site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘बैंकर र व्यवसायी छुट्ट्याउनुपर्छ, बोर्डले बलियो नीति लिनुपर्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयसम्म गुहार्न पुगेका छन् । अघिल्लो महिना अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट्न गएको बैंकका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले संस्थापक सेयरलाई पनि सर्वसाधारण सेयरमा रूपान्तरण गरेर सहजरुपमा किनबेच गर्नुपर्ने व्यवस्था गर्न माग गर्‍यो ।

नेपाल राष्ट्र बैंकले बैंकहरुको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड रेट)मा कडाइ गरेको तथा अर्थ मन्त्रालयले संसद्मा दर्ता गरेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (वाफिया)मा बैंकर र व्यवसायी छुट्ट्याउने भन्दै सोहीअनुसारको विधेयक दर्ता भएको थियो ।

त्यसपछि बैंकका संस्थापक सेयरधनीहरुले आफूहरुलाई बैंकबाट एक्जिटको बाटो खुला गर्नुपर्ने भन्दै संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने बाटो खुला गर्नुपर्ने भन्दै आवज उठाउँदै आएका थिए । गत वर्ष बैंकका सञ्चालक समितिको अध्यक्षहरुको संस्था जन्मिएपछि उनीहरुले पछिल्लो समय संस्थापक सेयरलाई पनि साधारण सेयरमा रूपान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा बैंक तथा वित्तीय संस्थाहरुमा संस्थापक र साधारण सेयर भने छुट्टै सूचीकृत भएर फरक–फरक कारोबार संकेतमा कारोबार हुँदै आएको छ । संस्थापक समूहको सेयर खरिद–बिक्रीमा केही झन्झटिलो नियमकीय व्यवस्था रहेको छ भने साधारण सेयरको खरिद–बिक्री धितोपत्रको दोस्रो बजारमा सहजरुपमा किनबेच हुन्छ । बैंक तथा वित्तीय संस्थाले कारोबार सुरु गरेको ५ वर्ष र सर्वसाधारणमा सेयर जारी गरेपछि उक्त सेयर खरिद–बिक्री अथवा धितो बन्धक राख्नसक्ने व्यवस्था छ । वित्तीय कारोबार सुरु गरेको ५ वर्षपछि सेयर बिक्री गर्न सकिने भए पनि साधारण सेयरसरह किनबेच गर्न भने नपाउने व्यवस्था छ ।

संस्थापक सेयर कारोबार गर्दा सम्बन्धित कम्पनीको सञ्चालक समितिबाट स्वीकृति हुनुपर्ने, दुई प्रतिशतभन्दा बढीको सेयरधनीको हकमा नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति गराउनुपर्ने, कालोसूचीमा नभएको प्रमाणपत्र, खरिद बराबरको आयस्रोत खुलेको प्रमाण, करचुक्ता प्रमाणसमेत पेस गर्नुपर्ने, सेयर खरिदका लागि विद्यामान संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्नेजस्ता व्यवस्था रहेको छ । तर, सर्वसाधारण सेयधनीको हकमा दोस्रो बजारमा धितोत्रप दलाल व्यवसायीबाट शंकास्पद कारोबारबाहेकको हकमा सहजरुपमा कारोबार गर्न सकिन्छ ।

Global Ime bank

अर्कोतर्फ अहिलेको बजार मूल्य हेर्दा संस्थापक सेयरभन्दा सर्वसाधारण सेयरको मूल्य उच्च रहेको देखिन्छ । सर्वसाधारण समूहको सेयर मूल्य ८०३ रुपैयाँ रहेको एभरेष्ट बैंकको संस्थापक समूहको सेयरको पछिल्लो कारोबार मूल्य १४५ रुपैयाँ रहेको छ । नबिल बैंकको पनि सर्वसाधारणभन्दा संस्थापक समूहकको सेयर मूल्य नै कम रहेको छ ।

बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको संगठन बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यान भने निश्चित समयको लागि सुरुमा गरेको व्यवस्था अब हटाउनुपर्ने र संस्थापक सेयर पनि साधारण सेयरमा परिवर्तन गर्नुपर्ने बताउँछन् । “संस्थापक र सर्वसाधारण सेयर भनेर अलग–अलग कारोबार विश्वमा कहीँ पनि हुँदैन । सुरुमा विकृति आयो भनेर अलग–अलग भयो । तर, अब त एउटा सिस्टममा गइसक्यो । सबैभन्दा पारदर्शी व्यवसाय भनेको बैंकिङ र बिमा हो,” गोल्यानले बाह्रखरीसँग भने, “वाफियाले नै भनेको छ, १० वर्षसम्म संस्थापक सेयर भएर बस्नुपर्छ । त्यसपछि त्यसलाई साधारण सेयरमा लैजान मिल्छ ।”

बैंकहरुको संस्थापक सेयर खरिदमा रहेको झन्झटिलो प्रक्रियाले गर्दा  संस्थापक सेयरको रुपमा ठूलो रकम होल्ड भएको गोल्यान दाबी गर्छन् । “बैंकहरुको संस्थापक सेयरको रुपमा यति ठूलो पुँजी फसेर बसेको छ, यसको संस्थापक सेयर सर्वसाधारणसरह कारोबार हुने हो भने यो पुँजी पनि परिचालन हुन्छ भने धितोपत्रको बजार विस्तार गर्नको लागि सप्लाइ बढ्छ ।”

संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तनका साथै बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको लाइसेन्स पनि दिनुपर्ने गोल्यान बताउँछन् । बैंकहरुको सहायक कम्पनीमार्फत् ब्रोकर लाइसेन्स खोज्नुको उद्देश्य काठमाडौंमा भएका ब्रोकरहरुलाई विस्थापित गर्ने नभएको उनको दाबी छ । “अब गाउँमा रहेको पुँजी परिचालन गरेर गाउँबाट पुँजी निर्माण गर्नुपर्छ । गाउँमा अहिले भएको पैसालाई कन्जुमर गुड्स अथवा विलासितामा खर्च भइरहेको छ,’’ उनले भने, “त्यसको केही प्रतिशत देशको पुँजी निमार्णमा ल्याउनुपर्छ । त्यसलाई ल्याउनको लागि गाउँघरमा सेयरमा लगानी गर्नसक्ने बनाउनुपर्छ । जुन काम बैंकका सहायक कम्पनीले गर्न सक्छन् ।”

हाल सञ्चालनमा रहेको ब्रोकहरुलाई अहिलेको दैनिक कारोबारमा नै व्यस्त रहेकोले बजार विस्तार गर्नको लागि पनि बैंकका कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने गोल्यानको भनाइ छ । संस्थापक सेयरलाई साधारणमा परिवर्तन गराउँदा यसले साधारण सेयरधनीलाई तत्काल प्रभाव परे पनि पछि राम्रै गर्ने गोल्यान दाबी गर्छन् ।

गोल्यानले भनेजस्तै वाफियाको दफा ११ को उपदफा ४ मा “बैंक वा वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको दश वर्ष पुगेपछि पुँजीबजार, बैंकिङलगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभावसमेतलाई विचार गरी राष्ट्र बैंकको स्वीकृतिमा संस्थापक सेयर क्रमशः सर्वसाधारण सेयरमा परिणत गर्न सक्नेछ,” भन्ने व्यवस्था गरीएको छ । गोल्यानले सोही व्यवस्थालाई आधार मान्दै संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्नुपर्ने आवज उठाएका बताए ।

यद्यपि, राष्ट्र बैंकले पनि केही लचतकता भने अपनाउँदै आएको छ । सुरुमा विदेशी साझोदार रहेको बैंकमा राष्ट्र बैंकले तोकेअनुसार हुने भन्दै ८५ प्रतिशत संस्थापक सेयर र १५ प्रतिशत साधारण सेयरको संरचनामा स्वीकृति दिएकोमा अहिले त्यसलाई विस्तारै कम गर्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा पहिलो संशोधनमा ५० प्रतिशतभन्दा माथि विदेशी लगानी भएको बैंकबाहेकको हकमा राष्ट्र बैंकले तोकेअनुसार हुनेपर्ने अन्यथा न्यूनतम ३० प्रतिशत अनिवार्य सर्वसाधारण सेयर हुनुपर्ने वयवस्था गर्‍यो ।

साथै, राष्ट्र बैंकले सुरुमा ३० प्रतिशत सर्वसाधारण सेयर जारी गरेका बैंकको हकमा पनि ४९ प्रतिशतसम्म पुग्ने गरी संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तन गर्नसक्ने व्यवस्था गरिदियो । यसले ३० प्रतिशतको संस्थापक सेयरलाई थप १९ प्रतिशत अथात् ४९ प्रतिशतसम्म सर्वसाधारण सेयर बनाउने बाटो भने राष्ट्र बैंकले यसअघि नै खुला गरेको देखिन्छ ।

वाफियामा उक्त व्यवस्था लागू गर्दैगर्दा केन्द्रीय बैंकले त्यति बेला एकपटकमा १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गर्न पाउने व्यवस्था गर्‍यो । राष्ट्र बैंकको उक्त व्यवस्थापछि हाल कतिपय बैंकले ३० प्रतिशत रहेको सर्वसाधारण सेयर हिस्सालाई ४९ प्रतिशत पुर्‍याएका छन् ।

तर, अहिले बैंकका सञ्चालकहरुले भने शतप्रतिशत नै साधारण सेयर हुनुपर्ने माग उठाइरहेका छन् । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा भने नियामकीयरुपमा केही सुधार गर्ने हो भने संस्थापक सेयरलाई पनि सर्वसाधारणसरह कारोबार खुला गर्न सकिने बताउँछन् ।

“नेपालमा बैंकिङ क्षेत्र निजी क्षेत्रको लागि खुला गर्दा फिट एन्ड प्रोपर टेस्ट गरेर बैंक खोल्न दिएको थियो । त्यति बेला भोलि १/२ वर्षमा उनीहरु बाहिरिए भने बैंक कसले चलाउने भन्ने सोच थियो,” थापाले भने, “जसले गर्दा त्यति बेला प्रमोटर सेयरधनीलाई तपाईंहरुलाई भनेर हामीले लाइसेन्स दिएको भोलि कसले चलाउँछ भनेर लकिङ पिरियडसहित लाइसेन्स दिइयो ।” बैंक खोल्नेहरुले ३/४ हजारमा सेयर बेचेर बाहिरिने र नयाँ आउने सेयर होल्डरले बैंकलाई राम्रोसँग चलाएन भने सर्वसाधारणको निक्षेप के हुन्छ भनेर संस्थापक र सर्वसाधारण सेयरधनीको कन्सेप्ट आएको थापा बताउँछन् ।

सेयरबजारलाई व्यवस्थित गर्ने र बैंकबाट व्यवसायी छुट्ट्याउने हो भने प्रमोटर सेयरलाई खुला गर्नुपर्ने थापा बताउँछन् । “स्पेकुलेटरहरुले सेयर बजारलाई आफ्नो हातमा लिएको अवस्था छ, त्यस्तो अवस्था आउन दिनु हुँदैन । सेयर बिक्री गरेर बाहिर जाँदा अनुचित लाभ लिन र बैंक धरासायी हुने कुरमा सचेत हुनुपर्छ,” उनले भने, “यसको लागि धितोपत्र बोर्ड ल्याउने नीतिहरु बलियो हुनुपर्छ । एफपीओ जारी गर्नेलगायत अन्य औजारहरुलाई वैज्ञानिक बनाउनुपर्छ ।” बजार मूल्यभन्दा कैयौँ मूल्यमा वित्तीय औजार जारी गरेर बेनिफटेड हुने हो भने सर्वसाधारणको निक्षेप जोखिममा जानसक्ने उनको तर्क छ ।

यस्तै, सेयरबजारमा संस्थागत लगानीकर्ताको बाहुल्यता बढाउनुपर्ने उनको भनाइ छ । अहिलेकै अवस्थामा भने संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गर्न बजार परिपक्व नरहेको थापाको भनाइ छ । तर, यदि व्यवसायी बैंकबाट बाहिरिए प्रोफेसनल व्यक्ति सञ्चालक बन्ने अवस्था रहन्छ भने यसलाई खुला गर्न सकिने उनको भनाइ छ ।

यता, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना पनि सिग्नेफिकेट स्टेक होल्डरलाई ट्रयाक गर्न सक्ने हो भने संस्थापक सेयरको पनि कारोबार गराउने सकिने बताउँछन् । तर, त्यसको लागि नियामक निकायका रुपमा राष्ट्र बैंकले बलियो नीति ल्याउनुपर्ने उनको भनाइ छ । अन्य मुलुकमा पनि संस्थापक र सर्वसाधारण भनेर छुट्टै सेयर कारोबार नहुने तर सिग्नेफिकेट स्टक होल्डर भनेर छुट्ट्याउनुपर्ने र संस्थामा प्रभाव पार्ने गरी कारोबार हुन्छ भने त्यसलाई नियमन गर्नुपर्ने उनको भनाइ छ ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC