site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पूजाको अपमान : लिखित रूपमा माफी मगाउने तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नायिका पूजा शर्माले पत्रकारबाट आफू अपमानित भएको महसुस गर्दै चलचित्र कलाकार संघ तथा अन्य सरोकारवाला संघ-संस्थामा उजुरी दिएकी छिन् । 

एपीवान टेलिभिजनको कार्यक्रम रजतपटका प्रस्तोता प्रकाश सुवेदीले आफूलाई अपमानित हुनेगरी कार्यक्रम तयार पारेर प्रस्तुत गरेको भन्दै उनले उजुरी दिएकी हुन् । यसअघि नायक भुवन केसी पनि आफू नायिका साम्राज्ञी आरएल शाहबाट आफ्नो मानहानि भएको भन्दै कलाकार संघमा पुगेका थिए । 

सामाजिक सञ्जालमार्फत नायिका शाहले आफ्नो मानहानि गरेको भन्दै भुवन संघमा पुगेका थिए । संघले दुवै पक्षलाई बोलाएर विवाद मिलाउने प्रयास गरे पनि असफल भएपछि अन्ततः भुवन अदालतको साहारा लिन पुगेका छन् । काठमाडौं जिल्ला अदालतमा १० करोड क्षतिपूर्ति मागदाबी गर्दै भुवनले साम्राज्ञीविरुद्ध मुद्दा दायर गरेका छन् । अदालतले कसका पक्षमा फैसला सुनाउँछ त्यो हेर्न बाँकी नै छ । तर अघिल्लो विवाद टुंगो नलाग्दै चलचित्र क्षेत्र अर्को विवादमा तानिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

नायिका पूजाको शारीरिक स्वरुप तथा बौद्धिकतामाथि टिप्पणी गर्दै पत्रकार प्रकाशले भनेका थिए, ‘आफैं नजान्‍ने अनि हामीले चाहिँ लिएको इन्टरभ्यु काटिदिनुपर्ने ? मिलाई-मिलाई महानायिका बनाइदिनुपर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई ?’

पत्रकार प्रकाशको यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पूजा न्याय खोज्दै संघमा पुगेकी हुन् । कलाकार संघसँगै चलचित्र निर्माता संघ र एपीवान टेलिभिजनमा पनि उजुरी दिएकी छिन् ।
 
आफैंले प्राइम टेलिभिजनमा हुँदा लिएको अन्तर्वार्तामा पूजाले सामान्य ज्ञान नजानेपछि उक्त क्लिप्स हटाइदिन गरेको आग्रहलाई लक्षित गर्दै प्रकाशले उनको बौद्धिकतामाथि प्रश्न  उठाउँदै शारीरिक पक्ष पनि जोडेका थिए । सामान्य ज्ञान नजानेको पूजाको अन्तर्वार्ताको क्लिप्स ट्रोल बनेको थियो । सोही ट्रोलकै कारण तनावमा रहेकै बेला पुनः अन्तर्वार्तामा प्रकाशले बोलाउँदा नगएको झोकमा प्रकाशले आफ्नो अपमान गरेको पूजाले बताएकी छिन् ।

Global Ime bank

प्रकाशले आइतबार साँझ आफूले प्रयोग गरेका शब्द ‘दाह्रे’ बोल्ने क्रममा चिप्लिएको भन्दै माफी मागेका छन् । तर माफी माग्दा पनि धम्कीकै भाषा प्रयोग गरेको भन्दै पूजाले आपत्ति जनाएकी छिन् ।

“सम्बन्धित कार्यक्रम प्रस्तोताले क्षमा मागेको भिडियो पनि आयो । त्यो सुनेर हामी झन् आश्चर्यमा पर्यौं । त्यस्तो गम्भीर विषयमा उहाँले दारे शब्द चिप्लिएर प्रयोग गरिएकामा माफी पाऊँ भन्नुभयो । जबकी दारे महानायिका शब्द चिप्लिएको होइन । दुई दिनकि चाँदनी फिर अन्धेरी रात, तिमीहरूको के हैसियत छ ? भोलि हात जोडेर अन्तर्वार्ता दिन आउनुपर्ने दिन आउँछ । मैले एक से एक अभिनेत्रीको अन्तर्वार्ता लिएको छु । तँ आउँदिन भन्‍ने तेरो के हैसियत के छ ? यो आशय स्पष्ट झल्किने त्यति लामो शब्दावली कसरी चिप्लिएको हुन सक्छ ?,” पूजा सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “एउटा शब्द दारे महानायिका मात्रै भए लौ चिप्लियो होला भनेर मान्न सकियो । तर उहाँले अन्तर्वार्तामा नआएको रिस त्यति लामो शब्दमा आक्रोशसहित पोख्नुभएको छ । राष्ट्रिय टेलिभिजन च्यानलमा बोलेको त्यस्तो विषयमा पनि यस्तो हलुका टिप्पणीसहित मागिएको माफीले हामीलाई अचम्मित तुल्यायो ।”

