site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 गोलचक्करका चक्करधारी कमरेडहरु

कुनै एउटा हिन्दी चलचित्रमा एकजना पात्र थिए ‘चक्करधारी’ । उनी खास केही काम गर्दैनथे । बिहान उठेपछि ओल्लोपल्लो घरमा चक्कर लगाउँथे अनि दोकानमा गएर चिया खाने र घर फर्कने । भोलिपल्ट पनि उनको दिनचर्या त्यसरी नै बित्थ्यो । उनले आफ्नो जीवनको ऊर्जा त्यसरी नै खेर फालेका थिए । घरमा खानलाउन ठीकै थियो । बाबुबाजेले आर्जन गरेर छोडिदिएको सम्पत्तिले नै उनको र परिवारको गुजारा त चलेको थियो तर त्यही धान्न पनि उनलाई धौ धौ परेको थियो । किनभने उनको काम त ओल्लो र पल्लो घर चक्कर लगाउने मात्र हुन्थ्यो । उनलाई गाउँलेले चक्करधारी भनेर बोलाउँथे । 

रुसी उपन्यासकार निकोलाई आस्त्रोभस्कीले ‘पाभेल’ उपन्यासमा भनेजस्तो जीवनको उत्तरार्धमा मानिसले आफ्नो मूल्याङ्कन आफैँले गर्छ र मेरो जीवन सार्थक वा व्यर्थ भयो भनेर आकलन गर्छ । ती चक्करधारीलाई पनि अन्त्यमा कुनै दिन त्यस्तो चेतना आएछ र भन्दै हिँडेछन् – मैले मेरो जीवन बेकारमा यताउति चक्कर लगाएरमात्र बिताएँ । उनका छिमेकीले जबाफ दिएछन् – बगेको खोलो फर्कँदैन गएको जीवन बित्यो, पर्खँदैन । 

अहिले नेपालमा कमरेडहरु ओली, प्रचण्ड, नेपाल, झलनाथ, वामदेव र कहिलेकाहीँ राष्टपतिलाई समेत लिएर आफ्नो गोलचक्करमा घुमिरहेका छन् । उनीहरुको घुमाइ क्रमशः ए, बी, सी, डी, ई र एफ गरी गणितीय चक्र क्रममा चलेको हुन्छ । कहिले बी, सी, डी, ई मिल्छन् र ए लाई एक्ल्याउँछन् त कहिले ए र बी मिलेर ए+बी हुन्छन् र राष्ट्रपति एफ् लाई गुहार्न पुग्दछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कहिलेकाहीँ बी, सी, डी र ई मिल्छन् र ए लाई एक्ल्याउँछन् । फेरि कहिले ए र बी मिले भने सी, डी र एफमा छटपटी सुरु हुन्छ । कमरेडहरुको दिनचर्या उनै चक्करधारीको जस्तो चलेको हुन्छ । जसरी चक्करधारीलाई पुर्खाले आर्जेर बिरासतमा छाडेर गएको चिज ततेर्न धौ धौ थियो त्यसैगरी यी चक्करधारीले लौ गरिखाऊ भनेर दिएको दुई तिहाई पनि ततेर्न नसकेर ‘थाल खाऊँ कि भात खाऊँ’ भइरहेका छन् । चक्करधारी कमरेडहरूले देशकोे समस्या समाधानमा भन्दा चक्कर लगाउन नै सहज मान्छन् । संवैधानिक निकायहरुमा धेरै पद खाली छन् । विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ति नभएर केही काम गर्न नपाएर ‘‘लौन हे महादेउ ! बाटो खुलाइदेऊ’ भन्दैछन् । 

कोरोनाको कारणले विदेशमा अलपत्र परेर रहेका नेपाली काकाकुलले पानी खान नपाएर आँ आँ गरेजस्तो गरेर कहिले जहाज आउला भनेर आकाशतिर हेरिरहेका छन् । सत्ययुगमा देवता होस् वा दानव जसले स्तुति गरे पनि महादेवले स्तुतिकर्ताको कष्ट देख्न नसकेर तुरुन्त उपस्थित भएर ल वर माग भनेर मागेको वर दिएर उसको उद्धार गर्थे रे । अहिले चक्करधारीहरु सत्ययुगका महादेवभन्दा पनि अझै ठूला देखिन थालेका छन् । नेपाल संस्कृत, पोखरा र कृषि तथा वनविज्ञान विश्वविद्यालयहरु ‘हर हर महादेउ ! हामलाई भीसी देऊ’ भनेर स्तुति गरिरहेका छन् । उता संवैधानिक आयोगहरुको हालत पनि त्यही नै छ । चक्करधारीहरु भने गोलचक्करमा घुमेर को चाँडो लिगलिग कोटमा पुगेर आनन्द लिन पाइन्छ भनेर देश र जनताको चिन्ताभन्दा पनि एउटालाई छिर्के हानेर कसरी अगाडि पुगिन्छ भनेर दाउ हेरिरहेका छन् । 

Global Ime bank

शिवपुराणमा उल्लेखित कथाअनुसार भूलोकमा शकुनी नामका राजा थिए । उनको बृषासुर नामको आसुरी प्रवृत्तिको छोरो थियो । उक्त छोरोे बाबुसँंग झगडा गरेर वितण्डा मच्चाएर घरबाट निस्कियो । बाटामा उसको नारद मुनिसंँग भेट भयो । नारदको सल्लाहअनुसार कठोर रुपमा शिवकोे आराधना गर्‍यो । त्यसपछि शिवबाट ‘जसलाई छोयो उही भस्म हुने’ वरदान पायो । उसको नाम भस्मासुर रहन गयो । भस्मासुरले घरमा आएर उसको बाबुलगायत धेरै रिस उठेकालाई भस्म गर्‍यो । त्यसपछि ऊ कैलाशमा गएर पार्वतीप्रति कुदृष्टि राख्दै आक्रमण गर्न थाल्यो । महादेवले पार्वतीलाई ‘यसले मेरै वरदानस्वरुप यस्तो शक्ति पाएको हो त्यसैले मैले केही गर्न मिल्दैन तिमी यहाँबाट भाग’ भनेपछि पार्वती अदृश्य भइन् । त्यसपछि भस्मासुरले महादेवलाई नै भस्म गर्न थाल्यो । महादेव त्यहाँबाट भागे । यो घटनाले स्वर्गमा हाहाकार मच्चियो । भस्मासुरले महादेवलाई लखेट्न थाल्यो । यो कुरा वैकुण्ठमा विष्णुलाई थाहा भयो र विष्णुले सुन्दरी मोहिनीको रुपधारण गरेर भस्मासुरलाई जालमा पारी मारे । 

नेपालमा पनि ६९ जना कार्यकर्तालाई लिएर आन्दोलन सुरु गरेका वृषासुरले जनताको वरदान पाएर आफूलाई भस्मासुरमा रुपान्तरण गरी १७ हजार निर्दोष नेपाली जनताको भस्म गरे । उनीहरुले काङ्ग्रेस पार्टीलाई पनि भस्म गरिसके अब नेकपा पनि त्यही  अवस्थामा पुग्न लागेको छ । अहिले प्रतिपक्षीहरु निरीह अवस्थामा छन् । उनीहरुले न त सदन न त सडक कतै पनि प्रभावकारी उपस्थिति देखाउन सकेका छैनन् । सामाजिक सञ्जालमा प्रसारण हुने ‘डुब्तेका तिनके सहारा’ जस्तो मानेर उपस्थिति देखाइरहेका छन् । 

कमरेडहरुलाई चक्करधारी जस्तै गोल चक्करमा फेरो लगाउँदै दिन बित्छ र बेलुका फर्कँदा हात लाग्यो शून्य हुन्छ । एउटाले अर्कालाई दोष दिन्छन् । दुईचार जना पालैपालो गर्दै बालुवाटार, प्रचण्डनिवास, कहिले झलनाथ र वामदेवको घरमा बैठक गर्छन् । उनीहरुको बैठक प्रायः गोल चक्कर वा चक्रक्रममा हुन्छ । बैठक सकिन्छ । बैठक सौहार्दपूर्ण भयो र भोलि फेरि बस्ने निर्णय भयो भन्ने जवाफ प्रत्रकारले पाउँछन् । संस्थागत संरचना स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय समिति टुलुटुलु हेरेर बसिरहेका हुन्छन् । ती सबै ५÷६ जना चक्करधारीको निगाहमा बसेका हुन्छन् ।

धेरै नेपालीले पटकपटकको सरकार परिवर्तन र राजनीतिक अस्थिरताले आजित भएर स्थिर र बहुमतको सरकारको अपेक्षा गरेका थिए । तर के देखियो भने जुनसुकै पार्टी आए पनि पात्र र प्रवृत्ति उस्तै देखियो । अनि नेपालमा संस्कार र नेतृत्वको आचरणमा कत्ति पनि परिवर्तन देखिएन । अनि कतै दुई तिहाइले स्थिरता दिन्छ कि त भनेर एमाले र माओवादीले पहिला कार्यगत एकता अनि त्यसबाट हौसिएर पार्टी नै एकीकरण गरे । तर, त्यो एकीकरण बालुवामा पानी घोलेजस्तो देखियो । अन्तरपार्टी घुलन कत्ति पनि देखिएन । एमाले र माओवादीका तलदेखि माथिसम्मका कार्यकर्तामा नयाँ पार्टीप्रति कत्ति पनि अपनत्व भएन । केवल पद पाउनेले मात्र एकीकरणलाई स्वीकारे भने नपाउनेले पदको बार्गेनिङको लागिमात्र गुटबन्दी र नेताको आलोचना गर्न लागे । सामान्य कार्यकर्तालाई पद चाहिने, अनि सांसद, मन्त्री र प्रधानमन्त्रीका लागि मोलतोल र आलोपालो खोजे । आलोपालोलाई पनि पदमा बसेकाले छोड्न चाहेनन् र नपाएकाले पदका लागि ङ्यार ङ्यार गरिरहे जसरी माउ ब्वाँसाले सिकार खाँदा अरु बाहिर बसेर ढुकेर ङ्यार ङ्यार गरिरहेका हुन्छन् । 

यतिबेला कोरोनका कारणले देश आक्रान्त छ । जताततै बाढी र पहिराको प्रकोप  छ । देशका आर्थिक क्रियाकलाप ठप्प छन् । धन्न पशुपतिको कृपाले नेपालमा धेरै मान्छे मरेका छैनन् । बिरामी परेकाले पनि प्रतिरोध गर्न सफल भएका छन् । यस्तो बेलामा पनि चक्करधारी कमरेडहरु गोलचक्करमा कताबाट कसलाई उछिन्न सकिन्छ भनेर घुमिरहेका छन् । राष्ट्रपति पनि त्यो सम्मानित संस्थालाई छोडेर फेरि गोलचक्करमा नै आएर मिसिएकी छन् । उनलाई पनि फेरि सक्रिय बन्न मन लाग्यो वा कसैले उनका आड्ले आफूलाई सुरक्षित ठान्यो । कहिले चक्करधारी कमरेडहरु त्यो ठूलो कि म ठूलो भनेर मर्यादामा झगडा गर्छन् । कोही मन्त्री पद नपाउन्जेल बाहिर बसेर कराउँछन् अनि पद पाएपछि लुसुक्क ‘आटामा मरेको मुसो’ जस्ता हुन्छन् । यसले पूर्व एमाले वा माओवादी जे भए पनि नाममात्रका कम्युनिस्ट देखिएका छन् । आचरणमा ठ्याक्कै दक्षिणपन्थी ।

कोरोनाको महामारीले अहिले विश्व पुनःसंरचनामा प्रवेश गर्न लागिसक्यो । हिजोका राजनीतिक, आर्थिक, सामाजिक र धार्मिक सबैे पक्षका जग खलबलिएका छन् । फेरि अर्को जग बसाल्नुपर्ने देखिएको छ । अहिले बालुवाटारदेखि शीतलनिवास गोलचक्करमा घुमिरहेका चक्करधारी कमरेडहरुले के कुरा ख्याल गर्नृुपर्छ भने हामी र हाम्रो पदभन्दा देशको समस्यालाई प्राथमिकतामा राखेमात्र आउने चुनावमा निर्धक्कसँंग लाज नमानी जनताकहाँ मुख देखाउन सकिन्छ । अहिले पद पाएमा फेसबुकमा बधाई र हाईहाई त होला तर यस्तो अवसर गुमाउने कमरेडहरुलाई आउने पिँढीले सराप्नेछन् । यतिखेर ‘इनफ इज इनफ’को नाममा केही युवा सडकमा आएका छन् ।

अहिले प्रतिपक्ष कमजोर र आफ्नै धोती ततेर्न नसकेको अवस्थामा रहेकाले उसको केही टन्टो छैन तर आफूले आफूलाई मूल्याङ्कन गरेर हिँडेमा आफ्नै कल्याण हुनेछ । जसले जे गरे पनि देशको विकास र समृद्धिलाई प्राथमिकतामा राख र एकै ठाउँमा उभिएर एक आपसमा अङ्कमाल गर । तर, गोलचक्करमा चक्कर लगाएर रडाको मच्चाउने काम छोडेर देशका समस्यातिर ध्यान देऊ ।

अनि तिमीहरुको छलफल र राजनीतिक एजेन्डाको विषयवस्तुमा को प्रधानमन्त्री ? को पार्टी अध्यक्ष ? भन्दापनि सङ्कटग्रस्त देशलाई कसरी मुक्ति दिलाउने अनि विकास र समृद्धिबाट देशलाई समाजवादतिर कसरी लैजाने त्यसतर्फ ध्यान देऊ । हिजो पार्टीको बीउ रोप्ने पुष्पलाल, बहुदलीय जनवादका प्रणेता मदन भण्डारी, आदर्श नेता मनमोहनको सपना र माक्र्सवादी विचारधाराले पार्टीलाई कसरी अगाडि लैजाने भन्ने कुरामा पनि ख्याल गर ।
उपप्राध्यापक, पृ.ना.क्या, पोखरा
ramsubedi1964@gmail.com
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  ०९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC