काठमाडौं । सरकारको कात्तिक ७ देखि अनिवार्य क्लिन फिड (विज्ञापनरहित) लागू गर्नुपर्ने सूचनाप्रति व्यवसायीहरुले स्वागत गरेका छन् । मिडिया एलाईन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघ (आन) ले संयुक्त वक्तव्य जारी गर्दै संचार तथा सूचना प्रविधि मन्त्रालयको आज जारी विज्ञप्तीप्रति स्वागत गरेका हुन् ।
विज्ञापन (नियमनगर्ने) ऐन २०७६ मै डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजनहरु २०७७ साल कार्तिक ७ गते भित्र विज्ञापन रहित हुनुपर्ने प्रावधान रहेको र कुनै पनि वहानामा ऐन कार्यान्वयनमा ढिलाई गर्न नहुने जारी विज्ञप्तीमा जनाइएको छ ।
विज्ञापन ऐन राष्ट्र, राष्ट्रियता र सँस्कृतिको जगेर्नाका साथै नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न महत्वपूर्ण कोशेढुंगा हुने भएकोले तत्काल प्रभावकारी कार्यान्वयन गर्न उनीहरुले पुनःमाग गरेका छन् ।
ऐनको कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठन अत्यावश्यक भएकाले व्यवसायीक व्यक्तिहरुको संलग्नतामा विज्ञापन बोर्डको गठन गर्न ढिलाइ नगर्न पनि उनीहरुले माग गरेका छन् ।