अर्काको अपमान गर्ने जस्तो गम्भीर विषयलाई कार्यक्रम प्रस्तोताले घमन्ड र दम्भसहित राष्ट्रिय टेलिभिजनमा प्रस्तुत गर्नु सम्पूर्ण कलाकारको अपमान भएको पूजाले बताइन् । 

यस्ता घटना पुनः दोहोरिन सक्ने भन्दै आफूले न्यायका लागि चलचित्रसँग सम्बन्धित सरोकारवाला संघ-संस्था गुहारेको र आगामी दिनमा यस्ता गल्ती पुनः नदोहोरिने गरी नजिर बस्नेमा ढुक्क रहेको बताएकी छिन् । 

न्यायको ढोका ढक्ढक्याउन सक्छौं
पटकपटक यस्ता घटना भइरहेकाले आउँदा दिनमा पुनः यस्ता घटना हुन नदिन चलचित्र कलाकार संघले यही घटनालाई नजिर बनाएर अघि बढ्ने प्रयास गरिरहेको बताएको छ । 

पत्रकार प्रकाशलाई लिखित रुपमा माफी माग्दै आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउने प्रतिबद्धता जनाउन लगाउने योजनामा संघ रहेको चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का बताउँछन् । 

“उहाँले आफूबाट गल्ती भएको स्वीकार गरिसक्नुभएको छ । तर पनि पीडितबाट लिखित उजुरी परेकाले तपाईंको पनि लिखित प्रतिबद्धता आउनुपर्छ भनेका छौं । त्यसका लागि आज हामीले बोलाएका छौं,” अध्यक्ष रवीन्द्र भन्छन्, “यदि उहाँबाट लिखित प्रतिबद्धता आएन भने न्यायको ढोका ढक्ढक्याउने अवस्था पनि आउन सक्छ ।”

उनले पटकपटक विवाद सिर्जना गर्ने र कलाकारलाई दशकौंदेखि होच्याउने तथा हियाउने काम गर्दै आएको भन्दै रवीन्द्र लिखित प्रतिबद्धता आउनुपर्नेमा जोड दिन्छन् । “प्राय:जसो हुने विवादमा कतै कसैलाई उचाल्ने तथा गिराउने जस्ता काममा प्रकाशजीको हात रहँदै आएको छ । अरु कलाकारले सहेर बस्नु भयो,” रवीन्द्र भन्छन्, “तर पूजाजीले सहनु भएन प्रतिवाद गर्नुभयो, वास्तवमा उहाँलाई सबै कलाकारले स्यालुट गर्नुपर्छ ।”

संघ न्यायिक निकाय नभएको तर पत्रकार प्रकाश अब पनि नसच्चिए कलाकारहरूले उनका कार्यक्रम बहिष्कार गर्नसक्ने रवीन्द्रले चेतावनी दिए । यद्यपि यसका लागि सार्वजनिक आह्‍वान नगरिने पनि उनले स्पष्ट पारे । 

टेलिभिजनमा कार्यक्रम सेन्सरसमेत रहे/नरहेको भन्नेबारे यो घटनाले जिज्ञासा उत्पन्न गराएको भन्दै उनले सम्बन्धित टेलिभिजनको ध्यानाकर्षण गराउने बताए । टेलिभिजनले प्रस्तोतालाई सामान्य सेन्सर नलगाउने हो भने प्रस्तोताले आफूलाई मन नपरेको व्यक्तिलाई विभिन्न आरोप लगाउनेतर्फ टेलिभिजन सचेत हुनुपर्नेमा संघको जोड छ । 

पूजालाई कलाकारको साथ
अन्तर्वार्ता दिन नजाँदा पत्रकारले आफूलाई लक्षित गर्दै आपत्तिजनक प्रस्तुतिको विरोधमा बोलेकी पूजालाई अन्य नायिकहरूसँगै थुप्रैले साथ दिएका छन् । 

नायिका केकी अधिकारी, ऋचा शर्मा, निर्माता अर्जुनकुमार, निर्मल शर्मा, कलाकार दीपकराज गिरी, मनोज गजुरेललगायत पूजाको पक्षमा उभिएका छन् । 

केकी अधिकारीले प्रकाशले महिला कलाकारको शारीरिक बनावटमाथि छुद्र टिप्पणी गरेको भनेकी छन् । “कार्यक्रममा प्रयोग भएको भाषा, प्रस्तुत गर्नु भएको उदाहरण (दो दिन कि चाँदनी) र देखाउनु भएको तुजुकले वास्तवमा उहाँकै चरित्र र मानसिकतालाई उदांगो पारिदिएको छ । ढुक्क हुनुहोस्, हामी यस्ता प्रवृति र यस्ता मानसिकताको सदैव विरोध र बहिष्कार नै गर्नेछौँ,” उनले भनेकी छन् ।

नायिका ऋचा शर्माले आफ्नो अपमान गर्दासमेत सहेर बस्ने परिपाटीले यस्ता छुद्र टिप्पणी झनै मौलाएको बताएकी छिन् । “तँ दारे छस्, तँ काली छस्, भ्यात्त परेकी छस्, यस्ता शब्द तपाईंलाई राष्ट्रिय टेलिभिजनमा एउटा कार्यक्रम प्रस्तोताले भनेको सुन्दा कस्तो लाग्ला ? एउटा अभिनेत्री र त्योभन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनु पर्ने, समाजमा अटाउन कस्तो देखिनुपर्ने, कस्तो लगाउनुपर्ने, कसरी हिँड्नु, बोल्नु, खानुपर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाईंदिएको देख्दा, आक्रोश, हीनता र अस्थिरताले सताउँछ । मेरो शरीरको बनावट उनीहरूले चाहेझै बनाऊँ, म आर्टिफिसियल, देखावटी हुन्छु, नबनाउँ त म मोटी, दारा भएको, काली, भ्यात्त परेकी हुन्छु,” ऋचा फेसबुकमा लेख्छिन्, “जबजब मान्छेले आफूलाई संरक्षक कहलाई अहंकार र अभिमानको बाटो रोजेका छन, ठूलाठूला मै हुँ भन्नेले पनि गद्दी छोड्नुपरेको छ । मलाई म र तपाईंलाई तपाईं बन्न नदिनेलाई अब चुप लगाउनुहोस् । कसैले हिन्दीमा तपाईंलाई उखान सुनाएमा, अंग्रेजीमा, I am unapologetically owning myself, can you kindly shut up? भनिदिनुहोस् ।”

उनले आफूहरू आफ्नै परिश्रम र क्षमताले कलाकार भएको भन्दै कसैले महानायिका बनाइदिनु नपर्ने बताएकी छिन् । आफूलाई अग्रज ठान्नेहरूकै सोच दरिद्र भएको भन्दै उनले आफूले आफैलाई सबल बनाउनु पर्नेमा जोड दिएकी छिन् । 

“म र मेरा अग्रज दिदीहरू र नयाँ बहिनीहरूलाई भन्न चाहन्छु कि चाहे जो सुकैले तपाईंलाई चार दिनको चन्द्रमा र त्यसपछि औंसी भन्छन्, तिनलाई हाँसेरै भन्दिनुस् कि दोष तिनको दृष्टिकोणमा छ, सिकाइदिनुस् कि औंसीमा चन्द्रमा गायब हुने होइन, फरक प्रकाश कहाँ पर्छ भन्नेमा हुन्छ । सुनाइदिनुस्, चन्द्रमा आफ्नो दागबीच नै सुन्दर छ ।”

कलाकार दीपकराज गिरीले अन्तर्वार्ता दिन नै डरमान्नु पर्ने अवस्था आएको बताएका छन् । उनले कमजोरी केलाएर त्यसलाई बाहिर ल्याउनेभन्दा पनि सकारात्मक पक्षलाई बढावा दिन माग गरेका छन् । 

हास्य कलाकार मनोज गजुरेलले पत्रकार प्रकाशले पत्रकारिताको मूल्य र मान्यता बिर्सिएको बताएका छन् । उनले पत्रकारितामा अरुलाई होच्याएर र हियाएर बोल्न नपाइने स्मरण गरेका छन् । “आरआर क्याम्पसमा हामीलाई मास कम्युनिकेसन पढाउनु हुने अग्रज गुरु लालदेउसा राईको भनाइ आज झल्झल्ती याद आइरहेको छ । समाचार सुन्नेले मात्र होइन भन्नेले पनि सयपटक सोचेर बोल्नुपर्छ,” मनोज भन्छन्, “कसैका नि:तान्त निजी मामिलालाई गिजोलेर न्युज बनाउनु सञ्चारकर्म होइन । शारीरिक प्रसङ्‍ग बटुलेर भ्युज बढाउनु पत्रकारिता मानिँदैन । कमजोर, रोगी, महिला, केटाकेटीलाई हेपेर, हियाएर समाचार बनाउनु भनेको पत्रकारिताको भ्रष्टीकरण हो ।” 

कलाकार तथा निर्माता निर्मल शर्माले प्रकाश सुवेदीको अभिव्यक्तिलाई गाईजात्रे टिप्पणीको संज्ञा दिएका छन् । उनले भनेका छन्, “नारी-पुरुष दुवैको कुनै पनि शारीरिक बनावट र रुप रङमाथि गरिने गाईजात्रे टिप्पणीको घोर भर्त्सना गर्दछु ।”

निर्माता अर्जुन कुमारले चलचित्रसम्बन्धी कार्यक्रम चलाएर सोही क्षेत्रमाथि धावा बोलेको टिप्पणी गरेका छन् । सधैं विवादित कुरा गरेर मात्रै कार्यक्रम हिट बनाउने हो भन्दै उनले सम्बोधनमा सामान्य मर्यादासमेत कायम नगरेकोमा आपत्ति जनाएका छन् । संयमित भएर कार्यक्रम चलाउन सुझाव दिएका अर्जुन कुमारले कसैलाई दाह्रा किटेर गाली गर्ने र कसैलाई चाकडी गर्दै पदवी दिने काम पत्रकारको नभएको बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC