केही वर्षयता गीत–संगीतको क्षेत्रमा ठूलो परिमाणमा लगानी भइरहेको छ । वार्षिक अर्बौं रुपैयाँ लगानी भइरहे पनि गीतको गुणस्तरमा भने उल्लेख्य विकास नभएको स्वयं कलाकारहरू बताउँछन् । तर मौलिक अथवा लोकगीतको सन्दर्भमा भने यो प्रश्न झन् धेरै उठ्दै आएको छ । लोकगीतका नाममा आएका गीतले धज्जी उडाएको टिप्पणी हुँदै आएको छ ।
यो तथ्य राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पनि स्वीकार गर्छ । तर पनि प्रतिष्ठानसँग यसलाई रोक्ने कुनै अधिकार तथा तागत नभएको अध्यक्ष रमेशी बीजी बताउँछन् । किन लोकगीतका नाममा प्रयोग भइरहेको छ ? गीतमा भन्दा भिडियोमा किन धेरै जोड दिन थालियो ? लोकगीतमा व्यावसायिकता खोज्न सकिन्छ ? यी र यस्तै प्रश्न प्रतिष्ठानका अध्यक्ष बीजीसँग बाह्रखरीका नरेश फुयाँलले गरेका छन् ।
लोकगीत–संगीतका सर्जकका लागि तिज उर्वर समय हो, कत्तिको कलम चलिरहेको छ ?
कलम चल्नलाई दिमाग शान्त हुने पर्ने रहेछ । यो महामारीमा दिमाग आशान्त हुँदो रहेछ । त्रास बसिरहँदो रहेछ । कुनै पनि कुरामा गहिरिएर सोच्न नसकिँदो रहेछ । त्यसैले यो लामो लकडाउनको फुर्सदमा पनि उल्लेखनीय सिर्जना गर्न सकिएन । मैले मात्रै हो कि भनेर अरू स्रष्टालाई पनि सोधेँ उहाँहरूले पनि के भइरहेको हो, के हुँदै छ भन्ने त्रासले काम गर्न सकिएन भन्नुभयो । सिर्जनाका लागि अन्योलग्रस्त समय रह्यो यो ।
लकडाउनको समयमा पनि थुप्रै लोकगीत सार्वजनिक भए । कोठामा बसेर लोकगीत सिर्जना गर्दा भोलिका दिनमा इतिहास नै त हराउने होइन ?
यो प्रवृत्तिले लोकगीत संगीतको वास्तविकतालाई ठूलो असर गरिरहेको छ । पछिलल्लो समय तिजका गीत, तिजका गीतजस्ता भएनन् । असारे गीत, असारे गीतजस्ता भएनन् । पर्व, ऋतु र जाति विशेषका गीतहरू परिवर्तन हुँदै गए । यसको वास्तविकता हराउँदै गएको छ ।
पक्कै पनि लोकगीत ठाउँ विशेषबाट टिप्ने हो । यसका लागि सम्बन्धित ठाउँमै पुग्नुपर्छ । तर जिन्दगीको एउटा लामो कालखण्ड गाउँमै बसेको व्यक्तिको भोगाइलाई जुनसुकै ठाउँमा बसेर तयार पार्न सकिन्छ ।
तर अहिले गाउँगाउँमा पुगेर गीत–संगीत खोज्नु भनेको यार्सागुम्बा खोजेजस्तै हो । अहिले गाउँमा माछेहरू रोधी बस्दैनन् । गाउँठाउँमा भाकाहरू गाउँदैनन् । रेडियो, टेलिभिजन र युट्युबकै गीत बजाउने, सुन्ने र हेर्ने चलन बढ्यो । त्यसैले आफ्नै स्रोत–साधनले गाउँगाउँ घुमेर लोकगीत संकलन गर्न पनि कठिन छ । आर्थिक अभाव पनि छ । राज्यले सहयोग नगर्दा यस्ता भाकाहरू लोप हुने अवस्थामा पुगिसकेका छन् ।
त्यसैले अहिले कोठामा बसेर केही भोगेका, केही सुनेका र केही कल्पना गरेका बग्रेल्ती गीत आइरहेका छन् । पक्कै पनि आफैंले भैंसीको दूध दुहेर खानु र डेरीको दूध खानुमा फरक छ ।
यसको अर्थ कालान्तरमा हामीले तिज गीत, तिहार गीत अथवा लोकगीत भनेर अहिलेभन्दा फरक गीतलाई बुझ्ने अवस्था आउने छ ?
अब फेरि पुराना सर्जकलाई सम्झिएर, पुराना लोक तथा पर्व गीतहरूलाई सम्झिएर त्यसको सम्वर्द्धन र संरक्षण गरेको अवस्थामा देख्न र सुन्नसम्म पाइन्छ कि ।
हामी गीत खोज्न गाउँगाउँ जान छाड्यौं र अति व्यावसायिक हुँदाको परिणाम हो यो ?
गाउँघर डुलेर स्थानीय ठेट शब्द र भाका संकलन गर्ने जाँगर हामीमा छैन, अथवा कम छ । हिजो गीत सुन्ने थियो । ती गीत सुन्दा आनन्द आउँथ्यो । तर अहिलेको बजार गीत हेर्ने भयो । जसले चटक र चर्तिकला गर्यो, जो भिडियोमा उग्र भएर देखियो ती गीतका दर्शक बढेजस्तो देखिन्छ । व्यावसायिक रूपमा त्यस्तै गीत सफल भएको देखेपछि सबै त्यतैतर्फ लागे । भोलि मृत्युपछि पनि कस्ता गीतले बचाउँछ भन्ने सोच अहिले कसैलाई छैन । पैसा कमाउन, गाडी चढ्ने, तडकभडक जीवन बिताउने र आफूलाई स्टार सम्झिने प्रवृत्ति हाबी भएको छ ।
गीत–संगीतलाई कला र साधनाभन्दा पनि उपभोग्य वस्तुका रूपमा बुझ्न थालियो । अझ लोकगीतलाई त प्रयोगशाला नै बनाइयो । सोरठीलाई मारुनी, मारुनीलाई हाकपारेमा गाउने, चल्यो भने चलिगयो चलेने भने चलेन । यहाँ गीत–संगीतलाई बचाउनेभन्दा पनि व्यापार गर्न आएकाहरूको झुन्ड ठूलो छ । जसलाई पैसा कमाउनु छ ।
कलाकार बाँच्ने कि कलाकारिता बचाउने भन्ने पनि प्रश्न छ । पहिला त आफू बाँच्नुपर्यो । आफू बाँच्न खोज्दा अलिकति रङ घोल्न खोज्दा त्यो अलि फिका देखियो । त्यसो गर्दा त्यो वास्तविक हुँदैन । माटोको सुवास आउँदैन । जनजीवन देखिँदैन ।
पछिल्लो समय अलिकति लोक, अलिकति पप, अलिकति आधुनिक मिसाएर चलचित्रका गीत बनाउने गरिएको छ । तिनै गीत धेरैले रुचाएको देखिन्छ । यसलाई तपाईंले कसरी लिनुभएको छ ?
आम कला अनुरागीहरूले प्रतिष्ठानबाट धेरै अपेक्षा गरेको देखिन्छ । तर प्रतिष्ठान जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सामान्य संस्था मात्रै हो । हाम्रो उद्देश्य पहिला हामी संगठित हौं, लोकगीतको क्षेत्रमा काम गरौं र यसलाई बचाइराखौं तथा सकेको अवस्थामा लोकगीत–संगीतको क्षेत्रमा रहेका कलाकारलाई सहयोग गरौं भन्ने हो । लोकगीतका नाममा अनावश्यक अनेक प्रयोग भइरहेको देख्दा मन पोल्छ । तर पनि हामी केही गर्न सक्दैनौं । कारण हामीलाई नियमनकारी अधिकार छैन । सेन्सरको अधिकार छैन । गलत गर्नेलाई सामान्य कारबाही पनि हामी गर्न सक्दैनौं । तर नैतिक रूपमा हामीले लोकगीतका नाममा विकृति तथा विसंगति देखिएको खण्डमा सच्याउन अनुरोध गर्छौं । संस्कृति र संस्कार नछोड्न अनुरोध गर्छौं ।
पछिल्लो समय गीत–संगीत व्यापारिक भयो । अरू गीतमा होस् ठीकै छ । तर हाम्रो पहिचान लोकगीत सोरठी, हाकपारे, मारुनी, सालैजो तथा लोकगीतचाहिँ जस्ताको तस्तै राखौं भन्ने हाम्रो उद्देश्य हो । तर हामी न्यायिक निकाय नभएकाले कारबाही गर्न सक्दैनौं । अनुरोध गर्ने मात्रै हो, अनुरोध गर्दा नमाने सरकारी निकायमा यसले संस्कृति बिगार्दै छ, सामाजिक सद्भाव खल्बल्याउँदै छ भनेर ध्यानाकर्षणबाहेक केही गर्न सक्दैनौं ।
तिजका नाममा सारी लगाएर रत्यौलीजस्तो गीत प्रस्तुत गर्दा, नानाभाँती गीत आउँदा हाम्रो मुटु पोल्छ, फोन गर्छौं, लौन भएन भन्छौं । कतिलाई सम्पादन गर्न भनेका छौं, कतिलाई फेरि यसो नगर्न अनुरोध गरेका छौं ।
लोकगीतलाई प्रयोग गर्ने झुन्ड प्रतिष्ठानमा आबद्ध पनि होला नि ?
सदस्यता लिनुहुन्छ । तर नियतै खराब भएपछि त के लाग्यो र ? ठुल्ठुला व्यवसायी तथा उद्योगले मुनाफाको केही प्रतिशत सेवामा लगाउने भन्ने हुन्छ । यसरी लगानी गर्नेले १० वटा व्यावसायिक गीतमा लगानी गरे पनि एउटा ठेट गीतमा लगानी गरे हुन्छ नि । तर गर्नुहुन्न ।
उहाँहरूले पनि कलाकारलाई प्रयोग नै गर्नुहुन्छ । को नाङ्गो हुन्छ, को उच्छृङ्खल हुन्छ, को दुईअर्थी शब्द प्रयोग गर्छ उसैलाई लगानी गरेको देखिन्छ । नियतवश नै यो क्षेत्रलाई धमिल्याउने उद्देश्य बोकेर प्रवेश गर्नुभएको छ भने, कलाकारभन्दा पनि म व्यापारी भन्छु उहाँहरूलाई । जोसँग पैसा छ उसैसँग गीत–संगीत छ । तर एउटा राम्रो गीत गर्ने कलाकार भोकले मर्नुपर्ने अवस्था छ ।
दोहोरी साँझ बन्द छन् । रेकर्डिङ स्टुडियो हुनेहरू पैसा भएका छन् । उनीहरू कलाकारको मजबुरीलाई प्रयोग गरेर व्यापारिक गीतमा लगानी गरिरहेका छन् । व्यापारीले गीतकार र निर्देशकलाई आफ्नो वशमा लिएर यस्तो गर भन्ने चलन हावी छ ।
लोकगीतभित्र व्यापार खोज्न सम्भव छैन ?
लोकगीत व्यावसायिक हुन्छ । नभए त कसरी बाँच्ने ? न राज्यले पेन्सन दिन्छ न कुनै सुविधा दिन्छ । तर व्यापार गरिहालौं, पैसा कमाइहालौं अनि अर्को सामान बनाइहालौं भन्नेको संख्या धेरै भयो । त्यस्ता कृति पनि हुन्छन्, जो लामो समयसम्म बाँचिरहन्छन् र त्यसले कलाकारलाई मृत्युपर्यन्त पनि बचाइरहन्छ । मौलिक गीत पनि राम्रो बनायो भने त्यसले स्वतः स्रोता तथा दर्शकको ध्यान खिच्छ ।
तर जसले लोककलामा ढङ्ग पुर्याउन सक्दैन उसले चर्तिकला गर्छ । लोकगीत भनेर गाइसकेपछि त्यसमा लोकजीवन, लोक भोगाइ र माटोको सुवास आउनुपर्छ । हाम्रा सुसेली र झङ्कारहरू आउनुपर्छ । गीत सुन्दा नेपालीले गौरव गर्न सक्नुपर्छ । विदेशी बाजा बजाएर र देखाएर, तिज गीतमा साडी लगाएर अनेक तिकडम गरेर नेपाली लोकगीत हुँदैन त्यो गाईजात्रा हुन्छ ।
आजकाल गीत सुन्नेभन्दा पनि हेर्ने भएको छ । कलाकार गीतभन्दा पनि भिडियोमा केन्द्रित भएका छन्, यसले गीतलाई कालान्तरमा कस्तो असर गर्ला ?
विश्वका जति पनि देशले गीत–संगीतमा उल्लेख्य सफलता हासिल गरेका छन्, ती देशले आफ्नो आमा गीत–संगीतलाई बिर्सिएका छैनन् । हाम्रो सन्दर्भमा लोक–गीतलाई आदर्श मानेर अगाडि बढ्नुपर्छ । प्रविधिअनुसार अगाडि बढ्दा हामीले धेरै आधुनिक माध्यमको प्रयोग गर्नुपर्ला, धेरै किसिमले प्रस्तुत् हुनुपर्ला । आफूलाई हिरोइजमका रूपमा प्रयोग गर्नुपर्ला तर सारङ्गी र बाँसुरीको धुन, मादलुको ताल, टुङ्गा र मुर्चुङ्गाका स्वरहरू हाम्रो पहिचान हो ।
तर हाम्रो पहिचान नै मेटेर के पैसा कमाउनु ? पैसा त अन्य व्यवसायबाट पनि कमाउन सकिन्छ । पैसा नराम्रो काम गर्नेले पनि कमाउँछ । पैसा मात्रै कमाउने कि आफ्नो नाम र संस्कृति पनि बचाउने तथा देशका लागि पनि केही गर्ने । सबैले हेर्छन् भनेर नाङ्गिनु त भएन नि । एउटा राष्ट्रिय कलाकार अन्तर्वार्तामा जाँदा लोकगीतबारे सामान्य जानकारी पनि राख्दैन भने आफ्नो कर्मप्रतिको इमानदारी कहाँ देखिन्छ । त्यसैले कोही आफू लोकगीत–संगीतमा आबद्ध कलाकार हुँ भन्छ भने उसले आफ्नो देशको लोकसंस्कृति बचाएर हिँड्न पनि सक्नुपर्छ ।
विद्यालय स्तरमा हाम्रो लोककला–साहित्यबारे अझै पनि पढाइँदैन । हामी यस्तो गम्भीर विषयमा किन चुक्यौं ?
विद्यार्थीले सुरुदेखि आफ्नो कला संस्कृतिका विषयमा जान्न पायो भने त्यसको असर दीर्घकालीन रूपमा पर्छ । तर यहाँ त एकेडेमीले नै आफ्नो सालो, भिनाजु र छोरोलाई कलाकार भनेर सर्टिफिकेट दिन्छ । लोकगीत गाउँछ कि गाउँदैन भन्ने पनि थाहा छैन, हास्यास्पद अवस्था छ ।
अनावश्यक सेन्सर नहुनेगरी संगीत विकास बोर्ड गठन गरिदिनुस् भनेर हामीले भनेको वर्षौं भइसक्यो तर राज्यले सुनेको छैन । एकद्वार प्रणालीबाट गीत आऊन् । पैसाका भरमा कलाकार हुने वातावरणको अन्त्य होस् । विद्यालयदेखि बच्चाहरूले नेपाली मौलिक गीत–संगीतबारे पढुन् भनेर राज्यलाई ताकेता गर्दा पनि सुन्दैन । हाम्रो पहिचान र विरासत बचाउँभन्दा सरकार कहिल्यै गम्भीर हुँदैन ।
लोक संस्कृतिको संरक्षण र सम्वर्द्धनमा राज्य किन उदासीन छ ?
विभिन्न एकडेमी गठन भएका छन् । तर त्यहाँ अफिस भनेर कलाकार आउने बस्नेबाहेक केही काम छैन । निजी तवरबाट हामीले दाताहरूसँग मागेर काम गरिरहेका छौं । तर मागेर सीमित स्रोत र साधनमा काम गर्दा भनेजस्तो नहुँदो रहेछ । एकेडेमीहरू जागिर खाने ठाउँ मात्रै भए । बजारमा सुन्नै नसक्ने गीतहरू आएका छन् । तर यहाँ न संस्कृति मन्त्रालय बोल्छ न एकेडेमी नै ।
संस्कृतिका नाममा मान्छे नाङ्गै नाचिरहेको छ । तर सरोकारवाला सरकारी निकायलाई थाहै छैन । कलाकारिताका नाममा गाईजात्रा भइरहेको छ, तर सरकार मौन छ । हाम्र्रै संस्कृति धुमिल भइरहेको छ, हाम्रै संस्कृति विनाश भइरहेको छ । हाम्रै समाजमा गतिछाडा काम भइरहेको छ, तर सरकार नजरअन्दाज गरेर बसिरहेको छ । हामीलाई बोलाएर लौ न यस्तो भयो के गर्ने भनेर भन्नुपर्नेमा हामी आफैैंले राम्रो कामका लागि केही त गरौं, गीत–संगीतका नाममा बदनाम गर्ने काम भयोभन्दा पनि सरकार चुप लागेर बसिरहेको छ ।