एलबी क्षेत्री
‘तँ को होस् ?’
‘म आफैंले बनाएको ‘म’ हो त्यहाँभन्दा बढी केही होइन ।’
म कहिलेकाहीँ आफ्नै अवाजको पाश्र्व ध्वनिझैँ सुन्छु, आफैंलाई जवाफ दिन्छु र स्मृति गंगामा (स्मृतिको सानो पोखरीमा) तैरिन थाल्छु ।
म भरतपुरबाट लगभग १५ किलोमिटर टाढा पटिहानी बजारनजिक धनौजी प्राविको शिक्षक बन्न पुगेँ । त्यो मात्र एउटा संयोग थियो । २०२३ साल वैशाखको कुनै दिन पटिहानी बजारनजिकैको गाउँ शीतलपानी मेरो माइला मामाको घर, केही दिन बस्न गएको थिएँ । मामासँग मेरो बाल्यकालदेखि नै आत्मीय सम्बन्ध गाँसिएको थियो । उहाँले मलाई निकै माया गर्नुहुन्थ्यो । म मामाप्रति निकै आभारी थिएँ । यसका वस्तुनिष्ठ कारणहरू छन् ।
शीतलपानी एकसाता बसेर फर्कंदा पटिहानी बजारको एउटा घरको बरन्डामा त्यस क्षेत्रका नामुद व्यक्तित्वहरू कुर्सीमा बसेर गफ गर्दै हुनुहुन्थ्यो । उहाँहरू सबैलाई मेरो मामाले क्रमशः नमस्कार टक्रयाउनुभयो । दुईजनाको नाम सम्झिन्छु– मुरली पण्डित र कोमलराज पाण्डे ।
सोध्दै जाँदा मेरो योग्यता एसएलसी भन्ने खुलेपछि धनौजी प्राविमा शिक्षक भएर जागिर गर्ने उहाँहरूले नै प्रस्ताव राख्नुभयो । म १६ वर्षको थिएँ । कुनै योजनाबिनै निःतान्त मेरो जीवनयात्राको एउटा पडाव (बिसौनी) प्रावि शिक्षकको जागिरबाट आरम्भ भयो ।
जीवनयात्राको यो बिसौनी निकै छोटो समयमै टुङ्गियो ।
योजनाविहीन नै हिँडिरहेथ्यो मेरो जीवनयात्रा । प्रावि शिक्षक भएर धेरै दिन बस्न सकिनँ । गर्ने के त ? त्यसबारे पनि विश्वस्त थिइनँ । मेरो अपरिपक्व मस्तिष्कको कुनै कुनामा मैले अझै पढ्नुपर्छ भन्ने मानसिकताको विकाससँगै उमेरको गणित बढ्दै थियो तर निकै अस्थिर थिएँ, अर्थात् अन्योलमा थिएँ ।
२०२४ कात्तिकको कुनै दिन म घरमा कसैलाई नभनी एउटा झोलामा एकथान लुगा, आफ्नो एसएलसी (हाई स्कुल) को प्रमाणपत्र र खल्तीमा नेरु ११÷१२ सयजति बोकेर भारततिर लागेँ । उप्रान्त भारतीय सेनामा भर्ती हुन सफल पनि भएँ । म भारतीय सेनामा भर्ती हुनुमा पनि संयोगको ठूलो भूमिका छ । मेरो आत्मकथामा यस विषयमा कतै उल्लेख गर्ने नै छु ।
संयोगले निर्माण गरेको मेरो जीवनयात्राको यो बिसौनी सोचेभन्दा धेरै वर्ष नै टिक्यो ।
भारतीय सेनामा भर्ती भएको पहिलो दिन जीआरडी (गोर्खा रेक्रुटिङ डिपो) कुनाघाटको हामी बसेको ब्यारेकमा साँझको खानापछि मजस्तै भर्ती भएका साथीहरूसँग मैले अहम् पोखेको थिएँ– ‘मित्रों, मै ज्यादा दिन सेनामे नही रहुँगा । मेरा मकसद् मुझे अपना पढाइ पूरा करना है । और फिर डिस्चार्ज लेकर नेपाल लौट जाउँगा । ‘मैले मेरो अधुरो शिक्षालाई निरन्तरता दिनुपर्छ भन्ने मेरो चेतन मनमा थियो तर यसले कहाँ गएर पूर्णता पाउँछ, त्यसको ज्ञान थिएन ।
सन् १९७३/७४ ताका एकपटक बिदामा आएको बेला शिवनगर माविमा अंग्रेजी पढाउने शालिकराम तिमिल्सेना (मेरी आमाको माइती गाउँका भएकाले म मामा भन्थेँ उहाँलाई) सँग वीरेन्द्र क्याम्पसको प्रसंग चल्दा त्यहाँ प्रवेशका लागि न्यूनतम एमए चाहिन्छ भन्ने ज्ञान प्राप्त पछि नै विषय र मेरो शिक्षा–यात्रा कम्तीमा कतिसम्म भन्ने मनमनै टुंगो लगाएको थिएँ । त्यस बखतसम्म म मात्र एसएलसी थिएँ । मात्र एसएलसी पास भारतीय सेनाको एउटा सिपाहीले एमए (अंग्रेजी) को सपना देख्नु कुनै अपराध त थिएन नै, तर सपनालाई साकार बनाउन वा एसएलसीदेखि एमएसम्मको यात्रा तय गर्नु अवश्य नै ठूलो चुनौती थियो ।
अनुभवले एउटा ज्ञान थप्यो– जीवनमा सफलताका लागि संयोगको भरमा मात्र हिँड्ने होइन, योजना बनाएर अघि बढ्नुपर्छ । सन् १९७७ को कुनै महिना हुनुपर्छ, त्यसताका म हिमाञ्चल प्रदेशको नाहन भन्ने ठाउँमा थिएँ । मनमनै मैले पहिलो योजना बनाएँ ।
म जसरी पनि गोरखपुर स्थानान्तरण भएर जानुपर्छ !
मेरो एउटा सहकर्मी साथी ब्रजोधन सिन्हा कमिसन प्राप्त गरी सेनाको अफिसर बनेर नासिक पुगेको थियो । ऊ चाहन्थ्यो म पनि कमिसनका लागि प्रयास गरूँ र अफिसर बनूँ । ऊ मलाई सहयोग गर्न चाहन्थ्यो । मैले उसलाई भनेँ– ‘तिमी मलाई सहयोग गर्न चाहन्छौ भने मलाई जसरी पनि गोरखपुर स्थानान्तरण गराइदेऊ’ ।
उसले सेना नियमावलीका विभिन्न समस्या देखायो तर मैले मेरो अठोट् छोडिनँ । प्रयास जारी रह्यो । संयोगले साथ दियो, १९७८ को सेप्टेम्बरमा मेरो योजना सफल भयो । म जोनल रेक्रुटिङ अफिस गोरखपुरमा स्थानान्तरण भएर आउन सफल भएँ । यस सफलतामा क्याप्टन सिन्हाको सहयोग थियो नै ।
त्यसपछिको मेरो जीवन मैले बनाएको योजनाअनुरूप योजनाबद्ध तरिकाले नै हिँडेको हो र आजसम्म मैले बनाएको योजनालाई संयोगले साथ दिएकै छ । योजनाअनुसारै सन् १९८० मा आईए उत्तीर्ण गरेँ ।
त्यसपछि नशा लाग्यो । पछि फर्केर हेरिनँ । म योजना बनाउँदै हिँड्न थालेँ, संयोगद्वारा निर्देशित परिस्थितिले साथ दिँदै गयो । सन् १९८४ मा बीए उत्तीर्ण । सन् १९८५ मा भारतीय सेनाबाट राजीनामा । सन् १९८७ मा एमए (अंग्रेजी) उत्तीर्ण । फेब्रुअरी १९८८ मा वीरेन्द्र बहुमुखी क्याम्पसको आंशिक शिक्षकमा नियुक्ति ।
वाह म !
सन् १९६५ मा एसएलसीपछि आईए उत्तीर्ण गर्न १५ वर्ष लाग्यो तर मात्र ७ वर्षमा म अंग्रेजी विषय लिएर स्नातक र स्नातकोत्तर गर्न सफल भएँ ।
मेरो ‘म’ को यात्रा सफल भयो र यो यात्रालाई सफल बनाउन मेरो म्याडमको अहम् भूमिका रह्यो । उहाँको प्रेरणाले नै मैले योजना बनाएँ, उहाँको साथले नै योजनालाई कार्यान्वयन गर्न सफल भएँ । र, नढाँटी भन्दा म उहाँको शुभेच्छाले गर्दा नै आफूलाई निर्मित पाउँछु ।
विसं २०५२ सालमा मैले नेपाल प्राध्यापक संघको एकाइ अध्यक्ष बन्ने चाहना राखेँ । इच्छा पूरा भयो । २०६० सालमा वीरेन्द्र बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख बनेर प्रशासनमा बसी निर्माणको काम गर्ने इच्छा पलायो । मेरो पक्षमा कुनै समर्थन थिएन । अर्थात् क्याम्पस प्रमुखको कुर्सीमा बस्न सरल थिएन । केही योजना बने, संयोगले साथ दियो र २०६१ वैशाख १३ मा क्याम्पस प्रमुखको टेबलमा राखिएको उड्किलोमा लेखिएको थियो, एलबी क्षेत्री, क्याम्पस प्रमुख ।
वीरेन्द्र बहुमुखी क्याम्पसमा मात्र दुईवटा सङ्काय थिए– मानविकी र विज्ञान, म कम्तीमा चारवटा चाहन्थें, मात्र दुईवटा विषयमा स्नातकोत्तर कक्षा सञ्चालन हुन्थे– नेपाली र अर्थशास्त्र, म केन्द्रीय विभाग बनाउन चाहन्थेँ; पुस्तकालय सानो थियो, म विशाल बनाउन चाहन्थें, क्याम्पस चिफको कक्ष ‘क’ श्रेणीको क्याम्पस प्रमुख बस्दा सुहाउने स्तरको बनाउन चाहन्थेँ । ४ वर्षको कार्यकालमा हन्डर त धेरै खाइयो तर लागि पर्दा सफलता प्राप्त हुँदो रहेछ । भवनहरू थपिए, सङ्कायहरू थपिए, स्नातकोत्तरका कक्षाहरू थपिए, भरतपुर ओरालोको मूल सडकबाट क्याम्पस भवनसम्म ३५० मिटरको पक्की सडक बन्यो, भारतीय दूतावासबाट १ करोड ४४ लाखको आर्थिक स्वीकृतिमा भव्य पुस्तकालय बनाउने योजना सफल भयो ।
योजनाअनुसारै पुरानो पुस्तकालयमा क्याम्पस प्रमुखको कार्यालयसहित क्याम्पस प्रशासन ल्याइयो । क्याम्पस प्रमुखको नयाँ कार्यालयलाई मैले आफ्नै तरिकाले सजाएको थिएँ । क्याम्पस प्रमुखहरूको नामरहेको बोर्ड, नयाँ सोफा, नयाँ दराज, नयाँ टेबल, भित्तामा क्याम्पसका पूर्वप्रमुखहरूका तस्बिर, भुइँमा हरियो कार्पेट । खर्चिलो भयो तर मैले आफूलाई किनेको कुर्सी महँगो थिएन । साधारण थियो, काठको । असन्तुष्ट विद्याथीहरूद्वारा गेटमा ताला नलाग्दाका दिनहरूमा क्याम्पस प्रमुखको कार्यालयमा बस्दा छुट्टै आनन्दसहित गर्व महसुस गर्थें म ।
त्यसपछिको ममा अर्को महत्त्वाकांक्षा पलायो कुनै देशको राजदूत बन्ने । त्यो योजनामा म पूर्णतः असफल भएँ । संयोगको पनि आफ्नै पारा हुँदो रहेछ, अर्को शब्दमा भनौँ संयोग जुर्न पनि संयोग नै चाहिँदो रहेछ । राजदूतको कुरामा संयोगले संयोगलाई जुराएन । म मेरो चाहना र योजना लिएर – शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सबैकोमा पुगेको हो, तर पुगेर मात्र हुँदो रहेनछ । कुनै न कुनै पार्टीभित्रको पावरग्रुपको ठूलो अनुकम्पा चाहिँदो रहेछ । म कुनै पावरग्रुपको च्यानलमा थिइनँ र मैले पाइनँ ।
क्याम्पस प्रमुख हुँदा मैले नै नियुक्ति दिएर राजनीति शास्त्र विभागका चेयरमेन बन्नुभएका रविमोहन सापकोटा रुसको राजदूत बनेर जानुभयो । त्यस्तै मैले नै नियुक्ति दिएर अर्थशास्त्र विभागका चेयरमेन बन्नु भएका भीमराज अधिकारी त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार बन्नुभयो । उहाँहरूमाथि कुन पावरग्रुपको अनुकम्पा थियो त्यसको कथा उहाँहरूलाई नै थाहा होला, म किन बनिनँ यसको व्यथा मलाई नै थाहा छ । तर सत्य सत्य हो–
म केही बनिनँ । चितवनको एउटा सानो गाउँ कैलाशनगरमा आएर थन्किएको छु । हो यसरी थन्किनुमा पनि छुट्टै आनन्द छ । साहित्यलाई प्रेम गर्न र यसैको सेरोफेरोमा रमाउने अवसर पाएको छु ।
त्यसैले मलाई ‘तँ को होस् ?’ भनेर कसैले प्रश्न गर्दा– म सहर्ष भन्ने गर्छु –
‘म आफैँले बनाएको ‘म’ हो त्यसभन्दा बढी केही होइन ।’
म कहिलेकाहीँ आफ्नै आवाजको पाश्र्व ध्वनिझैँ सुन्छु, आफैंलाई जवाफ दिन्छु, र स्मृति गङ्गामा (स्मृतिको सानो पोखरीमा) तैरिन थाल्छु ।