
काठमाडौं । रण–अम्बिका शाह सेवा गुठी, नेपालले साहित्यिक तथा सामाजिक क्षेत्रमा क्रियाशील संस्था र व्यक्तिलाई २०८२ सालको ‘रण–अम्बिका शाह सेवा पुरस्कार’ प्रदान गरेको छ ।
शनिबार (जेठ १७) काठमाडौंमा गुठीद्वारा आयोजित कार्यक्रममा वरिष्ठ चिकित्सक प्रा. डा. मृगेन्द्रराज पाण्डेले समाजसेवी उज्ज्वलविक्रम थापा र साहित्यिक संस्था नेपाल स्रष्टा समाजलाई उक्त पुरस्कार प्रदान गरे । स्रष्टा समाज तथा समाजसेवी थापालाई पुरस्कारका साथ जनही नगद एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरियो ।
प्रा. डा. पाण्डेले गुठीले गरेको सामाजिक कामको प्रशंसा गरे । उनले सबैले राम्रो काम गर्दै जानुपर्नेमा जोड दिए ।
उक्त अवसरमा गुठीले विभिन्न सात संस्थालाई आर्थिक सेवा सहयोग समेत प्रदान गर्यो । यो वर्ष सेवा सहयोग प्राप्त गर्ने संस्थामा राष्ट्रिय युवा सेवा कोष, अन्तरदृष्टि नेपाल, जोन्ता क्लब, नेपाल चिकित्सा मनोविद् संघ, प्राकृतिक स्वास्थ्य संस्था, बाल शान्तिगृह र जोन्ता क्लबमार्फत एउटा अर्को संस्था छन् ।
कार्यक्रममा गुठीका सचिव किरण थापाले समाज र समाजसेवी थापाको सामाजिक योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको बताए ।
उक्त अवसरमा डा. चिन्तामणि योगी, मिता शाह राणाले गुठी र पुरस्कारका विषयमा बोले ।