site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एउटा अन्त्य
Sarbottam CementSarbottam Cement

कृष्ण कुुसुम


फ्रेबुअरी २, २०२० 

तीन वर्षपछि लसभेगास जाँदै छु, उनको परिवारलाई भेट्न । उनी अर्थात् मेरा प्रिय गोपाल अङ्कल । यो तीन वर्षमा हड्सन नदीमा धेरै पानी बगिसकेको छ । र त्यही पानी झैंं समय पनि बगेर धेरै पर पुगिसकेको छ । यहीबीच नेपाल गएर विवाह गरें मैले । एकलबाट घरबारे जिन्दगी सुरू गरेको छु । मुख्य कुरा त आफ्नो योग्यताअनुसारको जागिर सुरू गरेको छु, न्युयोर्कमा । भिसाको समस्या छैन । कम्पनीले ग्रिन कार्ड पनि फाइल गरिदिइसक्यो । यसमानेमा कुनै पीरचिन्ताबिना जिन्दगीको रथ गुड्दै छ भनौं ।

Prabhu Bank
Agni Group
NIC Asia

यतिबेला जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा छु । बाहिर बाक्लो हिउँ परिरहेको छ । हिउँकै कारण उडान प्रभावित छन् । त्यसैले मेरो फ्लाइट डेढ घण्टा ‘डिले’ भएको छ । एयरलाइन्सले पर्खाइको समयमा ‘रिफ्रेस’ हुन दिएको कफी छ हातमा । कफीको कपबाट उडेको बाफ झैं मबाट छुटेर गएको समयमा पुग्दै छु म । पुराना दिनका याद आँखामा घुमिरहेछन् चलचित्रको रिल जस्तै । म जुन विगतको सम्झनामा डुबेको छु, ती क्षण मेरा लागि अमेरिका बसाइका अलि कठिन दिन हुन् । त्यही बेला म दुःखको समुद्रमा डुब्न लाग्दा उतारिदिने माझी बनेर भेटिएका थिए, यी गोपाल अङ्कल ।

पहिलो भेट— २०१५ मे, पहिलो साता । 

Global Ime bank

दुईतीन दिनअघि नेपालमा भुइँचालोले ताण्डव मच्चाएको खबर आयो । भुइँचालो आएसँगै गाउँमा धेरैका घरगोठ भत्किएछन् । अरुका जस्तै हाम्रो बास पनि गुमेको थियो । उता जति पटक जमिन हल्लिएको समाचार आउँथ्यो, यता उति नै डरले आफ्नो मुटु हल्लाउँथ्यो । त्यही दिनदेखि न भोक न निद्रा जस्तै भएको थिएँ । पढाइमा ध्यान थिएन । ल्याबमा रिसर्चको काममा मन गएकै छैन । ज्यान अमेरिकामा, मन नेपालमा । यस्तै दिनचर्या चल्दै थियो । मङ्गलबार बिहानको नियमित साप्ताहिक मिटिङपछि प्रोफेसरले बोलायो । भन्यो, “केही सिरियस कुरा गर्नु छ । लन्चपछि मेरो डेस्कमा भेट्न आऊ ।”
उसको कार्यकक्षमा पुग्दा ऊ कम्प्युटरमा व्यस्त थियो ।

“प्लिज ह्याभ अ सिट (कृपया बस) । किबोर्डमा मेसिन झैं औंला नचाउँदै बोल्यो, “आई एम सेन्डिङ कपल अफ इमेल्स रिगार्डिङ माई फन्डिङ प्रपोजल, आफ्टर द्याट आई विल टक टू यू । (म आफ्नो फन्डिङ प्रपोजलसँग सम्बन्धित केही इमेल पठाउँदै छु । त्यो सकेर म तिमीसँग कुरा गर्नेछु ।)

“ओके थ्याङ्स,” औपचारिकता निर्वाह गर्दै नजिकको कुर्सीमा बसें । एकछिन दुवैको बोली बन्द भयो । केवल किबोर्ड चलाएको आवाज गुन्जियो कोठामा ।

“आम् डन,” कम्प्युटरबाट आँखा हटाएर मतिर हेर्दै सोध्यो, “हाउ इज एभ्रिथिङ ? डुइङ गुड ?”

