site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कालिञ्चोक, भीमेश्वर र शैलुङको रमाइलो

नजिक भनेर के गर्नु, कालिञ्चोक कहिल्यै पुगेको थिइनँ । साँच्चै भन्ने हो भने कालिञ्चोक त के दोलखाको भूमि समेत स्पर्श गर्न नपाएको बबुरो थियो यो !

उहिले तातोपानी, खासातिर गएको हो । तीव्र चाहना हुँदाहुँदै दोलखा जाने मेसोचाहिँ जुरेको थिएन । यसपालि बुलुङका बन्धुहरूको आत्मीयतापूर्ण निम्तोले एक पन्थ अनेक धुनमा रमाउन मद्दत गर्‍यो ।

दोलखाको बुलुङमा आयोजित कुलपूजामा सामेल हुन हिँडेका हामीले कालिञ्चोक, भीमेश्वर र शैलुङ समेत पुग्ने योजना बनायौँ र सहयात्री सातैजनाको सर्वसम्मति जुटेपछि हर्षका रेखा कुद्न थाले ।

Argakhachi Cement Island Ad

२०८२ जेठ पहिलो हप्ताको कुरो हो । साढे एघार बजे काठमाडौंबाट यात्रा प्रारम्भ गरियो । यसका लागि एउटा गाडी (स्कोर्पियो)को व्यवस्था गरिएको थियो । नरेफाँट, काँडाघारीतिरबाट समेत सबैजना चढेपछि ताथली हुँदै भित्रभित्रै बनेपा निकालिएर हामी अगाडि बढेका थियौँ । धुलिखेल छउन्जेल धुलोले राम्ररी बोल्न दिएन । हुनत धुलिखेलमा धुलो नभए कहाँ होस् !

खाबा, तीनपिप्ले, पाँचखाल, जिरो किलो, दोलालघाट हुँदै गाडी एकनासले हुइँकिइरहेको थियो । सबै वरिपरिका सुन्दर दृश्य हेर्न चहकिएका थिए । सुकुटे, बलेफी भई खाडीचौर पुगेपछि तातोपानी जानेहरू एकातिर र दोलखा जानेहरू अर्को बाटो लाग्दा रहेछन् ।

मुडेमा गई चियाचमेना गरेपछि बढेको यात्रा चरिकोट नपुग्दै वरैबाट कालिञ्चोकतिर तेर्सियो । यहाँबाट १५ किलोमिटर यात्रापछि आजको गन्तव्य कुरी पुगेर टुंगिने थियो ।

काठमाडौं, भक्तपुर, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक हुँदै गरिएको दोलखाली भूमिको सयर झन्झन् रोमाञ्चक बन्दै थियो । तलका भन्दा फरक अनि आकर्षक धुपी, सल्ला र लालीगुराँस, लामपुच्छ«े चरा आदिले न्यानो स्वागत गरेझैँ प्रतीत भयो । अग्ला पहाड हामीलाई देखेर मुस्काइरहेका जस्ता देखिए । सिमसिमे पानीले झन् मोहकता थपेको थियो ।

जति अग्लिँदै बढियो, बाटोको दुर्दशा पनि दर्शिन थाल्यो । एकपटक त हामी सबै ओर्लिनुपर्‍यो । कालिञ्चोकको द्वारनजिकै थुम्कोमा चढी सेता लालीगुराँस हातमा लिई तस्बिर उतार्नेको बेग्लै रौनक थियो । माथि पुगी हेर्दा ठ्याक्कै सामुन्ने थुम्कामा कालिञ्चोक माईको मन्दिर देखियो । कुरीको नजारा पनि कम्ताको थिएन ।

टन्न लालीगुराँस बोकी रमाउँदै तल झरिरहेकालाई जसै स्थानीयले यो विषालु हुने कुरो बताए, खिस्रिक्क परी त्यहीँ सेलाउनुको विकल्प थिएन ।

अलि बेरमै, छ बजेतिर कुरी पुगियो । बासको चिन्ता गर्नै नपर्ने रहेछ । यहाँ होटेल, लज प्रशस्त रहेछन् । बिहान सबेरै कालिञ्चोक माईको दर्शन गर्न जाने निधो भयो । र, खाईवरी निद्रादेवीको शरणमा परियो ।

भोलिपल्ट केबलकार ढिलो खुल्ने भए हामी गाडीमै परसम्म जाने र त्यहाँबाट आधा घण्टाजति हिँडेर मन्दिर पुग्ने सल्लाह भएको थियो । कोहीकोही तलैबाट हिँड्दा रहेछन्, क्षमताअनुसार कसैलाई एक/डेढ घण्टा त कसैलाई तीन घण्टा लाग्दो रहेछ । शनिबार परेकाले हुनसक्छ, छ बजे खुल्ने भनिएको केबलकार अगावै खुल्यो र हामी त्यसैमा सवार भयौँ ।

केबलकार उचालिएसँगै वरिपरिका डाँडाहरूको सौन्दर्य नयनाभिराम देखिए । तल हिँड्नेहरू पनि कम थिएनन् । रेलिङ लगाइएका बाटामा यात्रुहरू बिस्तारै उक्लिरहेका थिए ।

तीन हजार आठ सय बयालिस मिटर उचाइमाथि कालिञ्चोक माईको मन्दिर रहेछ । श्रद्धालुजन त्यहाँ दर्शन गरी आफूलाई धन्य सम्झिरहेका थिए । एक महिनाअघि पुग्नेहरूले यहाँ हिउँको पनि आनन्द लिएका रहेछन् । हाम्रा मित्रवर नारायणजी यहाँ पुग्दा बढी भावुक हुनुभयो ।

२०७२ सालको भूकम्पले हल्लाउँदा उहाँ आफ्नी सहधर्मिणीसहित यहीँ हुनुहुँदो रहेछ । त्यतिखेरको अकल्पनीय अत्यास सम्झी झस्कनुभएको रहेछ उहाँ ।

कालिञ्चोक माईको दर्शन गर्दा गुवाहाटीकी कामाख्या माई र काठमाडौंकी गुह्येश्वरी माईको सम्झना आयो । यी तीनै मन्दिरमा देवीको एउटै जलस्वरूप रहेको छ । कालिञ्चोक माईलाई पलाञ्चोकी भगवती, नक्साल भगवती, शोभाभगवती, फूलचोकी माई, दक्षिणकाली आदि सात दिदीबहिनीमध्ये सबैभन्दा जेठी मानिँदो रहेछ । गोठालाले पत्ता लगाएको यो देवीको थलोमा पूजाआजाचाहिँ वि.सं. १८२६ देखि चलेको रहेछ ।

कालिञ्चोक माईले तपस्या गरेको ठाउँ रहेछ यो । यहाँको कुण्ड कहिले नसुक्ने र यसैको जलको धारबाट उत्तरतिर तामाकोसी, पश्चिमतिर सुनकोसी नदी बगेको रहेछ । सुन्द्रावती र चरणावती खोलाको मुहान पनि यही कुण्ड हो रे ! यस थलोबाट गज्जबकै हिमशृंखला देखिँदो रहेछ । तर, आकाश छ्याङ्ङ नहुँदा हामीले त्यो मनोहारी दिव्यता अनुभव गर्न पाएनौँ ।

कालिञ्चोक माईको दर्शन गरी केबलकारबाटै फर्किएर चियासिया खाई हामी बुलुङतिर लाग्यौँ । चरिकोट नपुग्दै भीमेश्वरथानलाई छेउ पारेर अघि बढिएको यात्रा सिंगटी हुँदै बुलुङमा रोकियो । त्यहाँ भइरहेको कुलपूजामा केही घण्टा बिताई हामीले कोमल भावको आतिथ्य ग्रहण गरेका थियौँ ।

मनोरम बुलुङ पनि अहिले कुलपूजाको बहानामा मात्रै ‘दुई दिनको चाँदनी’ बनेको रहेछ, नत्र युवाहरू कोही नदेखिने रहेछन् । बुलुङ पहिलेजस्तै फेरि गुलजार होला त ? सहजै उब्जिएको यस प्रश्नको जवाफ यो मनुवासित नरहेकाले फिस्स हाँसेर मौनता साधियो ।

