
काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार अचानक सबै चिनियाँ विद्यार्थीहरूको भिसा आक्रामक रूपमा रद्द गर्ने योजना घोषणा गरे । ट्रम्प प्रशासनले यसलाई कम्युनिस्ट राष्ट्रका जासुसहरूलाई बाहिर निकाल्ने उपायको रूपमा प्रस्तुत गर्यो ।
तर, यो निर्णयको पछाडि कारण अर्कै छ । चीनले मूल्यवान् रेयर अर्थ मटेरियल (दुर्लभ–खनिज र चुम्बकहरू) निर्यात नगरी तिनलाई आयात कर वार्तामा हतियारको रूपमा प्रयोग गरिरहेको थियो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई वास्तविक रूपमा त्यही विषयले उत्तेजित पारेको थियो ।
यहाँ महत्त्वपूर्ण कुरा के छ भने, लगभग दुई लाख ८० हजार चिनियाँ विद्यार्थीलाई लक्षित गर्ने यो निर्णयले चीनसँगको जारी व्यापार वार्तामा थप जटिलता थपिरहेको छ । दुर्लभ खनिजहरू अमेरिकी प्रविधि उद्योगका लागि कति महत्त्वपूर्ण भन्ने यसले देखाउँछ ।
यसले के पनि संकेत गर्छ भने चीनले झुक्याउने काम गरिरहेको भन्दै राष्ट्रपति ट्रम्प क्रोधित छन् । यो शुक्रबारको ट्रम्पको सामाजिक पोस्टमा झल्किन्छ । उनले लेखे, “केहीलाई अचम्म नलाग्ला, चीनले हामीसँगको व्यापार सम्झौता पूर्ण रूपमा उल्लंघन गरेको छ ।”
यी सामग्रीहरू कम्प्युटिङ र दूरसञ्चार उपकरणहरू, एफ–३५ लडाकु विमान, ड्रोन, पनडुब्बीहरू र संयुक्त प्रत्यक्ष आक्रमण हतियारहरूको स्मार्ट बमहरूका लागि महत्त्वपूर्ण छन् ।
सातवटा खनिजहरूमा समारियम, गाडोलिनियम, टर्बियम, डिस्प्रोसियम, ल्युटेसियम, स्क्यान्डियम, र यट्रियमसम्बन्धित वस्तुहरू समावेश छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘मेड इन चाइना २०२५’ कार्यक्रमअन्तर्गत, चीनले यी खनिजहरूको खानी र प्रशोधनमा प्रभुत्व जमाएको छ । अमेरिका दुर्लभ–खनिजहरूको विश्वको दोस्रो ठूलो उत्पादक हो । तर चीनको तुलनामा यो अंश सानो छ । चीनले विश्वव्यापी खानीको लगभग ७० प्रतिशत र प्रशोधनको लगभग ९० प्रतिशत नियन्त्रण गर्दछ ।
सी जिनपिङसहित चीनका सत्तारुढ दलका धेरै सदस्यले आफ्ना बच्चाहरूलाई अमेरिका अध्ययन गर्न पठाएका छन् । अमेरिकाले ती विद्यार्थीलाई लक्षित गर्नु भनेको चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूलाई सन्देश पठाउनु हो ।
विदेशमन्त्री मार्को रुबियो लामो समयदेखि चीनको आलोचक रहेका छन् । सन् २०२४मा एक सिनेटरको रूपमा उनले ‘द वल्र्ड चाइना मेड’ नामक प्रतिवेदन जारी गरेका थिए । जसले चीनले चाँडै ‘उत्पादन सामग्रीको रणनीतिक आपूर्ति शृंखलामा प्रभावकारी नियन्त्रण गर्न सक्ने’ चेतावनी दिएको थियो ।
उनीहरूले अमेरिकी शैक्षिक अवसरमार्फत चीनले जासुसी गरिरहेको भन्ने चेतावनी पनि दिएका थिए ।
“यदि तपाईं एक चिनियाँ जासुस हुनुहुन्छ भने, तपाईंलाई वास्तवमा सिमाना पार गर्न आवश्यक छैन,” उनले २०२४ को जुनमा फक्स न्युजकी मारिया बार्टिरोमोलाई भनेका थिए । “तपाईं हाम्रो विश्वविद्यालयहरूमा स्नातक विद्यार्थी बन्न सक्नुहुन्छ वा हाम्रो प्रविधि कम्पनीहरूको भिसा कर्मचारी बन्न सक्नुहुन्छ ।”
विदेशमन्त्रीको रूपमा, रुबियोले विदेशी विद्यार्थीहरूको भिसा अनुगमन र रद्द गर्ने विभिन्न पहल सुरु गरेका छन् ।
तर, अमेरिकी शैक्षिक समूहहरूले रुबियोको कदमको तीव्र्र आलोचना गरेका छन् । एसियाली अमेरिकी अधिकारको प्रवर्द्धन गर्ने संस्थाले भनेको छ, “राष्ट्रिय सुरक्षा निःसन्देह शीर्ष प्राथमिकता हुनुपर्छ, तर डरको प्रचार, जातीय प्रोफाइलिङ र जातिवाद कहिल्यै समाधान होइन ।”
चिनियाँ विद्यार्थीको विषय ट्रम्प प्रशासनले सस्तो हतियारको रूपमा लिएको छ । “यो राष्ट्रिय सुरक्षा, व्यापार, हाम्रो अर्थतन्त्रको बारेमा हो,” एक उच्च प्रशासनिक अधिकारीले भने, “सबै कुरा एक सम्झौता वार्ता हो ।”
मे १२ मा फक्स न्युजकी लारा इंगामले दुर्लभ–खनिज निर्यात प्रतिबन्ध हटाइएका छन् कि छैनन् भनेर सोध्दा ग्रियरले चिनियाँहरू हटाउन सहमत भएको बताएका थिए ।
तर मे २० मा व्यापार युद्धको विरामको बाबजुद चीनले दुर्लभ खनिजमाथिको नियन्त्रण नहटाएको बतायो । यसबाट चीनले दुर्लभ–पृथ्वीको व्यापारमा कडा नीति अपनाइरहेको संकेत गरेको छ ।
“चीनले धोका दिन्छ । यो उनीहरूको कामै हो,” ट्रम्पले भनेको एक ह्वाइट हाउसका अधिकारीले बताए, “यसबाट राष्ट्रपति खुसी थिएनन् त्यसपछि उनमा चिनियाँ विद्यार्थीको भिसा रद्द गर्ने विचार आयो ।”
बुधबार साँझ ७ बजे, रुबियोले एक्समा घोषणा गरे “अमेरिका चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गर्न सुरु गर्नेछ, जसमा चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्बन्ध भएका वा महत्त्वपूर्ण क्षेत्रहरूमा अध्ययन गर्ने विद्यार्थीहरू समावेश छन् ।”
त्यसै समयमा, वाणिज्यमन्त्री हावर्ड लुट्निकले केही अमेरिकी कम्पनीहरूलाई के सूचित गरे भने उनीहरूले केही प्रकारका सफ्टवेयर, अर्धचालक रसायन, मेसिन उपकरण, उड्डयन उपकरण, बुटेन र इथेन निर्यात गर्न सीमित वा रोक्नुपर्नेछ ।
बिहीबार, अमेरिकी अर्थमन्त्री बेसेन्टले फक्स न्युजमा व्यापार वार्ता थप रोकिएको स्वीकार गरे ।
शुक्रबार, ट्रम्पले चीनको आलोचना गर्दै भनाइ जारी गरे । केही घण्टापछि, ह्वाइट हाउसका उपप्रमुख स्टेफन मिलर सीएनएनमा देखिए र भने, “चीनको औद्योगिक रणनीति भनेको विद्यार्थी भिसा कार्यक्रमलाई प्रयोग गरेर अमेरिकाको औद्योगिक व्यापार गोप्य जानकारीमा जासुसी गर्नु हो... हाम्रा विश्वविद्यालयहरू, उच्च प्राविधिक अनुसन्धान र हाम्रो राष्ट्रको सबैभन्दा संवेदनशील र गोप्य परियोजना र कार्यक्रमसम्म जासुसी गर्नु हो । चिनियाँ भिसामा गरिने थप जाँचले अमेरिकाको आफ्नै इन्जिनियरिङ, वैज्ञानिक र चिकित्सा अनुसन्धानको सुरक्षा जोगाउनेछ ।”