काठमाडौं । ‘सेल्फी किङ’ पछि अभिनय गरेकै थिएनन् । केही चलचित्रमा कुरा चलिरहेको थियो । केही स्क्रिप्ट हातमा थिए । केही कामै नलाग्ने स्क्रिप्ट, केहीमा परिमार्जनको आवश्यकता देखिन्थ्यो ।
चीनको वुहानबाट सुरु भएको कोरोना महामारी नेपालमा पनि प्रवेश गर्यो । चलचित्र घरहरू बन्द भए । छायांकन भइरहेका चलचित्र फर्किए । आफू बच्न र अरूलाई बचाउन सरकारले आफ्ना नागरिकलाई घरबाहिर ननिस्कन भन्यो । मान्नै पर्यो । विपिन पनि घरभित्रै बसे । छोरीसँग खेल्यो । अभिनयको अफरसहित आएका स्क्रिप्ट पढ्यो । दिन, साता हुँदै महिना बित्यो । एक–दुई–तीन हुँदै महिना बिते । तर अवस्था सामान्यतः परिणत भएन । बल्लबल्ल लुजडाउन हुँदै लकडाउन त खुल्यो तर सिनेमा हल खुलेनन् । चलचित्र अझै छायांकनमा जान सकेका छैनन् । कहिलेबाट अवस्था सहज होला र चलचित्र क्षेत्र चलायमान होला अनिश्चयको बादल हटेका छैन ।
तर विपिनलाई भने छटपटी भइसक्यो । हुन त उनी बग्रेल्ती चलचित्र खेल्दैनन् । ब्यानर हेर्छन्, निर्देशकको नाडी छाम्छन्, निर्माता पैसा दिने खालको मात्रै हो कि भाका सारिरहने मात्रै हो विचार गर्छन् । योभन्दा पनि महत्त्वपूर्ण त कथा हेर्छन् । चित्त बुझ्यो भने बलियो सम्झौता गर्छन् र लाग्छन् क्यारेक्टर निर्माणतर्फ ।
तर चलचित्र क्षेत्र चलायमान कहिले हुने र अभिनय गर्न पाउने अनिश्चयले विपिनमा स्वाभाविक छटपटी सुरु भयो । नयाँ क्यारेक्टर निर्माण र छायांकन गरेर लामै समय नयाँ क्यारेक्टरमा बाँच्ने उनले त्यही काम गर्न नपाउँदा उनलाई अभिनयको भोक जाग्यो ।
“बिहान–बेलुका खानलाई त अझै केही समय समस्या नहोला तर अभिनयको भोकचाहिँ यो बीचमा मजाले लाग्यो । सेल्फी किङपछि केही काम नगरी बसेको पनि करिब एक वर्ष भयो । यो लामो ग्यापले गर्दा पनि होला कहिले अभिनय गरौं भन्ने छटपटी भयो,” विपिन भन्छन् । अभिनय गर्न नपाउँदाको छटपटी शब्दमार्फत व्यक्त गर्न पनि विपिनसँग शब्द नै अपुग भए झैैं महसुस गर्न सकिन्छ ।
यही उकुसमुकसबीच विपिनलाई अफर आयो अभिनयको । तर त्यो अफर चलचित्र होइन म्युजिक भिडियोको थियो । अफर गरेका थिए निर्देशक निकेश खड्काले । गीत थियो नारायण गौतमको ‘डर छैन’ । स्वर थियो सन्तोष लामाकोे । नारायणले भिडियोको जिम्मा निकेशलाई दिएका थिए । निकेशले सोचे कथा बोेकेको गीत छ । कथालाई न्याय गर्ने पात्र चाहिन्छ । उनको दिमागमा थुप्रै नाम आए । जस्तै विपिन कार्की, खगेन्द्र लामिछाने र अरू पनि ।
पहिलो रोजाइमा थिए विपिन, दोस्रोमा खगेन्द्र ।
विपिनलाई फोन गरे निकेशले । विपिनले सोधे- गीत कस्तो छ ?
निकेशले सुुनाए । गीत विपिनलाई मन पर्यो । विपिनले भने, भिडियोको कन्सेप्ट राम्रो छैन भनेचाहिँ काम गर्दिनँ है निकेश नरिसाऊ ।
निकेश पुगे विपिनलाई भेट्न गणेशदेव पाण्डेको चिया वाला पसलमा । उनले देखाए सुगम पोखरेलको ‘मेरो जीवन यस्तो होस्...’ । विपिनले भने, “सुनील (पोखरेल) दाइलाई निर्देशन गरिसकेको रहेछौ पक्कै राम्रो कन्सेप्ट होला ।
निकेशसँग थिए करिब १० वटा कन्सेप्ट तीमध्येको एउटामा गएर अडिए उनीहरू । आठवटा बसाइमा उनीहरूले कन्सेप्टमा आवश्यक परिमार्जन गरे । एकले अर्कालाई सच्याए । एक महिनामा स्क्रिप्ट तयार पारे । यही अवधिमा विपिनले क्यारेक्टर निर्माण गरे । उनी छायांकनमा जान तयार भए ।
गीतको कथा थियो सहरिया भरियाको । इन्द्र चोक लोकेसन थियो । प्राकृतिक वातावरणमै भिडियो खिच्नु थियो ।
भिडियो खिच्न सुरु गरे । हरेक नयाँ चलचित्रमा नयाँ क्यारेक्टर खोज्ने र त्यसलाई जीवन्त बनाउने उनको विशेषतै हो । बिहानदेखि साँझसम्म अबेरसम्म खिचिएको भिडियोमा विपिन साँच्चै क्यारेक्टरमा जीवन्त देखिए ।
“दाइ (विपिन कार्की) यति दुरुस्त देखिनुभएछ हामीले भिडियो खिच्दाखिच्दै व्यापारीहरू यति पैसामा भारी बोक्ने हो भन्दै बार्गेनिङ गर्न आए,” निकेश भन्छन्, “हामीले सुटिङ हो भनेर नै भन्नुपर्यो । वास्तवमा यो दाइ र हाम्रो टिमकै सफलता हो ।”
विपिनले यसअघि पनि गत वर्ष एउटा र चार वर्षअघि गरेर तीनवटा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । तर ती भिडियो धेरैले नोटिस गरेका छैनन् ।