फर्कंदा सिंगटी हुँदै माथ्लो तामाकोसी जाने मार्गमा १९७४ मा निर्मित पुर्ख्यौली जामुने साँघु पुगी गौरवानुभूति पनि गरियो । कुनै पुल नबनेको बेलामा यो ऐतिहासिक साँघुले दुनियाँलाई कति सघायो होला ? भन्ने कल्पनाले पनि आनन्दित तुल्यायो ।

एउटा अतृप्ति लिएर फर्किरहेको बेलामा सुखद संजोग जुर्न पुग्यो । सिंगटी बजारबाट माथि लाग्नासाथ देखिएको गौरीशंकर आदि हिमशृंखलाको रमणीयता भनेर साध्य छैन । झन्डै ३५ किलोमिटर यात्रा पूरा गरी दोलखा अर्थात् भीमेश्वरथान पुगियो । रात यहीँ बिताई सबेरै भीमेश्वर दर्शन गरी शैलुङ जाने सुन्दर सपना सिँगार्न थालियो ।

बिहानै भीमेश्वरको दर्शन गरियो । दायाँबायाँ कुन्ती र द्रौपदीका प्रतिमा रहेछन् । यहाँ शिवपार्वती, भैरव र भीम वा भीमेश्वर गरी समयानुसार तीन स्वरूपमा पूजा गर्ने चलन रहेछ । भीमेश्वरमा निर्मल कुण्ड पनि रहेछ । यहाँ कालिञ्चोककै कुण्डको जल आउने कुरो पनि सुनियो ।

मन्दिरको स्थापनाकालबारे कसैलाई जानकारी रहेनछ । किंवदन्तीअनुसारचाहिँ सुनखानीका बटुवा यहाँ बास बस्न आउँदा भात पकाउन थालेका रहेछन् । चुल्होमा एउटा यहीँको ढुंगो प्रयोग गरिएको रहेछ । त्यो बेलाबेला पुर्लुकपुर्लुक पल्टँदो रहेछ । खुकुरीले ठ्याक्क हान्दा रगत आएछ रे ! खोस्री हेर्दा ठूलै ढुंगो देखापर्‍यो । एक जोगीको भनाइ मानी स्थानीयले यस शिलालाई भीमेश्वरका रूपमा पुज्दै आएका रहेछन् ।

‘पसिना आउने शिला यही होइन त ?’ सोध्न किन छाडिन्थ्यो र ! त्यहाँको तस्बिर खिंच्न प्रतिबन्ध लगाइएको भए पनि मनको फलकमा अमिट हुने गरी भीमसेनको चित्र उतारियो । भीमेश्वरको शिलामा पसिना आउँदा देशमा अनिष्ट हुने कुरो त जगजाहेरै छ । भीमेश्वरथानको परिक्रमा गरी हर्षित हुँदै हामी बाहिरियौँ ।

फर्कंदा चरिकोट सर्सर्ती हेरिने भइयो । एकै नजरमा तान्दो रहेछ यो चरिकोटले । आफूलाई चरिकोटले तानसेन, पाल्पाको पो झलक दियो । अधित्यकामा बसेको सहर भएकाले पनि हुनसक्छ, एकै फन्कोमा कति पो देखियो र ! तैपनि, चरिकोट देखेर मक्खियो यो मनुवा ।

अलि बेरमै हिजो जताबाट कालिञ्चोकतर्फ लागेका थियौँ, त्यही दोबाटोमा पुगियो र खरीढुंगा हुँदै मुडेतिर सोझियौँ । यो खरीढुंगा पनि गजबकै रहेछ । कुनै बेलाको खरीढुंगाको खानी, अहिले दृश्यांकनका लागि प्रसिद्ध रहेछ ।

मुडे पुगेपछि बाटो मोडियो । शैलुङतिर जाँदा आलुका बोटले लोभ्याए । आलुका फूल नदेखेकालाई हुनसम्मको आश्चर्य लाग्यो । फूलैफूलको बगैँचाजस्तो पो देखिँदो रहेछ, आलुको बारी ! यताउता, जतासुकै आलु नै आलुका बारी देख्दा मुडेको आलु किन कहलिएको रहेछ भन्ने बुझ्न गाह्रो भएन ।

