प्रचण्डलाई खनाल–नेपालको सुझाव : ओली सहमतिमा आउँदैनन्, अब वारपार गरेर जाऊँ 

प्रचण्डलाई खनाल–नेपालको सुझाव : ओली सहमतिमा आउँदैनन्, अब वारपार गरेर जाऊँ 

काठमाडौं । दुई अध्यक्षबीच चारपटक एक्लाएक्लै (वान–अन–वन) वार्तामा बस्दा पनि सहमतिको विन्दु तय नभएपछि नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डललाई वारपार गरेर अघि बढ्न सुझाव दिएका छन् ।

बुधबार बालुवाटारमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डबीच झण्डै दुई घण्टा कुराकानी भएको थियो । 

खुमलटार पुगेका वरिष्ठ नेताद्वयलाई अध्यक्ष प्रचण्डले ओली समझदारीमा नआएको र गाँठो झन् कस्सिँदै गएको बताएको एक सचिवालय सदस्यले बाह्रखरीलाई बताए । 

“आज ओलीसँग अन्तिमपटक बस्ने र सहमति खोज्ने भन्ने हामीबीच समझदारी भएको थियो । त्यहीअनुसारै दुई अध्यक्षबीच छलफल भएको हो । तर, उहाँ (प्रधानमन्त्री) सहमतिमा आउन तयार हुनुभएन । उहाँ पुरानै रटान, अडानमा हुनुहुन्छ । यसरी सहमति हुँदैन,” ती सदस्यको भनाइ छ । 

उनले दुई अध्यक्षबीच वार्ता लम्ब्याएर मात्रै समाधान ननिस्कने बताउँदै प्रचण्डलाई वार कि पार गरे जान सुझाव दिएको पनि बताए । भेटमा चारपटक स्थगित भएको स्थायी कमिटी बैठक अब नरोक्ने समझदारी भएको पनि सचिवालय सदस्यको भनाइ छ । 

“दुईजना अध्यक्षबीच लामो कुराकानी भएको छ । सम्भवतः यो फाइनल कुराकानी पनि हो । अब कमिटीको बैठकतर्फ अघि बढ्छौं । उहाँहरूबीच सहमति हुने अवस्था देखिँदैन । बैठक बसेर वार कि पारतिर जान्छ,” अर्का सचिवालय सदस्यले प्रष्ट शब्दमा भने । 

प्रचण्डलगायत नेताहरू ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने अडानमा छन् । 

ओलीले राजीनामा बाहेकका विषयमा सहमति खोज्न सकिने बताउँदै आएका छन् । बुधबारको बैठकमा पनि प्रधानमन्त्री ओली यथावत रहेको नेताहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस
ad