जवाफमा मुन्टो हल्लाएँ । ठीकै छ भन्ने सङ्केत गरेर । म चुपचाप थिएँ । उसले बिहानकै कुरा दोहोर्यायो, “एक्चुअल्ली आई निड टू सेयर यू अ सिरियस म्याटर ।”

सोचें, केही दिनदेखि राम्ररी काम नगरेको थाहा पायो जस्तो छ । त्यही कुरा सोध्न होला । म आफ्नो कुरा भन्छु, किन मन छैन काममा भनेर ।

तर केही बोलिनँ । घोसेमुन्टो लगाएर बसें ।

ऊ सकेसम्म विनम्र भएर बोल्दै थियो, “मेरो नयाँ रिसर्च प्रोजेक्ट पेन्डिङ भो । तिमीसमेत समावेश भएको यो रिसर्च पनि यो महिनाबाट सकिँदै छ । मैले तिमीलाई समरमा पनि ४० घण्टा दिन्छु भनेको थिएँ । तर समय हाम्रो फेभरमा रहेन ।”

म सुनी मात्र रहें । ऊ पनि केही सोचे जस्तै गरेर केही बेर चुप बस्यो । एकछिनमा उसैले आफ्नो कुराको निरन्तरता दियो, “अब त फल सेमेस्टरमा पनि तिम्रो स्कलरसिप यसै भन्न नसक्ने स्थितिमा पुगें ।”

उसले सुस्तरी सुनाएको खबरले मभित्र भुइँचालो ल्यायो । मभित्रको छटपटी उसले सजिलै महसुस गर्न सक्थ्यो । हडबडिँदै केही बोल्न खोज्दै थिएँ । मलाई सहज बनाउन ऊ आफैं बोल्यो, “फल सेमेस्टरका लागि धेरै पीर नगर । तीन महिनाको समर बिदामा कुनै न कुनै प्रपोजल एसेप्ट होला । अहिले म छ–सात ओटा प्रपोजलमा काम गर्दै छु । एउटा मात्र एसेप्ट भए पनि तिमीलाई पुगिहाल्छ । त्यो पनि भएन भने म डिपार्टमेन्ट चेयरलाई रिक्वेस्ट गरौंला, ट्युसन फी अफ गर्न । तर समरको बिदामा तिम्रा लागि कुनै फन्ड नहुने भो । आफ्नो म्यानेज गर ।”

यसरी मीठो बोलीमा नमीठो खबर सुनाएर पीडा थपिदिएको थियो । मेरो विधाता बनेको प्रोफेसर मेरो पक्षमा थिएन । समयले जस्तै उसले पनि अप्ठ्यारो बाटोतिर धकल्दै थियो ।

एक मन त लाग्यो, आफ्नो विवशता सुनाऊँ । घर भत्केको छ । उता सहयोग गर्नुपर्नेछ । मलाई यो बेला सहयोग गर भनेर । नेपालको भुइँचालोबारे थाहा थियो उसलाई । मेरो घर भत्केको चाहिँ थाहा थिएन । परिवारबारे सोधेको थियो । “सबै सुरक्षित छन् । तर कठिन समयको सामना गर्दै छन्,” यस्तै बताएथें ।

फेरि सोचें, मैले नसक्ने भएँ । अरु उपाय नहुन्जेल आफ्नो व्यवस्था गर भनेको छ । अरु विकल्प नभएरै भनेको हो भने मेरो गुनासोको के अर्थ ? सक्ने भए यस्तो भन्ने नै थिएन ।

प्रोफेसरसँगको मिटिङपछि रन्थनिएर निस्किएँ । एकातिर नेपालमा हुने परिवारको चिन्ता, अर्कोतिर तीन महिना बस्नेखाने पैसाको व्यवस्था गर्नु छ । फेरि अर्को सेमेस्टरबाट पनि फन्ड पाउने–नपाउने ठेगान छैन । अरु नेपाली साथीहरुलाई यो पीर थिएन । उनीहरुका प्रोफेसरसँग फन्डिङ थियो । नेपालतिरको पीर भने उस्तै थियो सबैको । आफूलाई भने सबै कुराको व्यवस्था हुने गरी नेपालबाट स्कलरसिपमा बोलाउने प्रोफेसरको एउटै शब्दले अँध्यारोको जङ्घारमा पु¥यायो । काम खोज्न कता जाने ? पौडिन नजान्ने मान्छेलाई एक्कासि गहिरो दहमा घचेटे झैं भएको थियो । कसरी उत्रिने ? आलसतालस भएँ । के गर्ने, कसो गर्ने ? स्टुडेन्ट भिसामा भएको मान्छे जता पायो उता काम दिन्नन् । भेगास कत्रो नै ठूलो छ र ? होटल, क्यासिनोहरुमा काम दिँदैनन् । त्यही दुईचार ओटा इन्डियन रेस्टुरेन्ट र केही ग्यास स्टेसनबाहेक अन्त काम पाउने आशा नै भएन । दिशा हराएको जहाज झैं भएर घुम्दै थिएँ, कामको खोजीमा । 
दुई दिनमा वरपरका सबैजसो इन्डियन रेस्टुरेन्ट गएँ ।

“के छ लिगल स्टेटस ? के काम जानेका छौ ?” यस्तै प्रश्न सुरू गर्थे । स्टुडेन्ट भनेपछि पहिलेदेखि नै काम गरिराखेका मान्छे छन् भन्ने उत्तर पाइन्थ्यो ।

तेस्रो दिनको मध्याह्नतिर कतै पनि काम नपाएकाले निराश भएर हिँड्दै थिएँ । मे महिनाको भेगासको गर्मीमा मनभरि उकुसमुकुस लिएर निस्केको थिएँ । फुट्न नसेकेको ज्वालामुखीको लाभा हुँडलिए झैं । आँखाका डिलमा झर्न ठिक्क परेको आँसु रोकेर पाइला चाल्दै थिएँ । यस्तो बेला एउटी खैरेनी सडक पेटीमा ठुल्ठूलो स्वरमा चिच्याउँदै छे, “स्माइल प्लिज । फर मी, फर वल्र्ड । डन्ट लुज योर स्माइल । चियर अप लाइफ...!” 

अरु केके भन्दै थिई मैले ध्यान दिइनँ । अनेक पाराका मान्छे भेटिन्छन्, यो सिन सिटीमा । जसलाई जे मन पर्छ, त्यही गरिरहेका हुन्छन् । केही मान्छे उसले भने झैं नक्कली नै सही मुस्काउँदै हिँडे । केही मान्छे जम्मा भएर हेरिरहेका थिए । आफूलाई कत्रो पीर परिरहेछ, उसका लागि हाँसिदिनुपर्ने । मलाई रिस उठ्यो ।

बर्सनुअघिको बादल झैं कालोनीलो अनुहारमा मुस्कान टाँस्न सकिनँ । त्यो गोरी मतिर हेर्दै भुतभुताई, “हाउ रूड ? क्रेजी गाई ।”

गोरीले मलाई लक्ष्य गरेर कराएपछि भीडका सबैको नजर मतिर तेर्सियो । त्यही भीडबाट एक जना अधबैंसे व्यक्ति मेरो नजिक आएर सोधे, “भाइ नेपाली हो ?”

“हजुर ! तर कसरी थाहा पाउनुभो ?”

“सगरमाथाको चित्र भएको नेपालको नक्सावाला टिसर्ट लगाएर हिँडेपछि पनि नेपाली भनेर भनिराख्न पर्छ त भाइ ?”

मैले बल्ल ख्याल गरें । अघि इन्डियन म्यानेजरले कहाँको भन्ने नसोधी किन कुन भिसा सोध्यो भनेर ।

“हजुर पनि नेपाली पर्नुभएछ । कता पर्याे नि घर, दाइ ?”

“हाम्रो घर झापातिर । भाइको कता ?”

“गोरखा !”

“गोरखा ? भूकम्पले सबै सखाप नै बनायो भन्छन् । के छ तपाईंको घरतिर चैं ?”
“मेरो पनि उही त हो, घरगोठ सबै गयो । स्कुल पढ्दाका दुई जना साथी पनि खाएछ भुइँचालोले । गाउँका सबै  एकै ठाउँमा पाल हालेर एउटा नजिकको प्राथमिक विद्यालयको चौरमा गुजारा गर्दै छन् रे । बाआमासँग अस्ति कुरा हुँदा थाहा पाएको ।”
“ए ! दुःखमा पो हुनुहुँदो रहेछ । अनि कता बस्नुहुन्छ ? कति भो त भेगास आउनुभा ?”

“पाँच–छ महिना भयो, यता आको । युनिभर्सिटी छेउ बस्छु । फ्लेमिङ्गो र मेरिल्यान्ड पार्कवे क्रस स्ट्रिटमा ।”

“के गर्नुहुन्छ यता ?”

“पढ्दै छु ।”

“काम नि ?”

“काम नै खोज्दै हिँडेको हो, अहिले । कहीँकतै नपाएर दिक्क छु ।”

“अहिलेसम्म कतै काम गर्नुभएन र ?”

“युनिभर्सिटीभित्रै गर्थें, रिसर्चमा सहयोग । स्कलरसिपमा पढ्न आको । त्यही प्रोफेसरले दिने पैसाले खानेबस्ने र पढाइको व्यवस्था हुन्थ्यो ।”

“अनि अहिले के भो त फेरि ?”

“समस्या बाजा बजाएर आउँदैन भन्थे, हो रहेछ । नेपालमा भएको प्रकोपको चिन्ताले सताएको बेला यता प्रोफेसरले पैसा दिन सक्दिनँ, काम खोज भन्यो । उता घरपरिवार, इष्टमित्र सबै दुःखमा हुँदा दुईचार पैसा पठाउला भन्ने आशामा छन् । त्यही बेला आफ्नो भइराखेको सहयोग टुट्यो । बाहिर काम खोज्दा पाइँदैन । पहिले प्रोफेसरले दिने पैसा पनि पढाइ र खानबस्नलाई ठिक्क हुने हो । एक पैसा बचेको छैन । यही महिनादेखि माइनसमा गइन्छ खानेबस्ने खर्चले । अब कताबाट घरमा पैसा पठाउनु ?”
“बाबु, धेरै चिन्ता नमान्नू । म भरे छोरा आएपछि उसलाई तपाईंका बारे भन्दिन्छु । भोलि साँझ छ बजेपछि इन्डियन गार्डेन रेस्टुरेन्टमा जानुस् । गोपाल अङ्कलले पठाएको भनेर मेरो छोरो विष्णुलाई भेट्नू । उसले सकेको सहयोग गर्छ ।”

. . . 

म पुराना यादहरुमा डुब्दै गर्दा तन्द्रामा परे जस्तो भएछु । समयको याद पनि भएन । एकै पटक एयरलाइन्सको बोर्डिङ अनाउन्समेन्टले झस्कायो । झटपट हातको कफी कप डस्टबिनमा हालेर बोर्डिङ लाइनमा उभिएँ ।

आफ्नो सिटमा बसिसकेर झोला तह लगाएँ । उडानका क्रममा पढ्न भनेर पुस्तक हातमै राखें । सिटबेल्ट कसेर उडानका लागि तयार रहें । जहाजले धरती छाडेर उचाइ लिँदै गर्दा पढ्न खोजें । पढ्न मनै भएन । पढ्न मन नलागेपछि निदाउने प्रयास गर्न थालें । मेरा आँखा चिम्म थिए । तर उनै पुराना दृश्य नाचिरहेका थिए । उनको खबर सुनेदेखि नै उनैसँग बिताएका क्षण मात्र घुमिरहे मथिङ्गलमा ।

. . . 

भोलिपल्ट उनले भनेको समयमा सोही रेस्टुरेन्टमा गएँ । उनको नाम लिएर उनको छोरा विष्णुलाई भेटें । एकछिन सामान्य औपचारिक कुराकानी भयो । विष्णु दाइ दुई ठाउँमा काम गर्ने रहेछन् । बिहान आठदेखि पाँच बजेसम्म एउटा होटलमा हाउस किपिङ । बेलुकी छ बजेदेखि १० सम्म यही इन्डियन रेस्टुरेन्टमा । बूढाले मेरोबारे सबैकुरा राम्ररी भनेका रहेछन् । 

“तपाईंलाई कामको एकदम जरूरी रहेछ । मैले बुझें । अब म सहयोग गरौंला, चिन्ता नलिनुस्,” यति भनेर म्यानेजरलाई अनुरोध गरे, मेरा लागि काम दिन ।

म्यानेजरले अहिले भएकै मान्छेले पुग्ने बतायो । भन्यो, “तिमीलाई नाइँ भन्न मलाई गाह्रो छ । तैपनि बढी मान्छे राखेर के गर्नु ? पैसा मात्र खर्च हुने हो । उसले भित्र किचेनमा जान्दैन । बाहिरलाई अहिलेको मान्छे नै ठिक्क छ । फेरि कार्ड नभएको मान्छे बाहिर सर्भ गर्न राख्न पनि गाह्रो हुन्छ ।”

म्यानेजरले काम दिन अप्ठ्यारो मान्दा ती दाजुले सम्झाए, “अहिले भाइ साह्रै अप्ठ्यारोमा हुनुहुँदो रहेछ । भर्खरै नेपालको भुइँचालोले उहाँको घर पनि भत्कायो रे । बाबुआमा, घरपरिवार र अरु गाउँले चौरमा बसिराख्या छन् रे । यता उहाँ काम नपाएर आत्तिरहनुभएको छ । यस्तो बेला केही सहयोग गर्न सके राम्रो हुन्थ्यो ।”

“उसको घरको खबर सुन्दा नमज्जा लाग्यो । म व्यक्तिगत रुपमा केही पैसा डोनेट गर्न सक्छु । तर ओभर स्टाफिङ भो भनेर साहूले मलाई राम्रो मान्दैन ! म के गरुँ, विष्णु ?”

“मैले तिम्रो पनि समस्या बुझें । यसो गरौं न त, मेरो सिफ्ट उहाँलाई देऊ बाहिर सर्भ गर्न । मलाई भन्दा कामको खाँचो उहाँलाई छ, यति बेला । अर्को केही काम नमिल्दासम्म म आउन्नँ काममा । उहाँलाई पठाउँछु ।” 

म्यानेजरले यो कुरामा सहमति जनायो । र मैले काम पाएँ । यसरी आफ्नै काम मलाई दिएर मेरो उद्धार गरिदिए विष्णु दाइले । कत्रो ठूलो छाती, यी बाबुछोराको । मेरा लागि त विधाता बनेर आए ।  

म इन्डियन गार्डेनमा काम गर्न थालेपछि विष्णु दाइसँग कहिले फोन त कहिले भेट हुन थाल्यो । भेटघाटका क्रममा बिस्तारै एकअर्काको अपार्टमेन्ट जानेआउने सुरू भयो । समयक्रममा थाहा भो— उहाँहरु नेपाली मूलको भुटानी समुदायको हुनुहुँदो रहेछ ।

छुट्टीको दिन प्रायः सधैं उहाँकोमा जान्थें । घरका छोराबुहारी बिहानदेखि काममा जाने । ससाना यतै जन्मेका नातिनातिनी टिभी र आइप्याडमा कार्टुन हेरेर बस्ने । दुई जना बूढाबूढी सधैं घरमै थुनिएर बसे जस्तो । बोल्ने मान्छे पनि कोही नहुँदा साह्रै नियास्रो मान्ने हुँदा म त्यहाँ जान्थें । म गएपछि कुराकानी गर्ने साथी पाएर साह्रै खुसी हुने । भन्थे, “तपाईं आउँदा धेरै रमाइलो लाग्छ, बाबु । अमेरिका त हामी बूढाबूढीका लागि जेल जस्तो भा’छ । भन्छन् नि, पिँजडाको सुगा । न भाषा बोल्न जानिन्छ । न केही बुझिन्छ । काम गर्न जाऊँ के गर्ने ? दिनभर कति सुत्ने ? उसै पनि उमेर बढ्दै गएपछि निद्रा लाग्ने होइन । बाहिरफेर घुम्न जाऊँ, टाढा जान गाडी चलाउन जानिन्न । यसो त्यही घरछेउको पार्क गयो, एकछिन घुमेर फर्कियो । यस्तै हो हाम्रो त दिन बिताउने मेलो । अस्ति तपाईंलाई बाटोमा भेट्दा पनि पार्कबाट फर्कंदै थिएँ र मौका मिलेछ ।”

“अलि परतिर सानो नेपाली कम्युनिटी पनि छ भन्ने सुनेको छु । उहाँहरुसँग भेटघाट हुन्न र अङ्कल ?”

“हुन्न भाइ हुन्न । उहाँहरु हामीसँग भेटघाट गर्न खोज्नुहुन्न । भुटानी हुन्, शरणार्थी त हो नि भनेर छुट्याउनुहुँदो रहेछ जता पुगे पनि । आखिर सात समुद्र काटेर यति पर आएपछि त हामी एउटै दाजुभाइ हौं जस्तो मान्दिए हुने । हाम्रो समुदाय पनि नजिकिन खोज्दैन । सबै मिलेर बसे त हुने हो ।”

“त्यही त एउटै भाषा, संस्कृति र चाडपर्व सबै मिल्ने । सबैको पुर्खाको बस्ती नेपाल नै भएपछि यहाँ त हाम्रो एउटै चिनारी नेपाली जाति मात्रै त भयो नि हैन र ?” मैले उहाँका कुरामा समर्थन जनाउँदै बोलें ।

“हो नि भाइ । भोलि तपाईंको बच्चा यहाँ जन्मिँदाको परिचय र अहिले मेरो परिचय एउटै त हो यो देशमा । तपाईंको छोराका बाबुको देश पनि नेपाल, मेरा बाबु, बाजेको देश पनि नेपाल । के फरक छ त ? आखिर सम्पूर्ण रीतिरिवाज भाषाभाषी एउटै भएपछि ।”

बेलाबेलाको हाम्रो भेटमा यस्तै गफगाफ हुन्थ्यो ।

तीन महिनामा तीज आयो । मलाई प्रोफेसरले पुनः फन्डिङ मिलाइदिएकाले रेस्टुरेन्टको काम छाडिसकेको थिएँ । मलाई पनि तीज मान्न बोलाएका थिए । यता आफ्नै जस्तो गरी माया गर्ने, उता नेपालमा छोराले चाडबाडमा नियास्रो नमानोस् भनेर पीर गर्ने । दुवै कुराले गर्दा दर खाने बेलुका गएँ । म सधैंजसो गोपाल अङ्कलसँगै गफ गर्न थालें । म जाँदा सबैभन्दा खुसी हुने पनि उनै हुन् । म त्यहाँ गएपछि कुरा सुन्दिने मान्छे हुन्थ्यो, उनका लागि । आफूभित्रका उकुसमुकुस खोल्न पाउँदाको सन्तुष्टि उनको मुहारको चमकले देखाउँथ्यो । कहिले भुटान हुँदाको आफ्नो बालापनको रमाइलो सुनाउँथे । कहिले झापाको क्याम्प बस्दाको दुःखका कहानी । मेरो काम बेलाबेला “हो हो, हजुर हजुर” भनेर उनका कुरा सुन्ने नै हुन्थ्यो । यसरी हरेक पटक भेट्दा कुराकानीको अन्त्यमा भने देशविहीन हुनुको फ्रस्टेसन कुनै न कुनै रुपमा पोख्थे ।  

“अङ्कल एउटा कुरा सोधौं ?” कुराकानीका क्रममा मैले भनें ।

“हजुर सोध्नुस् !”

“तपाईंहरु बाबुछोराले मलाई ठूलो गुन लाउनुभा’छ । तर चिन्दै नचिनेको मान्छेलाई किन त्यत्रो महत्व दिनुभा ?”

“के कुरा गर्नु र भाइ । हामी त आफन्तबाटै लखिटेएका हौं । त्यसैले रगतको नाता मात्र पनि नजिक लाग्न छाड्यो हौ अब त । तर आफूले दुःख पाउँदा कसैले सानो सहयोग गरे पनि ठूलो लाग्थ्यो । कसैले त आफ्नो अप्ठ्यारो बुझिदियो भनेर कति खुसी भइन्थ्यो । त्यसैले पनि आफ्ना पुराना दुःखका दिन याद आउँछ । आफूले भ्याउनेसम्मको सहयोग गर्न मन लाग्छ । आफ्नो सहयोगले अरुको अप्ठ्यारो सल्टेको देख्दा आनन्द लाग्छ । तपाईंलाई अस्तिन त्यो अवस्थामा देख्दा साह्रै माया लाग्यो । आफूले काम खोजी हिँड्दा भोगेको हैरानी सम्झिएँ । र छोरोलाई “केही  सक्छस् भने सहयोग गर् न” भनेको हँु । हुन त तपाईं पढेको मान्छे । दुई वर्षपछि घुम्ने कुर्सीमा बसेर कम्प्युटरमा काम गर्ने हो । हाम्रा छोराहरुले जस्तो जुठा भाँडा टिप्नुपर्ने मान्छे हैन । तैपनि हामीले अहिले खोज्दिन सक्ने काम भनेको त्यही मात्र हो । आफ्नो गर्जो टार्न जे काम गरे पनि हुन्छ । काम गरेर खान लाज मान्नुहुन्न भाइ । आफ्नो दिन आएपछि आफ्नै योग्यताको काम पनि गर्नुहोला नि ।”

“हैन हैन । मलाई काम गर्न केही लाज छैन । चोरेर, छलेर खान पो हुन्न । आफ्नो मिहिनेतले खान केको लाज ? फेरि मैले त्यही काम खोजें । पाइनँ । तपाईंले भन्दिनुभो । पाएँ । मेरो अहिले के काम भनेर रोजीछाडी गर्ने बेला हैन । जे पाइन्छ, त्यही गर्नुपर्ने अवस्था छ ।”

“हो नि पहिलो कुरा पेट पाल्ने अनि बल्ल ठूलोसानो रोज्ने हो ।”

“हजुर । अनि तपाईंहरु कसरी लखेटिनुभो र आफन्तबाट ? तपाईंहरुलाई त भुटान सरकारले लखेटेको हैन र ?”

“अरुलाई चैं भोटेले लखेट्या होला । हाम्लाई चैं हैन । हाम्लाई त हाम्रै बडाबाले लखेट्या हुन्, भाइ ।”

“लौ के भन्नुभा ? त्यस्तो पनि हुन्छ ?” मलाई उनको कुराले छक्क बनायो । 

“सबै जना यौटै नजिरले लखेटिएका हैनन् र ?”

भाइले यौटा उखान सुन्नुभा छैन ? —बाघको मुख हेर्नुपरे बिरालाको अनुहार हेर्नू । शत्रुको अनुहार हेर्न मन लागे दाजुभाइलाई हेर्नू भन्ने ?

“सुनेको त हो । तर तपाईंले भुटान छोड्नु र यो उखान कहाँ मिल्छ चैं बुझिनँ ।”
“भुटान सरकारले १९५७ को कागज हुनेलाई निकालेको छैन नि ।”

“के कागज अङ्कल ?”

“सन् १९५७ र त्यसअघिको मालपोतको कागजात हुनेले बस्न पाउने अरु बाँकीले देश छाड्नुपर्ने नियम आयो । हाम्रो पनि बडाबाको नाउँमा थियो, सम्पूर्ण परिवारको जग्गा । अन्तिममा परिवारका सदस्य कोको भनेर कित्ताकाट गर्दा आफ्ना छोरा र दुई बहिनीको मात्र नाम टिपाइदिए, मालअड्डाको भोटेलाई ।”

“हो र ? अनि अरु बोलेनन् त ?”

“सम्पत्तिको लोभले आफ्नै दाजुभाइलाई जिउँदै मारे भाइ । म आफैं गएको थिएँ हाम्रो बाको तर्फबाट नाम टिपाउन बडाबासँग । तर सम्पत्ति भाग लाउनु नपर्ने जतिको नाम भनिराखेर बेहोस भएको नाटक गरे । हप्ता दिनसम्म बोल्नु न खानु गरेर ओछ्यानमा सुते, अधर्मी ।” यसो भन्दै गर्दा गोपाल अङ्कलको आँसु आँखाको डिल भत्काएर गालाको बाटो बगिरहेको थियो ।

त्यो साँझ हामी सबै भावुक भयौं । खाना खाएर म आफ्नै अपार्टमेन्ट फर्किएँ । 

पढाइ, थेसिस र रिसर्चको काममा व्यस्त हुन थालेपछि धेरै भेटघाट हुन छाडेको थियो । बेलाबेला फोनमा कुरा हुँदा “माया मार्नुभो त भाइ” भन्नुहुन्थ्यो ।

दुईचार महिनापछि एक दिन अङ्कललाई भेट्न गएँ । सबैभन्दा पहिले दुःखद समाचार सुनाउनुभयो, “अस्ति यहाँ यौटा घटना भो नि भाइ, थाहा पाउनुभो ?”
“कुन घटना अङ्कल ?”  

“एक जना हाम्रै भुटानी भाइले आत्महत्या गरेछन् नि ।”

“ए हो र ? के कारण रै’छ केही थाहा भो ?”

“पहिल्यैबाट डिप्रेसन जस्तोमा थिए भन्ने सुनियो । श्रीमान्श्रीमतीको खटपट रहेछ, लामै समयबाट । सधैं जस्तो झगडा गर्थे रे ।”

“अमेरिका आउनु अघिदेखि नै कि ?” मैले जिज्ञासा राखें ।  

“झापा क्याम्पमा हुँदा त ठीकै थियो क्यारे । छिमेकमै बस्थे उता हुँदा । त्यति बेला त्यस्तो कुरा केही सुनिएको थिएन । यहाँ आएपछि चालढालै फरक गर्न थालेका थिए । तँभन्दा के कम ? म आफैं कमाउने भएपछि तेरो अरनखटनमा किन बस्नु भन्ने श्रीमती चाहिँ । बूढा पनि नेपालमा जस्तै आफ्नोअनुसार चलोस् भन्ने । दुवै उस्ता जस्तो लाग्छ हौ मलाई त । यहाँ आएर कसले के सिकायो कुन्नि, सबै स्वतन्त्र हो भन्दै धेरैको घरबार टुटेको पो सुन्छु त अचेल । खै युवाले पनि यहाँको चालचालन राम्रोसँग टिप्न जानेनन् ।”

उनले मलाई हरेक पटक केही न केही गुनासोका कुरा सुनाउँथे ।

. . . 

अन्तिम भेट— २०१७ जनवरी, पहिलो साता । 

“अङ्कल मेरो यहाँको पढाइ सकियो । अब भेगास छाड्ने भएँ ।”

न्युयोर्क आउनुअघि भेट्न गएको थिएँ ।

“ए लौ तपाईं यता हुनुहुन्थ्यो । आफ्नै छोरा जस्तो लाग्ने । अब तपाईं पनि छाडेर जानुहुने भएछ साह्रै नरमाइलो पो हुने भो त,” उनले दुखेसो गरे ।

पढाइअनुसारको काम पाइयो । ग्रिनकार्ड पनि गरिदिन्छु भनेको छ, कम्पनीले । जहाँ पुगे पनि सम्पर्कमै बसौंला नि,” मैले सम्झाएथें ।

बाबु आआफ्नो भाग्य । को कता पुग्नुपरेको छ, त्यही हुने त हो नि । तपाईंको राम्रो होस् । हाम्लाई न्यास्रो हुने भएर नजानुस् भन्न पनि मिलेन,” आफैंले चित्त बुझाए ।

“तपाईंलाई अमेरिका मन परेको छैन जस्तो लाग्छ । यत्रो सुखसुविधा वैभवले भरिपूर्ण देशमा किन खुसी नहुनुभा ?” जानुअघि मेरो मनको प्रश्न गरें ।

“हो भाइ, खुसी छैन । म त भुटानमै फिर्ता गरिदेओस् भन्नेमा छु अझै पनि । यहाँ त भाषा र चालचलनको कारण पनि धैरै दुःख पाइसकियो । एक पटक मासु काट्दै थें । घरमा हामी बूढाबूढी मात्र । कसैले ढोकाको घण्टी बजायो । हातमा चक्कु नै लिएर ढोका खोलें । ए रात्तै, त्यसपछि त मेरो बाह्र बजिहाल्यो नि । हतियार लिएर आयो भनेर पुलिसलाई खबर गरिदियो । पुलिस आयो समाउन । के भन्नु ? बोल्न जानिन्न । लाटो भैयो हेर्नुस् । वरिपरि अङ्ग्रेजी जान्ने केटा कोही थिएनन् । सबै कामकाममा गएका । धेरै पछिसम्म दुःख पाइयो नि भाइ, त्यो सानो कुराले । मलाई त यस्तै कुराले गर्दा अत्यास लागेर आउँछ ।”

“विश्वका सबैजसो देशका मान्छे यहाँ आउन खोज्छन् । हामी यहाँ आएर भिसाको समस्याले कति मर्कामा पर्छौं । तपाईंहरु त सबै परिवार नातागोतासहित यहाँ बस्न पाउनुभाछ । नेपालमा, भुटानमा हुनुभन्दा त सबै जना यसरी बस्नु गज्जब हैन र ?”

“तपाईंको त घर छ । देश छ । कम से कम आफ्नो माटो छ । जोसँग केही हुँदैन नि, त्यसलाई मात्र थाहा हुन्छ माटो नहुनुको पीडा । तपाईं यहाँ बस्नुहुन्छ अहिले । तर कुनै दिन तपाईंलाई घर फर्किन मन लागेको बेला फर्किने ठाउँ छ । आफू जन्मेहुर्केको ठाउँ छ । बालापनमा बिताएको ठाउँ पुग्न सक्नुहुन्छ । हामीलाई हेर्नुस् त यहाँ । कहाँ जाने हामी ? देशविहीन मान्छे । नागरिकताबिनाको मान्छे । भाषा हराएका जाति भयौं । न आफ्नो भाषा कोही बुझ्छ, न हामी उनीहरुको भाषा बुझ्छौं । आफू जन्मेहुर्केको ठाउँमा जान नपाउनुको पीडा तपाईं बुझ्नुहुन्न ।”

म अवाक् रहेँ ।

उनी एकोहोरो बोले, “नागरिकता लिन पाए त भुटान घुम्न जाने रहर छ । अमेरिकाको नागरिकता भएपछि त रोक्न नसक्लान् नि । भुटान गएर आफू खेली हुर्केको ठाउँको एमाडाछी खानु छ, मर्नुअघि । तर खै ? नागरिकता झिक्नै गाह्रो रै’छ हामी जस्ता अनपढ मान्छेलाई ।”

. . . 

“अब १५ मिनेटमा भेगासमा ल्यान्ड गर्दै छौं । कृपया सिटबेल्ट राम्ररी बाँध्नुहोला । इलेक्ट्रोनिक्स सामान फ्लाइट मोडमा राख्नुहोला,” जहाज ल्यान्ड गर्न लागेको अनाउन्समेन्टले मलाई विगतबाट वर्तमानमा ल्याइदियो ।

मलाई छोरालाई झैं माया गर्ने गोपाल अङ्कलले यहाँको एकाकीसँग हारेर आत्महत्याको बाटो रोजे । अब केही क्षणमा मैले उनको मृत शरीर देख्नुपर्नेछ । यो सम्झेरै मन भारी भयो ।

सबैभन्दा दुःख उनको नागरिक बन्ने र भुटान टेक्ने सपना पूरा नभएकोमा लाग्यो । मेरा लागि यो अन्त्य एकदमै पीडादायी बनेको छ । एउटा अनागरिकको मृत्यु ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC