काठमाडौं । “अनि, डाक्टर मनोज तपाईंलाई यति बेलासम्म भोक लागेन त ?” पेटको घाउ सफा गर्दै गरेका डाक्टरलाई बिरामी बालिका शय्याबाटै सोध्छिन् । “ओहो ! तिमी त अब सबैको ख्याल गर्न थालिसक्यो है ?” डाक्टर दंग पर्दै जवाफ फर्काउँछन् ।
तीनपटकको सर्जरीपछि गंगा पहिलो फलोअपमा आएकी छन् । ७ साताअघिकी निराश, कसैसँग नबोल्ने, एक्लै उभिइरहने बिरामी होइन हँसिली, सबैसँग बोलिहाल्ने अनि फुर्तिली गंगा अर्थात् गंगा बास्कोटा ।
तेह्रथुमको विकट फेदाप गाउँमा जन्मिएकी गंगा सामान्य व्यक्तिझैँ पिसाब फेर्न सक्दिन थिइन् । “थाहा हुन्थ्यो । तर, पिसाब रोक्न सक्दिनथेँ । जहाँ जति बेला लाग्यो, त्यहीँ चुहिन्थ्यो । घरभित्र, बाहिर, दाउरा-घाँस जाँदा ओछ्यानमा सुत्दासमेत पिसाबमै डुबिरहेकोजस्तो लाग्थ्यो । घरमा फल्याकको छुट्टै ओछ्यान थियो म सुत्ने । छिमेकतिर गए पिरामा नबस्, मुढामा नबस् ऊ... त्यहाँ बस् भन्दै छिःछि दुर्दुर गर्थे ।”
गंगा विगत् सम्झिँदै भन्छिन्, “मलाई स्कुल जान पढ्न साह्रै रहर थियो । आमाले लिएर पनि जानुभयो । तर, केही दिन स्कुल गएपछि मलाई शिक्षक-शिक्षिकाले नै निकाले, भोलिदेखि नआउनू भने । म त्यो दिन रातभर रोएर सुतिनँ ।” आर्थिक अवस्था कमजोर रहेको बास्कोटा परिवारमा न उपचार खर्च थियो न अस्पतालसम्मको पहुँच नै । पिसाबले भिजेरै बिते गंगाका १४ वर्ष ।
काठमाडौं मोडल अस्पतालसम्मको यात्रा
गंगाकी जेठी दिदी कमला खड्का, जसलाई बहिनीको यो अवस्थाले सधैं मन भारी भइरहन्थ्यो । काठमाडौं ल्याएर उपचार गराउन पाए त ठीक हुन्थ्यो कि ? धेरै सोचिन् । तर, परिवारमा कसैले काठमाडौं ल्याउने आँट देखाएनन् । जसोतसो उनैले लिएर आइन् । सुरुमा महिलासम्बन्धी रोग भन्ठानेर प्रसूतिगृह थापाथली पुर्याइन् । तर, प्रसूतिका चिकित्सकले त्यहाँ उपचार नहुने बताउँदै काठमाडौं मोडल अस्पताल लैजान सुझाए । बहिनीलाई लिएर मोडल अस्पताल पुग्दा उपचार हुने आशा त जाग्यो । तर, उपचारमा लाग्ने खर्चबारे सुन्दा रुनु न हाँस्नु भइन् कमला । शल्यक्रियाका लागि आवश्यक डेढ लाख रुपैयाँ उनले बिहान-बेलुका ठेलागाडामा तरकारी बेचेर गरेको जोहोभन्दा निकै ठूलो रकम थियो । कमलाले काउन्सिलिङ रुममै बिन्ती बिसाइन्, “हामीसँग त त्यति पैसा छैन, डाक्टर'साब के गरौँ त बहिनीलाई ?”
गंगाको पीडाले जगाएको डा. मनोजको आँट
प्रसूतिगृहले गंगालाई रिफर गरेका डाक्टर थिए, काठमाडौं मोडल अस्पतालका वरिष्ठ बाल शल्यचिकित्सक मनोजकृष्ण श्रेष्ठ । गंगाको केस हिस्ट्रीले नै डा. मनोजलाई झस्काइसकेको थियो । अर्थात् ३० हजारमध्ये एक बालबालिकामा हुने समस्या बोकेर आएकी थिइन्, गंगा । जन्मिँदै उनको पिसाबनली र पिसाबथैली दुवै बन्द आकारमा हुनुपर्नेमा खुलै थिए, जसलाई चिकित्सकीय भाषामा एक्स्ट्रोफिभेसिके भनिन्छ । यही कारणले उनको पिसाब बाहिर चुहिने र फैलिने हुन्थ्यो । यो समस्या देखिएका बालबालिकालाई जन्मिएको दुई दिनभित्र शल्यक्रिया गरेर पिसाबथैलीलाई आफ्नो आकारमा ल्याउन सकिन्छ ।
तर, १४ वर्ष पुगिसकेकी गंगाको शल्यक्रिया डाक्टरहरुका लगि चुनौती मात्रै थिएन, उत्तिकै जोखिमपूर्ण पनि थियो । डा. मनोजको हकमा शिशु अवस्थाबाहेकका बालबालिकामा देखिएको यो समस्या तेस्रो केस मात्रै थियो । गंगाको कम्मरमुनि दुईतिरको हड्डी (हिपबोन) पनि फाटिएको अवस्थामा थियो । यसले शल्यक्रियामा थप जटिलता निम्त्याउन सक्थ्यो । तर, यी सबै जोखिम मोलेर शल्यक्रिया गर्ने हिम्मत जुटाए डा. मनोजले ।
शल्यक्रिया र अर्थोपेडिक टोलीलाई उपचार प्रक्रिया थाल्न भने र गंगाको शल्यक्रियामा लाग्ने खर्च जोहो गर्न जुटे । सुरुमा पिसाबथैलीको शल्यक्रिया गरियो । सानो आन्द्रा (आइलिन) को ३० सेन्टिमिटर भाग काटेर कृत्रिम पिसाबथैली जडान गरियो । एन्टिरिफ्ल्क्स मेकानिजम (पिसाब फर्किएर माथि जान नसक्ने उपाय) सहित नाभीबाट पाइप जडान गरी पिसाब बाहिर निकाल्ने बाटो बनाइयो । हड्डी र पिसाब थैलीको गरी १० घण्टा लामो शल्यक्रिया सफल भयो । तर, गंगाको पिसाब नियमित भएन । कारण, हिप बोनलाई मिलाउन गरिएको शल्यक्रियाले गंगाको पिसाबनली दोब्रिएको रहेछ । पिसाबनली सोझ्याउन तेस्रो दिनमा फेरि शल्यक्रिया गरियो । यसरी दोस्रो चरणको शल्यक्रियापछि पाइपमार्फत गंगाको नियमित पिसाब हुन थाल्यो । र, गंगा अहिले सामान्य बालबालिकासरह हिँड्न, बस्न र पिसाब गर्न सक्छिन् ।
पाइप नै उनको जीवनभरको सहारा बनेको छ । तर, उनको गर्भावस्थामा समस्या हुनसक्नेमा डा. मनोज डराएका छन् । अनि, बर्थ क्यानल (पाठेघरबाट बच्चा निस्कने बाटो) साँघुरो भएकाले गंगाको सामान्य प्रक्रियाबाट बच्चा हुन भने गाह्रो हुने डा. श्रेष्ठ बताउँछन् ।
पढाउन पाए हुन्थ्यो
गंगाको ६ साताको उपचारमा अनुमान गरेभन्दा बढी दुई लाख ८५ हजार रुपैयाँ खर्च भयो । कमजोर आर्थिक अवस्था भएको गंगाको परिवारले यो शल्यक्रियाको क्रममा कुनै पनि शुल्क तिर्नु परेन । जसमा मोडल अस्पतालकै प्रोजेक्ट नेपालले डा. मनोजको नेतृत्वमा शल्यचिकित्सक टोली र अर्थोसर्जन डा. राम बाराकोटीको प्रयासलाई साथ दिए । तर, गंगाको केस हेरेकै दिनदेखि डा. मनोजको मनमा खड्किएको एउटै कुरा छ, कुनै पनि बालबालिका यस्तोखाले शारीरिक समस्याकै कारण शिक्षाको अधिकारबाट वञ्चित हुनु हुँदैन ।
१४ वर्षसम्म खोसिएको उनको शिक्षाको अधिकार दिलाउन यतिखेर डा. मनोज चौतर्फी प्रयास गरिरहेका छन् । विभिन्न संघ-संस्था अनि व्यक्तिमार्फत पहल गरिरहेका छन् । उनी भन्छन्, “हामीले गर्नसक्नेसम्मको उपचार गरेका छौं । अब उसलाई शिक्षित बनाउन पाए, आत्मनिर्भर हुन्थी नि यो छोरी ।”
नर्स बनेर अरुको सेवा गर्ने गंगाको धोको
एक्स्ट्रोफिभेसिकेले १४ वर्षपछि फर्काएको खुसी गंगाको मुहारमा जो कोहीले सहजै पढ्न सक्छन् । अस्पतालको शय्याबाट विस्तारै उठ्दै गंगा खुल्छिन्, “म बुझ्ने भएदेखि सबैभन्दा धेरै रहर लागेको कुरा नै पढ्न हो । साथीहरु स्कुल जाँदा साह्रै मन नरमाइलो लाग्थ्यो । पढ्न पाए के के न गर्थेंजस्तो लाग्थ्यो ।
अब म आफैँ पिसाब फेर्न र मज्जाले हिँड्नसक्ने भएकी छु । मछेउमा जाँदा अब कसैलाई गन्हाउँदैन नि है ! अब त म काठमाडौं नै बस्ने हो, धेरै पढ्नु छ । ऊ... दिदीहरुजस्तै नर्स बनेर अरुको सेवा गर्ने धोको छ ।”
तस्बिरहरु : हरिशजंग क्षेत्री/बाह्रखरी