
हामीले मोटरसाइकल चोरेछौँ । चोरेछौँ भनेको किनभने कहाँ, कहिले र कसको चोर्यौँ हामी आफैँलाई थाहा थिएन !
एक दिन हामी अर्थात् उज्वल र म कामविशेषले सहर जाँदै थियौँ । कीर्तिपुरे लबजमा रत्नपार्क, असनलगायत रिंगरोडभित्रका बजार जानुलाई सहर जानु भन्ने प्रचलन थियो त्यसबखत ।
काठमाडौंमा शरद्कालीन लाली चढिसकेकोले मौसम चिसो थियो । हामी माइक्रोबसको पछिल्लो सिटमा थियौँ । अचानक उज्वलको मोबाइलको घण्टी बज्यो ।
उसले खल्तीबाट मोबाइल निकालेर हेर्यो । स्क्रिनमा देखिएको नम्बर नौलो थियो । उसले फोन उठाएर केही क्षण संवाद गर्यो । मैले उसको संवाद ध्यानपूर्वक सुनिरहेको थिएँ ।
‘हस्, हुन्छ !’ मात्र भनेको सुनेँ । उसको लबजमा एकाएक मलिनताको धमिलो भेल मिसिन आइपुग्यो ।
संवाद समाप्त भएपछि उसको अनुहार र आवाजमा अनपेक्षित गाम्भीर्य देखेर प्रश्न गरेँ, “के भो उज्वल ?”
उसले उदास भावमा भन्यो, “खै, खसीबजार पुलिस चौकीबाट आएको फोन रै’छ । हामीलाई तत्काल उपस्थित हुन भनेको छ ।”
“किन, के भएछ र त्यस्तो ?,” मेरो दोहोरो प्रश्नमा विस्मयका बाछिटा मिसिए ।
“खै, धेरै कुरा त थाहा भएन, तर हामीमाथि मोटरसाइकल चोरीको आरोप छ रे ! दिउँसो ४ बजेतिर आउँछौँ भनेको छु ।”
उसको जवाफले मेरो स्थिर मस्तिष्कमा एकाएक घटनाक्रमका विस्तारित बिस्कुन फिँजारिए । त्यही बिस्कुनको सूक्ष्म अवलोकन गर्न समयको बाटैबाटो फर्कियो दौडिरहेको दिमाग, भूतपूर्व भइसकेको अभूतपूर्व समयको जंगलतिर ।
मास्टर्स पढ्न बसेका हामी भर्खरै कीर्तिपुरको बजार एरिया छाडेर बल्खु सीता पेट्रोल पम्प आसपास बस्न लागेका थियौँ । कीर्तिपुरे बसाइको प्रारम्भिक दिनमा पुष्कर मामा (महेशको मामा भएकोले हामी सबैले मामा भन्थ्यौँ), उज्वल, महेश तथा म सँगै थियौँ ।
प्रकारान्तरमा महेश हाम्रो समूहबाट छुट्टिएर एक्लै बस्न थालेको थियो । त्यो हाम्रो दुईवर्षे अध्ययनको दौरानमा लगभग सातौँ कोठा थियो । हाम्रो कोठामा साथीभाइको चहलपहल अलि विशेष नै हुनाले कहीँ के मिल्दैनथ्यो कहीँ के ।
तर, डेरा जीवनको अध्यायमा एकपछि अर्को गर्दै अनुभवजनित नवीन अनुच्छेदहरू थपिने क्रममा थियो ।
पढाइ निरन्तर चलिरहेथ्यो । हिमाली हावा झन्झन् चिस्सिने क्रममा थियो । शरद्ऋतुको सुरुआती भए पनि दिनहरू अझ प्रेमिल बनेर आउँदै थिए । शारदीय घामले दसैँलाई टाढाबाट डाक्न थालिसकेको रहेछ ।
अर्थात् भनूँ, दसैँ नजिकिँदै थियो । दसैँको गतिलाई मध्यनजर गर्दै कलंकीचोकका टिकट काउन्टरहरूमा अग्रिम टिकट बुकिङ सुरु भइसकेको थियो । आफ्नो गृहप्रस्थानको यात्रालाई सहज बनाउनका निम्ति अग्रिम टिकट बुकिङ गर्ने योजना बनायौँ हामीले पनि ।
साँझको समय । दिनभरिको कार्यव्यस्तताले थकित दिमागलाई स्फूर्ति दिने ध्येयले हामी हिँडेरै जाने भयौँ टिकटका निम्ति । रोशनजी हामीसँगै हुनुहुन्थ्यो भने हिँड्ने बेला विदुर टुप्लुक्क आइपुग्यो ।
हामी पाँचजनाको टोली गोधूलि सफरसँगै कलंकी पुग्यौँ । कलंकी पुग्दा साँझ तन्नेरी हुने अवस्थामा थियो । हामीले जनकपुर जाने गाडीमा टिकट बुकिङ गर्ने निधो गरेका थियौँ र सोहीअनुरूप खोजी गर्दै जाँदा चोकको उत्तरपश्चिम कुनामा जनकपुर–काठमाडौं चल्ने रात्रिबसको टिकट काउन्टर फेला पर्यो ।
गहिरो साँझको पर्दा खस्नु र झ्याप्प लाइन जानु एकैचोटि भयो । मोबाइलको बत्ती बाल्दै हामी टिकट काउन्टरभित्र छिर्यौँ ।
काउन्टर रित्तो थियो । यताउता खोजी गर्यौँ । कसैलाई नदेखेपछि काउन्टरको साँघुरो भित्तामा लेखिएको नम्बरमा सम्पर्क गर्यौँ । तीनजनाको टिकट भनेपछि एकजना सरदर उचाइ भएका तराई मूलका मानिस हस्याङफस्याङ गर्दै आइपुगे ।
टिकट काउन्टर साँघुरो थियो । त्यसमाथि बत्ती पनि नभएकोले उज्वल र मामालाई काउन्टरमा बाँकी काम गर्न छोडेर विदुर, म र रोशनजी बाहिर निस्कियौँ । कलंकीमा उपत्यकाबाहिर निस्कने र भित्रिने गाडीहरूको रोमाञ्चक लस्कर थियो ।
हामी ती गाडीहरूले बनाएको उज्यालो ताँती हेर्दै गफिन थाल्यौँ । भीडको समाजशास्त्र पढ्ने धृष्टता गर्यौँ । केही क्षणमै मामा र उज्वल टिकट लिएर आइपुगे र हामी कोठा फर्कियौँ ।
हामीले अघिल्लो दिन गरेको काम यत्ति थियो । तर, किन र कसरी हामीमाथि मोटरसाइकल चोरीको संगिन आरोप लागेछ ! हामीले चुरो कुराको फेदटुप्पो केही पनि फेला पार्न सकिरहेका थिएनौँ ।
गलत तथ्यको भ्रमको जालोले कसको मस्तिष्कलाई यस्तो शंकाको संक्रमणले गाँजेछ कुन्नि ? प्रश्नहरू मथिंगलको राजमार्ग भएर दौडिरहेका थिए । विदुर र रोशनजीहरूलाई पनि यो समाचार प्रसारित गर्यौँ ।
उनीहरू झनै विस्यमातुर भए र रोमाञ्चित पनि उत्तिकै । प्रहरीको सूचनाबमोजिम हामी लगभग ४ बजेतिर कलंकी खसीबजारस्थित इकाइ प्रहरी कार्यालयमा उपस्थित भयौँ ।
प्रहरी कार्यालय पुग्दा उही काउन्टरवाला मानिस पुलिससँग गफ गरेर बसिरहेको रहेछ । ऊसँग अन्य दुईजना व्यक्ति पनि थिए । उसले आफ्नो तर्कमा काँध हाल्न ल्याइएका खम्बाहरू होलान् भन्ठान्यौँ हामीले ।
हामी पुग्नेबित्तिकै आँखाको भाकामा हामीतिर संकेत गर्दै उनीहरूले खासखुस गरे । उनीहरू कार्यालय परिसरको प्रतीक्षालयमा थिए । हामी अर्को लहरमा बस्यौँ ।
घटनाक्रमको सविस्तार जानकारी नपाए पनि सांगोपांग आकलन त्यतिन्जेलसम्म हामीले गरिसकेका थियौँ ।
एकजना प्रहरी हवल्दार रहेछन्, थापा थरका । उनले हाम्रो नाम सोधे । कता बस्ने हो, जानकारी टिपे ।
‘तपाईंहरूमाथि मोटरसाइकल चोरीको आरोप छ, यो दाइलाई चिन्नुहुन्छ ?’ भन्दै काउन्टरवालातर्फ इंगित गरे ।
दुई दिनअघि मात्र भेटेको मान्छे हामीले नचिन्ने प्रश्नै थिएन । पुलिसले उक्त काउन्टरवालालाई नै घटना सविस्तार वर्णन गर्न आग्रह गर्यो ।
काउन्टरवालाको अनुहार हेर्दा ऊ रातभरिको अनिदो, चिन्ताको रुघाले ग्रसित र थकित देखिन्थ्यो । कपाल झरेर तन्किएको तालुमा विषादका असंख्य रेखा कोरिएका थिए ।
उसले खल्तीबाट एउटा मैलो रुमाल निकालेर नाकै चुँडाऊँलाझैँ गरी स्याँकस्याँक गर्दै नाक पुछ्यो र नाके स्वरमा भन्न थाल्यो, “मेरो घर जनकपुर । यहाँ टिकट काउन्टर चलाएर बसेको चार वर्ष भयो । घटनाको दिन साँझको बेला थियो । काउन्टरबाट एकछिन बाहिर निस्केर खाजा खान मःमः पसल भर्खरै छिरेको मात्रै थिएँ, तुरुन्तै लाइन गयो । खाजा खाँदै गर्दा एकजनाले नचिनेको नम्बरबाट फोन गरी तीनजनाको टिकट काट्नु छ, आउनु भने ।
म हतारहतार मोटरसाइकल लिएर काउन्टर पुगेँ । मोटरसाइकल पार्किङ गरेर भित्र छिरेँ । उनीहरू पाँचजनाको समूहमा थिए । दुईजनाले मलाई काउन्टरमै भुलाउन लागे भने तीनजनाले मोटरसाइकल चोरेर लगे । दुई दिन मात्र भएको थियो शो रुमबाट निकालेको ।”
बोल्दाबोल्दै ऊ सुकसुकाउन थाल्यो । उसको र हाम्रो कथनमा तात्त्विक भिन्नता केही थिएन । तर, उसको र हाम्रो कथानकताको भाष्यमा भने आकाशजमिनको अन्तर थियो ।
हामीले पनि आफ्ना कुराहरू तथ्यपरक ढंगले राख्यौँ । हामी विद्यार्थी भएको र सो आरोपको कुनै कोणबाट पनि हामीसँग संगती हुन नसक्ने फेहरिस्त पेस गर्यौँ । तर, ऊसँग आएका अन्य खम्बाहरू पनि ठोस प्रमाण केही नदेखेपछि परिस्थितिजन्य प्रमाणको हवाला दिँदै हामीलाई दोषी करार गर्न भरमग्दुर यत्न गरिरहेका थिए ।
ऊ भने आफ्नो आँसुको नुनिलोले हामीलाई गलाउने प्रयास गरिरहेको थियो । हामी गलेनौँ । थाकेनौँ । गल्ती नै नभएपछि आत्मविश्वास पनि उँचो हुने रहेछ ।
पुलिसले हाम्रो नाम, ठेगाना र सम्पर्क नम्बर टिपोट गर्न थाल्यो खातामा । हामीले आ–आफ्ना ठेगाना बतायौँ । तर, पुष्कर मामाले आफ्नो घर लालबन्दी, सर्लाही बताएपछि भने काउन्टरवालासँगै आउने एकजना जिज्ञासुभावमा मामासँग वार्तालीन भयो ।
संयोगले उसको घर पनि लालबन्दी नै रहेछ । अझ रोचक त के भयो भने उसको भाइ मामाकै साथी रहेको तथ्य फेला पर्यो, गफका गाँठाहरू फुकाउँदै जाँदा । परिचयका नयाँ ढोका उघ्रिए । सहजताका नौलो क्षितिज देखियो ।
उसले पनि ‘यी भाइहरू त मेरै भाइका साथी पो रहेछन् त ! पढ्न बसेका भाइहरूलाई पनि के चोरीको आरोप लगाउनु ? भैगो जाऊँ’ भनेर काउन्टरवालालाई काउन्टर दिएपछि ऊ पनि हामीप्रति दबाब सिर्जना गर्न हच्कियो ।
पुलिसले पनि ‘तपाईंहरू चिनजानकै मान्छे हुनुहुँदो रहेछ, अहिलेलाई जानुस्, आवश्यक परे बोलाऊँला’ भन्दै बिदाबारी गर्यो । हामी शब्दातीत केही औपचारिकता छाडेर कोठा फर्कियौँ ।
दसैँ लमकलमक पाइला सारिरहेको थियो । लामो बिदामा घर जाने दिन भने अझै क्यालेन्डरको पानामा हामीलाई पर्खिरह्यो । २०६५ सालको दसैँ ढोकैसम्म आइपुगेपछि निर्दिष्ट दिनमा झोला कसिलो र हामी मन खुकुलो पारेर कलंकीचोक पुग्यौँ ।
कलंकीको भीडमा केही समयको प्रतीक्षापश्चात् हाम्रो गाडी आइपुग्यो । सुपर अमन डिलक्स काठमाडौंदेखि जनकपुर । गाडीमा हामीलाई मोटरसाइकल चोरीको आरोप लगाउने उही काउन्टरवाला आएको रहेछ ।
उसलाई हाम्रो टिकट देखायौँ । तर, हाम्रो टिकट निरीक्षण गर्ने खासै जाँगर देखाएन । उज्वलले औपचारिकतावश मोटरसाइकल भेटिए/नभेटिएको बारेमा प्रश्न गर्यो उसलाई ।
मोटरसाइकलको कुरा सुन्नेबित्तिकै उसको अनुहारको भूगोल र वातावरण सबै बिग्रियो । निधारमा गाँठो पार्दै अन्तैतिर दृष्टिगोचर गर्न लाग्यो ऊ । बरु, ऊसँगै आएको अर्को युवाले भन्यो, “हरा’को मोटरसाइकल पनि भेटिन्छ काठमाडौंमा ! त्यसमा पनि नयाँ ।”
बसभित्रको भीड पन्छाउँदै हामी सिटमा बस्यौँ । यात्रुको पसिनाको अमिलो गन्ध र श्वासको तातो हावाले बसभित्र उकुसमुकुस भएको थियो । प्लास्टिकका घडीदेखि पुष्टकारी बेच्नेसम्मको आलापले बेचैनीको आगोमा घ्यु थपिरहेको थियो ।
यात्री व्यवस्थापनमा खटिने कर्मचारीले यात्रुलाई घरी यता उठाए घरी उता बसाए । तर, हामीलाई भने टिकट हेर्नसम्म कोही आएन । हामीलाई पनि यी यावत् झन्झटका झञ्झावातबाट मुक्ति मिलेको आभास भयो । बसले गति पक्रेसँगै भीड व्यवस्थापन र झ्यालबाट पसेको चिसो हावाले ताजगी महसुस गरायो ।
दसैँ जसरी आउनुपर्ने हो त्यसैगरी आयो र वर्ष दिनको छुट्टी मागेर गयो । तिहारले भने थोरै भए पनि रङ बोकेर आयो । त्यो रङको आभा घरआँगनदेखि मनसम्मै पुग्यो ।
तिहारपछि चुच्चे ढुंगो उही टुंगो भनेझैँ सामलतुमल कसेर काठमाडौं पदार्पण भयौँ । कक्षा नियमित गतिमा चल्न लागे । नयाँ घटनाक्रमले शनैःशनैः पुराना विषयलाई मस्तिष्कबाट विस्थापित गर्न थाल्ने रहेछन्, समयान्तरसँगै ।
मोटरसाइकल चोरी र हामीमाथि लागेको आरोपको सन्दर्भमा पनि त्यही नियम लागु भयो । विस्मृतिको अनाम कुनोमा खुम्चिएर बसेको हुँदो हो सायद, त्यो घटनाले चासो र चर्चाको विषय हुनेसम्म हैसियत राखेन ।
एक अर्को दिन । उज्वल, विदुर र म कलंकी जाँदै थियौँ । गाउँबाट हाम्रा केही सामान आउँदै थियो । गाडी आइपुगेको थिएन । साँझको समय । कलंकीचोक तराईतिरको माछाबजारजस्तै भीडभाड र अस्तव्यस्त थियो ।
गाडीवालाहरू झोला बोकेकाहरूलाई तानिरहेका, होटेलवालाहरू फकाईरहेका परिदृश्य नौला थिएनन् । हामी यसै टहलिरहेका थियौँ । सडकपेटी आसपास लुगाफाटो, जुत्ताचप्पलदेखि अन्य घरायसी सामानको बजार लागेको थियो ।
पसलेहरू चिच्याइचिच्याइ आफ्ना सामानको विज्ञापन गरिरहेका थिए । उदास सडकबत्तीहरू भर्खरै बल्न थालेर उज्याला भएका थिए ।
हामी बस कुर्दै थियौँ । एक्कासि केही समयअघिको मोटरसाइकलकाण्ड तरोताजा अनुहार लिएर मनको आँखीझ्यालबाट हामीतिर चियाउन थाल्यो । त्यो काउन्टरवालाले मोटरसाइकल भेट्टाए कि भेट्टाएनन् होला भन्ने जिज्ञासा टुसाएन मात्र, अतिरेक कुतूहलले गर्दा हर्लक्कै बढ्यो क्षणभरमै ।
त्यो जिज्ञासा समन गर्ने हेतुले हामी उक्त टिकट काउन्टरभन्दा केहीअगाडि सडकछेउ फिँजाइएको पसलमा पुग्यौँ । पसलकी साहुनी पश्चिमे लबज भएकी दुब्लीपातली काँटकी महिला रहिछन् ।
हामीमध्येको उज्वलले भाका मिलाएर ती महिलालाई सोध्यो, “दिदी, ऊ त्यो काउन्टरवाला दाइको मोटरसाइकल हराएको थियो नि दसैँताका ! भेटियो कि भेटिएन होला, थाहा छ ?”
ती दिदीले हामीलाई तिखा आँखाले तलदेखि माथिसम्म स्क्यान गरिन्, पिच्च भुइँमा थुकिन् अनि लेघ्रो स्वरमा भनिन्, “अँककक भाइ, काँ’ट भेट्नु बरा ती दाइले मोटरसाइकल । ती चोरहरू त सारै सिपालु पो थिए रेन्त ! पानजना आ’का रे, योजना बनारै !”
तथास्तु भाकामा हातको पन्जा हामीतिर देखाउँदै अझै थपिन्, “दुईजना गएर ती दाइलाई भुलाइदिएछन् क्यारे टिकट काट्ने भनेर अनि बाहिर बसेका तीनजनाले मोटरसाइकल दमपच ! जमाना पनि के आयो बरै, विद्यार्थी हाँै भन्दै थे’रे अझ !”
उनका आँखीभौँ उचालिए । अनुहारमा क्रोधाग्नि उर्लिएको देख्यौँ । हामी तन्मयका साथ स्वस्थानी कथा श्रवण गरिरहेका भक्तझैँ उनका कुरा सुनिरह्यौँ ।
उनी अझ थप्दै थिइन्, “बरा ती दाइ, हिजोसम्म मोटरसाइकल सम्झेर आँसुु झार्दैथे ।”
उज्वलले ‘ए... हो र ? अझै पो भेटिएको छैन है ती दाइको मोटरसाइकल !’ भनेर उनको बोलीमा लोली मिसायो । हामी भने भित्रभित्र हाँसिरहेका थियौँ ।
ती दिदीसँग बिदा मागेर हामी फर्कियौँ ।
गाडी आइपुगेसँगै हामीले हाम्रो सामान प्राप्त गर्यौँ, केही क्षणमा । सामान मात्र पाएनौँ, जिब्रो पर्पराइरहने जवाफ पनि पाएका थियौँ हामीले । ती महिलाको कुराले अन्तःकरण गुञ्जायमान भइरह्यो ।
अझै पनि ती केही मानिसहरूको नजरमा चोर त हामी नै पो रहेछौँ । हामीलाई रत्तिभर महसुस नगराई हाम्रो आचरण कसैको दृष्टिमा भने लत्पतिएकै रहेछ चोरीको आरोपको हिलोमा ।
गलत तथ्यको विन्यास अझै शुद्ध भइसकेको रहेनछ । चोरीको आरोपलाई नकार्न त्यहाँ न त प्रासंगिकताले दिन्थ्यो न त परिस्थितिले नै ।
तर, त्यो मान्छे हामी नै हौँ भनेको भए ती महिलाको प्रतिक्रिया कस्तो हुन्थ्यो होला ? कल्पनाको निलो दहमा हास परिहासका डुंगा खियाउँदै हामी कोठा फर्कियौँ ।
(बर्दिबास–१४, महोत्तरी)