site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सूचना विभागको घनचक्कर

खोटाङको प्रशासनिक चक्करबाट मुक्ति पाई सूचना विभागको घनचक्कर व्यहोर्न म बाध्य भएँ । भर्खरै कवि एवं गीतकार कालीप्रसाद रिजालको सरुवा भई खाली पदमा मैले बहाली गरेँ ।

बहाली गर्नासाथ थाहा पाएँ मेरा हाकिमहरू त्रिमूर्ति रहेछन्, सबैको निर्देशनमा मैले काम गर्नुपर्ने रहेछ । अर्थात्, मुख्य हाकिम राजदरबारका संवाद सचिव चिरनशमशेर थापा, दोस्रो प्रधानमन्त्री कार्यालयका सचिव सुरेन्द्रराज शर्मा र तेस्रो सञ्चार मन्त्रालयका सचिव शार्दूलशमशेर राणा हुनुहुन्थ्यो ।

यो त्रिशक्तीय जिम्मेवारीसँगै प्रेस काउन्सिलको सदस्यसचिव स्वयम् हुनुपर्ने । अध्यक्ष (सर्वोच्च अदालतका माननीय न्यायाधीश वासुदेव शर्मा)को प्रशासनिक, आर्थिक र अन्य विवरणको जिम्मेवारी । थप— नेपालका जागेका, लागेका थुप्रै पत्रकारहरूको संगमस्थल ।

Argakhachi Cement Island Ad

केही महिना त म कहालिएँ, रिंगटा नै लाग्यो । तर, धैर्य नगुमाई, इमानदारीपूर्वक, लगनका साथ काम गर्न थालेँ । यो जिम्मेवारी मेरा लागि यौटा ठूलो हाँक थियो । लगभग एक वर्षभन्दा बढी काम गर्ने मौका मिलेन, तर पनि त्यहाँ छँदाका मुख्य घटना वा प्रसंगहरू अहिले सम्झने कोसिस गर्छु ।

मेरो घर नयाँ बानेश्वर, ठूलो खरीको बोटछेउ । राति १२ बजे फोन आयो, संवाद सहायक सचिवबाट । उहाँ डंगोलजस्तो लाग्छ ।

उहाँले भन्नुभयो, “तपाईं तुरुन्त गोरखापत्रमा जानुहोस् । भोलि आउने पत्रिकामा सरकारको फोटो के कस्तो राखिएको छ हेरेर हुने/नहुने मलाई तुरुन्त खबर गर्नुहोस् ।”

“मेरो केही साधन छैन, यो राति म कसरी जाऊँ ?” मैले आफ्नो असमर्थता प्रकट गरेँ । तर, उहाँले ‘त्यो त आफै जान्नुहोस्’ भनी फोन राखिदिनुभयो । सरकारी जागिर खाएपछि के लाग्दो रहेछ र ! एकजना साथी खोजी राति एक बजे पैदल हिँडेर गोरखापत्रको कार्यालय नयाँ सडक पुगेँ ।

छापिन लागेको वीरेन्द्र सरकारको फोटो हेरेँ, त्यति स्पष्ट वा प्रभावकारी लागेन । त्यस बेला उन्नत प्रविधि पनि कहाँ आइसकेको थियो र ! त्यही व्यहोरा डंगोल सरलाई जानकारी दिई फोटो स्थगित गरियो ।

अहिले म बसेको मीनभवन एरियामा राजदरबारको हुकुमप्रमांगीबाट बडो कष्टका साथ ल्यान्डफोन केही महिनाअघि ल्याउन सक्ने बहादुर म थिएँ, अहिले सम्झँदा हाँस उठ्छ । आजका युवाहरूका लागि यो परीकथा हुनसक्छ ।

सरकारको पूर्वाञ्चल सवारी थियो । साँझमा आदेश आयो, “तपाईंले २०० प्रति रामायण (भानुभक्तीय) भोलि दिउँसोसम्ममा धनकुटा क्याम्पमा पुर्‍याउनुहोला ।”

‘म प्रयास गर्छु’ भनेँ र लागे यस काममा । विराटनगरसम्म प्लेनमा पुर्‍याउन सकिन्छ । धरानसम्म गाडी जान्छ । तर, धनकुटा जाने मोटरबाटो पुगेकै छैन । हिँडेर जाँदा लगभग एक दिन लाग्छ ।

तैपनि, आदेश भनेको आदेश हो । एकजना विश्वासी कर्मचारीलाई बिहानको हवाईजहाजमा विराटनगर पुर्‍याई, साँझमा धनकुटा पुर्‍याई छाडेँ र दरबारबाट ‘धन्यवाद’ पाएँ ।

तत्कालीन श्री ५ वीरेन्द्र सरकारको शुभजन्मोत्सवको उपलक्ष्यमा भृकुटीमण्डपमा सरकारको जीवनीसम्बन्धी फोटो प्रदर्शनी सूचना विभागले मिलाएको थियो । सरकार स्वयम् सवारी भई अभिरुचिपूर्वक एकएक फोटो नजर भई मुस्कानका साथ मलाई ‘धन्यवाद’ बक्सेको शब्दले मलाई सूचना विभागमा बसी काम गर्ने शक्ति वा ऊर्जा थपिएको अनुभूति गरेँ ।

जागिर खानेक्रममा मलाई सबभन्दा डाहा, छटपटी र असन्तोष सूचना विभागमा नै भयो । यौटा क्यालेन्डर प्रसंग उल्लेख गर्न चाहन्छु ।

प्रत्येक वर्षको क्यालेन्डर चैत्र १ गतेसम्म तयार गरी दरबारमा स्वीकृतिका लागि पठाउने चलन रहेछ । क्यालेन्डरका लागि आवश्यक निर्देशन, फोटो र जानकारी दरबारको संवाद सचिवालयमार्फत आउँथ्यो ।

म सूचनामा बसेको वर्ष सबै फोटोहरू स्वीकृत गराई, रातरातभर स्वयम् श्री ५ को सरकारको छापाखानामा बसी चैत्र १ गते नै प्रकाशित गरी दरबार पठाएँ ।

तर, दुःखलाग्दो कुरा – त्यहीँबाट स्वीकृत फोटोहरूमध्ये तत्कालीन बडामहारानी ऐश्वर्यलाई आफ्नो फोटो राम्रो लागेन । ‘म यत्ति नराम्री कहाँ छु र !’ भनेर क्यालेन्डर अस्वीकृत गरिएको भन्ने जानकारी पाएँ ।

उहाँको फोटो अर्को राख्नुपर्ने भयो । त्यस्तै १–२ फोटोहरू अरू पनि परिवर्तन गर्नुपर्‍यो । जसका कारण चैत्र १५–२० मा बल्ल क्यालेन्डर त निस्कियो, तर त्यस बेला निःशुल्क बाँड्नुपर्ने ।

निजी क्षेत्रका कसैले निकाल्न नपाउने भएकाले सूचना विभागको क्यालेन्डर सबैलाई चाहिने नै भयो । पुलिस राखेर लाठीचार्ज गरेर बाँडियो ।

निजी क्षेत्रलाई क्यालेन्डर निकाल्ने अधिकार नहुनु, झोले पत्रकारहरूले हदैसम्म दुःख दिनु, ३–४ तिरको जिम्मेवारी लिनुपर्ने बाध्यता, आफ्ना हाकिमहरू नै ३–४ तिर भएकाले त्यहाँबाट भाग्न पाउनु मेरो अहोभाग्य भयो ।

अर्को यौटा पीडापूर्ण प्रसंग पनि अहिले सम्झना आयो । वीरेन्द्र सरकारको राजकीय भ्रमण स्पेनमा हुने भएकाले राजारानीको जीवनी अंग्रेजीमा स्तरीय छपाई गर्ने निर्णय भयो ।

त्यो बेला नेपालमा अफसेट प्रेस आइसकेको थिएन । बैंककमा छाप्ने निर्णय भयो । सो कामका लागि प्रकाशन शाखाका अधिकारीले जान अस्वीकार गरेपछि तत्कालीन शाखा अधिकृत हरि अधिकारी (हालका चर्चित कवि र समीक्षक)लाई पठाउने निर्णय मन्त्रीस्तरीय (डा. प्रकाशचन्द्र लोहनी) भयो ।

उहाँ सो काम पूरा गरी ८–१० दिनमा जीवनीसहित फर्कनुभयो । केही नमुना प्रति राजदरबार पठाइयो । केही घण्टामा नै दरबारबाट फोन आयो, “जीवनीका सबै प्रतिहरू लाहाछाप गरी राख्नू, कतै वितरण नगर्नू ।”

त्यसबारेमा सञ्चार मन्त्रालयका सचिव जीवनाथ सत्याललाई तुरुन्त स्पष्टीकरण लिने खबर भएको रहेछ । केही घण्टामा नै म मन्त्रालयका सचिवसामु उभिएँ, स्पष्टीकरण मागिएको पत्र बुझ्न ।

उहाँले अत्यन्त गम्भीर भावमा भन्नुभयो, “तपाईं यत्रो नाम चलेको साहित्यकारबाट यस्तो जघन्य गल्ती कसरी भयो ?”

म लज्जित भएँ, किनभने प्रशासनिक दृष्टिले म नै जिम्मेवार थिएँ । सचिवज्यूबाट थाहा भयो, जीवनी पुस्तिकाको प्रुफ पटक्कै हेरिएको रहेनछ । त्यहाँका मिस्टेक वा गल्ती यति थिए कि भन्न पनि लाज लाग्छ । ीयचम का ठाउँमा के रहेछ ? यस्तै लाजलाग्दो, शरमलाग्दो उदाहरणहरू दिनुभयो । मैले आफ्नो स्पष्टीकरणपत्र पेस गरेँ ।

शा.अ. अर्थात् हालका ‘चर्चित समीक्षक’ हरि अधिकारीमाथि कारवाही सुरु भयो । अब सूचना विभागमा मैले बस्नु धेरै दिन छैन भन्ने मैले स्वीकारेँ ।

मेरो सरुवाको प्रक्रिया सुरु भइसकेको थाहा पाएँ । म वर्षातले चुटेको मुसाजस्तो भएँ । जागिरै जाने हो कि ! सरुवा मात्र हुने ? यस्तै मनस्थितिमा मैले धेरै दिन बिताएँ ।

तर, भगवान्ले हामीलाई जोगाउने कृपा गर्नुभयो । प्राविधिक कुरा पर्‍यो, कहिलेकाहीँ काम गर्दा भुल हुनसक्छ भन्ने तर्कले काम गर्‍यो र कुरा बिस्तारै सेलाउँदै गयो ।

त्यही समयमा सूर्यबहादुर थापाका ठाउँमा लोकेन्द्रबहादुर चन्दको शक्तिशाली मन्त्रिमण्डल आइसकेको थियो । म सूर्यबहादुर थापाको ‘आफ्नो मान्छे’ भनेर चिनिएको थिएँ । यो अजब र गजबको नेपाल ! ममाथि बज्रप्रहार हुन्छ भनेर मनस्थिति बनाइसकेको थिएँ ।

वास्तवमा म राष्ट्रको इमानदार कर्मचारी मात्र थिएँ, कसैको मान्छे थिइनँ ।

अब अर्को घटना घट्यो । दरबारको निर्देशनमा खप्तड स्वामीको अत्यन्त आदर्श पुस्तक ‘विचार विज्ञान’ उहाँ नै लेखक नाम दिई सूचना विभागबाट प्रकाशित गरेको थिएँ ।

तर, पदम ठकुराठीद्वारा सम्पादित ‘विमर्श साप्ताहिक’मा स–प्रमाण सो पुस्तक ‘खप्तड स्वामीले लेखेकै होइन, आजभन्दा ५० वर्षअघि बम्बैबाट मराठीमा प्रकाशित भइसकेको अरू कसैको रचना हो’ भन्ने आशयसहितको सनसनीपूर्ण समाचार छापिँदा मलाई फेरि यौटा गहिरो खाडलमा परेको अनुभव भयो ।

दरबारबाट मौखिक स्पस्टीकरण आयो । मैले उहाँले पठाउनुभएकै पाण्डुलिपि बुझाएँ । त्यसपछि वास्तविक कुरा बुझियो–सो ‘विचार विज्ञान’ पुस्तक भारतका विभिन्न भाषामा विभिन्न धर्मगुरुहरूका नाममा प्रकाशित भएका रहेछन् ।

त्यस्तै नेपाली भाषामा खप्तड स्वामीको नाममा रहेको रहेछ । सोही आशयको स्पष्टीकरण ‘विमर्श’मा नै पठाइयो । गुरुहरूको सम्प्रदायभित्र जसले पनि यस्तै गर्ने परम्परा रहेछ ।

पछि धर्मविज्ञान पनि प्रकाशित भयो । खप्तड गुरुका सबै पुस्तक अत्यन्त लोकप्रिय, पठनीय र नेपाली समाजमा आदर्श पुस्तकका रूपमा अहिले पनि प्रतिष्ठित छन् ।

यी संस्मरणात्मक टिप्पणीहरू लेख्ता मलाई डर भइरहेछ, यसले आत्मप्रशंसा गर्‍यो भनेर अझ कतिपय व्यक्तिहरूका सम्बन्धमा मेरो सोचाइ वा दृष्टिकोण गलत पनि हुनसक्छ ।

तर पनि सूचना विभागमा बस्दाका झिनामसिना कुराहरू भन्दा पनि आफूले भोग्नुपरेका पीडाहरूलाई पाठकसमक्ष राख्ने धृष्टता गरेको हुँ ।

प्रेस काउन्सिलको सदस्यसचिवका हैसियतले पत्रकारितालाई व्यावसायिक, स्तरीय, प्रमाणिक र उद्देश्यपूर्ण बनाउने मेरो प्रयास रह्यो ।

सर्वप्रथम पत्रकारहरूलाई प्रोत्साहनस्वरूप कुनै पुरस्कार नभएकाले कमसेकम वर्षको एकजना उत्कृष्ट पत्रकारलाई रु. १०,००० (दश हजार)को पुरस्कार दिने निर्णय मैले गराएँ र त्यसका केही ठोस, पारदर्शी आधारहरू पनि तयार गरेको थिएँ ।

तर, त्यस बेलाका पत्रकार र पत्रिकाहरूले ‘प्रेस काउन्सिल’ले पनि कहीँ पुरस्कार दिने हो ? भनेर मेरो हुनेसम्म दोहोलो काढे । त्यसका बाबजुद पुरस्कार सुरु गरियो, योग्य पत्रकारहरूले पाए ।

अहिले कत्ति धेरै पुरस्कारहरू प्रेस काउन्सिलले सञ्चालन गरेको थाहा पाएको छु । ढिलो भए पनि निःस्वार्थ रूपमा साँचो कुरा साँचो नै हुन्छ भन्ने कुरामा म विश्वस्त छु ।

पत्रकारहरूका लागि मैले अर्को योजना ल्याएँ, प्रेस भएका पत्रकारहरूलाई वा धितो राखी बैंकहरूबाट कर्जा उपलब्ध गराई पत्रकारिताको सम्यक विकास गर्ने ।

मैले सूचना छाडेपछि यो कार्यान्वयनमा आई केही पत्रिकाहरूले सहयोग लिएको मलाई थाहा छ ।

त्यो बेला अर्को यौटा योजना पनि मैले प्रस्तुत गरेको थिएँ, पत्रपत्रिका वितरणका लागि यौटा संस्थान खोल्ने र त्यसैमार्फत पत्रपत्रिका वितरण गरी रकम हिनामिना हुन नदिने व्यवस्था गर्न सकिन्छ कि ! भन्ने ।

यो प्रस्ताव मैले साथीहरूसँग राखेँ । तर, यसलाई अव्यावहारिक ठानियो र अगाडि बढाउन सकिनँ ।

पत्रपत्रिकालाई व्यावसायिक बनाउनुपर्ने र अनावश्यक आर्थिक सहयोग नदिने, झोले पत्रकारलाई निरुत्साहित गर्ने योजनाहरू पनि मेरा थिए । तर, मेरो भाग्यमा अर्को लेखिएको रहेछ ।

तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले यी सूर्यबहादुर थापाका मान्छेहरूबाट काम लिन नसक्ने भएँ भनी राजदरबारमा मसहित ७५–८० जना साथीहरूको सूची पठाएको हल्ला व्यापक रूपमा आयो । 

अनि, जागिर आजै जान्छ, भोलि जान्छ भन्ने मनस्थितिमा हामी पुग्यौँ र खोसुवा पुर्जी बुझ्न मानसिक रूपमा तयार भयौँ । पञ्चायती व्यवस्थाका बेलामा लोकसेवा भिडेर, कुनै सोर्सफोर्सविना प्रवेश गरेका कर्मचारी थियौँ ।

तर, तत्कालीन प्रधानमन्त्री चन्द र उनका निकटहरूका लागि किन हो हामी ७५–८० जना राष्ट्रसेवक घाँडो भयौँ । तर, हाम्रो रेकर्ड पनि राजदरबारमा राम्रै रहेछ र राम्रैसँग राखिएको रहेछ ।

केही दिनपछि अर्को हल्ला आयो, ‘राजदरबारबाट यी कोहीलाई नहटाउनू, यी राष्ट्रप्रति वफादार कर्मचारीहरू हुन् । यी न सूर्यबहादुरका हुन् न तिम्रा हुन्, न कसैका हुन् । निजामती सेवकहरूलाई यसरी पूर्वाग्रह राख्नु हुन्न भन्ने निर्देशन आएको छ रे...।’

मन्त्रिपरिषद्को बैठकबाट सबैजसोलाई अन्यत्र सरुवा गर्ने क्रममा मलाई स्थानीय विकासको मध्यमाञ्चल क्षेत्रीय निर्देशकमा सरुवा गरिएको पत्र पाएँ । सरुवा हुनुअघि तत्कालीन स्थानीय विकासमन्त्री जोगमेहर श्रेष्ठले मलाई घरैमा बोलाई भन्नुभयो, “तिमी कस्तो लठ्ठु मान्छे ? आफ्नो जागिर कहाँ के हुँदै छ केही थाहा नपाउने ? मैले तिमीलाई मध्यमाञ्चल क्षेत्रीय निर्देशकमा सरुवा गराएको छु । तुरुन्त हाजिर भएर काम सुरु गर्नू, अरू पछि...।”

मलाई लाग्यो, ‘सोझाको दैव सहारा’ । मेरो अर्को देवता हितैषीमित्र प्रिय स्व. जोगमेहर श्रेष्ठ भए । त्यसपछि मेरो जागिरे यात्रा स्थानीय विकास मन्त्रालयतर्फ मोडियो ।

(प्रसिद्ध आख्यानकार परशु प्रधानको संस्मरणात्मक कृति ‘जिन्दगीका मोडहरू’बाट ।)

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्