अब १० महिना पुग्नलाग्यो तर कोभिड–१९ महाव्याधिले ल्याएको त्रास र भाँडभैलो अझै सकिने छाँट देखिएको छैन । यो संकटको समाधान अहिले पनि उति नै टाढा देखिन्छ तर अब हामी एउटा घुम्तीमा भने पुगेका छौंँ । विश्वका नेताहरूलाई अहिले भ्याक्सिनको राष्ट्रवादबाट माथि उठेर एउटा अन्तर्राष्ट्रिय रूपरेखामा सही गरी यो महाव्याधिसँग जुध्ने एउटा मौका आएको छ ।
यो निर्णायक क्षण भनेको सेप्टेम्बर १८ को मध्यरातसम्म हो (नेपाली समय अनुसार असोज ३ गतेको बिहान करिब ५ बजेसम्म) । यस अवधिभित्र विश्वव्यापी कोभिड–१९ भ्याक्सिन पहुँचको सुविधा (कोभ्याक्स) मा ऐक्यबद्धता जनाइसक्नु पर्नेछ । यो पहलको थालनी ग्याभी–द भ्याक्सीन एलायन्स, विश्व स्वास्थ्य संगठन, तथा कोअलिसन फर इपिडेमिक प्रिपेर्डनेस इन्नोभेसन्सले गरेको हो ।
कोभ्याक्स हामीसँग उपलब्ध सर्वोत्तम अवसर हो । किनभने, यसले कोभिड–१९ को भ्याक्सिन अनुमोदित हुनेबित्तिकै सबै देशले द्रुत गतिमा, न्यायपूर्ण र समतामूलक ढंगले खोप प्राप्त गर्ने सोच अघि ल्याएको छ । कोभ्याक्स अहिले नै अविश्वसनीय रुपमा बृहत् भइसक्यो । कारण, विश्वका १७० देशले यसमा जोडिने चाहना प्रकट गरिसकेका छन् जुन विश्वको कुल राष्ट्रको ७० प्रतिशत हुन आउँछ । यसरी संसार नैे संकटमा परेको वर्तमान समयमा सबै राष्ट्रहरूले यसबाट जोगिने उपायको खोजीमा विशेष ध्यान दिएको देखिन्छ ।
कोभ्याक्सजस्तो संरचना विगतमा कहिल्यै प्रयोगमा आएको छैन र यति छोटो समयमा विकसित गर्नसक्नु पनि आफैँमा उल्लेखनीय छ । सफल भएको खण्डमा यसरी रोगका विरुद्ध गरिब र धनी देशले समानरुपमा प्राण बचाउने भ्याक्सिन एकैपल्ट प्राप्त गरेको विश्वमा पहिलो घटना हुनेछ ।
हिउँदको सुरुमा आइपुग्दा कोभिड–१९को विस्तार भई नै रहेको छ र विश्वभर यो रोगबाट मर्नेको संख्या पनि दस लाख पुगेको छ । साथै मासिक आर्थिक नोक्सानी करिब ५०० अर्ब डलर बराबर भएको छ । यस्तो अवस्थामा विश्वभर समान र न्यायपूर्णरुपमा भ्याक्सिन उपलब्ध हुनु आफँैमा उपयुक्त पहल त हुँदै हो साथै यही तरिकाबाट मात्रै हामी रोग निर्मूल पार्न सक्नेछौँ । संसारका सबै व्यक्ति यो रोगबाट सुरक्षित नहुँदासम्म सबैजना नै संक्रमणको खतरा, आर्थिक दुष्प्रभाव वा दुवैबाट मुक्त हुँदैनौ ।
कोभ्याक्स अहिले उपलब्ध एकमात्र विश्वव्यापी संयन्त्र भएकाले यसको महत्त्वका बारेमा धेरै भनिरहनु पर्दैन । अहिले विश्वमा २०० भन्दा बढी कोभिड–१९ भ्याक्सिन विकास भइरहेको र कम्तीमा ३५ वटा क्लिनिकल ट्रायलमा पनि गइसकेको भए पनि धेरैजसो असफल हुने संभावना बढी नै छ । अहिलेसम्मको अनुभवले के देखाएको छ भने क्लिनिकल ट्रायलभन्दा अघिका भ्याक्सिनमध्ये १० प्रतिशतमात्र सफल हुने संभावना हुन्छ र क्लिनिकल ट्रायलमा गएकामध्ये पनि २० प्रतिशतमात्र अन्ततः अनुमोदित हुन्छन् । यस्तो कम संभावना भएको अवस्थामा धनी देशले भ्याक्सिन उत्पादकसँग द्विपक्षीय सम्झौता गरे पनि उसले भ्याक्सिन पाउने कुनै निश्चितता हुँदैन ।
अन्य तरिकाले भन्दा कोभ्याक्सको बाटोबाट गएमा भ्याक्सिन उपलब्ध हुने विषयमा सुनिश्चित हुन सकिन्छ । किनभने यसले एकैपल्ट धेरैवटा भ्याक्सिनको विकासमा तथा बनेपछि ठूलो संख्यामा उत्पादन गर्ने क्षमतामा लगानी गरेको छ । त्यसैले यो संरचना संसारकै लागि एउटा बीमा हो । अहिलेसम्म नौवटा भ्याक्सिन विकास हुँदैगरेका र अन्य नौवटा मूल्यांकनको अवस्थामा रहेकाले यस संरचनामा विश्वकै सबैभन्दा धेरै र फरक प्रकारका भ्याक्सिन समाहित छन् । कुनै देशले निजी कंपनीसँग भ्याक्सिनका लागि सम्झौता गरेका छन् तर तिनको कम्पनीले बनाएको भ्याक्सिन सफल भएन भने पनि यो संरचनाअनुरुप तिनले भ्याक्सिन प्राप्त गर्नेछन् । अन्य कुनै विकल्प नभएका देशका लागि त यो जीवनधारा नै बन्नेछ ।
कोभ्याक्सको पहिलो लक्ष्य सन् २०२१ को अन्त्यसम्ममा भ्याक्सिनको दुई अर्ब मात्रा उपलब्ध गराउनु हो जुन यो रोगसँग लड्ने स्वास्थ्यकर्मी तथा रोगबाट सहजै संक्रमित हुनसक्ने समूहका लागि पर्याप्त हुनेछ । तर, यो लक्ष्य प्राप्त गर्न कानुनीरुपमा बाध्यकारी प्रतिबद्धता धेरैभन्दा धेरै देशबाट प्राप्त गर्नु जरुरी छ ।
समाहित हुने (साइन–अप गर्ने) अन्तिम समय (सेप्टेम्बर १८) पछि भ्याक्सिन विकास र परीक्षणमा महत्त्व दिइने छ जसले गर्दा सबै आउँदै गरेका भ्याक्सिन असरदार तथा सुरक्षित होउन् । कोभ्याक्सले औषधि निर्मातासँग पनि सम्झौता गर्दै जानुपर्छ जसबाट अनुमोदन हुनेबित्तिकै ठूलो संख्यामा जरुरी भएको स्थानमा पुर्याउन सकियोस् । अनि, मध्यम र न्यून आय भएका देशमा भ्याक्सिन पुर्याउन दाता राष्ट्रहरूले आर्थिक अनुदान पनि दिनुपर्नेछ ।
तर, आर्थिक पाटो सबै ठीक बनाए पनि भ्याक्सिन वितरण प्रणाली एउटा ठूलो चुनौती ठहरिनेछ । कोभिड–१९ को भ्याक्सिन वितरण अहिलेसम्मकै संसारकै सबैभन्दा ठूलो यस प्रकारको कार्य हुनेछ । फेरि यो भ्याक्सिन वितरण त्यस्तो अवस्थामा हुनेछ जुनबेला भ्याक्सिन प्रभावकारी हुँदैन भनेर जनतामा सूचनाव्याधि (इन्फोडेमिक) फैलाइएको छ । यसले गर्दा सर्वसाधारणको भ्याक्सिनप्रति नै विश्वास घटेको छ ।
यो महाव्याधि सकिन अझै निकै समय छ भन्ने अवस्थामा नै हामी एउटा विश्वव्यापी समाधानको किनारामा पुगेका छौँ । अहिलेको संकटको सबैभन्दा असरदार समाधानका रुपमा कोभ्याक्स हामी सामु उभिएको छ । भविष्यमा जब विश्वभरका जनताले यस विषयमा छलफल गर्नेछन् त्यसबेला संसारका देशहरूले कसरी आफ्नो राष्ट्रिय स्वार्थ पन्छाएर अन्तर्राष्ट्रिय समन्वयका साथ यो रोगसँग जुधेर सँगै काम गरे र वैज्ञानिक तथा विकासविद्ले यो संकटको सामना कसरी गरे भन्ने विषयमा चर्चा हुनेछ । भविष्यका इतिहासकारहरूले यो महाव्याधिको ऐतिहासिक मोडका रुपमा जुनसुकै घटनालाई मानक बनाए पनि कोभ्याक्स संरचनाको सोच र यसको व्यापक समर्थनले यो रोगको अन्त्यका लागि खेलेको अपरिहार्य भूमिकाको विषयमा शंका गर्ने स्थान रहनेछैन ।
सेथ बर्कली ग्याभी–द भ्याक्सिन अलाएन्सका प्रमुख कार्यकारी हुन् । रिचर्ड ह्याचेट कोअलिसन फर इपिमेडिक प्रिपेर्डनेस इन्नोभेसन्स्का प्रमुख कार्यकारी हुन् । सौम्य स्वामिनाथन विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक हुन् ।
Copyright: Project Syndicate, 2020.