site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उपचार नपाएरै बिरामीको मृत्यु, न कोरोना देखिन्छ न कारण खुल्छ
Sarbottam CementSarbottam Cement

विराटनगर । कोसी अस्पतालमा  १० दिनअघि  भर्ना हुन आएका उदयपुर बेलका नगरपालिका १ का २३ वर्षीय पदम राईको एम्बुलेनसमै मृत्यु भयो । घटनाबारे ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको र आइसोलेसनमा भर्ना गर्न लाग्दा-लाग्दै मृत्यु हुन पुग्यो’ भन्दै कोसी अस्पतालले प्रस्टीकरण दियो । भर्ना नलिई विराट मेडिकल कलेजले एम्बुलेन्सबाटै उनलाई कोसीतर्फ रेफर गरिदिएको थियो ।

कोसी अस्पताल परिसरमा इमरजेन्सी वार्डनजिकै एम्बुलेन्स अडेको एक घण्टापछि राईको मृत्यु भयो । उनी अस्पतालमा भर्ना नै हुन पाएनन् । बरु मृत्युपछि पीपीई लगाएका स्वास्थ्य प्राविधिकहरुले शव एम्बुलेन्सबाट झिकेर स्वाब लिए । परीक्षण गर्न पठाइयो । तर, नतिजाचाहिँ ‘कोरोना नेगेटिभ’ भन्‍ने आयो । 

सँगै आएका राईकी श्रीमती र बहिनीको स्वाब लिइयो । त्यसपछि परिवारलाई शव जिम्मा दिएर पठाइयो । पछि श्रीमती र परिवारका सदस्यमा पनि कोरोना देखिएन । “बिरामीलाई एउटा अस्पतालले अर्कोतिर र अर्कोले अर्कामा देखाउँदा देखाउँदैमा समय बित्यो । उपचारै नपाएर भर्खरका मान्छे बिते,” एम्बुलेन्सका चालकले पत्रकारहरूसँग अस्पताल परिसरमै भने । श्रीमती र बहिनीले पनि “अस्पतालभित्र पसेको बिरामी एम्बुलेन्समै श्वास लिन कठिन भएर हर्याक हर्याक हुँदासमेत उपचार नहुनुजस्तो दुःख के होला र ?” भन्दै सरकारसमक्ष प्रश्न गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

कोसी अस्पतालका मेसु डा. चुमनलाल दासले ‘शंकास्पद लक्षणका कारण तत्काल उपचारका लागि भर्ना गर्ने अवस्था नभएको’ भन्दै उबेलै घटनाबारे स्पष्टीकरण दिए । गम्भीर बिरामीलाई कोसीमा सम्भव नहुने भएकाले थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गर्ने तयारी हुँदाहुँदै घटना भएको भन्दै अस्पताल पन्छियो ।

११ दिनअघि कोसी अस्पतालको आइसोलेसनमा उपचाररत सुनसरीकी अर्की महिलाको मृत्यु भयो । सुनसरीको इनरुवा नगरपालिका ३ की ४० वर्षीया जंगलीदेवी सदामा पनि कोरोना संक्रमणको आशंका गरिएको थियो । तर, अस्पताल भर्ना भएको भोलिपल्टै उनको मृत्यु भयो । उनको पनि कोरोना नेगेटिभ रिपोर्ट आयो । शव परिवारले बुझे । गाउँ लगेर सदगत गरे । तर, न राई नत सदा परिवारले आफ्ना प्रियजनको मृत्युको कारण थाहा पाए । अस्पतालले बिरामीको स्वास्थ्य समस्याको अरु कारणबारे परीक्षण नगरी पठाइदियो । दुवै घटनामा मृत्युको कारण खुल्नै सकेन । परिवारका अनुसार बिरामीमा दीर्घ रोग थिएन ।

Global Ime bank

१० दिनअघि कोसी अस्पतालमै अर्को यस्तै घटना भयो । भर्ना हुने क्रममै उदयपुरको बेलका नगरपालिका १ का ५५ वर्षीय पुरुषको मृत्यु भयो । पीसीआर परीक्षणको रिपोर्टमा कोरोना देखिएन । तर, ज्वरो आउने, रिँगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लक्ष्यण भने थियो । स्थानीय क्लिनिकमा उपचार हुन नसकेर आफन्तले विराट मेडिकल कलेज विराटनगर ल्याएका थिए । त्यहाँ भर्ना हुन पाएनन् । कोसी अस्पताल ल्याइयो । उनको पनि ‘भर्ना हुँदै गर्दा मृत्यु भयो’पछि उनको शव आइसोलेसनमा राखियो । स्वाब संकलन भयो । परीक्षण नतिजा आयो ‘कोरोना नेगेटिभ’ । अस्पतालले परिवारलाई शव जिम्मा दियो । तर, परिवार बिलखबन्दमा परे ‘आखिर मृत्युको कारण के थियो ?’ परिवारले मृत्युको कारण चिकित्सकबाट थाहा पाएनन् । चिकित्सक र अस्पतालले पनि भनेन् । 

माथिका प्रतिनिधि घटना मात्र हुन् । अहिले प्रदेश १ का अस्पतालमा स्वास्थ्य यस्ता घटना बढ्न थालेका छन् । खासगरी अस्पतालले आकस्मिकबाहेक सबै सेवा बन्द गरेका छन् । अकस्मिकमा पनि ज्वरो आएका र कोरोनासँग मिल्दो लक्षण भए भर्ना लिइँदैन । भर्ना हुन तोकिएका अस्पतालमा समेत विलम्ब हुँदा अरु नै रोगले च्यापेका बिरामीले उपचारै नपाई मर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

धरानको बीपी प्रतिष्ठानमा पनि भर्ना हुँदा-हुँदै मृत्यु भएका घटनामा प्रतिष्ठानले मृत्यको कारण बताउने गरेको छैन । कोरोना नेगेटिभ आए शव परिवारलाई र पोजेटिभ भए नेपाली सेनाको टोलीलाई जिम्मा लगाइन्छ । 

विराटनगरमा बिहीबार नै अर्का एक २३ वर्षीय युवकको आइसोलेसनमा मृत्यु भयो । पहिलो रिपोर्ट कोरोना नेगेटिभ आयो । दोस्रो पोजेटिभ । परिवारलाई जिम्मा दिन ठीक पारिएको शव अब सेनाले सदगत गर्ने भएको छ । 

आइसोलेसन ट्रान्जिट मात्र हो, यहाँ उपचार हुँदैन : चिकित्सक
कोसी अस्पतालमा १० शय्याको आइसोलेसन सञ्‍चालनमा छ । त्यहाँका संयोजक डा. लक्ष्मीनारायण यादव भन्छन्, “धेरैमा आइसोलेसन उपचार गर्ने थलो हो भन्‍ने बुझाइ छ तर होइन यो त ट्रान्जिट मात्र हो । हामीले बिरामीलाई ५ देखि ६ घण्टा राखेर कोरोना देखिए कोभिड १९ उपचार हुने अस्पतालमा पठाउँछौं नदेखिए अस्पतालको अन्य वार्डमा रेफर गर्छौ ।” 

चिकित्सक यादवका अनुसार आइसोलेसनमा सीमित साधन-स्रोत तर बिरामीको चापका कारण अधिक समस्या भइरहेको छ । कोसी अस्पतालमा रहेको आइसोलेसनमा सम्भावित कोरोना बिरामी आए परीक्षण गर्ने, तत्काल अक्सिजन चाहिए दिने र त्यसपछि रेफर गरिदिने प्रयोजन भएको दाबी गर्छन् ।

“कोरोना नेगेटिभ रिपोर्ट आएका बिरामीको हामीले अलि बढी उमेरका भए त हिस्ट्री पनि बुझ्‍ने काम गर्छौं,” यादव भन्छन्, “तर, युवा र कम उमेरकाहरूमा अरु रोग भए नभएको चाँहि परीक्षण हुँदैन । नेगेटिभ रिपोर्ट आए परिवारलाई पोजेटिभ आए सेनालाई शव जिम्मा दिने नै हाम्रो प्रोटोकल छ ।” यादवले महामारीका कारण अरु बिराम लागेकाले उपचार पाउन निकै कठिन भएको स्विकार गरे ।

कोभिड १९ का लक्षणसहितका बिरामीको उपचार गर्न सरकारले धरानको बीपी प्रतिष्ठानमा लेभल ३ अस्पताल सञ्‍चालन गरेको छ । त्यहाँ करिब चार महिनासम्म उपकरण जडान गर्ने कामसमेत नहुँदा भर्ना नै गरिएको थिएन । तर, दुई दिनयता भने धरानको कोभिड अस्पतालले बिरामी लिन सुरु गरेको छ । 

यसअघि प्रतिष्ठानको आइसोलेसनमा बिरामी राख्‍ने गरिएको थियो । विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा अक्सिजन र भेन्टिलेटरजस्ता पूर्वाधार जडान भएका छैनन् । त्यहाँ लक्षण नभएका बिरामी राख्‍ने गरिएको छ । अहिले लक्षणसहितका बिरामी बढ्न थालेपछि समस्या बढ्न सुरु भएको हो । 

क्याप्सन :
कोरोनाबाट कोसी अस्पतालमा मृत्यु भएका बिरामीको शव व्यवस्थापन गर्न लैजाने तयारी गर्दै नेपाली सेना । तस्बिर : प्रेम देवान

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC