
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार गठन भएको साढे १० महिना पूरा भएको छ । नयाँ गठबन्धनका लागि सक्रिय रहेका नेतामध्ये कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक तेस्रो नेतृ हुन् आरजु राणा देउवा ।
गठबन्धन बनाउन प्रमुख भूमिका निर्वाह गरेपछि उनले रोजा मन्त्रालय पाइन् । उनी २०८१ असार ३१ गते परराष्ट्रमन्त्रीमा नियुक्त भएकी हुन् । त्यसयता उनी अहिलेसम्म १३ देशमा १८ पल्ट पुगिसकेकी छन् । उनी गएराति हङकङको चारदिने भ्रमण पूरा गरेर फर्किएकी छन् ।
परराष्ट्रमन्त्री डा. राणा देउवा अघिल्लो हप्तामात्रै पाँचदिने जापान भ्रमणबाट फर्केकी थिइन् । जापानबाट फर्किएपछि उनको प्रतिक्रिया थियो, “जापान भ्रमण उपलब्धिमूलक रह्यो ।”
उनको सचिवालयले एक साताअघि जारी गरेको विज्ञप्तिअनुरुप भ्रमण ‘उपलब्धिमूलक’ हुनुमा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता, नेपाल जापान सहयोग र परियोजनाबारे कुराकानी हुुनु ।
खासमा परराष्ट्रमन्त्री राणा जापान किन गएकी थिइन् त ?
उनको सचिवालयले उनी जापान प्रस्थान गरेपछि गत जारी गरेको विज्ञप्तिमा कारण यस्तो दिएको थियो, “जापानको टोकियोमा सुरु हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रस्थान गर्नुभएको हो । मन्त्री डा. राणा ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्ततासम्बन्धी सो सम्मेलनमा सहभागी भइ नेपालका तर्फबाट सम्बोधन गर्नुहुनेछ ।”
उक्त कार्यक्रम एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल– एफडब्लुईएपी) ले आयोजना गरेको हो । यो सार्वजनिक हितमा काम गर्ने प्रतिष्ठान हो ।
प्रतिष्ठानको आधिकारिक वेबसाइटमा उल्लेख गरिएअनसार एफडल्कुईएपीले भियतनाम युद्धका अनाथहरूका लागि राहत र इन्डो–चिनियाँ शरणार्थीहरूलाई जापानमा बसोबास गर्न सहयोग प्रदान गर्ने गर्छ । यो प्रतिष्ठानले हाल कन्भेन्सन शरणार्थीहरू र पुनर्स्थापित शरणार्थीहरूलाई सहयोग पनि गर्छ ।
“परराष्ट्रमन्त्री जुन कार्यक्रमका लागि जापान जानुभयो, खासमा उहाँ जानुपर्ने कार्यक्रम नै होइन,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो, “परराष्ट्रमन्त्री जस्तो मान्छे जस्तो पायो त्यस्तै कार्यक्रममा सहभागी हुँदा देशको मान प्रतिष्ठामा आँच आउँछ ।”
परराष्ट्र मन्त्री भएपछि राणाको अनावश्यक विदेश भ्रमण यो पहिलो पटक भने होइन । यसअघि पनि उनी यस्ता थुपै्र कार्यक्रममा सहभागी भएकी छन् । मन्त्रालयका उच्चस्तरीय कर्मचारीले नजान सुझाएका कार्यक्रममा पनि उनी जाने गरेको भनाइ स्रोतको छ ।
