काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको अभियोगमा मालपोत कार्यालय बाराका प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागमा रोक्का छ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गरिदिने भन्दै घुस मागेको पाइएको छ । उनीहरूले द्रुततर गतिमा जग्गा पास गरिदिने र उक्त काम गरिदिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको पाइएको छ ।
आयोगको टंगाल कार्यालयबाट गएको टोलीले छ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित जर्गा होटेलबाट पक्राउ गरिएको हो ।
उनीहरूलाई आयोगले शुक्रबार पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता रिसालले जानकारी दिए । आरोपीद्वयको अझै अनुसन्धान जारी रहेको आयोगको भनाइ छ । रासस