मुम्बई । भारतको महाराष्ट्रमा परीक्षण गरिएकामध्ये ५० प्रतिशतमा कोरोनाको ‘इन्डियन भेरियन्ट’ पुष्टि भएको छ । ‘जिनोम सिक्वेन्सिङ’ गरिएको कुल नमुनाको आधा संख्यामा इन्डिएन भेरियन्ट (बी–१–६१७) भेटिएको हो ।
अधिकांश विदर्भ गाउँबाट लिइएको नमुनामा इन्डियन भेरियन्ट भेटिएको जनाइएको छ । सहरी क्षेत्रबाट लिइएको नमुनामा भने यो भेरियन्ट नपाइएको इन्डियन सार्स कोभ–२ जिनोमिक कनसर्टियालाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।
भारतमा शनिबार एकैदिन दुई लाख ३४ हजार ६९२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित हुनेको कुल संख्या एक करोड ४५ लाख २६ हजार ६०९ पुगेको छ ।
गएको २४ घण्टामा एक हजार ५०१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या एक लाख ७७ हजार १५० पुगेको छ ।