“परराष्ट्रमन्त्री देशको प्रतिनिधित्व गरेर विदेश जाने हो । विदेश जाँदा परराष्ट्रमन्त्रीको ओहदालाई सुहाउँदो र प्रतिष्ठा बढाउने कार्यक्रममा सहभागी हुनुपर्छ,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवापत्नी राणाले ३१ असार २०८१ का दिन परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकी थिइन् । ्उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेको ३१५ दिन (करिव साढे १० महिना) बितेको छ ।
यो साढे १० महिनाको अवधिमा परराष्ट्रमन्त्री राणाले १३ देशको भ्रमणमा १८ पटक निस्केकी छन् । उनले कुनै देशमा तीन–तीन पटक भ्रमण गरेकी छन् । कार्यभार सम्हालेयता परराष्ट्रमन्त्री राणाले १०४ दिन विदेश भ्रमणमा बिताएकी छन् ।
अर्थात् कार्यभार सम्हालेयताको ३२.०६ प्रतिशत समय उनको विदेश भ्रमणमा बितेको छ ।
२०८१ साउन ३१ गतेदेखि २०८२ जेठ १२ गतेसम्मको अवधिमा परराष्ट्रमन्त्री राणाले भारत, क्यानडा, अमेरिका, कतार, चीन, नेदरल्याण्ड्स, जर्मनी, बेल्जियम, लक्जेम्बर्ग, थाइल्यान्ड, ओमान, स्वीट्जरल्याण्ड र जापानको भ्रमण गरेकी छन् ।
यस अवधिमा उनी भारत तीन पटक, थाइल्याण्ड तीन पटक र चीन दुईपटक पुगेकी छन् ।
“परराष्ट्रमन्त्री अनिवार्य सहभागी हुनुपर्ने थुपै्र कार्यक्रम हुन्छन् । तर जस्ता कार्यक्रममा पनि गइदिँदा राम्रो काम पनि ओझेलमा परेका छन्,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो, “फेरि व्यक्तिगत कामको लागि पनि धेरै दिन विदेशमा बसिदिँदा मन्त्रालयको काम कारबाहीमा पनि समस्या हुने गरेको छ ।”
२०८१ फागुन अन्तिम साता परराष्ट्रमन्त्री राणा १२ दिनको लागि भारत गएकी थिइन् । फागुन २६ देखि चैत ८ गतेसम्म भारतमा बिताइन् । उनी धार्मिक भ्रमणका भन्दै फागुन २६ गते भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाम गएकी थिइन् ।
बैद्यनाथ धामबाट उनी नयाँदिल्ली पुगेकी थिइन् । उनी भारत प्रस्थान गर्दासम्म उनको भेट भारतका विदेशमन्त्री एस जयशंकर हुने वा नहुने भन्ने ‘कन्फर्म’ भएको थिएन । उनी भारत पुगेको तेस्रो दिन मात्र भारतीय विदेशमन्त्रीले भेटका लागि समय दिने निर्णय भएको थियो ।
“एउटा देशका परराष्ट्रमन्त्री अर्को देशमा जाँदासम्म निमन्त्रणा गर्ने देशको समकक्षीसँग द्विपक्षीय भेटवार्ता हुन्छ वा हुँदैन भन्ने निर्क्योल हुँदैन भने त्यस्तो भ्रमणमा किन जानु ?’’ परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन्, ‘‘विदेशमन्त्री जाँदा सम्बन्धित देशको विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नु अनिवार्य र सामान्य कूटनीति हो । यति बुझ्न किन गाह्रो भएको होला ?”
नयाँ दिल्लीमा २०८१ चैत ४ देखि ६ गतेसम्म आयोजित राइसिना डायलगमामा सहभागी भई परराष्ट्रमन्त्री राणा काठमाडौं फर्केकी थिइन् ।
परराष्ट्रमन्त्री राणाको बेल्जियम भ्रमणमा पनि लफडा भएको थियो । उनले २०८१ पुसमा १४ दिन युरोपको भ्रमण गरेकी थिइन् । पुस २ गतेबाट सुरु भएको भ्रमणका क्रममा उनी नेदरल्यान्ड्स, जर्मनी, बेल्जियम र लक्जेम्बर्ग पुगेकी थिइन् ।
उनी गैरआवासीय नेपाली संघ बेल्जियमको निमन्त्रणामा गएकी थिइन् । बेल्जियम पुग्दा राणाविरुद्ध त्यहाँ रहेका केही नेपालीले प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उनीहरुले ‘भुटानी शरणार्थी काण्ड छानबिन गर’, ‘भ्रष्टाचारीविरुद्ध एककुट हौं’, ‘गिरीबन्धु, भुटानी शरणार्थी, टेरामक्स, वाइडवडी काण्ड छानबिन गर’ आदि लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
त्यसपछि गैरआवासीय नेपाली संघ बेल्जियमले विज्ञप्ति जारी गर्दै भनेको थियो, “यस घटनामा संघका उपमहासचिव राजेन्द्र कार्कीको संलग्नतालाई संघको विधान र भावनाविपरीत मान्दै, उक्त कार्यप्रति हामी गहिरो असहमति र खेद व्यस्त गर्दर्छौ । परराष्ट्र मन्त्रालय गैरआवासीय नेपाली संघको अभिभावक मन्त्रालय भएको तथ्यलाई ध्यानमा राख्दै, कसैको इशाराको प्रत्यक्ष निर्देशनमा उपमहासचिव कार्कीको संघको भावनालाई लत्याउँदै मन्त्रीवरुद्ध प्लेकार्ड प्रदर्शन गुर्न र राष्ट्रको इज्जत बोकेर आएकी नेपाली सरकारकै मन्त्रीलाई विदेशी भूमिमा अपमान गर्नु एकदमै निन्दनीय कार्य हो ।”
आफू कस्तो कार्यक्रममा जाँदैछु भन्ने ख्याल नगर्दा यस्ता समस्या आइपर्ने भनाई परराष्ट्र मन्त्रालय उच्च स्रोतको छ ।
“विदेशमा हुने यस्ता घटनाले देशको मान, प्रतिष्ठा कहाँ पुर्याउँछ ? त्यो देशले यी सबै देखेको छ, आफ्नो नोटिसमा राखेको छ,” स्रोतको भनाइ छ ।
युरोप भ्रमणबाट फर्किदा पनि उनी भारतमा छिरेकी थिइन् । नेपालबाट युरोप भ्रमणमा जाँदा उनको भारत जाने कार्यक्रम बनेको थिएन ।
तर युरोप भ्रमणमै रहँदै भारतमा हुने सामान्य कार्यक्रममा सहभागी हुने कार्यक्रम बनेको थियो । उनी त्यहाँ नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एण्ड वेलफेयर (एग्रो)ले आयोजना गरेको कार्यक्रममा सहभागी भएकी थिइन् ।
परराष्ट्रमन्त्री भएपछि पहिलो पटक २०८१ भदौ २ देखि ६ गतेसम्म भारतको भ्रमण गर्दा उनले उच्च सम्मान पाएकी थिइन् । उनले भारतका विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी थिइन् ।
तर, दोस्रो पटक पुसको पहिलो साता भारतको भ्रमण गर्दा उनले पहिले पाएजस्तो सम्मान भारतबाट पाइनन् । २०८१ भदौ ३१ गते परराष्ट्रमन्त्री राणा एकैपटक तीन देश– क्यानडा, अमेरिका र कतारको भ्रमणमा निस्केकी थिइन् ।
उनी लगातार १९ दिन विदेशमा रहिन् । क्यानडाबाट सुरु भएको उनको भ्रमण कतार हुँदै नेपाल आई टुङ्गेको थियो । उनी असोज १८ गते नेपाल फर्केकी थिइन् ।
क्यानडाको टोरन्टोमा आयोजित महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागी भई उनी संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेकी थिइन् । त्यसपछि उनी न्यूयोर्कबाट नै कतारमा आयोजित एसिया सहयोग संवादमा सहभागी बनेकी थिइन् ।
परराष्ट्रमन्त्री राणा व्यत्तिगत कारण देखाउँदै २०८१ माघ ५ देखि १५ गतेसम्म ११ दिन थाइल्याण्डमा बिताएकी थिइन् । उनी स्वास्थ्य उपचारका लागि बैंकक गएको भनिए पनि परराष्ट्र मन्त्रालयले अझैसम्म कारण खुलाएको छैन ।