सहिद
सगरमाथाभन्दा अग्ला सपना
परेलीमा पोको पारेर
उध्र्वगामी यात्रामा लम्केका पाइला
उसैका हुन्
आफूभित्रको तन्नेरी ऊर्जा
देशभक्तिमा घोलिएपछि
आफन्तजनको मायालाई
त्याग र समर्पणसँग साट्दै
मध्यरातको अँधेरोमा
सपनाको जुन टिप्न
सल्बलाएका हातहरू उसैका हुन्
देशलाई उसले आफ्नो रगत दियो
पत्नीलाई विधवा बनायो
छोराछोरीलाई टुहुरा बनायो
आमाबुबालाई सहाराविहीन तुल्यायो
र परिणाममा
परिवर्तनको बिहानी भित्र्यायो
ए देश हाक्ने महारथीहरू हो
भनिदेउन लौ
उसको रगतले लिपेको भुइँ टेकेर
यतिबेला तिमी
सहिदको पूजा गरिरहेका छौ
कि
अपमान ?
० ० ०
तस्बिरमा आमा
अलिकति रङहरूको समिश्रण
अलि धेरै कलाकारको मिहिनेत
चुलिँदै छ भ्रमको धुकधुकी र
पाइरहेछु ऊर्जाशील आशीर्वाद
सपना बनेर बेपत्ता हुन खोज्छन्
पार्थिव शरीरमाथि
आफ्नै हातले दागबत्ती दिँदै गरेको यथार्थ
र मलामीहरू साक्षी राखेर
खरानी बनाइएको वात्सल्यको घर
रङहरूको कलात्मक ध्वनिभित्र
हरेक बिहान
देख्ने गर्छु जब म
तस्बिरमा आमालाई
चुल्याउने गर्छु भ्रमको घर
र नजिकिन्छु उसैगरी तस्बिरको ओतमा
जसरी नजिकिन्छन् बटुवाहरू
रूखको छहारीमा ।