काठमाडौं । बालुवाटारमा सर्वदलीय बैठक जारी छ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका थिए। केही समययता राजवादीहरुले काठमाडौंलगायतका प्रमुख सहरहरुमा अन्दोलन जारी राखेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले कोभिड-१९ को नियन्त्रण, यसमा प्राप्त उपलब्धिहरूको रक्षा गर्नुपर्ने विषयमा पनि धारणा राखेका थिए।
बैठकमा को- को छन् ?
११ बजेपछि जारी रहेको बैठकमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठनेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी छन्।
त्यस्तै प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उप-सभापति विजय गच्छदार, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण प्रसाद सिटौला, जनता समाजवादीका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, नेपाल मजदूर किसान पार्टीबाट प्रेम सुवाल र राप्रपाबाट दीपक बोहोरालगायत सहभागी छन्।