पोखरा । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान संघको मातहतमा छ । यही प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल छ । प्रदेशभरमा नै (नवलपुरका बाहेक) सबै कोरोना संक्रमण भएका गम्भीर बिरामीको उपचार यही अस्पतालमा हुने गरेको छ । कोरोनाबाहेक सर्वसाधारणले उपचार गर्ने, गराउने प्रदेशकै सबैभन्दा ठूलो अस्पताल पनि यही हो ।
अस्पताल परिसरभित्र तर छुट्टै संरचनामा अहिले कोरोना संक्रमितको उपचार भइरहेको छ । तर, पछिल्लो दुई सातामा गण्डकीमा कोरोना संक्रमणको दर तीव्ररुपमा बढिरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार सबैभन्दा बढी २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १८३ जना कास्कीका मात्रै छन् । शुक्रबार नै पोखरा महानगरपालिका १५ का
होम आइसोलेनमा रहेका एक र स्याङजाका एक पुरुषको कोरोना संक्रमणकै कारणले निधन भएको छ । पछिल्लो साता संक्रमणको दर बढिरहँदा पर्वत र म्याग्दी प्रशासनले भने निश्चित क्षेत्रमा फेरि निषेधाज्ञा जारी गरेका छन् ।
कोरोना संक्रमितको उपचार गर्ने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बेड भरिएका छन । प्रदेश आफैँले पोखरास्थित लेखनाथमा सञ्चालन गरिरहेको संक्रामक तथा सरुवा रोग अस्पतालका बेड पनि भरिएका छन् ।
पश्चिमाञ्चल अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले ४० बेडमध्ये ३९ बेड भरिएको जानकारी दिए । “अब हामीले कहिँ कसैलाई राख्न सक्दैनौँ, बेड सबै प्याक छन्,” उनले भने । वार्डका बिरामीको रिपोर्ट आइनसकेको हुँदा भोलि फेरि संख्या थप हुने तर बेड भने खाली नहुने उनले बताए ।
“सबैलाई अक्सिजन मास्क लगाएर राखिएको छ, अरु कसैलाई राख्न सक्ने स्थिती छैन । अक्सिजन दिन पनि यहीँ ल्याउनुपर्छ,” आचार्यले भने । यो अस्पतालमा बिरामीले बेड पनि नपाउने स्थिती रहँदा प्रदेश सरकार आफैँले सञ्चालनमा ल्याएको संक्रामक तथा सरुवा रोग अस्पतालका आईसीयू बेड र भेन्टिलेटर भने प्रयोगविहीन बनेका छन् ।
लेखनाथमा यो अस्पतालको उद्घाटन हुँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सात प्रदेशमध्येमा नै संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना गर्नेमा गण्डकी पहिलो रहेको बताएका थिए । त्यसपछि उनले संसद्देखि फेसबुक लाइभसम्ममा यही सोही वाक्य दोहोर्याउँदै कोरोना संक्रमितको उपचारमा आफूहरु गम्भीर रहेको र सोही अनुसारको व्यवस्थापन पनि छिटै हुने बताएका थिए ।
तर, यो अस्पतालबाट सामान्य अक्सिजन मास्क लगाउन पनि बिरामीलाई पश्चिमाञ्चल अस्पतालमा नै रिफर गरिन्छ । अस्पतालमा ५० शय्या छन । तीनवटा आईसीयू बेड छन र दुईवटा भेन्टिलेटर पनि । तर, यी उपकरण भन्नका लागि मात्र छन् ।
संक्रामक तथा सरुवा रोग अस्पतालका मेडिकल अधिकृत त्रिभुवन भण्डारीका अनुसार “माथिल्लो निकायले गर्नुपर्ने कर्मचारी व्यवस्थापन नभएका कारण नै भेन्टिलेटर र आईसीयूबाट उपचार दिन नसकिएको हो ।”
परिक्षण सुस्त, संक्रमण तीव्र
यता, प्रयोगशालाको स्थिती पनि उस्तै छ । सरकारले तीनवटा पीसीआर मेसिनबाट परीक्षण गर्ने दाबी गर्दै आए पनि संघ मातहतको अस्पतालको एउटा र प्रदेशले किनेको पीसीआर मेसिन चाहीँ क्षयरोग केन्द्रमा राखेर स्वाब परिक्षण गरिँदै आइएको छ ।
दिनमा एक हजार जनाको पनि परीक्षण हुन सकेको छैन । शुक्रबार ९३४ जनाको स्वाब परीक्षण गर्दा २६९ र बिहीबार ५८५ जनामा परीक्षण गर्दा १०५ जना र बुधबार ४७४ जनामध्येमा १५५ जनामा कोरोना पुष्टि भएको छ ।
निकै कम संख्यामा परीक्षण गर्दा पनि संक्रमण दर तीव्र हुँदै जाँदा कुनै पनि सरकारबाट संक्रमण नियन्त्रणका लागि प्रभावकारी भूमिका देखिएको छैन । यहाँसम्मकी ट्रेसिङमा परेकादेखि अस्पताल गएर स्वाब दिएका बिरामीसम्मलाई पनि रिपोर्ट नआउँदै घर पठाउन थालिएको छ । गत भदौमा मात्रै कोरोना पुष्टि भएका लमजुङका एक पुरुषको अस्पताल पुग्न नपाउँदै मृत्यु भएको थियो । उनलाई स्वाब संकलन गरेपछि अस्पतालले घर फिर्ता गरेको थियो ।
यता, प्रदेश सरकारले भने तीनवटा पीसीआर मेसिनबाट परीक्षण गरिएको र दुई दिनभित्रै रिपोर्ट आउने बताउँदै आएको छ । कोरोनाको आशंकामा स्वाब परीक्षण गराएका पोखराकै एक पत्रकारले पाँच दिनसम्म पनि रिपोर्ट नआएपछि मन्त्रीलाई नै फोन गर्नुपर्ने भन्दै स्टाटस राखेका थिए । गोरखामा गत सातामात्रै ६१ जनाको स्वाब लिइएकोमा उक्त स्वाब काठमाडौं र काठमाडौंबाट फेरि प्रदेशमा गरी ७ दिनसम्म गाडीमा नै स्वाब घुमाइएको थियो ।
स्वाब परीक्षणमा ढिलाइबारे बुझ्न खोज्दा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले फोन उठाएनन् । यता सरकारले भने सबै जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर जडान गर्न भन्दै रकम पठाएको जनाएको छ । तर, गत माघमा नै निर्णय गरिएको र लकडाउनको समयमा मूल्य बढेको भन्दै धेरै अस्पतालले आईसीयू जडान गरेका छैनन् ।
सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. रामबहादुर केसीले केही जिल्लाका अस्पतालले भेन्टिलेटर र आईसीयू बेड जडान गरेको जानकारी दिए । जिल्ला अस्पतालहरुलाई १ करोड ७९ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । म्याग्दीले २ वटा भेन्टिलेटर र पाँच बेडको आईसीयू, धौलागिरी अस्पतालमा एक भेन्टिलेटर, पर्वतमा तीनवटा भेन्टिलेटर, मातृशिशुमा दुइवटा, मध्यबिन्दुमा दुइवटा भेन्टिलेटर जडान गरिएको छ ।
तर, भेन्टिलेटर जडान गरिए पनि त्यसलाई सञ्चालन गर्ने जनशक्ति भने छैनन् । उनी भन्छिन् , “हामीले केही मेडिकल अधिकृतहरुलाई बोलाएर तालिम त दियौं, हामीले एउटा फाइल अर्थमा पठाएका छौँ । मनाङ र मुस्ताङमा एक-एक जना एनेस्थिया र एमडिजिपी तथा अन्य जिल्लामा दुई-दुईवटा डाक्टर पाँचजना नर्स पठाउँदा ४० जना र ९ करोड लागत लाग्ने फाइल पठाएका छौँ । सरकारी रेटमा कोही आउँदैनन, हामीले अलि बढि भुक्तानी दिएर 'हायर' गर्ने भनेका छौँ । फाइल प्रक्रियामा छ । हामीले सर्ट मेथोडबाट कर्मचारी नियुक्ती गर्नेछौँ ।”