काठमाडौं । मंगलबार साँझ करिब ५ बजेदेखि नै अनामनगरस्थित मण्डला नाटकघरमा चहलपहल बाक्लो थियो । सम्भवतः कोरोनाकालपछि मण्डलामा यति बाक्लो चलहपहल यो नै पहिलो थियो । नाट्यकर्मी सुनील पोखरेल, निशा शर्मा, लेखक/भाषाविद् शरच्चन्द्र वस्ती, साहित्यकार कुमार नगरकोटीलगायत त्यहाँ थिए ।
घडीले साढे ५ बजेको संकेत नगर्दै उपस्थित सबै कालो पर्दा भएको नाटकघरभित्र प्रवेश गरे । साढे ५ बजे दुई भर्याङ र त्यसको अघिल्लतिर उभिएका अग्ला टावरजस्ता केही रंगकर्मीहरु कृत्रिम प्रकाशमा देखिए ।
“देशको भविष्य भ्युटावरमा निर्भर छ । देशैभरि भ्युटावर बनेपछि कुनै पनि कुराहरु भुइँबाट हेर्नु पर्दैन । हरेक भ्युटावरमा देश–विदेशबाट पर्यटक ओइरिने छन् । भ्युटावरमा देशको समृद्धि लुकेको छ । यो भ्युटावरको आँखाबाट कोही पनि बच्न सक्दैन,” मञ्चमा उपस्थित एक कलाकार बोले ।
यस्तैमा सिन्धुपाल्चोकका ६२ वर्षीय श्यामलाल देखा पर्छन् । उनी २० वर्षको कलिलो उमेरमा रोजगारीका लागि मुग्लान गएका थिए । २० वर्षपछि आफ्नो जन्मथलो आएका श्यामलाललाई आफ्नै भाइले मृत घोषित गरिदिइसकेका छन् । कारण, सम्पत्ति ।
श्यामलाल जिँउदै छन् । तर, विडम्बना कागजी कुरालाई मात्रै आधार मान्ने हाम्रा सरकारी कार्यालयहरुले श्यामलाललाई आफू ज्यूँदै भएको प्रमाण ल्याउन भन्छन् । श्यामलाल आफू ज्यूँदै भएको कागजी प्रमाण जुटाउन सरकारी कार्यालयदेखि धेरै ठाउँको चक्कर लगाउँछन् । धेरै हन्डर र दुई लाखभन्दा धेरै रुपैयाँ खर्च गरेपछि श्यामलाल आफू ज्यूँदै भएको कागजात लिन सफल हुन्छन् । मण्डला नाटकघरमा मञ्चन भएको ‘अर्को अर्थ नलागेमा’ नाटकको अंश हो यो ।
यसरी एकपछि अर्को प्रसंग जोडिँदै नाटकले गति लिन्छ । करिब १० वटा भिन्न–भिन्न प्रसंग ‘अर्को अर्थ नलागेमा’मा समेटिएको छ । लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको कान्तिपुर दैनिकमा हरेक शनिबार प्रकाशन हुने स्तम्भ ‘अर्को अर्थ नलागेमा’लाई नाट्य रूपान्तरण गरिएको हो । रंगकर्मी/निर्देशक सुनील पोखरेलको परिकल्पना र संयोजन रहेको यस नाटकलाई ‘ज्ञ’का १० जना विद्यार्थीहरुले निर्देशन गरेका हुन् । नवीनचन्द्र अर्याल, सुरज तमू, चन्द्र नेपाली, राज न्यौपाने, जयराम ढकाल, अकिल बजगाईं, आर्जेश रेग्मी, सञ्जीप योगी, निशांश पोखरेल र नीता राई निर्देशनमण्डलमा रहेका छन् । १० जनाले १० छुट्टाछुट्टै अंश निर्देशन गरेका हुन् । उनीहरुसहित ज्ञकै अरु विद्यार्थीहरुले अभिनय गरेका छन् ।
सामाजिक र राजनीतिक उथलपुथललाई कलममार्फत व्यंग्यात्मक शैलीमा उतार्ने शरच्चन्द्रको लेखमा आधारित यस नाटकमा कोरोनाकाल र त्यसपछिको राजनीतिक घटनाक्रम दर्शाइएको छ ।
नाटकबारे यसो भन्छन् वस्ती
स्तम्भकार शरच्चन्द्र वस्ती आफ्नो लेखन नाटकमा हेर्न पाउँदा खुसी देखिन्थे । “एक वर्षदेखि लेखिरहेको कति कुराहरु त आफैँले पनि बिर्सिसकेको थिएँ । आज नाटकमा क्रमबद्ध रूपमा हेर्न पाउँदा एकदम राम्रो लाग्यो । सबैले राम्रो काम गर्नुभएको छ,” उनले भने ।
वि.सं. २०३२/३३ सालतिर उनी ‘अर्को अर्थ नलागेमा’ शीर्षकमा गोरखापत्रमा स्तम्भ लेख्थे । बीचमा धेरै समय उनको यो स्तम्भले निरन्तरता पाएन । गएको वैशाखदेखि भने हरेक शनिबार कान्तिपुरमा यही शीर्षकमा लेख्दै आएका छन् ।
सुनील पोखरेलले वस्तीको यो स्तम्भ सबै पढिरहेका थिए । उनीहरुको चिनजान पनि पुरानै हो । सुनीलले यसलाई नाट्य रूपान्तरण गर्ने प्रस्ताव ल्याउँदा वस्तीले खुसी हुँदै अनुमति दिए । “सुनीलले यसलाई नाट्य रूपान्तरण गर्दा अलि–अलि थपघट वा यताउति गर्नुपर्ने हुन्छ भन्नुभएको थियो,” उनले भने, “मैले उहाँलाई ढुक्क भएर गर्नुहोस् भनेँ । किनभने, मलाई उनको काम–कौशलबारे ज्ञान थियो र पूर्ण विश्वास पनि छ । त्यसैले मैले केही कुरामा पनि रोकतोक गरिनँ ।”
नाटक र लेखन दुवैको आ–आफ्नै गुण हुने भएकाले लेखन र नाटकमा कुन राम्रोभन्दा पनि नाटक नाटककै रूपमा राम्रो भएको उनले बताए ।
यो नाटक चैत ७ गतेसम्म हरेक दिन साँझ ५ः३० बजे मण्डलामा मञ्चन हुँदै छ । शनिबार भने दिउँसो १ बजे पनि मञ्चन हुनेछ ।
रंगकर्मी पोखरेलले यो नाटकले वर्तमान समयको भद्रगोल चित्रण गर्ने बताए । “शरच्चन्द्रजीको स्तम्भले वर्तमानको राजीतिक अस्थिरतालाई समेटेको छ । यो सबै कुरालाई समेटेर हामीले नाटकमा सामाजिक, कोरोनाकाल र राजनीतिक अस्तव्यस्तको चित्रण गरेका छौँ ।”
नाटकका युवा निर्देशकहरु दिग्गज रंगकर्मी पोखरेलसँग सहकार्य गरेर नाटक निर्देशन गर्न पाउँदा खुसी र गौरवान्वित महसुस गरेको बताउँछन् ।