
के जात फेर्दैमा स्याल बाघ हुन सक्छ ?
बाघको खाल ओढेर
कसैले बाघको भ्रम पार्न सक्छ तर त्यो बाघ हुन सक्तैन ।
तिमी बाघ भएर
सधैँ स्यालहरूको षड्यन्त्रको विरुद्धमा युद्धको शंखनाद गर्दै रह्यौ
तिम्रो साथीसँगिनीहरू होस्टेमा हैंसे गर्दै रहे
तिमी कतै विचलित भएनौ
र अन्ततः तिमी
स्यालहरूको विरुद्ध विजयी भयौ ।
तर आश्चर्य !
आज बाघको खोल ओढेका स्यालहरू
तिम्रा अंगरक्षक भएर
तिम्रा पछिपछि हिँडिरहेका छन्
र हिजोका तिम्रा ती दुःखका साथीसँगिनीहरू
एकएक गरेर किनारा लाग्दै छन् ।
सबै
ए, मेरो मित्र !
के तिमी भन्न सक्छौ जात फेर्दैमा
स्याल बाघ हुन सक्छ ?
०००
कविता कस्तो हुनुपर्ने हो ?
बेतको ह्यांगरमा
नयाँ कमिज झुन्डिएको छ
‘ऊ’ कमिजलाई हेर्छ
र आफ्नो डुङडुङती गनाउने शरीरलाई नियाल्छ ।
समय पनि अजबको रहेछ
हिजो समय
उसको छेउछाउमा हुन्थ्यो
तर आज समय चिप्लेटी खेलेर
पर पुगेको छ ।
कठ्यांग्रिएको जाडोमा फाटेको लुगा लगाएको रामु
बेतमा झुन्डिएको नयाँ कमिज हेर्छ
डुङडुङती गनाउने उसको शरीर नियाल्छ र आकाशतिर खुइय्य गर्दै
मनमनमा बर्बराउँछ–
‘कागलाई बेल पाकेर कहिल्यै हर्ष हुन्छ ?’
ओह, मेरो मित्र !
के तिमी भन्न सक्छौ
कविता कस्तो हुनुपर्ने हो ?
(कवि विनय रावलको कविताकृति ‘सपनाको देशमा’बाट ।)