टेन्ट निर्माण गर्न सहज हुन्छ ।”
चलचित्रलाई व्यापारबाट मात्रै हेरिएकाले बिग्रियो भनेर भन्नुभन्दा पनि उत्कृष्ट कन्टेन्ट बनाएर त्यसलाई बेचेर नाफा कमाउनु गल्ती नहुने निर्देशक भट्टराईको धारणा छ ।
आफ्नै कथा, योगदान र नियन्त्रण भएको बलियो चलचित्रले मात्रै विश्व बजार खोज्ने निर्देशक तथा समीक्षक मनोज पण्डित बताउँछन् । “कथा आफैँमा निर्णय हो र कथा जति पियोर र स्वतन्त्र हुन्छ, त्यसैले सिनेमाको इनडिपेन्डेन्ट अवधारणा निर्धारण गर्छ,” निर्देशक पण्डित भन्छन्, “बीचमा केही समय यसमा हामी चुकेका छौँ । विदेशी लगानी (ग्रान्ट) भित्र्याएका चलचित्रमा हाम्रो स्वतन्त्रता र आफ्नो पन कति हुन्छ भन्ने कुरामा मेरो सधैँ प्रश्न छ । यस्ता चलचित्रले नेपालको प्रतिनिधित्त्व कति गर्छन् भन्ने मेरो प्रश्न हो ।”
‘नुमाफुङ’ टिपिकल नेपाली चलचित्र बनेको र त्यसले इन्टरनेसनल फिल्म फेष्टिभलमा नेपालको सही प्रतिनिधित्त्व गरे पनि त्यसपछि ग्रान्ट भित्र्याएर बनाइएका चलचित्रमा विदेशी हस्तक्षेप प्रष्टै देखिएको पण्डित बताउँछन् ।
“सहयोगका नाममा आउने दातृनिकायबाट जसरी नेपालको समाज, विकास तथा अन्य पक्षमा प्रत्यक्ष हस्तक्षेप भइरहेको छ, त्यस्तै हस्तक्षेप ग्रान्टमार्फत नेपाली चलचित्रमा पनि भित्रिरहेको छ,” उनी भन्छन्, “त्यसैले हामीले आफ्नो बलबुतामा विदेशी बजारमा जाने प्रयास गर्नुपर्छ । यो प्रणालीको विकास भयो भने मात्रै हामी विदेशी बजारमा गएर पनि टिक्न सक्छौँ । अन्यथा, हस्तक्षेप भित्र्याउनु र परनिर्भर हुनुभन्दा बाहेक केही हुँदैन । यसले समाजलाई पुनर्निर्माण होइन, यथास्थिति र पछौटेपनमा राखिरहन सहयोग गर्छ ।”
विश्वबजारमा प्रतिस्पर्धामा खरो उत्रिन आफ्नै आधारभूमि तय हुनुपर्नेमा उनको जोड छ । विदेशी बजारमा जान्छु भनेर मात्रै नहुने भन्दै उनी यसबारे गहिरो अध्ययन आवश्यक रहेको बताउँछन् । विदेशी चलचित्र टेलिभिजनमा हेरेकै भरमा वर्ल्ड सिनेमाको ज्ञान हासिल नहुने निर्देशक पण्डितको भनाइ छ ।
“विदेशमा जाने तर त्यसबारे हाम्रो नलेज कति छ ? भारतमै ठूलो संख्यामा नेपाली भाषी छन्, त्यहीँ हामीले बजार विस्तार गर्न सकेका छैनौँ,” उनी भन्छन्, “युरोप र अमेरिकाका कुरा छाडौँ, भारतले आफ्नो देशमा भन्दा धेरै व्यापार गर्ने चीनमा पनि सिनेमाको ठूलो बजार छ भन्ने हामीले सोचेका पनि छैनौँ ।” विदेशी बजारको रहर गर्नुभन्दा पहिला इनडिपेन्डेन्ट कन्टेन्टमा केन्द्रित हुनुपर्ने उनको सुझाव छ ।
नेपाली मेकरको अहिलेकै क्षमताले तत्काल नेपाली चलचित्र विदेशी बजारमा जान नसक्ने निर्देशक नवीन सुब्बा निष्कर्ष सुनाउँछन् । अहिले आएको नयाँ पुस्ताले बहस गर्दै जाने र नेपाली मौलिक चलचित्र बनाइरहेका मेकरहरुले पनि आफूलाई थप परिमार्जित गर्दै जाने हो भने अबको करिब एक दशकमा नेपाली चलचित्र विदेशी बजारमा जाने सम्भावना रहेको सुब्बा बताउँछन् ।
“पहिला त हाम्रो चलचित्र हाम्रो आफ्नै मौलिक पन भएको हुनुपर्यो । त्यस्तो चलचित्र बन्नुपर्छ, जसले नेपाली दर्शकलाई पनि मन परोस् र इन्टरनेसनल दर्शकले पनि मन पराउनुपर्यो,” नवीन भन्छन्, “यी दुई कुरामा ब्यालेन्स गरेर अगाडि बढ्न सक्नु नै अहिलेको आवश्यकता हो । र, यो हाम्रो क्षमता विस्तार भएको खण्डमा मात्रै सम्भव छ ।”
स्क्रिप्ट लेखन, अभिनय, निर्देशनलगायत सम्पूर्ण पक्षमा क्षमता अभिवृद्धि गर्नुपर्ने भन्दै उनी सिनेमाको युनिभर्सल ल्यांग्वेजको नलेज हुनुपर्नेमा जोड दिन्छन् । “सिनेमाको युनिभर्सल ल्यांग्वेजको नलेज हुनुपर्छ र त्यसमा आफूलाई अभिव्यक्त गर्न पनि सक्नुपर्छ । ओस्कारको लामो इतिहासमा एसियनमा पनि इस्ट एसियनहरु कोरियन र चिनियाँ चलचित्रले किन ओस्कार अवार्ड जितिरहेका छन् भने उनीहरुले चलचित्रको युनिभर्सल ल्यांग्वेज बुझेर काम गरिरहेका छन्,” सुब्बा भन्छन्, “चिनियाँ चलचित्रजति नै इतिहास बोकेको बलिउड आफ्नै ठूलो बजार हुँदाहुँदै पनि किन ओस्कार र अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल तथा बजारमा पछि छ भने उसले सिनेमाको युनिभर्सल ल्यांग्वेजको ग्रामर समाउन सकेको छैन ।”
हिन्दी चलचित्र विश्वभरका दर्शकभन्दा पनि भारतीय दर्शकका लागि मात्रै लक्षित रहेको उनी बताउँछन् । त्यसैले चलचित्रको विश्व भाषामा प्रवेश गरेर क्षमता अभिवृद्धि गरे मात्रै विश्व बजारमा पुग्ने अन्यथा, त्यो कल्पनामै सीमित हुने निर्देशक सुब्बाको जिकिर छ ।
नेपाली चलचित्र निर्माणका लागि ग्रान्ट भित्र्याउँदा शतप्रतिशतभन्दा पनि को–प्रोडक्सन कम्पनी खोज्दा राम्रो हुने उनको धारणा छ । ग्रान्टले सम्बन्धित क्षेत्र विशेषको भन्दा पनि कथालाई आफ्नो सोच र धारणामा बदल्ने भएकाले आफ्नो मौलिक पन दिन को–प्रोडक्सन नै उचित हुने उनको तर्क छ ।