site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
जाल

दिनभरि भुर्‍यौली खेलेर (भुरा माछा मार्ने जाल खेलेर) एक माना भुरा परेन । कोसीको दोष होइन, धमिलै आएको हो । उसको पनि दोष होइन नि, उसले पनि जाल राम्रै हानेको हो ।

ऊ आफ्नो टोपी थाप्छ र त्यसमा फुर्लुङका माछा फुर्लुङ घोप्ट्याएर अड्कल गर्छ, मुठी पाँचेक माछा त निस्के होलान् । टोपी पटुकामा घोप्ट्याएर राम्ररी कस्छ । यो देखाउनु हुँदैन । देखाएपछि माग्ने, खोस्ने, लिने, वचन हार्न नहुने धेरै जजमानहरू भेट हुन्छन् । अनि फुर्लुङ कम्मरमा बाँध्छ । जाल तह लाएर काँधमा राख्छ । जसलाई ढाडमा जालबाहेक अरू केही चिजले नै छोएको जस्तो लाग्छ । जाल उठाएर हेर्छ– ‘एउटा जिउँदो सानु जुँघे माछो आधा जालबाट निक्लेर फट्फटाउँदै छ...।’ अहिले झिक्नुपर्ला ऊ सोच्छ । उँभो लाग्छ लौरो टेक्दै कोसीको बगरैबगर गाउँतिर ।

स्वास्नी वनबाट फर्किसकिछ । भर्खर बिसाएको लहराले बाँधेको एक भारी मात्र दाउरा देखेर ऊ अड्कल्न सक्दैन– छोरीले कसरी दिन बिताइ । किनभने छोरी पनि दाउरा लिन आमासँगै वन गएकी थिई । छोरीले दाउरा दिएर दुई माना मकै ल्याइछ पसलबाट, भुट्न लागेको देखेर ऊ थाहा पाउँछ ।

Dabur Nepal

दाउराको भारी नियालेर हेर्दा ऊ देख्छ भारीमाथि केही माटो बसेको छ अर्थात् स्वास्नीले भ्याकुर पनि ल्याइछ...।

ऊ टुसुक्क बस्छ । कुनै लाहुरेसँग पोइल जान ठिक्क बेला भएकी तरुनी छोरी मकै भुट्दै छे । स्वास्नी गिठा पोलेर बालखलाई ख्वाउँदै छे । छोरीले अनुहार उठाएर पुलुक्क बाबुतिर हेर्छे । ऊ अनुहार बटार्छ । उसलाई थाहा छ किन हेरेकी हो ? केही खाने कुराको आशाले । तर उसले क्यै ल्याएन । उसलाई लाज लाग्छ । तर लाज नै सबथोकको औषधि होइन । यसरी छोरीले हेर्न थालेको नै कति दिन भइसक्यो । कति दिनदेखि ऊ यस्तै रित्तो हात फर्केको छ...।

कुम्लामा क्यै खान्की नबोकेको बाबु देखेर ऊ निराश हुन्छे– ‘अचेल असाध्यै राम्रो बेल पाइन्छ’– अनुहारमा निराशा पोतिन नदिई ऊ भन्छे ।

‘अँ’ मझेरीमा लडेका तमाममध्ये एउटा बेल टिपेर थाममा हिर्काउँछ... फोर्न र खान । तर खाँदैन । उसको पेट घाँटीसम्म भरिएर आउँछ । पटुकाको माछा सिलाबरे बटुकामा खन्याउँदै भन्छ– ‘यो पोलेर खाँदै गर्नू, म क्यै न क्यै लिएर आउँछु ।’ ऊ जाल बोकेर निस्कन्छ ।

‘खाएर जाउ न त’ छोरी भन्छे ।

ऊ क्यै नबोली निस्कन्छ ।

जालमा अड्केको माछाले फेरि उसको नाङ्गो ढाडमा हिर्काउँछ । उसलाई एकाएक नरमाइलो लाग्यो, स्वास्नीले वास्ता गरिन । दोहोरो बोलचालसम्म भएन । उसको आगमन र प्रस्थानले क्यै फरक पारेन । लुते मोरो । पोइ भन्न पनि लाज मर्नु– स्वास्नी सोच्छे होली, ऊ सोच्दछ । टाउको कुममा घिसारेर बाटो लाग्छ । भित्रबाट छोरी कराउँछे– ‘अलिकति खाजा खाएर जाउ रे, आमाले भन्या....।’ 

‘आमाले भन्या ।’ ऊ प्रशन्न हुन्छ । भन्छ– ‘पख्–पख् एकै छिनमा आउँछु एस्सो कतै क्यै हात लाग्छ कि !’

ऊ लम्कन्छ र माछो एकपटक फेरि छटपटाउँछ । पिठ्यूँमा माछाले हिर्काएको ठाउँ चिलाउँछ । ऊ लम्कन्छ ।

दोबाटामा आएर उसले थामिनुपर्छ, थामिन्छ । कुन बाटो समाउनु यौटा बाहुन गाउँ जान्छ अर्को छेत्री । कहाँ गएर उसले क्यै पाउन सक्ला ? कतै क्यै पाइँदैन उसलाई थाहा छ, बरु अघिका भुरा सिलमा उनेर लगेको भए पसलमा दुई–चार पैसा पाइने थियो ।

ऊ थ्याच्च बसेर बिँडी बेर्न थाल्छ ।

छेत्रीहरूकाँ जानु ‘तैंले हामीलाई खेत दिएको थिइस् र ?’ भन्छन् । साँच्चै उसले छेत्रीहरूलाई खेत दिएन । कुन मुखले माग्न जानु ? चिसापाने र फुसमारी माझीलाई छेत्रीहरू अन्न दिन्छन् पचीसा ब्याजमा, किनभने उनीहरूले खेत दिएका थिए अर्थात् बढ्दो रिनको साटो खेत फार्से (रजिस्ट्रेसन पास) गरिदिएका थिए, सुम्पिदिएका थिए ।

बाहुन गाउँ जानु सबले कान्छा मुखियाको घर देखाइदिन्छन् किनभने उसले खेत कान्छा मुखियालाई टक्र्याएको थियो । कान्छा मुखिया धोती फुकालेर देखाइदिन्छन्, भन्छन् ‘एकचोटि लिएको खेतको जिन्दगीभरि मोल तिरिरहन म सक्दिनँ । जा जे–जे नाप्छस् नाप् ।’

उसले धेरै प्रयास ग¥यो, तर के कति नाप्न सक्यो त्यो उसैलाई थाहा छ ।

अतः ऊ तेस्रो बाटा समाउँछ– खेतभरि मकैका जुँघा मस्किन लागेका छन्, उसको फुर्लुङ खाली छ । 

उसले दुधिला हारी लागेका खेतको बीचोबीच बाटो पैल्याउँछ । बाटो यौटा चारपाटे गरामा उक्लियो । ऊ त आफ्नै खेतमा पो आइपुगेछ । छिः उसले किन आफ्नू भनिठानेको । आफ्नू थियो कुनै समयमा, तर अहिले यो कान्छा मुखियाको छ । खेत सुम्पेर पनि उसले रिन खान पाउँदैन, किनभने उसले यो खेत थेग्न सक्दो प्रयत्न गरेको थियो । तलमाथि मुखियाको खेत, बीचमा उसको खेत परेर मुखियालाई चकला मिल्न दिएको थिएन, अतः मुखिया बाजेबाट मर्जीभो ।

‘तेरो खेत मलाई बेच् ।’

‘बालबच्चा भोकै मर्छन् बाजे ।’

‘मलाई सन्निसर्पन नपार् ।’

‘सरकार ।’

तर सरकार भनेको क्यै सार लागेन । उसको खेतले मुखियाबाजेको खेतलाई सन्निसर्पन पारेन । उहाँकैमा मिसियो । उसले मुद्दा ग¥यो । न्याय के पायो– ६ महिना झ्यालखान । झ्यालखानबाट छुटेर उसले आफ्नो एक बिसौलीको घङारू हल्लाउनुपर्‍यो । मातेको सुरमा ऊ लठ्ठी घुमाउँदै मुखियाको आँगनमा टेक्न पुग्यो । जात्रामा झैँ ऊ लठ्ठी घुमाएर मुखियाको आँगनभरि उफ्रन थाल्दा वरिपरिबाट कोही पनि निस्कन सकेन । ठूलो घरको मूलढोकामा त्यतिन्जेल उसले लठ्ठी ठड्यायो जतिन्जेल त्यो धुजा धुजा भएर चिरिएन । भित्रबाट अग्ला, गराला, चुकुल बन्द भए । ‘नेपाले’कर्मीले बनाएको अग्राखको खापावाल ढोका उसले फोर्न सकेन । अतः मुखियाको टाउको पनि फोर्न सकेन ।

र, फर्कियो ।

र, फेरि झ्यालखान पुग्यो ।

ऊ पुनः फर्कियो ।

र, फेरि झ्यालखान पुग्यो ।

यी सब कुरा उसका बैंसका पाना हुन् । धर्तीको यौटा सानु टुक्राका कथा हुन्, तर फेरि झ्यालखाना जानै परे पनि ऊ एकपटक अन्तिम प्रयास गर्ने थियो । ऊ पाखुरा हेरेर निराश हुन्छ । छालाभित्र मासु सुकिसक्यो । छाला टाक्सिइसक्यो । तर एकाएक भरिलो पाखुरा भएको छोरालाई सम्झन्छ– छोरो कतै विदेशमा ‘बहादुर’ नाउँ सार्थक गरिरहेको छ– भरिला पाखुरा लिएर । साना सानै छन् । 

ऊ उभिन्छ । किन आयो ऊ यता ? ऊ त आएको थियो माछाले नभरिएको फुर्लुङ मकैका घोगाले भर्न, अर्थात् अर्काको खेतबाट मकै चोर्न । आफ्नु खेत त बाँकी भए पो आफ्नै मकै भाँच्नु । कति फरक छ चोर्नु र भाँच्नुमा ! आफ्नु भए हाकाहाकी ‘भाँच्ने’ थियो । केही घोगामात्र चोर्न सके पनि आजको छाक टर्ने थियो । छोरीले हँसिलो अनुहार लाउने थिई । खान दिनसकेको भए बुहारी पनि त पोइल जाने थिइन । उसको आफ्नै पेट पनि भरिने थियो । कति दिनदेखि उसले पेट भरेको छैन । केटाकेटी, आइमाईको मुख मोसेर उसले गिठा, भ्याकुर र बेलले आफ्नु पेट भरिदिनु पनि त भएन ।

ऊ मस्केका सुत्लाको खोजीमा आँखा घुमाउँछ– कोही मान्छे चियो बसेका पो छन् कि ।

खुकुरीको दापबाट ऊ कर्ध सुत्त झिक्छ । खोस्टा चिरेर बोटबाट घोगा मात्रै भाँच्छ । दार्न थाल्छ । पर देख्छ– एकजना उतिर आइरहेको । हत्तपत्त मुख पुछेर ऊ आगन्तुकपट्टि नै लाग्छ ।

गोरो अग्लो ब्राह्मणपुत्रको पाउमा निहुरेर ऊ ढोग्छ । ढोग खाएर ब्राह्मणपुत्र सोध्छ– ‘कति मारिस् माछा– ले ।’ ऊ फुर्लुङ हेर्छ । र देख्छ– यौटा आधा दारेको मकैको काँचो घोगा मात्र ।

‘बाजे ।’ ऊ बोलाउँछ ।

‘किन ?’

‘बेल खाँदा–खाँदा पेट यस्तो भइसक्यो’ – चाउरिएको पेटको छाला तानेर ऊ देखाउँछ ।

‘म के गरौँ त ?’ ब्राह्मणपुत्र सोध्छ ।

‘अलिकति एस्सो’ – आंैलालाई गाँसको आकार बनाएर ऊ मुखतिर इसारा गर्छ– ‘खाने मेलो !’

ब्राह्मणपुत्र खल्तीबाट एक मोहर झिकेर उसको हातमा राखिदिन्छ र हिँड्न थाल्छ ।

ऊ टोपीले आँखा पुछ्दै भन्छ– ‘बालबच्चाले तीन दिनदेखि अन्न सुँघ्न पाएका छैनन् ।’

‘म के गरौँ त ?’ खल्तीबाट अर्को एक मोहर दिँदै ब्राह्मणपुत्र भन्छ– ‘अघि त लठ्ठी लिएर कुर्लिन्थिस् त हाम्रै आँगनमा मार्छु, काट्छु भनेर...।’

बाटो समाउँछ ब्राह्मणपुत्र ।

ऊ विचार गर्छ– अघि लठ्ठी लिएर मुखियाको आँगनमा नउफ्रेको भए, मार्छु काट्छु नगरेको भए, खेत खान सजिलै दिएको भए उसले अरू बढ्ता पैसा पाउने थियो । साँच्चै, उसले अझ बढ्ता पैसा पाउने थियो, हुन सक्छ अनिकालमा खान अन्न पनि पाउने थियो । उसको खेत खाने साहू कान्छो मुखियाको छोराबाट...उसले दातालाई परसम्म हेरिरहन्छ ।

घाटमा एक रुपियाँको तीन डबका जाँड खान पाइन्छ ...ऊ घाटतिर लम्कन्छ.... अनि रातभरि जाल खेल्नेछ ।

आकासभरि जाल लागेको छ बादलको, कोसी निस्से पनि आज राति लुुँडिएर आउनेछ....।

ऊ जाल सम्याउँछ । जालमा अड्केको माछा फेरि फट्फटाउँछ । ऊ जाल उचालेर हेर्छ– यौटा माछो जालमा अड्केको, नमरेको, नबाँचेको केवल फड्फडाइरहेको... ऊ आफूजस्तै ।

उ लम्कन्छ उँधोतिर ...।

(‘जगदीश घिमिरेका प्रतिनिधि कथाहरू’ बाट ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  ०६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro