site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
अभिनेत्रीहरूले क्षमता देखाउनै पाएनन्
Sarbottam CementSarbottam Cement

वेनिशा हमाल नेपाली चलचित्रमा एक दशकदेखि सक्रिय छन् । ‘कालो पोथी’, ‘स्वर’, ‘महसुस’, ‘किङ’, ‘मोक्ष’, ‘झ्यानाकुटी’, ‘ब्लाइन्ड रक्स’, ‘घर’लगायत चलचित्रमा उनले अभिनय गरिसकेकी छिन् । करिब एक दर्जन चलचित्रमा अभिनय गरेपछि उनी यतिबेला भारतमा फिल्म मेकिङ पढ्दै छिन् । भलै कोरोना महामारीका कारण अहिले उनको पढाइ अवरुद्ध भएको छ । रोकिएको पढाइ उनले अहिले सबैभन्दा धेरै मिस गरेको पक्ष हो । जब वेनिशा पढ्न भारत पुगिन्, उनलाई महसुस भयो चलचित्रमा मैले सिक्न त अझै धेरै पो रहेछ ! चलचित्रको विषय, बजार, मेकिङ, बुझाइ तथा यसमा आवश्यक ज्ञानको परिधिको सेरोफेरोमा रहेर बाह्रखरीका नरेश फुयाँलले नायिका वेनिशासँग गरेको कुराकानी । 

० ० ०

यो ६ महिनामा सबैभन्दा धेरै मिस गरेको पक्ष के हो ?
मैले सबैभन्दा धेरै कलेज मिस गरेँ । १५ महिनाको फिल्म मेकिङको कोर्स पढ्न सुरु गरेको ६ महिना भएको थियो । केही समय म फिल्ममा काम गर्दिनँ । आफ्नै लागि समय दिन्छु भनेर भारतमा गएर पढ्दै थिएँ । फिल्डमा जाने, काम गर्ने, सर्ट फिल्म बनाउने काम गरिरहेको थिएँ । एउटा इनर्जी बोकेर गएको थिएँ । तर त्यो उत्साहअनुसार निरन्तरता दिन नसक्दा त्यसलाई धेरै मिस गरेँ । 
 
अपेक्षित गुणस्तरीय चलचित्र निर्माण हुन नसकेको नेपाली चलचित्र क्षेत्र कोभिडका कारण थप थला पर्ने हो कि, कोभिडपछि अझ राम्रो होला ?
यो ६ महिनामा कलाकार तथा मेकरहरू सबैले सोच्ने मौका पाउनुभयो । नयाँ नयाँ सिनेमा हेर्ने मौका पाउनुभयो । वर्ल्ड सिनेमा हेरेर एकखालको बुझाइ भएको छ । त्यो इनर्जी गुम्सिएर बसेको छ । यो खुल्नेबित्तिकै नयाँ सोच र जाँगरसहित काम गर्छु भनेर बसिरहनुभएको छ । मेरो आफ्नै सर्कलमा कुरा हुँदा पनि सबै सिनेमा हेरेर बसिरहनुभएको छ । मेकरहरूलाई सुझाव दिइरहनुभएको छ । अपेक्षाअनुसार दर्शकको उपस्थिति हलमा नहोला । तर अहिले डिजिटल प्लेटफर्म पनि छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दर्शक र मेकरमा पनि अझ धेरै सिनेमा हेर्ने चाह बढेको जस्तो लाग्छ । यो समयले आफू र आफ्नो कामलाई चिन्ने मौका दिए जस्तो लाग्छ । अझै धेरै आफ्नो कामलाई कसरी राम्रो बनाउने भन्ने सोच्ने मौका दिएको छ । 

लकडाउन खुल्नेबित्तिकै सिनेमाहरू छायांकन सुरु भएको छ । नयाँ नयाँ चलचित्र घोषणा भइरहेको छ । त्यसैले अब चलचित्र क्षेत्रमा राम्रो हुन्छ भन्ने मेरो अपेक्षा छ । नेपालमा मनोरञ्जनको माध्यम भनेको चलचित्र मात्रै छ । सबै घरमा बसिरहेको अवस्थामा अब पक्कै पनि दर्शकलाई लक्षित गर्दै चलचित्र बन्छन् भन्ने आशा गरेको छु । 

Global Ime bank

नेपाली चलचित्र राम्रा बनेनन् भनेर सधैं आलोचना र टिप्पणी हुन्छ । साँच्चै चलचित्र नराम्रा बनेका हुन् कि चाहिनेभन्दा धेरै टिप्पणी भइरहेको छ ? 
संख्यात्मक हिसाबमा धेरै चलचित्र बने । धेरै चलचित्र बन्दा केही चलचित्र मात्रै राम्रा बने । औसतमा थोरै चलचित्र मात्रै हेर्न लायक बनेकाले समग्रमा राम्रा बनेनन् भन्नु स्वाभाविक हो । औंलामा गन्ने चलचित्र मात्रै छन् जो हामी हेर्न सक्छौं । 

अर्को कुरा बजेट र बजार पनि यसमा जोडिएर आउँछ । र अर्को कुरा हामी आलोचना पनि अलि धेरै नै गर्छौं । भारतमा फिल्म राइटिङको काम गरेर आउनुभएकी सम्पदा मल्लसँग मेरो कुरा भएको थियो । उहाँ भन्दै हुनुहुन्थ्यो- भारतीय चलचित्र औसत मात्रै छ भने पनि हामी त्यसलाई राम्रो भनेर स्वीकार गर्छौं । त्यसको अर्थ त्यो मेकरलाई आगामी दिनमा अझ राम्रो चलचित्र बनाउन ऊर्जा मिल्छ । तर नेपालमा हामी आफ्ना चलचित्र कमै मात्रै स्वीकार्छौं । औसत चलचित्र बनेको छ भने झुर बनेको छ, हेर्न सकिँदैन भनेर हतोत्साही बनाइदिन्छौं ।  

समीक्षक तथा हिन्दी, अंग्रेजी चलचित्र हेर्ने दर्शकको अपेक्षाअनुसार किन नेपालमा चलचित्र बन्न सकेनन् ? 
अध्ययन कम छ । हामी सिनेमा बनाउने भनेपछि सुटिङमा जान र रिलिज गर्न नै हतार गर्छौं । पूर्वतयारी जस्तै स्क्रिप्टमा चाहिने जति मिहिनेत गर्दैनौं । पोस्ट प्रोडक्सनमा जति मिहिनेत हामीले गरिरहेका हुन्छौं, त्यति प्रि-प्रोडक्सनमा गरिरहेका हुँदैनौं । ६० प्रतिशत चलचित्रको काम प्रि-प्रोडक्सनमै सकिनुपर्ने हो । तर हामी त्यसो गर्न तयार नै छैनौं । प्रोडक्सनमा गरिने मिहिनेतको तीन गुणा बढी प्रि-प्रोडक्सनमा मिहिनेत गर्नुपर्छ । आउटपुट कस्तो आउँछ भन्ने पहिला नै थाहा हुनुपर्छ । 

स्क्रिप्टमा ध्यान नदिने, स्क्रिप्टभन्दा कलाकार को रोज्ने भन्नेमा जोड दिने जस्ता कुराले पनि दर्शकले खोजे जस्तो चलचित्र बनेनन् भन्ने मेरो बुझाइ छ । 

हामीले हाम्रै कथा र कथा भन्ने आफ्नै शैली निर्माण गर्न नसक्दा राम्रा चलचित्र बनेनन् भन्न सकिन्छ ?
हाम्रै वरिपरि धेरै कथा छन् । हामी ग्लोबलाइज गराउने प्रयास गर्छौं । ग्लाबलाइज गराउने चक्करमा के मिल्दैन के हुँदैन । लोकल स्टोरीहरू जसलाई हामीले दिनहुँ देखेका छौं, भोगेका छौं । यी स्टोरीहरूलाई हामीले कहिल्यै प्राथमिकता दिएनौं । यहाँले भनेजस्तो आफ्नै कथा हामीले हाम्रै शैलीमा राम्रोसँग भन्न सकेको अवस्थामा त्यो आफैं ग्लोबलाइज हुन्छ भन्ने भुलिरहेका छौं । यहाँको प्रश्नमा म सहमत छु । 

