पार्टीको चरित्र नचिन्ने कांग्रेसका नेता 

नेपाली कांग्रेस सत्तामा छैन । यसभन्दा पहिले सत्तामा नहुँदा कांग्रेस प्रभावशाली देखिन्थ्यो । जनताको ध्यान आकर्षित गर्थ्यो  । त्यसो त, करिब ६० वर्षसम्म सत्तामा हुँदा वा नहुँदा पनि नेपाली राजनीतिको केन्द्रमा नेपाली कांग्रेस रहेको थियो ।

त्यसमा २००७ को जनक्रान्तिको नेतृत्व गरेको र देशभर संगठन भएको पार्टी भएकाले मात्र कांग्रेस देशको सबैभन्दा ठूलो र प्रभावशाली राजनीतिक दल भएको होइन । कांग्रेसलाई कुनै बेला दुबो पनि त्यसै भनिएको थिएन । सुकेको दुबोको त्यान्द्रो पनि भुइँ भेट्टाउनेबित्तिकै सर्छ ।  

मूलतः यसका संस्थापक नेताहरू र तिनले विकास गरेको राजनीतिक संस्कारबाट कांग्रेस देश र जनताको विश्वास पाउन सकेको थियो । अहिलेका नेताले भने पार्टीको मौलिक चरित्र नै बिर्सेजस्तो देखियो । हुन पनि, कम्युनिस्टहरूको सिको गर्न थालेदेखि नै कांग्रेसको अधोपतन सुरु भएको हो ।

समुद्री बूढो र सिनवाद

अरबी लोक कथाको प्रसिद्ध पात्र सिनवाद समुद्रमा यात्रा गर्न रुचाउने बगदाद जहाजी हो । एकपटक उसको जहाज समुद्री चक्रवातमा परेर ध्वस्त हुन्छ तर ऊ भने बाँच्छ । मूढाहरूको सुपो बनाएर समुद्रको किनारामा रहेको एउटा टापुमा उत्रन्छ ।

त्यो त ‘स्वर्गको बगैचा’ पो रहेछ । सिनवाद आफूले पाएको गोता बिर्सन्छ र स्वादिला फलपूmल खाएर दिन काट्न थाल्छ । यस्तैमा एक दिन उसले जराजीर्ण अवस्थाको थला बसेको एक जना बूढो मान्छे भेट्छ । सिनवादलाई बूढोप्रति दया जाग्छ । अनि बुइमा बोकेर फलफूलको बगैँचातिर लैजान्छ । बगैँचामा पुगेपछि सिनवादले बूढालाई बुइबाट ओराल्न खोज्छ । तर, बूढो मान्दैन । तैपनि सिनवादले फल टिपेर खान दिन्छ । बैगुनी बूढो फलफूल खाएर बोक्रा, बियाँ सिनवादको जिउमा फाल्छ । सिनवाद हिँडिरहेन भने मुड्कीले हान्ने, भुत्ल्याउने गर्छ । राति सुत्न पनि दिँदैन । 

आफ्नै नियतिप्रति निराश सिनवादले एकदिन घुम्दै जाँदा लौकाको तुम्बो देखेछ । उसको बुद्धिले काम गरिहाल्यो । अंगुर निचोरेर तुम्बोमा हालेछ र बिर्को लगाएर रक्सी बनोस् भनेर घाममा सुकाएर छाडेछ । केही दिनपछि सिनवाद त्यही ठाउँमा फर्केर गयो । तुम्बो उचालेर रक्सी खाँदै भनेछ – अहा कति मीठो ! बूढोले लोभियो ।

सिनवादको हातबाट खोसेर बूढाले तनतनी रक्सी खाएछ । रक्सीले बेहोस भएपछि बूढोलाई भुइँमा मिल्काएर सिनवाद समुद्रमा हेलियो । समुद्रमा जहाजीहरूले भेटेर उसको उद्धार गरेछन् ।

अरबी लोक कथाका यी दुई पात्रबाट अहिले नेपाली कांग्रेसका नेताहरूले केही त सिके हुने हो । शेरबहादुर देउवाको नेतृत्वमा जति अधोपतन नेपाली कांग्रेसको कहिल्यै भएको थिएन । तर, अधोपतनको सबै दोष देउवाको मात्र भने हैन । पार्टीलाई संगठनका रूपमा सञ्चालन गर्न असन्तुष्ट भनिएको जमातले पनि कहिल्यै प्रयास गरेन । यसैले अहिले जहाजी सिनवादको नियति सिंगो पार्टीले भोग्न लागेको देखिएको छ । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरू समुद्री बूढोजस्ता भएका छन् । नेपाली कांग्रेसको काँधबाट यी समुद्री बूढाहरूलाई मिल्काउने मौका अधिवेशन हो । तर, कांग्रेसका सिनवादहरू त आफैँ रक्सीको नशामा छन् । 
जति नै समाजवादको रटान लगाए पनि नेपाली कांग्रेसको चरित्र उदार लोकतन्त्रवादी नै हो । समाजवादी पार्टी कार्यकर्तामा आधारित हुन्छ भने उदारवादी पार्टी जनतामा आधारित हुन्छ । 

जनतामा आधारित दलमा पार्टीको नेतृत्व सर्वेसर्वा हुन्छ नै । 

सबैको चित्त बुझाएर पार्टी चलाउनु उसको क्षमता हो । सकेन भने सभापतिलाई काम गर्न रोक्ने हैन अर्कोपटक हटाउने तयारीमा लाग्नुपर्छ । अहिलेका असन्तुष्ट भन्नेहरू कहिले घुर्की लगाउने र कहिले भाग माग्ने गरेर बसे । सभापतिका क्रियाकलाप विधानविपरीत छन्, पार्टी र जनताको हितमा छैनन् भने पार्टीका क्रियाशील सदस्यहरूलाई बुझाउने प्रयास पो गर्नुपर्थ्यो । असन्तुष्ट भनिने जमातको जुन मूर्खतापूर्ण घुर्की छ त्यसले सभापति देउवालाई फाइदा भएको छ । 

देउवा सत्ता र शक्तिका लागि जोसँग पनि सम्झौता गर्न हिचकिचाउँदैनन् भन्ने थाहा सबैले पाएकै हो । त्यस्तो सम्झौता कुनै पार्टी वा शक्तिसँग मात्र हैन सिद्धान्तसँग पनि गर्न सक्छन् भन्ने हेक्का कांग्रेसजनले नराखेको देखियो । महाधिवेशन भएन भने पनि उनलाई केही फरक पर्दैन । सभापति अर्को हुने होइन ।

नैतिकता र वैधताभन्दा व्यावहारिकताका पक्षधर देउवासँग असन्तुष्ट भनिने असंगठित, लोभी, कायर र संकीर्णहरूको जमातको केही लाग्दैन । समुद्री बूढालाई काँधबाट हटाउने हो भने उसलाई लठ्ठ बनाउनुपर्छ । देउवालाई एकलौटी गर्न दिए बरु उनका समर्थकहरू घट्नेछन् । उनकै समूहभित्र विवाद हुनेछ । सिनवादहरूले मीठो रक्सीको लोभ पनि छाड्नुपर्छ । अर्थात्, त्याग गर्न सक्नुपर्छ । नत्र बगदादका जहाजीको कथा उल्टिनेछ । 

कांग्रेसको संस्कार र चरित्रअनुसार व्यवहार गरेका दिन धेरै रोइलो गरिरहनै पर्दैन ।  

रुखको ओत

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सम्भ्रान्तहरूको क्लब बन्दै गरेको कांग्रेसमा एक जना संगठन सुहाउँदा व्यक्ति थपिँदा यति धेरै हाहाकार मच्चाउनुको तुक भने देखिएन । यसै पनि नेपाली कांग्रेस चौताराको ठूलो रुखजस्तै हो । हुरी बतास आउँदा, घाम चर्कँदा, पानी पर्दा रुखमा ओत लाग्न जतासुकैबाट चराचुरुङ्, गाईबस्तु, मानिस नै पनि आउँछन् । धेरै घामपानी थामिएपछि आआफ्नो बाटो लाग्छन् । त्यही रुखमा सुरक्षित होइन्छ भन्ने लाग्यो भने केही चराले त्यहीँ गुँढ पनि लगाउँछन् । 

सुनिल थापालाई रुखमा ओत लाग्न आएका चरा ठाने हुन्छ । उनलाई सहमहामन्त्री बनाइयो भनेर पनि कांग्रेसहरू तर्सिनु पर्दैन थियो । गणेशमान सिंह पार्टीमा पदाधिकारी भएनन् तर उनी चार नेतामध्ये एक त सधैँ रहे । कांग्रेस संगठनमात्र हैन संस्कार पनि हो । थापा काजीले पनि कांग्रेसको संस्कार सिके भने राम्रै भयो । नत्र, अरू काजीहरू केशरबहादुर विष्ट, शरतसिंह भण्डारीजस्तै पार्टीलाई छिटै नै ‘जय नेपाल’ गर्नेछन् । रैथानेहरूले भाग खोस्लान् भनेर चिन्ता नगरे हुन्छ । सूर्यबहादुर थापासँगको असन्तुष्टि सुनिलबहादुर थापालाई पोख्ने कांग्रेसको चरित्र हैन । जुद्धशमशेरकै कान्छा छोरा शशिशमशेर कांग्रेसका नेता थिए । यत्ति हो कांग्रेसमा सपना बीपीको मात्र देख्ने गरिन्छ।

पार्टी महाधिवेशनमा उनले देउवालाई सहयोग गर्न सक्छन् तर कांग्रेसमा बस्ने हो भने त आफ्नो भविष्य पनि पक्कै हेर्लान् । कम्तीमा पूर्वाञ्चलमा कोइरालाहरूलाई बिच्क्याएर कांग्रेसको राजनीति गर्न आजै त सजिलो भइसकेको छैन होला । यस्तै संसदीय निर्वाचनमा उनले उमेदवारी नपाउन पनि सक्छन् । त्यति बेला पनि उनको अर्को कसी लाग्छ । पाइलै पिच्छे परीक्षा दिनुपर्दा कति धैर्य गर्नसक्छन् ? सम्भवतः उनको कांग्रेस बसाइ त्यसैमा निर्भर हुन्छ । कांग्रेसभित्र कांग्रेसी संस्कार चिन्नेहरू सकिँदै गएका हुन् कि क्या हो ? नत्र थापाको प्रवेशमा नेताहरूसमेत यसरी तरंगित हुन नपर्ने हो ! 
रुखमा नपाए ओत खोज्न अन्त कहाँ जानू त हौ ?        
र अन्त्यमा 

बीपीको आत्मवृत्तान्तको एउटा प्रसंग । पार्टीमा मातृकाप्रसाद कोइराला र बीपीका बीचमा प्रतिस्पर्धा थियो । दुवै कोइरालाका गुट थिए । केन्द्रीय समितिमा सभापति चुनिए पनि अरू मनोनीत गर्ने चलन थियो । सबैजसो लोकतान्त्रिक दलमा यस्तै हुने हो । कांग्रेसका चंखेहरूले बूढाहरूलाई तह लगाउन सदस्य चुन्ने प्रथा लागू गराए ।

त्यसैलाई लोकतान्त्रिक अभ्यास भने सञ्चारकर्मीले । जेहोस्, सदस्यको नाम तय गर्ने बेला दाजुले नाम माग्दा बीपी मातृका गुटका पनि पर्ने गरेर पठाउँथे रे । मातृकाले त्यही सूचीमा बीपीका मानिसको नाम काटेर आफ्ना अरू मानिस राख्थे रे । अहिलेका त यति सौहार्द र चातुर्य देखाउन पनि सक्तारहेनछन् !  

 
 

गोविन्द अधिकारी

प्रतिकृया दिनुहोस
ad