site stats
बाह्रखरी :: Baahrakhari
देश
रातो मासु मुटुका लागि खराब छ ? जसले फन्डिङ गर्‍यो उसैको पक्षमा नतिजा !

काठमाडौं । अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा हालै प्रकाशित एक समीक्षामा वैज्ञानिकहरू एक चिन्ताजनक निष्कर्षमा पुगे । रातो मासु उद्योगले फण्ड गरेका अध्ययनहरूमा रातो मासु स्वस्थ्यकर देखिएको थियो ।
निश्चय नै, यो पोषण अनुसन्धानसँग परिचित कसैलाई पनि आश्चर्यजनक लागेको छैन । 

यसमा संघीय फन्डिङको अभावका कारण प्रायः ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’हरू हुने गर्छन् ।  तर कसरी उद्योगसँग जोडिएका अध्ययनहरूले मानिसहरूले आफूले खानेकुराको स्वास्थ्य प्रभावलाई कसरी बुझ्छन् र गलत तरिकाले बुझाउँछन् भन्नेमा प्रभाव पार्न सक्छ भन्ने यो एक अर्को उदाहरण हो ।

उदाहरणका लागि चिनी उद्योगले फण्ड गरेका पुराना अनुसन्धानहरूले मोटोपना र मुटु रोगजस्ता स्वास्थ्य अवस्थाहरूसँग चिनीको सम्बन्धलाई कम आकलन गरेका थिए । र, मदिरा उद्योगले फण्ड गरेका अध्ययनहरूले मध्यम मात्रामा मदिरा पिउनु स्वस्थकर आहारको हिस्सा हुन सक्छ भन्ने सुझाव दिएका थिए ।

Argakhachi Cement Island Ad

यो अनुसन्धानको नेतृत्व गरेका स्पेनको फ्रान्सिस्को डी भिक्टोरिया विश्वविद्यालयका अनुसन्धानकर्ता मिगुएल लोपेज मोरेनोले यो अनुसन्धानमार्फत् बेकन र ससेजजस्ता प्रशोधित मासुहरू मुटु रोगको जोखिमसँग निरन्तर जोडिएको सन्दर्भमा रातो मासुको अनुसन्धानमा पनि यस्तै समस्या देखिन्छ कि भन्ने थाहा पाउन खोजेको तर स्टिक र पोर्क चप जस्ता अप्रशोधित रातो मासुहरूको प्रमाण मिश्रित पाइएको बताए ।

यो प्रश्न समयानुकूल छ किनभने अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियर, जो रोगन र लेक्स फ्रिडम्यान जस्ता पडकास्टरहरूले मासुप्रधान आहारलाई सकारात्मक रूपमा उल्लेख गरेका थिए र यसमा पाइने स्याचुरेटेड

फ्याटबाट स्वास्थ्य जोखिमलाई कम आकलन गरेका थिए जुन कुराप्रति सार्वजनिक स्वास्थ्य विज्ञहरूमा चिन्ता बढाएको छ । हामीलाई लामो समयदेखि थाहा छ कि रातो मासुमा प्रचुर मात्रामा पाइने स्याचुरेटेड फ्याट खानुसँग मुटु रोग सम्बन्धित छ । 

यो नयाँ निष्कर्षले वित्तीय ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ले मानिसहरूले आफ्नो लागि के राम्रो छ भन्ने कुरालाई कसरी निर्देशित गर्न सक्छ भन्ने बारेमा के बताउँछ ?

नयाँ समीक्षाले के दियो ?

डा. मोरेनो र उनको टिमले स्पेनका अनुसन्धान संस्थानहरूबाट सन् १९८० देखि २०२३ सम्म प्रकाशित ४४ वटा क्लिनिकल ट्रायलहरूको विश्लेषण गरे ।  यी अध्ययनहरूले अप्रशोधित रातो मासु खानाले सहभागीहरूमा मुटु रोगको जोखिमलाई कसरी प्रभाव पार्न सक्छ भन्ने कुराको समीक्षा गरे । 

यसमा कोलेस्टेरोल, रक्तचाप र ट्राइग्लिसराइड स्तर मापन गर्ने काम समावेश थियो । ४४ वटा अध्ययनहरू मध्ये आधा संयुक्त राज्य अमेरिकामा गरिएका थिए ।  जसमा वयस्कहरूलाई केही हप्ता वा महिनासम्म अप्रशोधित रातो मासु वा त्यस्तै आहार खुवाइएको थियो । 

केही अध्ययनहरूमा स्वस्थ वयस्कहरू समावेश गरिएका थिए भने अन्यहरू उच्च कोलेस्टेरोल वा मोटोपनाजस्ता मुटु रोगको जोखिम कारक भएकाहरूमा केन्द्रित थिए । वैज्ञानिकहरूले विश्लेषण गरेका ४४ अध्ययनहरूमध्ये २९ जनालाई नेशनल क्याटलमेन बिफ एसोसिएशन र नेशनल पोर्क बोर्डजस्ता रातो मासु सम्बन्धित उद्योग समूहहरूबाट फन्डिङ गरिएको थियो । 

बाँकी १५ अध्ययनहरू सरकारी अनुदान, शैक्षिक संस्थान वा उद्योग सम्बन्ध नभएका गैर–लाभकारी संस्थाहरूबाट फन्डिङ गरिएका थिए ।

डा. मोरेनो र उनका सहयोगीहरूले रातो मासु उद्योगसँग सम्बन्ध नभएका अध्ययनहरूलेभन्दा रातो मासु उद्योगबाट फन्डिङ गरिएका अध्ययनहरूले अप्रशोधित रातो मासु अनुकूल वा मुटु सम्बन्धी तटस्थ नतिजा निकाल्ने सम्भावना लगभग चार गुणा बढी भएको पत्ता लगाए ।

स्वतन्त्र रूपमा फन्डिङ गरिएका सबै अध्ययनहरूले मुटु बिग्रने वा तटस्थ नतिजा निकाल्ने गरेका थिए भने उद्योगबाट फन्डिङ गरिएका अध्ययनहरूले मुटु अनुकूल वा तटस्थ रिपोर्ट दिएका थिए । 

नयाँ समीक्षाका लेखकहरूले आफ्नो लागि कुनै ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ वा खाद्य उद्योगसँग सम्बन्ध नभएको बताएका छन् ।

उपभोक्ताहरूका लागि दोधार गराउने चित्र

हार्वर्ड मेडिकल स्कूलका सहायक प्राध्यापक डिएड्र्रे टोबियासले जब एकजना सामान्य व्यक्तिले एउटै कुराको अध्ययन गर्ने तर फरक नतीजा देखाउने धेरै ट्रायलहरू देख्छ भने के विश्वास गर्ने भन्ने कुरा चुनौतीपूर्ण हुन सक्ने उनले बताइन् । 

यसले पोषण विज्ञानलाई कमजोर पार्न सक्ने पनि उनले बताइन् । यी फरक नतिजा भएका अध्ययनहरू कसरी सञ्चालन गरिएका थिए भन्ने कारणले आएका हुनसक्ने डा. टोबियासले नयाँ अध्ययनसँगै अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनको एउटा सम्पादकीयमा लेखेकी थिइन् ।

एक अध्ययनले दुईवटा खानेकुराको तुलना गर्न सक्छ, तर एउटा खानेकुरा सामान्यतया स्वास्थ्यका लागि राम्रो हो वा होइन भन्ने कुरा जान्न धेरै अध्ययनहरू आवश्यक पर्छन् ।

नयाँ समीक्षाले देखाएअनुसार समग्रमा, उद्योगबाट फन्डिङ गरिएका अध्ययनहरुले रातो मासुलाई मानिसहरूले उपभोग गर्ने होल अनाज वा तोफू, नट्स वा फलफूलजस्ता वनस्पतिमा आधारित प्रोटिन स्रोतहरूसँग तुलना गरेनन् । 

यसमा मुटुका लागि राम्रो हुनेकुरा समावेश छन् भन्ने हामीलाई थाहा छ । 

बरु धेरै अध्ययनहरूले अप्रशोधित रातो मासुलाई केवल प्रशोधित चिकेन वा माछाजस्ता अन्य प्रकारका प्राणीजन्य प्रोटिनहरू, पास्ता वा भात जस्ता कार्बोहाइड्रेटहरूसँग तुलना गरेका थिए । स्वतन्त्र रूपमा फन्डिङ गरिएका अध्ययनहरूले रातो मासुलाई पूर्ण विविधता भएका विभिन्न आहारहरूसँग तुलना गरेका थिए । 

जसमा मासु, होल अनाज र सोया, नट्स र गेडागुडीजस्ता मुटुका लागि स्वस्थकर बनस्पतिजन्य खाद्यपदार्थहरू रहेको डा. टोबियासले बताइन् ।  यसले धेरै व्यापक मात्रामा रातो मासुको जोखिम वा फाइदाहरूको पूर्ण तस्बिर प्रस्तुत गर्ने उनले बताइन् ।

निःसन्देह, उद्योगले फन्डिङ गरेका अध्ययनहरूले रातो मासुलाई जानिजानी राम्रो देखाउन निश्चित तुलनात्मक पक्षहरूलाई विचार नगर्ने कारणले यो ठिक वा बेठिक प्रमाणित गर्न नसक्ने हार्वर्ड टी.एच. चान स्कूल अफ पब्लिक हेल्थका महामारी र पोषणका प्राध्यापक डा. वाल्टर सी. विलेटले बताए । तर यो प्रवृत्ति धेरै निन्दनीय भएको उनले बताए ।

नेशनल क्याटलमेन बिफ एशोसिएसनका प्रवक्ताले बिफ किसानहरूले गुणस्तरीय वैज्ञानिक अनुसन्धानलाई समर्थन गर्ने बताउँदै प्राणीजन्य र बनस्पतिजन्य दुवै प्रोटिन स्रोतहरू मुटुका लागि स्वस्थकर आहारको हिस्सा हुनसक्ने बताए ।

स्वस्थकर आहारका लागि दुवै प्रोटिन स्रोतहरू उपयुक्त हुन सक्ने पोषण विज्ञहरू बताउँछन् ।  उच्च–गुणस्तरको बनस्पतिजन्य प्रोटिन स्रोतहरूलाई अप्रशोधित रातो मासुसँग तुलना गर्न थप बृहत् अध्ययन गर्न सकिने डा. विलेट बताउँछन् । 

अहिलेसम्मको प्रमाणले के संकेत गर्छ भने बनस्पतिजन्य प्रोटिनहरू प्रशोधित स्याचुरेटेड फ्याटयुक्त प्राणीजन्य प्रोटिनहरूभन्दा मुटु स्वास्थ्यका लागि राम्रो छन् ।

यसले भविष्यको पोषण अनुसन्धानका लागि के अर्थ राख्छ ?

कुनै पनि खाद्य उद्योग जस्तै सोया वा नट उत्पादक समूहले अनुसन्धानका लागि खर्च गर्दा निष्पक्ष अनुसन्धानसँगै आफ्नो उत्पादनको प्रचार पनि गर्ने गरेको स्टानफोर्ड विश्वविद्यालयका चिकित्सा, महामारी र जनसंख्या स्वास्थ्यका प्राध्यापक डा. जोन इयोनिडिस बताउँछन् ।

पोषण विज्ञहरू ट्रम्प प्रशासनले नेशनल इन्स्टिच्युट्स अफ हेल्थ (एनआईएच)कोे १८ बिलियन डलरको बजेट कटौती गर्ने प्रस्तावबारे चिन्तित भएको यो एक कारण हो ।  किनभने यसले थप उद्योग प्रायोजित अनुसन्धानलाई बढावा दिन्छ।

यसले पोषण विज्ञानको विश्वसनीयताका लागि राम्रो संकेत नदिने न्यूयोर्क विश्वविद्यालयका पोषण, खाद्य अध्ययन र सार्वजनिक स्वास्थ्यका एमेरिटा प्राध्यापक मेरियन नेस्लेले बताइन् । खाद्य उद्योग समूहहरूले पोषण अनुसन्धानको लागि गर्ने फन्डिङ उनीहरूको उत्पादनको विज्ञापनका लागि राम्रो भए पनि विज्ञानका लागि राम्रो नहुने उनले बताइन् ।

गत हप्ता एक वेबिनारमा एनआईएचका नयाँ निर्देशक डा. जय भट्टाचार्यले अमेरिकन सोसाइटी फर न्युट्रिशनका सदस्यहरूलाई उनको नेतृत्वमा संस्थाले पोषणमा ध्यान केन्द्रित गर्ने बताए । 

यद्यपि उनले फण्डिङको बारेमा कुनै विशिष्ट जानकारी दिएनन् । हामीले कुरा गरेका विज्ञहरू त्यती आशावादी थिएनन् किनभने संयुक्त राज्य अमेरिकामा पोषण अनुसन्धानका लागि पहिले नै स्रोत अपर्याप्त छ । 

सन् २०२३ मा एनआईएचको बजेटको पाँच प्रतिशतभन्दा कम पोषण अनुसन्धानमा विनियोजन गरिएको थियो । जुन नगण्य मात्रा रहेको डा. टोबियासले भनिन् ।

डा. टोबियासले रातो मासु सम्बन्धी यो अध्ययन एनआईएचले संयुक्त राज्य अमेरिकामा पोषण अनुसन्धानमा लगानी गर्नु किन आवश्यक छ भन्नका लागि एक उत्कृष्ट उदाहरण रहेको बताइन् । 

“अन्यथा, हामी उद्योगको फन्डिङमा निर्भर हुन्छौं जसले सार्वजनिक स्वास्थ्यको पक्षमा काम गर्छ भन्ने निश्चित छैन, उनले भनिन् ।”
 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्