पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकीका प्रदेशसभा सदस्य खिम विक्रम शाहीको एकैदिन दुई फरक कोरोना रिपोर्ट देखिएकाे छ । बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला र लाइफ केयर डाइगोनस्टिक प्रयोगशामा गरिएको कोरोना परीक्षणमा फरक–फरक रिपोर्ट आएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले शाहीमा कारोना संक्रमण नभएको देखाएको छ ।
तर, लाइफ केयर डाइगोनस्टिक प्रयोगशामा गरिएको परीक्षणले शाहीमा कोरोना संक्रमण रहेको देखाएको छ ।
बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा छलफल चलिरहेका बेला ‘हराएका’ भनिएका सांसद शाही अस्पतालको आईसीयूमा रहेको भन्ने खबर आएको थियो ।
त्यसपपछि आफ्नो सांसद्को अवस्था अज्ञात रहेकाले जनमोर्चाकी सचेतक पियारी थापाले सदनको कारबाही अघि नबढाउन माग गर्दै सभामुखलाई निवेदन दिएकी थिइन् । त्यसैको कारण देखाउँदै प्रदेश सभा सचिवालयले बुधबारको बैठक स्थगित गरेको थियो ।
तर, सांसद् शाही भने स्वास्थ्यमा अचानक समस्या देखिएको कारण देखाएर अस्पताल भर्ना भएका थिए ।