आधिकारिक विकास सहयोग (ओडीए)ले जीवन बचाउन, सहरहरूलाई सफा र सुरक्षित बनाउन र संसारभर आर्थिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्न सहयोग गर्छ । हालै बेलायतका रोयल युनाइटेड सर्विस इन्स्टिच्युटको अगुवा सैनिक तथा सुरक्षाविद्लाई लन्डनमा सम्बोधन गर्ने क्रममा बिल गेट्सले यही विषय उठाएका थिए ।
संयुक्त राष्ट्र संघको कुल राष्ट्रिय आयको ०.७ प्रतिशत विकास सहयोगमा खर्च गर्ने प्रतिबद्धता पूरा गर्ने थोरै मुलुकमध्ये बेलायत पनि एउटा हो भन्ने थाहा पाउँदा चित्त दुखाउने बेलायतीहरूलाई सम्झाउन बिललाई आग्रह गरिएको थियो । बेलायती सहयोगको असरको प्रभावमा प्रकाश पार्नु त उत्तरको एउटा पक्षमात्र हो । बिलले अरू पनि धेरै मुलुकहरूले सहयोगका वाचाहरू पूरा गरेकोमा जोड दिएका थिए ।
युरोपमा डेनमार्क, द नेदरल्यान्डस, नर्वे, लक्जेम्बर्ग र स्विडेनले संयुक्त राष्ट्रसंघको सीमा केही समयदेखि नै पूरा गर्दैआएका छन् भने जर्मनी पनि हालै त्यही समूहमा सामेल भएको छ । फ्रान्स त्यस समूहमा त अझै पुगेको छैन तर आफ्नो योगदान उसले पनि बढाइरहेको छ ।
युरोपबाहिर साउदी अरेयिबा, युनाइटेड अरब इमिरेट्स र कतार पनि विश्वका ठूला महत्त्वपूर्ण विकास सहयोग दाता भइसकेको तथ्य धेरै जनालाई थाहा नभएको हुनसक्छ । यिनीहरू सबै 'लाइभस् एन्ड लाइभलिहुड फन्ड’का दाता र मध्यपूर्व बहुपक्षीय विकास प्रयासका सबैभन्दा ठूला दाता पनि हुन् । लाइभस् एन्ड लाइभलिहुड फन्डका अरू दातामा इस्लामिक डेभलपमेन्ट बैंक, द इस्लामिक सोलिडारिटी फन्ड फर डेभलपमेन्ट र बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन रहेका छन् ।
साँडे दुई अर्बको लाइभ्स एन्ड लाइभ्लिहुड फन्डले रोग उन्मूलन, प्राथमिक स्वास्थ्य सेवा, किसानहरूलाई सहयोग र मुस्लिम मुलुकहरूमा विपन्न समुदायका लागि आधारभूत भौतिक संरचना निर्माणजस्ता महत्त्वपूर्ण काममा सहयोग गरिरहेको छ । गत वर्ष अरबी र अफ्रिकी मुलुकमा ६ वटा ठूला परियोजनाका लागि ३६ करोड ३० लाख अमेरिकी डलर विनियोजन गरेर यसको आरम्भ गरियो । गत फरबरीमा सेनेगलमा औलो उन्मूलन गर्न ३ करोड २० लाख डलरको पहिलो परियोजना थालिएको छ भने यसै महिनाको सुरुतिर ६० करोड डलरका अरू योजनाहरू स्वीकृत गरिएका छन् ।
मध्यपूर्व र अफ्रिकाका मुस्लिम मुलुकहरूले सामना गर्नुपरेका सबै समस्या बाहिरी सहयोगबाट मात्र समाधान हुन सक्तैनन् तर यसले बढी स्थिर, सम्पन्न, स्वस्थ समाजको निर्माणमा सहयोग पुर्याउन सक्छ जस्ले गृह युद्ध वा आतंकवादको चपेटामा पर्ने जोखिम कम गराउँछ । गेट्स फाउन्डेसन विशेषगरी मुस्लिम जगत्का दाताहरूको गरिबी र अस्थिरताको सम्बोधन गर्नमा अभिन्न भूमिका हुन्छ भन्ने ठान्छ । अलगअलग रूपमा भन्दा साधन स्रोत र दक्षताको मेल हुनसक्यो भने धेरै उपलब्धि हुनसक्छ ।
राष्ट्रिय परियोजनाहरूले यी मुलुकहरूको अन्तर्राष्ट्रिय विकास आयोजनाको नेतृत्व गर्ने क्षमता बढाउन मद्दत गर्न सक्छन् ।
उदाहरणका लागि किङ खालिद फाउन्डेसन र गेट्स फाउन्डेसनको सहयोगमा सञ्चालित सघाफ छात्रवृत्ति कार्यक्रम कतिपय महिलालगायत प्रतिभशाली युवा साउदीहरूलाई गैरनाफामूलक (सामाजिक) क्षेत्रमा स्थानीय एवं अन्तर्राष्ट्रिय सामाजिक प्रभावमा केन्द्रित भएर काम गर्न प्रोत्साहित गर्छ ।
अन्तर्राष्ट्रिय विकासमा सफलताको वास्तविक तत्त्व भने सहयोग हो । साधनस्रोत एकत्रित र सीप दक्षता आदानप्रदान गरेर गेट्स फाउन्डेसनजस्ता संस्था र बेलायतदेखि युनाइटेड अरब इमिरेटससम्मका दाता सरकारहरूले एक्लो प्रयासबाट हुनेभन्दा धेरै गुना बढी उपलब्धि हासिल गर्न सक्छन् ।
सौभाग्यवश, मध्यपूर्वका सरकारहरूले यसलाई स्वीकार गरेका देखिन्छ र विकास साझेदारीका लागि उनीहरूको रुचि बढ्दो छ । र अवसरहरू पनि प्रशस्त छन् । बेलायतले उदारतापूर्वक अनुदान दिएको पोलियो निवारण कार्यलाई अगाडि बढाउनेहरूमा युएई अग्रणी रहिआएको छ । बेलायत हालका वर्षहरूमा सबैभन्दा ठूलो दाता रहेको भ्याक्सिन एलाएन्स ‘गेभी‘मा हालै कतार पनि सम्मिलित भएको छ । यस्तै बेलायत नै प्रमुख अगुवा रहेको ग्लोबल फन्ड फर एडस, ट्युबरकुलोसिस एन्ड मलेरियामा सहयोग गर्नेमा साउदी अरेयिबा लामो समयदेखि योगदान गर्ने दाता हो ।
पर्यवेक्षकहरू विकासशील मुलुकहरूलाई दिइने सहयोगले उनीहरूलाई प्रभावित पार्न सकिने पक्षमा जोड दिने गर्छन् । तर, उनीहरू अन्तर्राष्ट्रिय विकासको प्रगतिका लागि सहकार्य गर्ने दातृ मुलुकहरूबीचको सम्बन्ध सुदृढ भएर हासिल उपलब्धिहरू पहिल्याउन विफल हुन्छन् । यस यथार्थलाई आत्मसात गरेमा दाता राष्ट्रहरूले गरिबीविरुद्ध संघर्ष गर्न अग्रसर नयाँ विश्व साझेदारहरूसँग सहकार्य गर्ने अवसरको सदुपयोग गर्नसक्ने थिए ।
(प्रमुख रणनीतिक अधिकृत,बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन)
Copyright: Project Syndicate, 2017