site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
डढेलो

डाँडाघरे साइँलाको घरमा आगो लाग्यो रे ! एक दिन गाउँमा कर्कश हल्ला फैलियो । समाचार सुन्नेबित्तिकै सारा गाउँले भेला भए । तन्मयका साथ आगो नियन्त्रण गर्न लागे ।

कसैले नजिकै गोठका गाईबाच्छा सारिदिए । कसैले घरमा भएका सरसामान निकाल्ने काममा सघाए । केही सरसामान निकालियो । धेरै जल्यो ।

‘तैँले जित्ने कि मैले’ भन्ने आगो र मानिसको घमासान प्रतिस्पर्धामा आखिर मानिस नै निरीह साबित भयो । प्रकृतिसँगको स्पर्धामा मानिसले जितेको इतिहास छैन ।

Argakhachi Cement Island Ad

छिमेकी राममानले बारीमा झिक्रा सल्काएको आगो नजिकैको पाखोमा सल्किएपछि दुर्दान्त घटनाको सुरुआत भएको रहेछ । उनले आगो निभाउने तमाम प्रयत्न त गरेछन्, तर केही लागेनछ ।

जीवनभरको दुःख र मिहिनेतले सिर्जना गरेको घरबास आफ्ना आँखैअगाडि निमेषभरमा माटोमा मिलेको साक्षी बस्न बाध्य साइँला निकै विक्षिप्त थिए । तत्क्षण उनलाई डाँको छोडेर रुन मन नलागेको होइन, तर फेरि उनले सोचे– मैले नै आफूलाई सम्हाल्न सकिनँ भने मेरा जहान परिवारले कसरी मन बुझाऊलान् ?

लाग्यो, सायद पुरुषलाई बाहिर देखिने गरी रुन बन्देज छ ।

मेरै कारणले यो अकल्पनीय दुर्घटना भएको भन्ने पश्चात्ताप राममानलाई पनि भयो । तर, जे हुनु भइसकेको थियो । यसैकारण साइँलाको पुनर्वासको कामका लागि सबैभन्दा बढी सहयोग राममानले नै गरे ।

गाउँलेहरू भेला भएर छलफल गरे । बचाउन सकिएको केही सरसामानमा थपथाप गरेर कसैले जिन्सी, कसैले नगद सरसहयोग गरी साइँलाको अस्थायी आवासको व्यवस्था गरिदिए ।

“बाबा, मेरो सानो कार पनि जल्यो । अब म केसँग खेल्नु ?” पाँच वर्षको सानेले गहभरि आँसु पारेर भनेको थियो । खेलौनाको नाममा त्यही एउटा पुरानो बिग्रिएको कार त थियो उसको ।

“मामाले किनिदिएको मेरो नयाँ कुर्तासुरुवाल पनि खरानी भयो । सिलाएर एक दिन पनि लाएको थिइनँ । दसैँमा मामाघर जाँदा लाउने भनेर सोचेकी थिएँ ।” छोरीले पनि करुण आवाजमा बिलौना गरी ।

साइँलाले तत्काल तिमीहरूलाई खेलौना र नयाँ कपडा किनिदिन्छु भन्ने साहस गर्न सकेनन् ।

सबैभन्दा ठूलो बिस्मात त साहुलाई ऋण तिर्न भनेर ठिक्क पारेको तीस हजार रूपैयाँ समेत आगोमा जलेर खरानी भएको थियो । तीस हजार जम्मा गर्न साइँला र उनकी अर्धांगिनी बीनालाई वर्षौं लागेको थियो । एकछाक खाएर, एकसरो लाएर दिनरात मिहिनेत गरेपछि जम्मा भएको त्यत्रो रकम एकैछिनमा धुवाँ र खरानीमा परिणत भएको थियो ।

उनीहरू घरबाट टाढा बारीमा काम गरिरहेका बेला आगो लागेकाले घरको धेरै सरसामान बचाउन सकेका थिएनन् । नजिकै भएको भए सायद सबथोक छोडेर त्यो पैसा बचाउँथे । त्यत्रो पैसा फेरि कहाँबाट ल्याउनु ?

केही दिन पो छरछिमेक, आफन्त, साथीभाइले सहयोग गर्थे । सधैँका लागि हुने थिएन । वनमा र घरमा लागेको आगो सबैले देखे, निभाए पनि । तर, मनमा लागेको आगो कसैले देख्नेवाला थिएन ।

त्यो त कि साइँलालाई कि त बीनालाई थाहा थियो । घरमा लागेको ज्वालाले मनमा ज्वाला रोपिदिएको थियो । घरको ज्वाला त निभिसकेको थियो, तर थाहा छैन मनको ज्वाला कहिले शान्त हुने हो । 

आगलागीपछिका दिनहरू निकै कष्टकर बिते । बालबच्चाको पढाइलाई निरन्तरता दिन गाह्रो भयो । घरको लय नराम्रोसँग बिग्रियो । ऋण तिरिसकेपछि तिमीलाई पनि म सामसुङको राम्रो मोबाइल किनिदिन्छु भनेका थिए साइँलाले । बाचा सुनेर बीना पनि पुलकित भएकी थिइन् । उनको सपनामा तुषारापात भयो ।

जीवनमा आशाको सञ्चार हुन मात्र के थालेको थियो, अचानक सबैतिर निराशाको कालो बादल मडारिन पुग्यो । सुखको झिल्को देखिएको मात्र के थियो, दुःखको आँधीहुरीले बढारेर लगिदियो ।

एकातर्फ घर चलाउन हम्मेहम्मे परिरहेको थियो भने अर्कोतर्फ ऋणको भार ज्युँका त्युँ थियो । केही समयका लागि त साहुले ब्याज तिर्नु पर्दैन भनेको थियो, तर सावाँ त तिर्नैपर्ने थियो ।

केही सीप नलागपछि साइँलाले पनि अक्सर नेपालीले झैँ कामको खोजीमा भौँतारिने निर्णय गरे । हरेक नेपालीले कोही युरोप, कोही अमेरिका त कोही खाडीमा दुःख गरिरहेको देखेसुनेकै हो ।

तर, जीवनको सबैभन्दा कठिन समयमा आफ्नो श्रीमान् घर छोडेर जाने कुरा सुनेर बीना हतप्रभ भइन् । तथापि, उनले श्रीमान्का प्रस्तावलाई नकार्न पनि सकिनन् । उनलाई बाध्यताका अगाडि रहरले आत्मसमर्पण गरेझैँ लाग्यो ।

साइँलाले सात समुद्रपारिका सम्पन्न मुलुक जाने कल्पना पनि गर्न सकेनन् । त्यस्तै, खाडी मुलुक जान पनि निकै ठूलो आर्थिक जोरजाम गर्नुपर्थ्यो, जुन उनको वशभित्रको कुरा थिएन । निरुपाय साइँला एक दिन भारततिर लागे ।

एकातिर ऋणको भार, अर्कोतिर सम्पूर्ण पारिवारिक जिम्मेवारीको बोझ एक्लै उठाउनुपर्दा कलिलै उमेरमा नै बीना निकै बुढी देखिन थालेकी थिइन् । रुग्ण शरीरमा चैन कतै थिएन ।

दिनभरि कडा परिश्रम गर्थिन् । रातमा फिटिक्क निद्रा पर्दैनथ्यो । निद्रा र सुखका बीचमा सुमधुर सम्बन्ध हुन्छ, सायद उनको नसिबमा दुवै लेखिएका थिएनन् !

भएको केही गरगहना पनि बेचिन् । केही रकम श्रीमान्ले पठाए । जोरजाम गरेर साहुको ऋणको भार कम गर्दै लगिन् । एकदिन साहु आफैँ घरमा आयो । बीनाले सम्मानपूर्वक पिँढीमा बसाइन् ।

“के कति कामले पाल्नुभो ? आवश्यक परको भए त मै आइहाल्थेँ नि ! हजुरले पाउकष्ट गर्नैपर्ने थिएन ।” बीनाले बिन्तीभावमा भनिन् ।

पल्याकपुलुक यताउता हेर्दै साहुले भन्यो, “तिमीसँग अलिकति गोप्य कुरा गर्नुपर्‍यो भनेर आएको ।”

बीना केही सशंकित त भइन्, तर केही बोलिनन् ।

“सुन, नानी । तिमीहरूलाई दुःखमा मैले साथ दिएँ । केही समयको लागि ऋणको ब्याज पनि मिनाहा गरिदिएको छु । यो सबै गरेबापत मलाई पनि त तिमीले केही सहयोग गर्नुपर्‍यो नि !” यति भनेर उसले बीनाको हात समाउन खोज्यो ।

“हेर्नुस्, साहुजी ! हामीले सर्तसहित तपाईंसँग ऋण लिएको हो । त्यो पनि तिरिरहेकै छौँ । श्रीमान् बाहिर हुनुहुन्छ । हरहमेसा तपाईं रिसाउनुभयो होला भनेर चिन्ता गरिरहनुहुन्छ । केही समय दिनुहोस्, तपाईंको पैसा ब्याजसहित चुक्ता गर्छौँ । पीर परेको बेलामा मौकाको फाइदा उठाउन आउनुभएको हो भने तपाईं तुरुन्त यहाँबाट गैहाल्नुस् । गरिब छौँ, तर इज्जत फ्याँक्ने छैनौँ ।”

लाग्यो, मन्दिरमा परेको भए त्यही ढुंगा शिला हुन्थ्यो, पूज्य हुन्थ्यो । उनले आफूलाई बाटोमा परेको ढुंगाजस्तै ठानिन्, इज्जतविहीन, मूल्यविहीन । मानिसको जीवनमा पनि यही कुरा लागु हुने रहेछ । पैसा भए इज्जत, प्रतिष्ठा, मानसम्मान, सबथोक मिल्ने, नभएपछि सधैँको हेलाहोचो । 

“कसरी ऋण तिरिसकिन्छ ? तिमीहरूले लिएको तीन लाख सावाँ र ब्याज गरी लगभग अब तिर्न बाँकी सवा तीन लाख छ ।” साहु कड्कियो ।

“हामीले तीस हजार मात्र लिएको होइन ? कसरी तीन लाख भो ?”

“तीन लाख लिएर तीस हजार भन्न लाज लाग्दैन ? लिने बेलामा लियौ, मोज गर्‍यौ । अहिले यस्तो कुरा गर्ने ?”

हे भगवान् ! बीनाको गला शुष्क भो, भाउन्न भो । चिटचिट पसिना निस्कियो । हातगोडा गलेर फतक्क भए । मनमा शब्द थिए, तर सायद तिनले मुखसम्म आउने बाटो बिर्सिए ।

अहँ, एक शब्द निस्किन मानेन । साहुले तीस हजारमा शून्य थपेर तीन लाखको फर्जी तमसुक बनाएको कुरा बुझ्न बीनालाई गाह्रो भएन । साहुले दिएको ऋणको प्रमाण त घरसँगै जलेको थियो । बीना निःसहाय भइन् ।

अब के गर्ने भन्ने सोच्नै सकिनन् । किन कठिन परिस्थितिमा मानिसको दिमागले काम गर्दैन, जतिखेर उसले गम्भीर निर्णय गर्नुपर्ने हुन्छ ? उनले साइँलालाई खुब ‘मिस’ गरिन् । श्रीमान् साथमा भएका भए कम्तीमा यस्तो कठिन परिस्थितिमा अँगालोमा बेरिएर रुन त पाउँथिन् ।

यता बीना एकोहोरिइरहिन्, उता गाईबाछा भोकतिर्खाले दाम्लाकिला लिएर हिँडौँला झैँ गरिरहेको देखेर छिमेकी नन्दी आएर घाँसपानी दिइन् । आज भाउजूलाई सन्चो रहेनछ भन्दै खाना बनाइदिइन् । बालबच्चालाई खुवाइन् ।

उनलाई पनि खाना खान कर नगरेकी होइनन् । बीनाले पछि खाऊँला भनेर उनलाई बिदा गरिन् । दिनभरिको थकानले बालबच्चा एकैछिनमा निदाए । तर, बीनालाई भने न भोक न प्यास, न निद्रा भो ।

नानीबाबुलाई हेरिन् । एकैछिन भए पनि उनलाई बाल्यावस्थामा फर्किने इच्छा भो । सोचिन्– यदि, भगवान् छौ भने मलाई त्यही बालापनमा फिर्ता गरिदेऊ ।

तर, कल्पना र वास्तविकता खोलाको दुई किनाराजस्तै हुन्, जसको मिलन असम्भव थियो ।

०००

एक दिन गाउँमा हल्ला चल्यो, साइँलाकी स्वास्नी हराइन् । स–साना लालाबाला छोडेर कहाँ गइन् होला ? मानिसहरूले विभिन्न लख काटे । कथा बनाइए । कोही भन्दै थिए, ‘साइली पोइल गई ।’

कसैले बिहानै कोही परपुरुषसँग कतै जाँदै गरेको देखेको भन्न भ्याए । कतै गएर आत्महत्या पो गरिन् कि भन्ने पनि निस्किए ।

कुराहरू यसरी निस्किए कि चिनेजानेका हरेक मानिसका मुखमा साइँलीका बारेमा कुनै न कुनै कथा थियो । यस्तो लाग्थ्यो, व्यक्तिको अनुपस्थितिमा उसको कुरा काट्ने काम सबैभन्दा सजिलो काम हो ।

साइँली बेपत्ता भएपछि मावलीले बालबच्चा लिएर गए भने गाईवस्तु छरछिमेकीले हेरिदिने भए । घरको नयाँ परिस्थितिका बारेमा साइँलालाई जानकारी गराइयो ।

खबर पाएपछि सक्दो चाँडो उनी पनि घर आए ।

नियतिले बारम्बार ठगेको कोही मानिस धरामा थियो भने ती साइँला नै थिए । प्रारब्धका अघि मानिसको के नै लाग्थ्यो र ? तनाव, बेचैनी र थकानले छियाछिया भएको शरीर । अधबैँसे उमेरमै साइँला निकै बुढोजस्तो देखिन्थे ।

घर फर्किएको केही दिन उनले आफन्त, नातागोता र अन्य सम्बन्धीहरूकहाँ श्रीमतीका बारेमा सोधखोज गरे । तर, हात लाग्यो शून्य । प्राणप्यारी श्रीमती नभएको घर उनलाई आफ्नोजस्तो लागेन ।

हुन त घर छोडेको धेरै भएको थिएन, तर घरका हरेक सरसामान, कुनाकन्दरा कताकता पराईजस्ता लागे । सोचे– महिला नभएको घर त साँच्चै नर्क हुने रहेछ ।

०००

एक दिन अचानक दराजको कुनामा एउटा नोट फेला पर्‍यो । अक्षर देख्नेबित्तिकै साइँलालाई त्यो नोट बीनाले लेखेको भनेर पहिचान गर्न गाह्रो भएन । हतारमा पढ्न थाले— 
प्राणप्यारा,
साष्टांग दण्डवत् 
अपार माया र सम्झना । आज म निकै कठिन निर्णय लिने निचोडमा पुगेँ । मानिस कहिले कठोर त कहिले नरम हुनुपर्दो रहेछ । म निकै कठोर भएकी छु । यो पत्र लेख्दै गर्दा मेरा हातहरू काँपिरहेका छन् । यो सबै प्रारब्ध हो र यसमा मलाई हजुरले दोषी पक्कै देख्नुहुने छैन भन्ने विश्वास लिएकी छु ।

हामीले विवाहकै दिन अग्नि साक्षी राखेर सातौँजन्म सँगै हुने कसम खाएका थियौँ । सँगै बाच्ने र मर्ने, दुःखसुख साटासाट गर्ने भनी समाजका सामु बाचा गरेकै हो । तर, म हारेँ । प्यारा, तपाईंको मायाको सागरमा डुबुल्की मारिरहने सोच अब कल्पना मात्र हुने भो । तपाईंको न्यानो आलिंगनमा बाँधिने अभिलाषा बाँकी रहने भयो ।

घर छोडेर हिँड्ने निर्णय त गरेँ, तर म कहाँ जान्छु, के गर्छु भन्ने कुनै निर्णय गर्न सकेकी छैन । जीवनमा संघर्ष गर्ने कि हाँसीहाँसी मृत्युलाई अँगाल्ने भन्ने निर्क्योल गर्न सकेकी छैन । सायद म छिट्टै यसबारेमा निर्णय गर्ने नै छु, तर जिजीविषा खासै छैन ।

साइँला, मैले तपाईंको नाममा कोसेली छोडेर जाँदै छु । नानीबाबुलाई मेरो नासो सम्झेर राखिदिनुहोला । यिनीहरूले कुनै किसिमको दुःख नपाऊन् । मैले यो जुनीमा भेटिनँ भने पनि अर्को जुनीमा उनीहरूसँग पक्कै भेट्ने छु । मेरो बारेमा सोधे भने उनीहरूकै भलाइका लागि गएकी छे, छिट्टै फर्किन्छे भनिदिनु है । मेरो अनुपस्थितिमा उनीहरूको स्याहारसुसार गर्न तपाईंलाई निकै कष्ट हुन्छ नै, तर सक्नुहुन्छ भने कुनै अर्की पराई नारीलाई आमाका रूपमा नभित्र्याउनुस् न है, बिन्ती !

म तपाईंलाई मैले किन हठात् यो निर्णय लिने विचार गरेँ भनेर सविस्तारमा बताउँछु । निकै समयपश्चात् पूर्वसूचनाविना नै एक दिन म साहुकहाँ पुगेँ । साहु घरमा आराम गरेर बसिरहेको थियो । अचानक मलाई देखेर ऊ छक्क पर्‍यो, तर स्वागत गर्न भने बिर्सिएन । स्वागत यसरी गर्‍यो मानौँ भोकाएको सिंहका सामु आहार आफैँ आइपुगेको छ ।

साहुका अघि उभिएर हात जोडेर मैले भनेँ, ‘साहुजी, हामीले लिएको वास्तविक ऋण तीस हजार मात्रै हो । तपाईंले तीन लाख भनेर किन फर्जी कुरा गर्नुभो ?’

साहु बोल्न थाल्यो, ‘मैले पनि दुःखमा तिमीहरूलाई सहयोग गरेकै हो । मलाई पनि त तिमीले केही दिनुपर्‍यो नि भनेको मात्र त हो । खै, तिमीले कुरै सुन्न मानिनौ ! यति भन्दै गर्दा साहु मेरो पासमा आइसकेको थियो । म लाचार थिएँ । प्रतिकार गर्ने प्रयास गरिनँ, भनौँ चाहिनँ ।

तपाईंलाई थाहै छ, साहुको श्रीमतीको देहान्त भएको दशकौँ भैसकेको छ, तर सम्पत्ति र रवाफ उत्तिकै छ । उमेरले साठी कटिसकेको छ । सारै मात्तिएको छ । मौका मिल्नासाथ अबला नारीमाथि ऊ व्यभिचार गरिछाड्छ । ऊ सधँै त्यस्तै मौकाको खोजीमा हुन्छ भन्ने सुनेकी थिएँ । त्यस दिन मैले यो सब भोग्नुपर्‍यो ।

आफ्नो चाहना पूरा गरिसकेपछि साहुले एउटा नेपाली कागजको चिर्कटो लिएर आयो । हामीले लिएको ऋणको तमसुक हो त्यो भनेर सुनायो । तिमीहरूले लिएको ऋण आजबाट चुक्ता भयो, अब केही बाँकी छैन– यति भन्दै उसले त्यो कागजलाई टुक्राटुक्रा पारेर मिल्काइदियो ।

साइँला, म नचाहँदा नचाहँदै परचक्रीबाट लुटिएँ । इच्छाविपरीत भोगिएँ । मैले यसो नगरको भए हाम्रो परिवार पुस्तौँपुस्तासम्म ऋणको आहालमा डुबिरहने पक्का थियो । म सकिएँ । यसमा मलाई गहिरो दुःख लागेको छ । तर, हाम्रो ऋण सकियो । आफू जलेर अरूलाई उज्यालो प्रदान गर्नु नै जीवनको सार्थकता रहेछ । सायद मेरो जीवनको उपादेयता यही थियो । भन्नुपर्ने कुरा कति थियो कति, तर लेख्न सकिरहेकी छैन । अन्तिममा एउटा सानो कविता लेखेर बिदा माग्छु–
तिमी हाँगा हुनू, म पात हुनेछु 
तिमी तारा हुनू, म रात हुनेछु
तिमी नदी हुनू, म किनार हुनेछु 
तिमी प्रकृति हुनू, म बहार हुनेछु
तिमी नङ हुनू, म मासु हुनेछु 
तिमी आँखा हुनू, म आँसु हुनेछु 
तिमी धर्ती हुनू, म आकाश हुनेछु 
तिमी शरीर हुनू, म श्वास हुनेछु 
तिमी आकृति हुनू, म छाया हुनेछु
तिमी दायाँ हुनू, म बायाँ हुनेछु
जहाँ हुनेछु, सँगै हुनेछु 
तिमीलाई पाएर दंगै हुनेछु । 
उही तपाईंकी अभागी अर्धांगिनी, 
बीना 

पत्र पढिसक्दा साइँलाका आँखाबाट बरर अश्रुधारा झरे । त्यही बेला साने कराउँदै आयो, “बाबा, आमाको केही खबर आयो ? फर्किएर आउँदा एउटा राम्रो गाडी ल्याइदिन भन्नुस् है आमालाई ।”

छोरालाई के उत्तर दिने भनेर उनले निकै बेर सोचे । त्यति बेरसम्ममा साने कतै टाढा पुगिसकेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ०७:१५
प्रतिक्रिया दिनुहोस्