लेकको बाटो जतिजति उक्लँदै गइयो, त्यतित्यति पुलकित भइयो । ऐँसेलुका बोटले तान्न थाले । यसै पनि दायाँबायाँ भएका ऐँसेलुका बोटले अस्तिदेखि नलोभ्याएका थिएनन् ।

ऐँसेलु खान हतारिएकाको आग्रहसूचक ‘धर्म लाग्छ है !’ भनिएपछि मुस्काउँदै चालक मणि भाइले ऐँसेलुको घारीमै पुर्‍याइदिए । अनि के चाहियो ? जता हेर्‍यो ऐँसेलु नै ऐँसेलु, वनभित्रै छिरेका छापामारजस्ता भए यात्रुहरू !

हात कोरिएको, पाखुरी चिथोरिएको र ओढ्नी खिँचिएको पनि कसैलाई वास्ता भएन । कैयन् दिनको भोकोले खानेकुरो भेटेजस्तै जुगौँपछि ऐँसेलु पाउँदा बाल्यावस्थाका दिन फेरिएर आएको भान भयो ।

अघाउन्जेल खाइसकेपछि घरका चिल्लीबिल्ली पनि याद आए । तर, लाने कसरी ? बेलुकीसम्म त यसको रङरूप मात्रै होइन, रस पनि बाँकी नरहने भएकाले कतिका वात्सल्यको नमुना थाती नै रह्यो ।

शैलुङको फेदीमा गाडी अडेपछि पैदल यात्रा थालियो । द्वारसँगै नारिएको ‘मिनि ग्रेटवाल’ अलि माथिसम्म बनाइएको रहेछ । अन्य जिल्लामा पनि यस्ता ग्रेटवाल बनाउने होडै चलेको छ ।

यसको ठाउँमा बरु स्थानीय संस्कृति झल्कने, आफ्नै मौलिकताले भरिपूर्ण झलक राखी नाम समेत ‘मिनि ग्रेटवाल’ नराखे बेस हुन्थ्यो कि भन्ने पनि लाग्यो । तर, केही हुती नभएका हामीजस्ता बबुरालाई लागेर के गर्नु ! लाग्नुपर्नेका मगजमा घुसे पो केही अर्थ रहन्थ्यो ।

सिँढीदार बाटो सकिएपछि गोरेटो पछ्याउँदै महादेव गुफा हुँदै शैलुङ गइँदो रहेछ । बाटोमा भीमसेनको तरबार (ढुंगो) हुँदै अघि बढ्दा जुरेढुंगा महादेव र कालापानी, शैलुङ दुईतिर जाने संकेतचिह्न देखियो । अलि माथि उक्लँदा ‘पृथ्वीको नाइटो’ नामपाटी झुन्ड्याइएको ठाउँमा अलि बेर अडियो ।

सुन्दर घाँसे भिरालोमाथि रहेको बौद्ध स्तूपले सबैलाई हौस्याइरहेको भान भयो । त्यहाँ भएको टावर चढी वरिपरिको दृश्यावलोकन गर्नुको बेग्लै मजा रहेछ । हामी उक्लँदै पानी छिट्याइरहेको थियो, फर्कंदा दर्कन थालेपछि आच्छुआच्छु पार्ने नै भयो । ओत लाग्ने ठाउँ कतै छैन । चिप्लने डर पनि उत्तिकै । डाँफेढुंगा हुँदै ओर्लिएका हामीलाई तलै नपुगेसम्म पानीले छाडेन ।

त्यहाँ खाईवरी उही मुडे हुँदै फर्कियौँ । पानी परिरहेकाले आलुबारीमा तस्बिर खिचाउने धेरैको चाहना अधुरै रह्यो । फिलिली बाटोमा कतै कुनै ल्याङ नभएकाले सकुशल घर फर्किई हामी बुढाबुढी स्मृति ताजा पार्दै फेरि रमाउन थालियो ।

acharya.nik@gmail.com

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्