हाम्रा अधिकांश अभिनेता तथा अभिनेत्रीहरू चरित्रमा ढल्नभन्दा पनि चलचित्रको संख्या बढाउन केन्द्रित हुने गरेको आरोप एकाध बाहेकलाई लाग्दै आएको छ । स्वीकार्नुहुन्छ ? 
यो प्रश्नलाई नकार्न मिल्दैन । तर योसँगै पारिश्रमिक पनि जोडिएर आउँछ । नेपालको सन्दर्भमा तपाईंले भनेजस्तो गर्न गाह्रो नै छ । यद्यपि पछिल्लो समयमा केही सहज भएको छ । कोरोनाको महामारीका कारण कलाकारहरूले पारिश्रमिक घटाउनुपर्ने, कम बजेटमा चलचित्र बनाउनुपर्ने भन्ने कुरा चौतर्फी रुपमा आइरहेको छ । यसले कलाकारलाई थप असहज हुनसक्छ । कलाकारको जीविको पार्जनको कुरा पनि आउँछ । एउटा चलचित्रबाट कम्तिमा ६ महिना घर चल्ने पैसा कलाकारले पाउँछ कि पाउँदैन । यदि पाउँछ भने उसले चरित्रमा ढलेर समय दिएर राम्रो काम गर्न सक्छ । अन्यथा जीविकोपार्जनका लागि धेरै काम गर्नुपर्दा भनेजस्तो काम नहुन पनि सक्छ । त्यसैले यसमा कलाकार मात्रै होइन मेकर पनि जिम्मेवार हुनुहुन्छ । 

हाम्रो चलचित्र क्षेत्रलाई सधैं अभिनेताहरूले नै लिड गरे । भुवन केसी, राजेश हमाल, निखिल उप्रेती, दयाहाङ राईको पालामा होस् अथवा अहिले विपिन कार्कीको समयमा होस् अभिनेताले नै चलचित्र क्षेत्रलाई लिड गरिरहेका छन् । उनीहरूका समकालीन अभिनेत्रीहरू तुलनात्मक रुपमा कमजोर हुन् कि सही मूल्यांकन भएन वा चर्चा हुन सकेन ? 
भुवन केसी, राजेश हमालको समयको कुरा गर्दा त हामी पुरुषप्रधान समाजमा छौं । यसले पनि अर्थ राख्छ । आर्ट भने पनि अन्ततः चलचित्र बिजनेस नै हो । चलचित्र दर्शकका लागि नै बनाउने हो । महिलालाई केन्द्रमा राखेर चलचित्र नबनाइएका पनि होइनन् । तर तुलनात्मक रुपमा कुरा गर्दा महिला कथाप्रधान चलचित्रले राम्रो व्यापार गर्न सकेनन् । राम्रो व्यापार गर्न नसकेपछि निर्माताहरूले पनि महिलालाई प्रमुख भूमिका दिएर रिक्स लिन चहानु भएन । महिलाको काँधमा चलचित्र राख्ने रिक्स लिन नचाहेका कारण पनि अभिनेताहरू नै हाबी हुनुभयो । 

पछिल्लो समय पनि केही यस्ता चलचित्र बनाउने मेकर पनि नआउनु भएको होइन । रेखा थापा एक्लैले आफ्नो समय नेपाली सिनेमालाई लिड गर्नुभयो । विभिन्न समयमा नायिकाहरूलाई मुख्य भूमिकामा राखेर चलचित्र बने । तर चलचित्र राम्रो बने पनि, समीक्षा राम्रो आए पनि व्यापारिक रुपमा चलचित्र सफल भएनन् । यो कारण निर्माताहरूले रिक्स लिन नचाहेका कारण पनि अभिनेत्रीहरू छायामा परे जस्तो लाग्छ । 

वर्षमा सयनजिक चलचित्र निर्माण हुँदा नेपालमा अहिले पनि महिलाप्रधान चलचित्रको खडेरी नै छ । यसको असर अभिनेत्रीहरूको क्षमता मूल्यांकन, चर्चा वा करिअरको दिगोपनमा पर्छ कि पर्दैन ? 
पक्कै पनि पर्छ । महिलाका कथालाई केन्द्रमा राखेर चलचित्र बनेनन् भने पक्कै पनि अभिनेत्रीमा जतिसुकै क्षमता भए पनि उनीहरूले त्यो देखाउने मौका नै पाउँदैनन् । अवसर र स्थान पाएन भने जतिसुकै क्षमता भए पनि त्यो यतिकै खुम्चिएर बस्नुपर्छ । मलाई लाग्छ अहिले हाम्रोमा भइरहेको पनि त्यही नै हो । महिला कलाकारको क्षमता प्रदर्शनका लागि फिमेल सेन्ट्रिक क्यारेक्टर भएका चलचित्र बन्नुपर्छ । 

नेपाली चलचित्र क्षेत्रलाई अझ सशक्त बनाउन कस्ता चलचित्रको आवश्यकता छ ? 
यो समयकै कुरा गर्दा कति धेरै घटनाहरू हाम्रै वरपर घटे । यी घटनाहरू चलचित्रका कथा हुन् । चलचित्र समाज चित्रण गर्ने माध्यम हो । चलचित्रले समाजबाट भन्दा पनि समाजले चलचित्रबाट केही सिकोस् भन्ने हाम्रो अपेक्षा हुनुपर्छ । समाजलाई सिनेमाले केही सन्देश दिन सकोस् भन्ने हाम्रो चहाना हुन्छ भने समाजमा कति धेरै कथाहरू छन् जुन चलचित्रमार्फत सबैलाई देखाउनुपर्नेछ । यस्तै कथामा चलचित्र बनेको अवस्थामा पक्कै पनि नेपाली चलचित्र पनि राम्रा बन्नेछन् । यथार्थ कथामा बन्ने चलचित्रहरू आफैंमा राम्रा हुन्छन् । 

मेकरको बुझाइ, बजार र बजेटका कारण यो सम्भावना छ ?
झन् सजिलो हुन्छ । कारण हामीले देख्दै भोग्दै आएको कुरालाई प्रस्तुत गर्न सजिलो हुन्छ । स्रोत साधन सहजै उपलब्ध हुन्छ । हाम्रो समाजभन्दा बाहिर गयो भने स्रोत, साधन र अध्ययन तथा बुझाइ सतही हुने भएकाले कठिन हुन्छ । तर हामीले हाम्रै कथा भन्न त झन सजिलो हुन्छ । मात्रै इच्छा शक्ति चाहियो । 

एक दशक चलचित्रमा अभिनय गरेपछि चलचित्र मेकिङ पढ्न सुरु गर्नुभयो । पढ्न सुरु गरेपछि ज्ञानविनै यतिका समय काम गरेछुँ भन्ने महसुस भयो ?
पक्कै पनि हो । यति धेरै चलचित्रमा काम गरिसकेँ । अब त म पनि सानोतिनो कम्तिमा सर्ट मुभीसम्म त बनाउन सक्छु जस्तो लाग्थ्यो मलाई । तर अहिले महसुस भयो बनाउन त सकिन्छ तर कस्तो बन्छ त्यो महत्त्वपूर्ण पक्ष हो । त्यहाँ गएपछि ओहो कति कुरा जान्नै बाँकी रहेछ । मैले त धेरै कुरा जानेकै रहेनछु भन्ने बोध भयो । त्यहाँ पढ्न आउनेहरूमा सिनेमाप्रतिको प्यासन र सिनेमा प्रतिको मोह देख्दा साँच्चै मैले यो क्षेत्रमा बिताएको नौ वर्ष र पाएको अवसर तथा दर्शकले दिनुभएको मायालाई साँच्चै न्याय गरिरहेको छु भन्ने पनि लाग्यो । उनीहरूमा सिनेमाप्रति रहेको उत्साह र कौतुहलले मलाई नै सोच्न बाध्य बनाइदियो । मैले सिनेमालाई दिएको समय र गरेको मिहिनेत पर्याप्त थियो त भन्ने प्रश्न मैले आफैंले आफैंलाई सोधें । 

मेकिङ पढिरहँदा किन नेपालमा राम्रा चलचित्र बनिरहेका छैनन् भन्ने जवाफ मिल्यो ?
मैले ‘कालोपोथी’मा काम गरेको छु । मेकिङ कस्तो हुनुपर्छ भन्ने जान्ने अवसर पाएको छु । कति डेडिकेटेड हुनुपर्छ भन्ने पनि थाहा छ । केही राम्रा चलचित्र नेपालमा पनि बनेका छन् । तर किन अधिकांश चलचित्र राम्रा बनेनन् त्यो महत्त्वपूर्ण पक्ष हो । यसमा मलगायत सबैले सोच्नुपर्छ ।

तस्बिर : वेनिशा हमालको फेसबुकबाट

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC