काठमाडौं । बोसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा साल्केमाथि ३-० को सहज जित निकालेको हो ।
डर्टमन्डको जितका लागि म्यानुएल अकान्जी, एर्लिङ हालान्ड र माट्स हुमेल्सले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा तीनवटै गोल सम्भव भएका थिए ।
खेलको ५५औं मिनेटमा डिफेन्डर अकान्जीले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए । ६१औं मिनेटमा हालान्डले गोल गर्दै घरेलु टोली डर्टमन्डको अग्रता दोब्बर पारे । उनले सान्चोको पासमा गोल गर्दै डर्टमन्डलाई २-० को अग्रता दिलाए ।
त्यस्तै ७८औं मिनेटमा गुएरेराको पासमा हुमेल्सले गोल गर्दै घरेलु टोलीलाई ३-० को सहज जित दिलाएका हुन् । यस जितसँगै डर्टमन्डले पाँच खेलबाट चार खेलमा जित निकाल्दै १२ अंक जोडेको छ । डर्टमन्ड तालिकाको तेस्रो स्थानमा छ । पराजित साल्के भने पाँच खेलबाट एक अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा छ । -एजेन्सी